रामको आदेशले जो हनुमान बने

writer

उर्मिला स्याङ्तान

शुक्रबार, २९ कार्तिक २०७६


बाबुजी मुखिया पशुपति क्षेत्रमा हुनमानको भेषमा डुलिरहेका हुन्छन्। उमेरले ७५ वर्ष टेके पनि फुर्तिला छन्। भगवान् रामले सपनामा आएर ‘तिमी हनुमान बन’ भनेपछि आफू हनुमान बनेको उनको भनाइ छ। 


एक हातमा गदा, अर्को हातमा कमण्डलु बोकेर, हनुमानको मखुन्डो लगाएर ७५ वर्षीय बाबुजी मुखिया पशुपतिमा घुमिरहन्छन्। उनले हनुमान बनेर पशुपतिमा डुल्न थालेको १७ वर्ष भइसक्यो। धेरैले उनलाई ‘पशुपतिको हनुमान’ भनेर चिन्छन्।

बाबुजीको घर धनुषा हो। उनी सानैदेखि भजनमा नाच्ने गर्थे। ‘भजनमा नाचेरै २६ वर्ष बिताएँ’, उनी भन्छन्। उनी हनुमान बन्नुपछाडि रोचक कथा छ। ‘भगवान् रामले मलाई सपनामा आएर ‘तिमी हनुमान बन्नुपर्छ’ भन्नुभयो,’ उनी सुनाउँछन्, ‘त्यसपछि मैले जसरी भए पनि हनुमान बन्ने सोच बनाएँ।’ तर, भन्नेबित्तिकै हनुमान बन्न सम्भव थिएन। पैसा तगारो बन्यो। हनुमानजस्तै देखिन त्यस्तै पोशाक चाहियो। उनीसँग पैसा थिएन। 

एक पटक गाउँमा हुने रामल्ीालामा उनले हनुमानको भूमिका निर्वाह गर्ने अवसर पाए। ‘त्यही बेला हो, म पहिलो पटक हनुमान बनेको,’ उनी सम्झन्छन्, ‘त्यतिखेर आफ्नो सपना साकार भएजस्तो लाग्यो।’ रामलीलामा हनुमानको भूमिका गरेबापत केही पैसा पाए। त्यही पैसा बोकेर हनुमानको पोशाक किन्न भारत गए। त्यसपछि हनुमान बन्नु, भजनमा नाच्नु उनको दिनचर्या बन्यो। 

एक पटक पशुपतिमा हनुमानको आवश्यकता रहेको खबर सुने। खबर सुन्नेबित्तिकै धनुषाबाट काठमाडाँै हिँडे। पशुपतिको राम मन्दिरमा बस्न थाले। हनुमानको रूपमा पशुपतिवरिपरि घुम्न थाले। सम्झन्छन्, ‘पहिलो पटक मलाई देख्दा हेर्नेको भीड लाग्यो। अहिले त्यस्तो छैन।’ बाबुजीलाई सुरुवातको दिनमा पशुपतिमा बस्न असहज लाग्थ्यो। समय बित्दै जाँदा त्यो असहजता हट्यो। सबैसँग चिनजान भयो। अहिले पशुपतिमा बस्ने सबै आफ्नै मान्छेजस्ता लाग्छन्, उनलाई। 

‘श्रीरामको दूत’, ‘पवनपुत्र’ नामले प्रख्यात हनुमान ब्रह्मचारी थिए। तर, आफूलाई श्रीरामको भक्त भन्न रुचाउने बाबुजी भने गृहस्थी हुन्। ‘श्रीमती, तीन छोरी, दुई छोरा र १२ नातिनातिना छन्,’ उनी भन्छन्।

हरेक बिहान ५ बजे उनको निद्रा खुल्छ। सबेरै स्नान, पूजापाठ गरी हनुमानको रूप धारण गर्छन्। ‘विगत १७ वर्षदेखि मेरो दिनचर्या यही छ,’ उनी भन्छन्, ‘अझै कति वर्ष गर्छु, थाहा छैन।’ बाबुजीबाट हनुमान बन्न उनलाई आधा घण्टा लाग्छ।  ‘हनुमान बन्दा आफू बाबुजी मुखिया हुँ भन्ने बिर्सिन्छु,’ उनी सुनाउँछन्। तयार भएपछि उनी दायाँ हातमा कमण्डलु बोक्छन्, जसमा ठूलो आवाजमा भजन घन्काउँछन् मोबाइलमा। 

बाबुजीसँग पशुपति घुम्न आएका स्वदेशी–स्वदेशी पर्यटकले फोटो खिच्छन्। केहीले उनको कमण्डलुमा अलिकति पैसा पनि हालिदिन्छन्। ‘कोहीले आफू खुशी पैसा दिन्छन्,’ उनी भन्छन्, ‘पैसा नदिनेलाई पनि केही भन्दिनँ। सबैलाई आशीर्वाद नै दिन्छु।’ 

आफ्नो कमण्डलुमा दिनमा चारपाँच सय रुपैयाँ जम्मा हुने उनी बताउँछन्। भन्छन्, ‘त्यो पैसा घरमा दिन्छु। त्यसै पैसाबाट मेरो गुजारा चलिरहेको छ।’ खेतीपातीको मौसममा उनी गाउँ फर्किन्छन्। ७५ वर्षका भए पनि खेतीकिसानी गर्न सक्ने उनी बताउँछन्। ‘घर गएर खेतीपाती गर्छु,’ उनी भन्छन्, ‘निरोगी छु। भगवान् श्रीरामको कृपाले अहिलेसम्म खेती गर्न सकेको छु।’

तपाईको कमेन्ट