खाजाघरको 'सेक्स मेनु'

writer

सम्पूर्ण

सोमबार, ०२ मङि्सर २०७६


 सम्पूर्ण लाइभ 

‘अन्नपूर्ण सम्पूर्ण’ ले स्थलगत निगरानीसहित ‘सम्पूर्ण लाइभ’ अन्तर्गत विभिन्न विषयमा ‘लाइभ रिपोर्टिङ’ गर्दै आइरहेको छ। टेलिभिजन तथा रेडियोमा हुने लाइभ प्रस्तुतिलाई छापा माध्यममा फरक ढंगले प्रस्तुत गर्ने हाम्रो शैलीलाई आदरणीय पाठकले रुचाउनुभएको छ। ‘सम्पूर्ण’ले पहिलो पटक ‘मध्यरात काठमाडौँमा के के हुन्छ ?’ शीर्षकमा काठमाडौँको रात्रिजीवनदेखि आर्यघाटका रात्रिकालीन अवस्थासम्मको स्थलगत रिपोर्टिङ गरेको थियो। लाइभ रिपोर्टिङका लागि हामीले छनोट गरेका विषय र क्षेत्रमा कम्तीमा तीन पटकसम्म स्थलगत निगरानी गरेर सूचना संकलन गर्ने गरेका छौँ। 

हाम्रो दोस्रो लाइभ रिपोर्टिङ काठमाडौँको रात्रिजीवनको थियो। ‘मदमस्त मध्यरात’ शीर्षकमा हामीले काठमाडौँको ‘नाइट लाइफ’का विविध दृश्य प्रस्तुत गरेका थियौँ। त्यसै गरी, हामीले अलिक फरक विषय ‘के छ त्यस्तो तपोवनमा ?’ शीर्षकमा काठमाडौँको रानीवनमा रहेको ओशो ध्यानकेन्द्र तपोवनभित्रको दृश्य वर्णन गरेर लाइभ रिपोर्टिङ गरेका थियौँ। 

यसै सिलसिलामा काठमाडौँ, नरदेवी क्षेत्रमा रहेका टेको लगाइएका थोत्रा घरमा हुने यौनधन्दाको विस्तृत रिपोर्टिङ प्रकाशित गरेपछि ‘सम्पूर्ण’लाई काठमाडौँका विभिन्न स्थानमा हुने यौनधन्दाको रिपोर्टिङका लागि स्थानीय बासिन्दाले निरन्तर सूचना दिँदै आएका छन्। खाजाघरमा हुने यौन तमासादेखि पर्यटकीय नगरी पोखराका ‘सेक्स प्वाइन्ट’सम्मको लाइभ रिपोर्टिङ ‘सम्पूर्ण’ले गरिसकेको छ। काठमाडौँका विभिन्न स्थानमा रहेका आकाशेपुलमा हुने यौन ‘बार्गेनिङ’को पनि हामीले निगरानीसहित लाइभ रिपोर्टिङ गरिसकेका छौँ। 

यस पटक हामीले काठमाडौँको बत्तीसपुतली र गौशालादेखि रातो पुलसम्मको क्षेत्रमा हुने यौनधन्दाको निगरानीसहित लाइभ रिपोर्टिङ गरेका छौँ। ग्राहकको भेषमा गएका सम्पूर्णकर्मीले निगरानीका क्रममा भेटेका सूचना तथा दृश्य यस अंकमा जस्ताको तस्तै प्रस्तुत गरिएका छन्। 

निगरानी नम्बर १ 

बत्तीसपुतलीमा रहेको द्वारिका होटलको पछाडिपट्टि पर्छ, एउटा सटर खुला हुने र अर्को सटर हरहमेसा बन्द हुने खाजाघर (हे. तस्बिर १)। बाहिरबाट हेर्दा सामान्य चियापसल लाग्ने यसभित्र हुने हर्कतले आजित छन्, यहाँका स्थानीय बासिन्दा। मधेशी मूलकी रञ्जु साह नामले चिनिइने एक जना महिलाले यो खाजापसल चलाउँछिन्। खाजापसल त देखाउने दाँत मात्रै हो। वर्षौंदेखि युवती र  अधबैँसे महिलाहरू राखेर उनले यौनधन्दा सञ्चालन गर्दै आएको स्थानीय वासीले जानकारी दिएपछि ‘सम्पूर्ण’ले यहाँ निगरानी गरेको थियो। 

