‘धुलोधुवाँ पचाउनमा हामी एक्सपर्ट भइसक्यौँ’

सम्पूर्ण
शुक्रबार, २९ कार्तिक २०७६
आरामै हुनुहुन्छ ?
आरामै छु।
ड्युटीमा कत्तिको व्यस्त भइन्छ ?
सडकमा सवारीको चाप बढ्दो छ। सधैँ व्यस्त भइन्छ।
यहाँको घर कता पर्यो ?
गुल्मी।
यता कता बस्नुहुन्छ ?
बबरमहल।
ट्राफिक प्रहरी भएर सेवा गर्न थाल्नुभएको कति भयो ?
सात वर्ष।
यसअघि के गरिन्थ्यो ?
विद्यार्थी थिएँ।
कतिसम्म पढ्नुभएको छ ?
११ कक्षासम्म पढेकी छु।
जागिर खाँदै पढ्न सकिन्थ्यो होला नि ?
पढेको भए त सक्थेँ। परीक्षाको फारम पनि भरेँ, तर तालिममा जानुपर्ने भयो। त्यसमाथि म काठमाडौँमा थिएँ, कलेज गुल्मीमा। जान सकिएन। त्यसैले पढाढ छुट्यो।
पढाइ छोडेर जागिर गर्दा परिवारको साथ पाउनुभयो ?
आमाले पुलिसमा जागिर नखा भन्नुभएको थियो। ‘पहिले राम्रोसँग पढ्, जागिर पछि गर्दा हुन्छ’ भन्नुहुन्थ्यो। परिवारका अरू सदस्यले चाहिँ मेरो साथ दिनुभयो।
आमाले प्रहरीमा जागिर किन नखाऊ भन्नुभयो त ?
छोरीले दुःख पाउँछी भनेर नि।
अहिले के भन्नुहुन्छ आमा ?
अहिले त खुशी नै हुनुहुन्छ।
फोर्समा तपाईंबाहेक परिवारका अरू कोही हुनुहुन्छ कि ?
दाइ हुनुहुन्छ।
ट्राफिक प्रहरीमा आउने अवसर कसरी पाइयो ?
सानैदेखि ट्राफिक प्रहरी बन्ने लक्ष्य मनमा राखेर हुर्किएँ। त्यसैले पढाइ छोडेर यता ट्राई गरेँ। नाम निस्कियो र आएँ।
काम कत्तिको गाह्रो छ ?
आफ्नो इच्छाको काम भएर होला, कहिल्यै गाह्रो महसुस भएन। सुरुसुरुमा अलिक असहज भएको थियो। पछि बानी पर्दै गयो र रमाइलो लाग्न थाल्यो।
महाशाखाबाहेक अन्य कुन–कुन ठाउँमा ड्युटी गर्नुभयो ?
बुटबलमा पाँच वर्ष काम गरेँ। त्यसपछि महाशाखामै छु।
ड्युटीको क्रममा बुटवल र काठमाडौँमा के फरक पाउनुभयो ?
धेरै फरक छ। उता यहाँको जस्तो गाडीको चाप हुँदैन। यहाँ त हामीलाई धुलोधुवाँले साह्रै दिक्क बनाउँछ। उताको वातावरण राम्रो छ। बाटाघाटा पनि राम्रा छन् उता।
धुवाँधुलोले के कस्ता समस्या भएका छन् ?
धुवाँधुलोले गर्दा घाँटीमा समस्या भएको छ। खासमा भन्ने हो भने हामी ट्राफिक त धुलोधुवाँ पचाउनमा एक्सपर्ट भइसक्यौँ।
बिना लाइसेन्सका चालक पनि भेटिन्छन् कि ?
भेटिन्छन् नि। खास गरी, टिनएजरहरू लाइसेन्सबिना मोटरसाइकल चलाउँछन्।
सडकमा कस्ता–कस्ता चालक भेटिन्छन् ?
कोही बुझ्ने हुन्छन्, कोही नराम्रा पनि हुन्छन्।
नराम्रो भन्नाले कस्ता खाले चालक ?
‘हाम्रो भलाइको लागि ट्राफिक सडकमा उभिएको हो’ भन्ने बुझ्दैनन्। उल्टो हामीलाई सिकाएर जाने खालका हुन्छन्। हेपाहा खालका हुन्छन्।
पहिलो दिन सडकमा जाँदाको अनुभव कस्तो रह्यो ?
पहिलो दिन सडकमा जाँदा त म अलमल्ल परेँ। के गर्ने, कसो गर्ने, मेसो नै पाइएन। काम गर्न अलिक असहज भयो।
यो एरियामा मापसेमा चालक कत्तिको पर्ने गर्छन् ?
यो एरियामा त एकदमै धेरै चालक मापसेमा पर्ने गर्छन्। दिनमा १५, २० जना पर्ने गर्छन्। चाडपर्वको बेलामा त झन् धेरै भेटिन्छन्।
अव्यवस्थित पार्किङका सवारी कति आउने गर्छन् ?
नगरपालिकाले दिनमा तीन, चार वटा गाडी लेराउने गर्छ।
त्यसपछि उनीहरू के कस्तो प्रतिक्रिया जनाउँछन् ?
‘मैले एकैछिन राखेको त हो’ भनेर कोही त झगडा गर्छन्। कोही ‘पार्किङमै राखेको हो’ भनेर जिद्दी गर्छन्।
हाउ मचमा कत्तिको कमी आएको छ ?
अझै पनि ट्याक्सी चालक त्यति बुझ्ने भएको पाइँदैन। धेरै कमी आएको छैन।
महिला ट्राफिक प्रहरीलाई चालकले कस्तो व्यवहार गर्छन् ?
कोही–कोही चालकले हेप्न खोज्छन्। तर, हामीलाई कसैले दबाउन सक्दैन।
तालिममा कपाल पनि काटियो कि ?
काटियो नि। मेरो लामो कपाल थियो। ब्वाइज कट काटिदिँदा खूब रोएँ। कति दिनसम्म राम्ररी खान पनि मन लागेन।
प्रस्तुतिः आशक्ति फुयाल
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७