‘गरिबले गाह्रो भयो भन्न पाउँछ?’

सम्पूर्ण
शुक्रबार, २९ कार्तिक २०७६
दाइ कस्तो चल्दै छ, व्यापार?
खोइ कस्तो भन्नु? ठीकठीकै छ।
कति भयो आइसक्रिम बेच्न थाल्नुभएको?
२५–२६ वर्षजति भयो।
आइसक्रिम कहाँबाट ल्याउनुहुन्छ?
गुहेश्वरीमा यसको कारखाना छ, त्यहीँबाट ल्याउँछु।
कारखानामा कति बेला जानुहुन्छ ?
बिहान खाना खाएर ९ बजेतिर जान्छु।
दिनभरि उभिएर काम गर्दा गाह्रो हुन्छ होला नि?
गाह्रो त हुन्छ नि ! ढाड दुख्छ, हातखुट्टा दुख्छ। तर, के गर्नु? काम त गर्नुपर्यो। कोठा भाडा जुटाउनैपर्यो, परिवार पाल्नैपर्यो। गरिबले गाह्रो भयो भन्न पाउँछ?
दिनमा कति कमाउनुहुन्छ?
यतिउति भन्नै सकिँदैन। आएको पैसा साहूलाई बुझाउनुपर्छ। कहिले सोचेभन्दा बढी कमाइ हुन्छ, कहिले कम। अहिलेसम्म धेरै भनेको दिनको १५ सय रुपैयाँ कमाएको छु। नत्र, दिनमा तीनदेखि छ सय रुपैयाँसम्म कमाइन्छ।
यति कमाइले घरपरिवार पाल्न पुग्छ त?
यस्तो महँगीमा गुजारा चलाउन धेरै गाह्रो छ। जसोतसो चलाएको छु।
यसअघि के गर्नुहुन्थ्यो?
जीवनका १२ वर्ष वैदेशिक रोजगारीमा बिताएँ। जहाँ काम गरे पनि पसिना नै बगाउनुपर्ने हो भन्ने लागेपछि नेपालमै बस्न थालेँ। परिवार छोडेर जान मनले मानेन। आइसक्रिम बेच्न थालेँ।
यही काम किन रोज्नुभयो?
पढ्न पाइनँ। अनपढलाई यस्तै काम भेटिँदो रहेछ। कि खाडी मुलुक छिर्नुपर्यो, कि आइसक्रिम बेच्नुपर्यो।
घर कता पर्यो दाइको?
ओखलढुंगा।
यता कहाँ बस्नुहुन्छ?
गौरीघाट, खरीबोट।
को–को हुनुहुन्छ परिवारमा?
हामी बूढाबूढी र दुई छोरा छन्।
पहिलादेखि नै यस एरियामा आइसक्रिम बेच्नुहुन्थ्यो?
होइन। यहाँ बस्नुभन्दा पहिला भक्तपुर, नयाँ बानेश्वर, चाबहिलतिर बेच्ने गर्थें।
कामबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट नै छु। तर, मनमा नगरपालिकाको मान्छे आइहाल्ने हो कि भन्ने डर लागिरहन्छ। पोहर साल नगरपलिकाले मेरो गाडा लग्यो। १५ सय तिरेर फिर्ता ल्याएँ।
ग्राहकले कस्तो व्यवहार गर्छन्?
व्यापारी भएपछि अलि–अलि सहनै पर्दो रहेछ। मँहगो भयो भन्छन्। घामपानी नभनी काम गरेको देख्दैनन्, महँगो मात्र देख्छन्। पाँच–दश रुपैयाँ त नाफा खानैपर्यो। नत्र, हातमुख जोड्नै सकिन्न।
प्रस्तुतिः उर्मिला
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७