‘नौबीसेबाट नागढुंगा पुग्न महाभारतै हुन्छ’

सम्पूर्ण
शुक्रबार, २९ कार्तिक २०७६
१८ वर्षदेखि गाडी लाइनमा छु। पाँच वर्ष नेपालमा चलाएँ। आठ वर्षजति साउदी अरबमा पनि ठूलो गाडी चलाएँ। उता पनि खासै राम्रो कमाइ भएन। ‘कति अरूको देशमा बस्नु, जे जस्तो दुःख पाए पनि आफ्नै देशमा काम गर्छु’ भनेर नेपाल फर्किएँ। नेपाल आएर उही पेशा सुरु गरेँ। अहिले काठमाडाँैदेखि काँकडभिट्टासम्मको गाडी चलाउँछु। काठमाडौँबाट काँकडभिट्टा पुग्न १७–१८ घण्टा लाग्छ। कहीँ कतै जाम भएन भने यति समयमा पुगिन्छ।
कक्षा १० सम्म पढेको छु। पारिवारिक समस्याले त्यसभन्दा बढी पढ्न सकिएन। दुई वर्ष ट्रकमा सहचालक भएर काम गरेपछि मात्र चालक बन्ने अवसर पाएँ।
राति गाडी चलाउन सजिलो
दिउँसोभन्दा राति गाडी चलाउन सजिलो लाग्छ। रातिको समयमा ट्राफिक जाम हुँदैन। बाटो पनि खुला हुन्छ। बाटो काट्ने मान्छे हुँदैनन्। आफ्नै सुरमा आरामले गाडी हाँक्न पाइन्छ। राति सबै प्यासेन्जर सुत्छन्। उनीहरूको कचकच पनि सुन्न पर्दैन।
एक्लै चलाउन मुश्किल
नाइट गाडीमा एक जना मात्र चालकले चलाउन मुश्किल पर्छ। एक त बाटोको हालत साह्रै खराब छ। जताततै खाल्डाखुल्डी। कहीँ त सडक नै पोखरी बनेको हुन्छ। जसले गर्दा गाडी चलाउन लास्टै गाह्रो हुन्छ, जीउ दुख्छ । त्यसैले नाइट गाडीलाई दुई जना चालक अनिवार्य चाहिन्छ।
नौबीसेदेखि नागढुंगा पुग्नै गाह्रो
नौबीसेदेखि नागढुंगाको बाटो साह्रै खत्तम छ। बाटो साँघुरो, त्यसमाथि खाल्डाखुल्डी। ठूला गाडीलाई धेरै असहज हुन्छ। जाम उस्तै पर्छ, यो बाटोमा। कलंकीबाट साँझ ५ बजे हिँडेको गाडी नौबीसेमै तीनचार घण्टा बस्नुपर्ने अवस्था आउँछ। नौबीसेबाट नागढुंगा पुग्न महाभारतै हुन्छ। नागढुंगा कटेपछि गाडी चलाउन आनन्द आउँछ।
पेशाबाट सन्तुष्ट
काम र कमाइबाट एकदमै सन्तुष्ट छु। आफ्नो आधा जिन्दगी नै यही पेशामा बित्यो। जानेको काम पनि यही हो। यही पेशाबाट घरपरिबार मज्जाले चलेको छ। जहिलेसम्म सकिन्छ, यही काम गरिन्छ। फुर्सदमा खेती पनि गर्छु।
धेरै ठाउँ घुमियो
गाडी चलाउने क्रममा नेपालका धेरै ठाँउ पुगियो, घुमियो। धरान, धनकुटा, हिले, इलाम, पूर्वतिर जम्मै घुमियो। गाडी चलाउने पेशाको रमाइलो पाटो यही रहेछ। रिजर्भमा जाँदा धेरे ठाउँ घुम्न पाइन्छ। धेरै ठाउँ गएँ तर इलामजस्तो राम्रो ठाउँ कुनै लागेन। त्यहाँको वातावरण राम्रो लाग्यो। त्यहाँका मान्छेको बोलीवचन पनि एकदमै मीठो लाग्यो। त्यसैले इलाम जाऊँ–जाऊँ लाग्छ।
विदेशको नियम राम्रो
गाडी चलाउने कुरामा विदेशको नियम साह्रै राम्रो लाग्यो। विदेशमा चालकलाई सबैले सम्मान गर्छन्। नेपनलमा त ड्राइभर भनेर हेप्ने गर्छन्। विदेशमा नियम– कानुन पनि राम्रो हुन्छ।
प्रस्तुतिः आशक्ति
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७