विदेशीलाई मीठो लाग्छ नेपाली भाषा

writer

सुमित सुवेदी

शुक्रबार, २९ कार्तिक २०७६


शिक्षा

अहिले नेपाली भाषा पढ्ने चिनियाँ विद्यार्थी बढेका छन्। विश्व भाषा क्याम्पसमा पढ्ने उनीहरू नेपाल सुन्दर र शान्त देश भएको र नेपाली भाषा मीठो भएकाले यहाँ पढ्न आएको बताउँछन्। हाल यस क्याम्पसमा विभिन्न देशका सयौँ विद्यार्थी नेपाली, नेपाल भाषा, पाली, संस्कृत आदि पढिरहेका छन्। 


नेपालका विद्यार्थी विदेश जाने क्रम बढ्दो छ। विदेशिएका थुप्रै नेपाली उतै बस्छन्। उतैको भाषा बोल्छन्। आफ्नो संस्कृतिसमेत भुल्छन्। तर, कतिपय विदेशी यस्ता  छन्, जसलाई नेपाल असाध्यै मन पर्छ। नेपाली भाषा, नेपालको रहनसहन,  संस्कृति सिक्न उनीहरू नेपाल आउने गरेका छन्। नेपाली, संस्कृत, पाली, नेवार भाषा अध्ययन गर्न चीन, बेलायत, फ्रान्स, जापान, दक्षिण कोरिया, रोमानियालगायत देशबाट विद्यार्थीहरू नेपाल आउने गरेका छन्। पहिले जापानी र कोरियाली धेरै आउने गरेकोमा यसपालि चिनियाँहरू धेरै आएको विश्व भाषा क्याम्पसकी विदेश प्रमुख रितादेवी निरौला बताउँछिन्। ‘नेपालको धर्म–संस्कृति र रहनसहन नजिकबाट बुझेका चिनियाँहरू नेपाल र नेपाली भाषा निकै मन पराउँछन्,’ उनी भन्छिन्, ‘त्यसैले होला यसपालि विश्व भाषा क्याम्पसमा धेरै चिनियाँ विद्यार्थी आएका छन्।’  

चिनियाँ विद्यार्थी मोहिनी, भाग्य र लक्ष्य 

चिनियाँ विद्यार्थी बू हाइकुङ तीन महिनादेखि विश्व भाषा क्याम्पसमा नेपाली भाषा पढिरहेकी छिन्। उनले आफ्नो नेपाली नाम राखेकी छिन्, मोहिनी। चीनमै चार सेमेस्टर अध्ययन गरेर आएकी उनी अहिले नेपालीको पाँचौँ सेमेस्टर पढिरहेकी छिन्। बू अर्थात् मोहिनी युनान मिन्जु विश्वविद्यालयमार्फत नेपाल आएकी हुन्। ‘नेपालको इतिहास, धर्म र संस्कृति मलाई साह्रै मन पर्छ,’ बू भन्छिन्, ‘नेपाललाई अझ नजिकबाट बुझ्न नेपाली भाषा पढेकी हुँ। नेपाली भाषा एकदमै मीठो छ।’ उनी सहज तरिकाले नेपाली बोल्छिन्। 

उनीसँगै पढ्ने अर्की विद्यार्थी हुन्, हान यानी। उनले आफ्नो नेपाली नाम राखेकी छिन्, भाग्य। उनलाई पनि नेपाल, नेपाली र नेपाली भाषा निकै मन पर्छ। ‘मलाई नेपालका डाँडाकाँडा, हिमाल, पाखापखेरा असाध्यै सुन्दर लाग्छन्,’ उनी भन्छिन्, ‘त्यसैले नेपाली भाषा पढ्न मन लाग्यो। नेपाली मीठो भाषा हो।’ पाँचौँ सेमेस्टरकी विद्यार्थी भाग्य अर्थात् हानको नेपाली उच्चारण निकै राम्रो छ। उनी चीनमा गएर शिक्षक बन्न चाहन्छिन्। ‘चीनमा नेपाली भाषा पढाउने धोको छ,’ हान भन्छिन्। 

नेपालमा ‘मोहिनी’ र ‘भाग्य’ले दशैँ पनि मनाए। नेपालीको ठूलो चाड दशैँमा  गुरुको हात बाट टीका थापेको उनीहरू बताउँछन्। ‘दशैँको दिनमा हामीले गुरुको घरमा गएर टीका लगायौँ,’ मोहिनी भन्छिन्, ‘गुरुले दुई–दुई सय रुपैयाँ दिनुभयो। हामी दुई जनाले ट्याक्सी चढेर त्यो रकम सक्यौँ।’ भाग्यले तिहार पनि मनाएको बताइन्। ‘सेलरोटी खायौँ, देउसी पनि गायौँ,’ उनी भन्छिन्। 

