खगेन्द्र संग्रौलाको वालबाट

writer

सम्पूर्ण

बुधबार, २७ कार्तिक २०७६


दिल्लीका ठूलदाइले कालापानी भारतकै हो भने। यता कालापानी नेपालकै हो, सरकार अघि सरेर फिर्ता गरोस् भन्ने दाबी छ। सरकार कालापानी नेपालकै हो भन्ने अकर्मण्य वक्तव्य दिएर बस्या छ। मौसमी राष्ट्रवादको भर्‍याङ चढेर सत्तासीन भएका ओली सर किन मौन ? ठूलदाइले सरकारको आयु घटाइदेला भन्ने डरले ? 
०००

प्रम ओलीले भनेछन्– ‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ, सरकारले कूटनीतिक पहल गर्छ।’ कालापानी दिल्लीका दादालाई टक्य्राउने राजा महेन्द्रले पनि यसो भन्या हुँदा हुन्। यस्तो पहल कुन शुभ साइतमा सुरु हुन्छ, मान्यवर ? जनताले विरोध बोल्दा केही गर्छु भन्ने र कानमा तेल हालेर सुत्ने त चलनै छ ! 
०००

मानिस जब अरूका आँखाले आफूलाई हेर्न छाड्छ, ऊ नीतिकथाको मैमत्त खस्रो भ्यागुतो बन्छ। अहंकारले जब खस्रेको भुँडी फुट्छ, तब ऊ महरा सर बन्छ। अहंकारले मैमत्त भई आफैँ आफ्नो हत्या गर्ने महरा सरसँग अब एउटा लाश बाँकी छ, जसको नियति सड्नु हो। कठै स्वनिर्मित दुर्भाग्य ! 
०००

आमसञ्चारमा तँ, तिमी, तपाईंको तहगत सम्बोधनको सट्टा शासकदेखि भुइँमान्छे सबैलाई ‘तिमी’ भनेर पुकार्ने चलन मलाई त ठीकै लाग्छ। कार्यकारी शासक खड्गप्रसाद शर्मा ओलीलाई तपाईं, हजुर र मौसुफ सरकारको किन यति साह्रो न्यास्रो लाग्या होला ?

०००
हुँदाहुँदा नेकपा डबलको हैकममा अब सुन्दर र कुरूप एवं श्लील र अश्लील कला छुट्याउने, कलाकारलाई पक्रिने र दण्ड दिने पनि पुलिस ? पशुपति शर्मापछि दुर्गेश थापा र भिटेनलाई शिकार तुल्याए त पुलिस सरले। ओली राज त पुलिस राजको पर्याय पो हो कि ? यसै भन्दै छन् त गोकुल धूप ! 
०००

देउवाले जे बिगार गरे भनेर ओलीले प्रदेश प्रमुखहरूलाई घोर अपमानसाथ निकाला गरेका थिए, आफूले ठ्याक्कै त्यही गरे। देउवाले झैँ आफ्नै खल्तीका जनहरूलाई प्रदेश प्रमुख बनाए। देउवा र ओली उही ड्याङका मुला ! यो मामिलामा ओली बने, देउवाका आज्ञाकारी उत्तराधिकारी ! जय नेपाल ! 
०००


प्रम ओली सरले कटु सत्य बोले– मिर्गाैला थाक्यो, अब कि नित्य डाइलाइसिस कि पुनः प्रत्यारोपण। तसर्थ अब शासनको घाँडो बिसाएर विश्राम लिनु बुद्धिमानी हो, मान्यवर ! फुर्सदमा कवि झलनाथ वा गीतकार वामदेवले झैँ कविता वा गीत रचे भएकै छ। सिर्जनशील व्यक्तिलाई सार्थक बसिबियाँलोको के दुःख ! 
०००


हिजै त हो, पुष्पकमल सर खड्प्रसाद र मेरो ज्यान दुई भए पनि मन र ध्यान एउटै हो भनी रातोदिन नखरे रट लगाउँथे। अहिले खड्ग सरले आधा बाटो आलोपालोलाई लोप्पा ख्वाउँदा ‘ओलीबाट धोका भो’ भन्न थालेछन्। जानीजानी ललाटमा गन्देझार रोपेर अंगुर फलाउने आश गर्नु महामूर्खता हो, मान्यवर ! 
०००

भीड बिनाप्रश्न, बिनाहस्तक्षेप र बिनाप्रतिवाद परम्पराको थोत्रो बोरा बोकेर हिँड्दाहिँड्दा खुँदिएको बाटोमा लुखुरलखुर हिँडिरहन्छ। जागृत, प्रबोधित र बागी मानव भीडमाझ अलोकप्रिय बन्न, निन्दित हुन र दण्डित हुन आँट गर्दै रूढ परम्परामाथि प्रश्न गर्छ, हस्तक्षेप गर्छ, बरु मर्छ। 
०००

तपाईको कमेन्ट