बिहान करिब ८ बजे खाजाघरको सटर खुल्छ। पसल खोल्ने बेलैमै कम्तीमा तीन जना युवती यहाँ आइपुगिसक्छन्। निगरानीका लागि पहिलो दिन पुग्दा त्यहाँ तीन जना युवती थिए। हामीले ‘चिया खान पाइन्छ ?’ भनेर सोध्यौँ। ‘चिया यता होइन, उता पारि जानुस्’ भन्दै उनीहरू हामीसँग जिस्किए। ‘यहाँ त चिसो, बियर, रक्सी खान पाइन्छ,’ उनीहरूले भने। 

‘एकाबिहानै के रक्सी खानु नि ?’ हामीले प्रतिप्रश्न गरौँ। 

‘चिया छैन भनेपछि जानुस् न,’ उनीहरू झर्किए। 

पहिलो दिन हामी फर्कियौँ। 

स्थानीय वासीका अनुसार नचिनेका र पहिलो चोटि यो सटरभित्र प्रवेश गर्नेलाई खासै मतलब गर्दैनन्, उनीहरू। ‘यसै गरी फर्काउँछन्,’ एक जना बत्तीसपुतली निवासीले भने। नाम उल्लेख गरेर यो सटरभित्र हुने गतिविधिबारे बताउन स्थानीय वासी डराउँछन्। ‘महानगरीय प्रहरी वृत्त, गौशालालाई आफ्नो हातमा लिएर यौनधन्दा सञ्चालन गरिरहेकी यो महिला (रञ्जु) को भर छैन,’ ती बत्तीसपुतली निवासीले भने, ‘जति बेला जे पनि गराउन सक्छे। त्यसैले मेरो नाम नलेख्नुहोला। आफैँ भित्र बसेर हेर्नुस्, तमासा देखिहालिन्छ।’ 

यहाँ हुने यौनधन्दाबारे अरूले चाल पाउलान् भनेर उनीहरू निकै सजग भएर प्रस्तुत हुन्छन्। खाजापसल सञ्चालन गर्ने रञ्जु साहको चालढाल त झनै मानिसलाई भ्रममा पार्ने खालको हुन्छ। आफूलाई निकै ‘स्मार्ट लेडी’का रूपमा प्रस्तुत गर्ने उनी ‘कसैले मलाई केही गर्न सक्दैन’ भन्दै फुर्ती लगाउँछिन्। वर्षौंदेखि युवती तथा अधबैँसे महिला राखेर उनले यौन धन्दा सञ्चालन गर्दै आएको यहाँका स्थानीय बासिन्दालाई थाहा छ। ‘तर, प्रहरीसँग विशेष साँठगाँठ भएको बताउने रञ्जुसँग दोहोरो कुरा कसैले गर्दैन,’ एक जना स्थानीयले भने, ‘आफ्नो टोलछिमेकमा खुलेआम यौनधन्दा सञ्चालन हुँदा हामीलाई अप्ठ्यारो लाग्छ। तर, हामीले बोलेको कसले सुन्छ र, बोल्नु ? गौशालामा रहेको महानगरीय प्रहरी वृत्तका प्रमुखदेखि गस्तीमा हिँड्ने प्रहरीसम्मलाई प्रभावमा पारेर उसले धन्दा सञ्चालन गरिरहेकी छे।’ 

निगरानीका लागि तेस्रो पटक पुग्दा रञ्जु साह पनि पसलमै भेटिइन्। सधैँझैँ एउटा सटर खुला, अर्को चाहिँ बन्द थियो। पसलमा ग्राहकभन्दा पनि केटीहरूकै भीड थियो। सटरभित्र पस्नेबित्तिकै एउटा टेबुल देखिन्छ। जसमा दुई जना बसेर चिया खान सक्छन्। र्‍याकसँगै काउन्टर छ। काउन्टरको पछाडि भित्तामा विभिन्न देवीदेवता र बाबाहरूको तस्बिर टाँसिएका छन्। रञ्जु आफूलाई साईबाबाको भक्त बताउँछिन्। आफूलाई बाबाको आशीर्वाद रहेकाले कसैले केही गर्न नसक्ने डिङ हाँक्छिन्। आफूले गलत काम नगरेको देखाउन र आफू पहुँचवाला हुँ भन्ने भ्रम पार्न उनी नचिनेका मानिसहरू हुँदा ‘म यस्तो हुँ, उस्तो हुँ, यहाँ आएर बढी गफ गर्नेलाई चक्कु ताकेर भगाउँछु’ भन्दै गफ दिन्छन्। 

