‘द भ्वाइस’प्रतियोगीका मनका ‘भ्वाइस’

writer

युवराज भट्टराई

बुधबार, २७ कार्तिक २०७६


अन्तर्राष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस’को फ्रेन्चाइजका रूपमा सुरु भएको हो, ‘द भ्वाइस अफ नेपाल’। पहिलो सिजन सकिएर दोस्रो सिजन सुरु भएको उक्त सोमा अहिले टप १२ प्रतिस्पर्धी छन्। हिमालयन एचडी टेलिभिजनबाट प्रसारित सोमा देशका विभिन्न भागबाट आएका प्रतियोगी कार्यक्रमले आफूलाई नयाँ परिचय दिलाएको बताउँछन्। कार्यक्रमले उनीहरूको प्रतिभालाई मञ्च प्रदान गरेको उनीहरूको धारणा छ। ‘द भ्वाइस’का प्रतियोगीले आफ्ना मनका भ्वाइस (आवाज) ‘अन्नपूर्ण सम्पूर्ण’सँग साटेका छन्। 


‘पसलमा पनि गुनगुनाउँदै बस्छु’
आरिफ रौफ, २९

मेरो मूल थलो सिराह हो। तर, म काठमाडौँ, बानेश्वरमा जन्मिएँ÷हुर्किएँ। अहिले पनि परिवारसँग बानेश्वरमै बस्छु। बाल्यकालदेखि नै गीत गुनगुनाइरहन्थेँ। मैले औपचारिक रूपमा संगीत सिकेको छैन। आफैँ गुनगुनाउँदै अभ्यास गर्थेँ। स्कुलदेखि नै विभिन्न कार्यक्रममा भाग लिएर गीत गाउँथेँ। 

‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा पनि अडिसन दिएको थिएँ। त्यो बेला ‘ब्लाइन्ड अडिसन’बाटै बाहिरिएँ। बानेश्वरमा हाम्रो हार्डवेयर पसल छ। पहिलो सिजनबाट बाहिरिएपछि पसलमा बस्दा होस् वा एक्लै हुँदा गीत गाउने गर्थें। अघिल्लो चोटि सायद मेरो तयारी पुगेको थिएन। तर, यस पटक धेरै मेहनत गरेँ र टप १२ सम्म आइपुगेँ। अब यहाँबाट कति अगाडि गइन्छ ? थाहा छैन। धेरै दर्शकले मलाई माया गरिदिनुभएको छ। त्यसैले जे जस्तो भए पनि आगामी दिनमा गीत–संगीतमै लाग्छु। 

‘मेरो रगतमा संगीत बग्छ’
गीता शर्मा, ३३

म सिक्किमबाट द भ्वाइसकै लागि नेपाल आएकी हुँ। सानोमा गाउँमा भजन–कीर्तन हुँदा मलाई खूब चासो लाग्थ्यो। म पनि भजन गाउने र बाजा बजाउने गर्थें। पछि सिलिगुडीमा आएर संगीत सिक्न थालेँ। संगीतमा छैटौँ वर्षसम्मको अध्ययन पूरा गरेकी छु। कलेज पढ्दा विभिन्न प्रतियोगितामा भाग लिन्थेँ। ‘सिक्किम स्टेट अवार्ड’मा प्रथम र ‘नर्थ इस्ट सुपरस्टार’ र ‘दार्जिलिङ टी आइडल’मा रनरअप भएकी छु। कतिपयले छोरी मान्छे संगीतमा लाग्नु हुँदैन भने। तर, बुबाको साथ नहुँदा पनि मलाई मेरी आमाले सधैँ संगीतमा साथ दिनुभयो। यही क्षेत्रमा तिमीले केही गर्नुपर्छ भन्नुभयो। आज म जे छु, मेरी आमाकै कारणले छु।

संगीत मेरो जीवनको अभिन्न अंग बनिसकेको छ। मेरो रगतमा संगीत बग्छ। द भ्वाइसमा आउनुभन्दा पहिला म आफ्नो परिचयका लागि संघर्ष गरिरहेकी थिएँ। अहिले यस कार्यक्रमले मलाई मेरो पहिचान दिएको छ। 