मोहिनी र भाग्यसँग अर्की चिनियाँ छात्रा हू लिङ पनि बस्छिन्। उनको नेपाली नाम लक्ष्य रहेछ। उनी पनि विश्व भाषा क्याम्पसमा नेपाली पढिरहेकी छिन्। उनी पहिलो पल्ट नेपाल आएकी हुन्। ‘नेपालसम्बन्धी भिडियोहरू हेरेकी थिएँ,’ हू अर्थात् लक्ष्य भन्छिन्, ‘नेपालका हिमालका फोटोहरू पनि हेरेकी थिएँ। नेपालप्रति मोहित थिएँ। त्यसपछि नेपाल आएर नेपाली भाषा पढ्ने सोच पलायो।’ 

यी तीनै चिनियाँ विद्यार्थीका नजरमा नेपाल सुन्दर र सुखी देश हो। लक्ष्य भन्छिन्, ‘चिनियाँहरू नेपाललाई निकै सुन्दर र सुखी देश मान्छन्। यो देश सानो छ, तर सुन्दर छ। यहाँका मान्छे असल र फरासिला छन्।’ 

नेपाली पढिरहेका रोमानियाली डाक्टर  

रोमानियाका नागरिक एमिल बिट्स पेशाले डाक्टर हुन्। उनी विगत एक वर्षदेखि नेपालमा छन्। उनी विश्व भाषा क्याम्पसमा नेपाली भाषा पढिरहेका छन्। उनकी श्रीमती चार वर्षयता नेपालमा बस्दै आएकी रहिछन्। बिहे गरेको एक वर्षपछि उनी पनि नेपालमा बस्न थाले। भन्छन्, ‘मेरो श्रीमती नेपाल बसेको चार वर्ष भयो। उनी त नेपालीजस्तै देखिन्छिन्। बिहे गरेको एक वर्षपछि म पनि नेपाल आएँ।’ उनीहरूको एक वर्षको छोरा पनि छ। 

बिट्स नेपाल आएको पहिलो पटक चाहिँ होइन। एमडीको रिसर्च उनले नपालमै गरेका थिए। त्यसै समयमा उनले नेपाललाई नजिकबाट नियालेका थिए। ‘मैले एमडीको रिसर्च नेपाल आएर गरेको थिएँ,’ उनी भन्छन्, ‘त्यसै समयमा मलाई नेपाल निकै मन पर्‍यो। यहाँको भाषा र संस्कृति सिक्न मन लाग्यो। अनि, नेपाली पढ्न थालेँ।’ नेपालमा रिटायर्ड लाइफ बिताउने उनको धोको छ। उनी हाल ललितपुर, एकान्तकुनामा बस्छन्। उनी अहिले राम्रो नेपाली बोल्छन्। 

बिट्सलाई नेपालीहरू मिलनसार लाग्छ। भन्छन्, ‘नेपाली जनता निकै मेहनती र सुशील छन्। नेपाली भाषा एकदमै मीठो छ।’ 

ब्रिटिस नागरिकको संस्कृत मोह      

ब्रिटिस नागरिक स्टुआर्ट कुल्स उमेरले ६८ वर्ष पुगे। उनको जन्म भने भारतमा भएको थियो। उनलाई संस्कृत भाषा निकै मन पर्छ। भन्छन्, ‘मैले आफ्नो सम्पूर्ण जीवन भारतमा बिताएँ। त्यसैले पनि होला मलाई संस्कृत भाषा पढ्न निकै रमाइलो लाग्छ। पहिल्यै संस्कृत पढ्न मन थियो तर अहिले बल्ल समय मिल्यो।’ भारतमै पनि पढाइ हुने संस्कृत पढ्न स्टुआर्ट नेपाल आएका छन्। नेपाल निकै सुन्दर र शान्त देश भएकाले यहाँ पढाइ सुरु गरेको उनी बताउँछन्। उनी विश्व भाषा क्याम्पसमा संस्कृत पढिरहेका छन्। ‘म भारतमै पढ्न सक्थेँ,’ उनी भन्छन्, ‘तर, नेपालको सुन्दरताले मलाई तान्यो।’ हाल उनी ठमेलमा बसिरहेका छन्। 