सम्पूर्णकर्मीहरू चिया खाएर यहाँको गतिविधि नियालिरहँदा उनी निकै फुर्तीफार्ती गरिरहेकी थिइन्। काम गर्ने केटीहरूलाई उनी निकै ठाडो स्वरमा तँतँ–मम गरेर हप्काइरहेकी थिइन्। 

बन्द सटरलाई उनले दुइटा कोठा बनाएकी छिन्। सटर पछाडि ढोका छ। बीचमा बारेर ढोका हालिएको छ। ढोकामा ताल्चा झुण्डिरहेको हुन्छ। ताल्चा लगाएको कोठाबाहिर केही युवती मेकअप गरेर बसिररहेका हुन्छन्। बाहिर खानपिन गरेपछि यही ताल्चा लगाएको कोठामा ग्राहकलाई यौन सुख दिलाउने व्यवस्था मिलाइएको छ। यहाँका ग्राहक प्रायः मधेशी मूलका मानिस नै हुने गरेका छन्। ‘पहाडियाले हल्ला गर्ने र एकले अर्कोलाई देखाउँदादेखाउँदै सबैले थाहा पाउने भएकाले मधेशी मूलका र खास गरी छिमेकी देश भारतबाट आएकाहरू यहाँका नियमित ग्राहक हुन्,’ रञ्जुकोमा आठ महिना काम गरेर बाहिरिएकी एक युवतीले जानकारी दिइन्।। सानो कोठामा एकै पटकमा तीन जोडीसम्म भित्र पठाएर यौनधन्दा गराउने गरिएको उनले बताइन्। जोरपाटीतिर बस्ने ती युवतीले करिब आठ महिना रञ्जुकोमा काम गरेको बताइन्। बाध्यतावश यौनधन्दा गर्न पुगेका हुन् या विभिन्न प्रलोभनमा पारेर यौनधन्दा गर्न बाध्य पारिएका हुन्, सबैलाई रञ्जुले ‘इमोसनल ब्ल्याकमेल’ गर्ने, कुटपिट गर्ने र प्रहरी लगाएर थुनाउनेसम्मको हर्कत गर्ने गरेको यहाँ काम गरेर बाहिरिएका केही युवतीले ‘सम्पूर्ण’लाई बताए। ‘श्रीमान्सँग खटपट भएका र कतिपयका श्रीमान् विदेशमा रहेका महिलालाई फकाएर धन्दामा लगाउने र पछि तेरो श्रीमान्लाई भन्दिन्छु भन्दै बार्गेनिङ गरेर रञ्जुले यौनधन्दा सञ्चालन गरिरहेकी छिन्,’ जोरपाटीतिर बस्ने ती युवतीले भनिन्। 

महानगरीय प्रहरी वृत्त, गौशालाबाट बढीमा पाँच सय मिटरको दूरीमा रहेको यो यौन अखडा ‘प्रहरीले थाहा पाएर पनि नपाएको जस्तो गरेकाले चलिरहन सकेको हो’ भन्छन्, स्थानीय बासिन्दा। ‘वृत्तमा प्रमुख फेरिनेबित्तिकै उनलाई प्रभावमा पार्न रञ्जु आफैँ खटिने गरेकी छिन्,’ एक जना स्थानीय बासिन्दाले भने, ‘वृत्तमा कार्यरत केही प्रहरी उनका नियमित ग्राहक रहेकाले उनी कारबाहीबाट जोगिने गरेकी छिन्।’

