विमल निभाका पाँच कविता

writer

सम्पूर्ण

बिहिबार, २८ कार्तिक २०७६


जुम्ला 

उज्यालो कतै छैन 
स्वप्न हराएको छ
के तपाईं अन्धकारको खुराक भएको 
बस्तीमा जानुभएको छ ?

अपराधीझैँ उभिएका छन् 
नाङ्गा पहाडहरू
जोसँग खान दिनलाई केही छैन 
जे छ त्यो बाँझो भूमिझैँ चारैतिर 
फैलिएको छ

मानिसहरूको मुटु
गाई–गोरु र भेडाहरूका करुण करङमा 
धड्किरहेछ
र दुई चिसा हातहरू स्पर्श गर्न 
निरन्तर अघि बढिरहेछन् 

गाउँहरूलाई छोएर बगिरहेछ 
नदी
जहाँ साना–ठूला ढुङ्गाहरू 
एकआपसमा टकराइरहेका छन् 
तर आवाज कतै छैन
के जुम्ला मौन छ ? 

रोटीको अनुहार फेरिएको छ 
भोकको स्वाद तीतो भएको छ
र पेटभित्रको खालीपन 
छचल्किएर
बाहिर निस्किएको छ 

यसपालि जाडो धेरै छ 
पसिना आइरहेछ
र आगोनेर उभिएको मानिसको 
शरीर
तामाझैँ चम्किरहेछ

जुम्लामा मौसमको कुनै ठेगान छैन
एकछिनमै जङ्गलको हावा सिटी बजाउन थाल्छ
के तपाईंले फाँसीको तख्ताझैँ हल्लिइरहेको
सल्लाको हाँगालाई हेर्नुभएको छ ? 

 


गुलबिया

म तिम्रा बाख्रालाई खुवाउँछु
नरम–नरम घाँस
म तिम्रा आँखाबाट हटाउँछु
गम्छाले आँसु
म तिम्रा लागि मेलाबाट ल्याउँछु
रातो रङको चुनरी
म तिम्रा बाटाका काँडाहरू पन्छाउँछु
बिस्तारै खुर्पीले
म तिम्रो सुगालाई दिन्छु
हरियो–हरियो खुर्सानी
म तिम्रा बाबालाई ल्याउँछु
बजारबाट दमको औषधी
म तिम्रो कुवाबाट निकाल्छु
गर्मीमा शीतल जल
म तिम्रो आँगनको देउतालाई चढाउँछु
बेलपत्र र गेंदाको फूल
म तिम्रो चुलोका लागि बन्छु
दनदनी बल्ने गुइँठा
म तिम्रा लागि टिप्छु गाछीबाट
पाकेको मालदह आँप
म तिम्रा सुन्दर नयनका लागि ल्याउँछु
परको शहरबाट सुरमा
म तिम्रो हँसुलीलाई छुटाउँछु
दुष्ट साहूकारकहाँबाट
म तिम्रो लागि जे पनि गर्छु
कसम खान्छु म
ओ मेरी चन्द्रमाझैँ प्यारी–प्यारी गुलबिया !
म तिम्रो जोबनलाई सम्झन्छु आफ्नो जीवन
(२०५१)


कति

कति एसिडका बोतलहरू,
चिसो सिमेन्टको कोठा
र विषकन्याहरू कति

कति हाडहरूका पिरामिड,
बौलाहा हात्तीको दौड
र कोतपर्वहरू कति

कति इलेक्ट्रिक सक,
शरीरमा नीला–नीला डाम
र कालरात्रिहरू कति

कति जङ्गली कुकुरहरू,
बर्बर युगको मारक मन्त्र
र शस्त्रागारहरू कति

कति अँध्यारा गुफाहरू,
अन्धो साइरनको आतङ्क
र धरापहरू कति

कति काला बुटहरू,
ग्याँसच्याम्बरको यन्त्रणा
र बुलेटहरू कति

ओ लरखराइरहेको दमनकारी सत्ता !
कति मृत्युको इन्जेक्सन,
शवहरूका सामूहिक चिहान
र पुलिसहरू कति
(२०४६)


चप्पल

धेरै दिनपश्चात् मलाई
स्मरण भयो बाबुराम भट्टराईको
कुन्नि, कहाँ छन् अहिले उनी
र यहाँ म आफ्नो
चुँडिएको चप्पलको फित्ता
सिलाउन खोजिरहेछु यस बखत