ताइवानीको नेपाल प्रेम 

नयाँ–नयाँ विषयमा रुचि राख्ने स्यामुअल चाङ नेपाली भाषा अध्यायन गर्न ताइवानबाट नेपाल आएका हुन्। भन्छन्, ‘नेपाली भाषाको इतिहास गहिरो छ। नेपालमै बसेर नेपाली भाषा पढ्न चाहन्छु। मलाई नेपाल असाध्यै राम्रो लाग्छ। म यो देशलाई प्रेम गर्छु।’ उनलाई विभिन्न विषयमा अनुसन्धान गर्न मन पर्छ। नेपालको भाषा र संस्कृति सिकेर आफ्नो देशका नागरिकलाई नेपालबारे बताउने र नेपालको प्रचार गर्ने उनको योजना छ। 

उनले थुप्रै नेपाली साथी बनाएका छन्। भन्छन्, ‘नेपालका मान्छेहरू निकै फ्रेन्ड्ली छन्। खाना खाने ठाउँमा जान्छु, त्यहीँ साथी बनाउँछु। किताब पसलमा जान्छु, त्यहाा पनि साथी बनाउँछु। अहिलेसम्म त २०–२२ जना नेपाली साथी बनाइसकेँ।’ उनलाई नेपालका सबै कुरा मन पर्छन्। एउटै कुरा मन पर्दैन। ‘धुलो र धुवाँ,’ उनी भन्छन्। ‘त्यसबाहेक नेपालका हरेक चिज राम्रा छन्।’ 

आनन्दको खोजीमा विदेशी  

नेपाल बस्नका लागि शान्त र सुरक्षित देश भएकाले आनन्दको जिन्दगी जिउन विदेशीहरू नेपाल आउने गरेको विश्व भाषा क्याम्पसका क्याम्पस प्रमुख भीम रेग्मी बताउँछन्। भन्छन्, ‘नेपाल शान्त छ। यहाँ कसैको डर मान्नुपर्दैन। त्यसैले नेपालमा आएर नेपाली भाषा सिकी बाँकी जिन्दगी नेपालमै बस्न आउनेको संख्या बढ्दो छ।’ त्यस्तै, उनीहरूको नयाँ कुरा सिक्ने चाहनाले पनि नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढेको क्याम्पस प्रमुख रेग्मी बताउँछन्। ‘यहाँ कतिपय विद्यार्थी यस्ता छन्, जसलाई नेपाली र संस्कृत भाषा सिक्ने तीव्र इच्छा छ,’ उनी भन्छन्, ‘यहाँको इतिहास र संस्कृतिबारे धेरै कुरा बुझ्ने भोकले उनीहरू यहाँ आएका हुन्।’ 

कसरी पाउँछन् विदेशीले स्टडी भिसा ?  

स्टडी भिसा पाउनका लागि सर्वप्रथम विद्यार्थी इच्छुक भएर भर्नाका लागि क्याम्पस आउनुपर्ने क्याम्पस प्रमुख रेग्मी बताउँछन्। ‘विद्यार्थीलाई नेपालमा पढ्न स्वीकृति दिने एउटा प्रोसेस छ,’ उनी भन्छन्, ‘पहिला त हामी क्याम्पसमा भर्ना हुन आएका विद्यार्थीको कागजपत्र शिक्षा मन्त्रालयमा पठाउँछौँ। त्यसपछि शिक्षा मन्त्रालयले आवश्यक प्रक्रिया पुयार्‍ई अध्यागमनमा पढाउँछ। र, त्यहाँबाट योग्य विद्यार्थीले स्टडी भिसा पाउँछन्।’ अहिले विश्व भाषामा ३ सय ८० जना विद्यार्थीले स्टडी भिसामा अध्ययन गरिरहेका छन्। 

विश्व भाषामा क्याम्पसमा दुई वटा कोर्समा पढाइ हुन्छ। एउटा एकेडेमिक र अर्को नन–एकेडेमिक। एकेडेमिकभन्दा नन–एकेडेमिकमा धेरै विद्यार्थी रहेको विदेश विभाग प्रमुख निरौला बताउँछिन्। नन–एकेडेमिकतर्फ नेपाली भाषा अध्ययन गर्न पहिलो सेमेस्टरमा २ सय ३७ विद्यार्थी भर्ना भएका छन्। त्यस्तै, पहिलो सेमेस्टरमा पाली, संस्कृत र नेवार भाषा पढ्ने विद्यार्थीको संख्या क्रमशः २२, १८ र सात रहेको छ। नेपाली दोस्रो सेमेस्टरमा २७, तेस्रोमा २९, चौथोमा ११, पाँचौँमा आठ र छैटौँ सेमेस्टरमा एक जना विद्यार्थी रहेका छन्। विदेशी विद्यार्थीले नेपालमा एउटा भाषा पढ्दा पाँचसय देखि छ सय डलरसम्म शुल्क बुझाउनुपर्ने रेग्मी बताउँछन्। 

तपाईको कमेन्ट