केही समयअघिसम्म रञ्जुले खाजापसलमा ग्राहक जम्मा गरेर आफ्नै घरको भुइँतलामा धन्दा गराउने गरेको केही स्थानीय बासिन्दाले बताए। सम्पूर्णकर्मीहरूले उनको घरसम्म जान गरेको प्रयास भने सफल भएन। ‘बस्ने भए यहीँ भित्र बसौँ, कि लजमा जाऔँ,’ खाजाघरका युवतीहरूले भने। 

निगरानी नम्बर २ 

गौशाला चोकबाट रातो पुलतिर जाँदा देब्रेतिर रहेका खाजापसल र रेस्टुरेन्टहरूमा आँखा लगाउने हो भने यो कुनै रेडलाइट एरियाभन्दा कम लाग्दैन। खाजापसलको ढोका र रेस्टुरेन्टका ढोकामा झुरुप्प जम्मा भएर युवतीहरू आँखाको सानले र हातको इशाराले सडकपेटीमा हिँडिरहेकालाई बोलाउने गर्छन्। कोही–कोही त ‘भित्र आउनुस् न, चिसो खानुस्’ भन्दै बाटोमा हिँडिरहेकालाई हातै समाउन आइपुग्छन्। गौशाला चोकबाट रातो पुलतिर मोडिनेबित्तिकै बस स्ट्यान्ड छ। त्यहाँबाट केही पाइला हिँड्नेबित्तिकै होटल सगरमाथा एन्ड लज छ। योसँगै जोडिएको छ, वेलकम रेस्टुरेन्ट। यहीँबाट सुरु हुन्छ, तालतालका यौनधन्दा हुने खाजापसल र रेस्टुरेन्टको लस्कर। 

खाजापसल लेखिएको बोर्ड भएको एउटा घरमा (हे. तस्बिर २) हामीले निगरानी गरेका थियौँ। बोर्डमा खाजापसल लेखेर विभिन्न परिकारका तस्बिर राखिए पनि यो खाजापसल भित्र खानेकुरा भने केही पनि पाइँदैन। पहिलो पटक निगरानीका लागि हामी यहाँ पुग्दा हाम्रो अनुहारतिर हेर्दै यहाँ रहेका युवतीले ‘यता केही छैन, यहाँ केही पाइँदैन’ भन्दै फर्काएका थिए। ‘खाजा केही छैन ?’ भन्दै भित्र पस्न खोज्दा ‘छैन छैन’ भन्दै ढोकामै छेक्न आइपुगेका थिए। पहिलो पटक हामी फर्कियौँ। 

केही दिनपछि हामी फेरि यही घरमा निगरानीका लागि गएका थियौँ। यस पटक भने हामीलाई उनीहरूले भित्र पस्न दिए। 

बोर्डमा खाजापसल लेखिए पनि यो मुनाल रेस्टुरेन्टको नाममा दर्ता रहेछ। उमादेवी सञ्चालक रहेको प्रमाणपत्र भित्तामा टाँगिएको थियो। साँघुरो यो घरमा पस्नेबित्तिकै सानो टेबुल देखियो। जसमा चार जना युवती बसेर मेकअप गरिरहेका थिए। टेबुलमा उनीहरूका मेकअप सामग्री र ब्याग राखिएका थिए। सानो ऐना हेर्दै शृंगार गरिरहेका उनीहरूले टेबुल ढाकेर बसेपछि खानपिनका लागि भन्दै आउने ग्राहक कहाँ बस्नु ? हामीलाई उनीहरूले भित्र बस्न संकेत गरे। भित्रपट्टि पनि त्यस्तै सानो कोठा छ। हामी त्यहाँ बस्यौँ। त्यहाँ मधेशी मूलका तीन जना युवती थिए। ग्राहक पनि मधेशी मूलकै बढी देखिए। हामी भित्रपस्ने बित्तिकै एक जना पुरुष भित्र पसे र सरासर माथिल्लो तलातिर लागे। उनका पछि एक युवती पनि लागिन्। यो दृश्य देखेपछि यो घरका बारेमा हामीले पाएको सूचना सही ठहरियो। बत्तीसपुतलीकी रञ्जु साह र उमादेवीले एकअर्कासँग मिलेर यौनधन्दा सञ्चालन गरिरहेको सूचना हामीलाई स्थानीय बासिन्दाले दिएका थिए। 