यही चप्पल धारण गरेर खुट्टामा
पुग्नु छ मलाई कार्यक्षेत्र
अखबार कार्यालयमा
(आज फेरि बिहीबार हो)
र गर्नु छ थुप्रै–थुप्रै काम
मलाई पूरा गर्नु छ लेख
(जो मेरो ड्रअरमा अधुरै बन्द छ)
खोज्नु छ राजनीतिको जङ्गलबाट
ताजा समाचारहरू
र लेख्नु छ पेट्रोलियम पदार्थको
मूल्यवृद्धि भएकोमा
एउटा सम्पादकीय जोडदार
अन्त्यमा सबै कामहरू सिद्ध्याएर
फर्कनु छ बेलुकीपख घर
जहाँ मेरो प्रतीक्षा भरहेछ अधैर्यपूर्वक
(एउटा पति र पिताको
प्रतीक्षा भइरहेछ त्यहाँ)

आजैको एक–दुई खबरकागत
र चूरचूर थकान झोलामा बोकेर
जब म फर्कनेछु हतार–हतार
पीपलबोटनेर भेट हुनेछन् मेरा कवि मित्रहरू
र सोध्नेछन् मसँग उनीहरू–
के खबर छ सम्पादकजी ?
म भन्नेछु उत्तरमा–
ठीकै छ
देशमा संसद् र लोडसेडिङ
दुवै एकसाथ चालू छ
कांग्रेस सरकारभित्र छ
र बाहिर माले र एमाले उभिएका छन्
सर्वत्र संक्रामक कीटाणुहरू
बढेका छन् वेगले
कराइरहेका छन् पहेँला भ्यागुताहरू
शीतघरमा थुपारिएको
आलुको भाउ दोब्बर भएको छ
र आजै बिहानै चुँडिएको छ
मेरो चप्पलको फित्ता
मेरो कुरा सुनेर
कवि मित्रहरूले प्रस्ताव राख्नेछन्–
ल त भइजाओस् एक–एक कप चिया !

तर सधैँझैँ ‘कवि कर्नर’मा चिया खान
मलाई मन हुनेछैन
अबेर हुनेछ आज मलाई
यो निश्चितप्रायः छ
(सूर्य ढल्नेछ
रात पर्नेछ)
किनभने बीचबाटामा चुँडियो
मेरो चप्पलको फित्ता
(निकै पुरानो भएर थोत्रिइसकेको छ यो)
र मलाई स्मरण भयो हठात्
कमरेड बाबुराम भट्टराईको
जो कतै व्यस्त छन् जनयुद्धमा
र म आफ्नो चुँडिएको चप्पल
लतारेर सोचिरहेको छु–
जस्तो कि अन्य थुप्रै छन्
म एक सामान्य मानिस हुँ
खबर र कविताहरू लेख्ने
र चिया खाएर दगुर्ने
अर्थात् इमानदारीपूर्वक र सश्रम
हाँस्ने र रुने एक कामदार
(असामान्यता केही छैन मसँग)

के म जनयुद्धमा सामेल छैन कमरेड ?
(२०५५)


प्रेम

तिम्रो शासनको
एउटा कम्युनिस्ट हुँ म
यही हो मेरो सम्पूर्ण परिचय

म प्रेम गर्छु
तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई
उनको उर्लंदो जवानीमा
मुग्ध छु म

सुगन्ध छरेर
जब निस्किन्छिन् उनी
अर्थात् सुन्दरी प्रजातन्त्र
म हतियार त्याग गरेर
उतैतिर टोलाइरहन्छु
मैले बिर्सेको छु आफ्नो घाउ

के रगत बगिरहेछ अहिलेसम्म
आत्माबाट
रातो–रातो रक्त
तर कुनै गुनासो छैन मसँग
तिम्रो संसद्को विश्रामस्थलमा
पल्टिएको छु म बेहोस
प्रजातन्त्रको यौवनको नशाले
लट्ठ भएर

मलाई थाहा छ
तिमी मेरो उपस्थितिप्रति
क्रुद्ध छौ
र भयभीत पनि
मलाई सहन गर्न तिमी तयार छैनौ
तर म विवश छु
कहाँ जाऊँ म
छाडेर तिम्री गजबकी कन्या
प्रजातन्त्रलाई
उनको मोहपाशमा बाँधिएको
एउटा प्रेमी हुँ म
कृपया मलाई अस्वीकार नगर

बग्न देऊ मलाई
उनको शीतल एवम् तप्त मुस्कानमा
सुन्दरी प्रजातन्त्रको तीक्ष्ण कटाक्षले
घाइते छ एउटा योद्धा
के युद्ध चलिरहेछ निरन्तर
आजसम्म
तर यसको कुनै अर्थ छैन मेरा लागि
खाएको छैन मैले
मुक्तिको शपथ

तिम्रो शासनको
एउटा कम्युनिस्ट हुँ म
यही हो मेरो सम्पूर्ण परिचय
(२०४९)

तपाईको कमेन्ट

मुख्य समाचार