हामीलाई एक जना युवतीले एकोहोरो हेरिरहिन्। हामी उनीसँग केही बोल्न खोज्यौँ। तर, उनले कुनै प्रतिक्रिया दिइनन्। केही समयपछि एक जना पुरुष भित्र पसे। ती युवतीले सांकेतिक भाषामा कुरा गरिन्। उनी बोल्न नसक्ने रहिछिन्। ओठभरि  लतपतिएको रातो लिपस्टिक लगाएकी उनले भद्दा मेकअप गरेकी थिइन्। 

‘बोल्न नसक्नेलाई पनि यस्तो काममा लगाएको ?’ हामीले एक जना युवतीलाई प्रश्न गर्‍यौँ। 

‘बोल्न नसक्नेलाई कसले के काम दिन्छ र ?’ उनले भनिन्, ‘बरु यही काम गरेर यो लाटीले पेट पालेकी छे।’ 

अर्की युवती ‘हामीलाई के खाने ? यहाँ चिसोबाहेक केही पनि छैन’ भन्दै हाम्रो छेउमा आइपुगिन्। 

यो घरको माथिल्लो तलासम्मको दृश्य हेर्नु हाम्रो उद्देश्य थियो। हामी नयाँ भएकाले उनीहरू संशकित थिए। 

हामीले ‘हामी यहाँ पहिले पनि आएका थियौँ’ भन्यौँ। 

त्यसपछि गहुँगोरी युवतीलाई एक हजार रुपैयाँ दिँदै माथि जाने मेसो मिलायौँ। फलामे भर्‍याङ उक्लिएर माथिल्लो तलामा पुग्दा प्लाइउडले बारेका दुई वटा कोठा थिए। यी दुवै कोठा प्याक्ड थिए। उनले त्यसभन्दा माथिल्लो तलामा लिएर गइन्। भाँचिन ठिक्क परेको उक्लिँदा पनि हल्लिने भर्‍याङ हुँदै दोस्रो तलामा पुगियो। यहाँ पनि प्लाइउडले बारेका दुइटा कोठा थिए। यी कोठमा चुकुल थिएनन्। भुइँमा थोत्रो म्याट ओछ्याइएको थियो। 

नामः रिकु कुमारी। 
घरः जनकपुर। 
वर्षः २१। 

उनीसँग केही सोध्न खोज्दा उनले बोल्न मानिन्। ‘सम्पूर्णकर्मी’ले मैथिलीमा बोल्न थालेपछि भने उनी केही खुलिन्। गहुँगोरी वर्णकी यी युवतीको रेट रहेछ, एक हजार रुपैयाँ। जसमध्ये सात साय उमादेवी अर्थात् सञ्चालिकाले नै लिने रहिछन्। यहाँ १० जना सम्मले काम गर्ने गरेको उनले बताइन्। 

निगरानी नम्बर ३

यहाँ खाजापसलसँगै रेस्टुरेन्ट एन्ड बार भनेर खोलिएका क्याबिन रेस्टुरेन्टमा पनि यौनधन्दा हुने गरेको छ। बोर्डमा आयुष सेन्टर लेखेको घर (हे. तस्बिर ३) भित्र पस्दा थाहा भयो, यो क्याबिन रेस्टुरेन्ट रहेछ। कुनै बेला काठमाडौँका चोक–चोकमा फैलिएका क्याबिन रेस्टुरेन्ट अहिले फाट्टफुट्ट मात्रै देखिन्छन्। राज लामा तामाङ सञ्चालक रहेको दुई वटा क्याबिन रेस्टुरेन्टमा हामीले पलैपालो निगरानी गर्‍यौँ। 

युवतीहरूले ढोकाबाट तानेर भित्र लग्नेबित्तिकै ‘मेनु हेर्नुस् न’ भन्दै बियर र वाइन खान अफर गरे। निकै हतारिएर बोलिरहेका उनीहरू बल्ल ग्राहक भेटेजसरी प्रस्तुत भएका थिए। मेनुको मूल्य चर्काे थियोः  एक कप चियाको रु. २००, एक बोतल बियरको रु. ७००, एक बोतल पानीको रु. १००। 

साँघुरो, बढीमा दुई वटा क्याबिन भएका यी रेस्टुरेन्ट यौनधन्दाका लागि सम्पर्क स्थल हुन्। हामीले ‘खानपिनभन्दा पनि हामी यहाँ केही बेर रमाइलो गर्न आएका हौँ’ भन्यौँ। त्यहाँ भएका तीन युवतीले ‘एकछिन बसौँ, अनि नजिकैको लजमा जाउँला’ भन्दै हामीलाई फकाइरहेका थिए। 

हामीले वेलकम, पर्खाइ, रोज, युनिक, टेस्ट टाउन, टाइटानिक, बराह रेस्टुरेन्टमा निगरानी गरेका थियौँ। यहाँ कम उमेरका देखिन युवतीदेखि काखमा बच्चा लिएका महिलासम्म कार्यरत थिए। टेस्ट टाउनको पछाडिपट्टि यौनधन्दाका लागि ठाउँ बनाइएको थियो। रेस्टुरेन्टको बहानामा ग्राहकसँग सम्पर्क गर्ने अनि लजमा पुर्‍याएर यौनधन्दा गराउने व्यवस्था रेस्टुरेन्ट सञ्चालकले मिलाएका छन्। यहाँ सबै युवतीले ‘एकछिन बसौँ, अनि जता गए पनि जाउँला’ भनेर अफर गरेका थिए। 

प्रहरीले किन देख्दैनन् ? 

गौशाला चोकमा महानगरीय प्रहरी वृत्त छ भने रातो पुलमा सामुदायिक प्रहरी बिट। यही बीचमा पूरै घरमा १० जनासम्म युवती राखेर यौनधन्दा भइरहेको छ भने कतै रेस्टुरेन्टको आवरणमा धन्दा गराउनेहरू छन्। ‘तर, प्रहरीले यौनधन्दा सञ्चालकलाई कारबाही गरेको सुनिएको छैन,’ स्थानीय बासिन्दा गुनासो गर्छन्। निगरानीका क्रममा यो बाटोमा ओहोरदोहर गर्दा युनिर्फममा रहेका प्रहरी खाजा पसल तथा रेस्टुरेन्टको ढोकामा बसेर ग्राहक कुरिरहेका युवतीहरूसँग जिस्किँदै हिँडिरहेका भेटिए। ‘गौशाला र रातो पुलमा रहेका प्रहरीले यहाँको तमासा देखेका छैनन् भनेर कसरी पत्याउनु ?’ एक जना स्थानीय भन्छन्, ‘प्रहरीको कमाइ खाने बाटो नै यौनधन्दा सञ्चालक भएकाले यिनीहरूलाई कारबाही नभएको हो।’ प्रहरीले आफ्नै आँखाअगाडि निर्बाध रूपमा रेडलाइट एरियामा जस्तै यौनधन्दा सञ्चालन गर्न छुट दिएको देखेर स्थानीयवासी आक्रोशित छन्। 


सिफलको यो घरमा अहिले पनि चलिरहेछ यौनधन्दा 

सिफलबाट चाबहिल लामपोखरीतिर मोडिनेबित्तिकै दायाँतिर रातो रङको घरसँगै जोडिएको तीनतले पहेँलो रङको घर देखिन्छ (हेर्नुहोस् तस्बिर ४)। यो घरको यौनधन्दाका बारेमा ‘सम्पूर्ण’ले गत वैशाख १२ गतेको अंकमा निगरानीसहित लाइभ रिपोर्टिङ गरेको थियो। अहिले पनि यहाँ धन्दा चलिरहेको जानकारी स्थानीय वासीले दिएपछि यस पटक पनि हामीले यहाँ निगरानी गरेका थियौँ। 

दुइटा सटर भएको यो घरको एउटा सटर खुला हुन्छ भने अर्को सटर बन्द। सडक विस्तारका क्रममा घरको अगाडिको भाग काटिएकाले अगाडिपट्टि खासै ठूलो ‘स्पेस’ छैन। यो घर पूरै भाडामा लिएर खाजाघर चलाउने नाममा एक जना महिलाले यौनधन्दा चलाइरहेकी छिन् भन्ने सूचनाका आधारमा हामीले यो घरमा निगरानी गरेका थियौँ।

सडकपट्टि खुलेको सटरबाट यो घरमा प्रवेश गरेपछि भुइँतलामा खाजा पसलको छनक आउँछ। ‘खानेकुरा के छ ?’ भनेर सोध्दा ‘खासै केही छैन’ भन्ने जवाफ पाइन्छ। शोभा क्षत्री केसी सञ्चालक रहेको शान्ति होटल भनेर दर्ता गरिएको प्रमाणपत्र भित्तामा झुण्डिएको छ। बाहिर भने कुनै बोर्ड राखिएको छैन। 

निगरानीका क्रममा हामीले ‘खाजा के खान पाइन्छ होला ?’ भनेर सोध्दा काउन्टरमा बसेकी युवतीले ‘खाजा त खासै केही छैन’ भन्दै चिसो र चिया पाइने बताइन्। हामीले चिसो पेय अर्डर गरेर अण्डा उसिन्नका लागि आग्रह गर्‍यौँ। 

जसरी भए पनि केही समय अलमल गरेर त्यहाँ हुने गतिविधि नियाल्ने हाम्रो उद्देश्य थियो। हामी बन्द सटरको कुनापट्टि गएर बसौँ। त्यहाँ चिया पकाउने चुलो पनि थियो। खाजा÷खाना केही नपाइने ठाउँमा आउजाउ गर्ने पुरुषको संख्या भने बाक्लै थियो। हामीले एउटा चिसो पेय खाइनसक्दै चार जना पुरुष भित्र पसेर भर्‍याङ हुँदै माथि उक्लिसकेका थिए। हामी आफ्नै धुनमा बसेर केही थाहा नपाएजसरी त्यहाँको दृश्य नियालिरहेका थियौँ। दुईचार वटा उसिनेको अण्डा खान हामीले निकै समय लगायौँ। 

हामी बसिरहेको देखेपछि सञ्चालक महिला हाम्रो छेउ आइन्। हाम्रो टिमको एक सदस्यलाई ‘कताकता देखेजस्तो लाग्यो’ भन्दै ‘पहिला आउनुभएको थियो कि थिएन ?’ भनेर सोधखोज गर्न थालिन्। 

बिहान ७ बजे खुल्ने यो घरमा दुई सिफ्टमा यौनधन्दा हुने गरेको छ। बिहान साढे ७ वा ८ बजेतिर पाँच जना युवती आउने र उनीहरू १२ देखि १ बजेसम्म यौनधन्दा गर्ने, त्यसपछि अरू पाँच जना आउने गरेको सञ्चालक महिलाले बताइन्। ‘अहिले दिउँसो आएकाहरू छन्, बिहान चाँडै आउँदा अरू नै हुन्छन्,’ उनले भनिन्। 

‘सिफ्टवाइज’ यौनधन्दा चलाइरहेकी उनले भनिन्, ‘प्रहरीसँग सेटिङ मिलाएकाले मलाई खासै अप्ठ्यारो पर्दैन।’ यौनधन्दामा लगाएका यौनकर्मीबाट आधा रकम असुल्ने गरेकी उनले घर फर्किने बेलामा प्रत्येक यौनकर्मीसँग अतिरिक्त एक सय रुपैयाँ पनि उठाउने गरेको त्यहाँ भेटिएका महिलाले बताए। ‘प्रहरीलाई दिनुपर्छ भनेर दिदीले हरेक दिन थप एक सय पनि लिनुहुन्छ,’ एक जना यौनकर्मी महिलाले भनिन्। 

विभिन्न कारणले यौनधन्दा गर्न बाध्य भएका महिलालाई ‘ब्ल्याकमेलिङ’ गरेर धन्दा गराउने गरेको त्यहाँ केही समय यौनधन्दा गरेर बाहिरिएकी एक महिलाले बताइन्। ‘काम गर्ने भए गर्, होइन भने तेरो घरपरिवार र आफन्तलाई भन्दिन्छु’ भन्दै दिदीले तर्साएर धन्दा गर्न लगाउनुहुन्छ,’ एक यौनकर्मीले भनिन्। 

तपाईको कमेन्ट