‘गीतबाहेक अर्काे सपना छैन’
अञ्जु रानामगर, २२

मेरो घर चितवन, रामपुर हो। घरपरिवार र छिमेक कतै पनि संगीतको माहौल थिएन। तर, म बाल्यकालदेखि नै गीत गाउँथेँ। १५ वर्षको भएपछि गीत–संगीतमा केही गर्न सक्छु भन्ने महसुस गरेँ। त्यसैले केही ब्यान्डहरूसँग जोडिएर गीत गाउन थालेँ।

रातको समयमा ब्यान्डसँग बारमा गीत गाउथेँ। त्यो कुरा समाजले पचाएन। सबैले छोरी मान्छे भएर राति गीत गाउँदै हिँड्नु हुँदैन भन्न थाले। आफूलाई पनि गलत पो गरियो कि क्या हो भन्ने लाग्यो। त्यसैले केही समय आफूलाई गीत–संगीतबाट टाढा राखेँ। एक वर्षपछि फेरि गीत–संगीतमै फर्किएँ। त्यो बेला मलाई आमाले साथ दिनुभयो। म फेरि ‘ब्रो हुड’ नामको अर्को ब्यान्डमा आबद्ध भएँ। अहिले पनि छु। 

द भ्वाइबाट मैले एउटा स्टेज पाएँ। मलाई धेरैले चिन्नुभयो। आगामी दिनमा पनि संगीतमै लाग्नेछु। गीतबाहेक मेरो अर्को सपना छैन। 

‘संगीत नै सबथोक’
शशिका सुनुवार राई, २४

मेरो घर हेटौँडा भए पनि बाल्यकालदेखि नै काठमाडौँमै हुर्किएँ। परिवारिक वातावरण सांगीतिक थियो। बाबा गीत गाउनुहुन्थ्यो। ममा पनि बिस्तारै गीत–संगीतप्रति रुचि बढ्दै गयो। 

प्लस टू पढ्दा गीत गाउने कार्यक्रममा भाग लिएँ। त्यसमा विजेता बनेँ। त्यसपछि संगीतको कक्षा लिएँ। ब्याचलर्समा पनि संगीत नै पढेँ। 

पहिलो सिजनमा भाग लिन नपाए पनि यो सिजनमा भाग लिएँ। मेरो लागि अहिले गीत–संगीत नै सबथोक भइसकेको छ। भोलिका दिनमा पनि गीत–संगीतभन्दा पर गएर केही गर्न सक्दिनँ। 

‘नाममै लय छ’
रजनी रिदम राई, ३३

घर दार्जिलिङ भए पनि म विगत १० वर्षदेखि पोखरा बस्दै आइरहेकी छु। दार्जिलिङ हुँदादेखि नै गीत–संगीतमा लागेकी थिएँ। बाल्यकालमा भजन गाउँथे। 

बिस्तारै–बिस्तारै भजन–कीर्तनका प्रतियोगितामा भाग लिन थालेँ। यसले पनि मलाई आफ्नो ठाउँवरपर चिनाउन मद्दत गर्‍यो। पछि सन् १९९५ मा संगीत सिक्न थालेँ। चार वर्ष सिकेँ। सन् २००५ मा दार्जिलिङ आइडलमा रनरअप भएकी थिएँ। पोखरामा आएपछि शिक्षण र संगीतबाहेक मैले अरू कुनै कुरामा ध्यान दिइनँ। अहिलेसम्म ४०–५० वटा गीत गाइसकेकी छु। 

द भ्वाइसले अहिले मेरो परिचय बनाइदिएको छ। मेरो आवाज धेरै दर्शकमाझ पुगेको छ। भविष्यमा पनि संगीतकै बाटो हिँड्नेछु। मेरो त नाममै लय छ, अर्थात् रिदम। 

‘जीत–हार गौण कुरा हो’ 
विकास लिम्बू, २६

झापा, अर्जुनधारा नगरपालिकामा मेरो घर छ। परिवारमा बुबा, ठूलोबुबाहरू धेरै गीत सुन्ने गर्नुहुन्थ्यो। घरकै वातावरणले संगीतमा रस बस्यो। कक्षा ९ मा पढ्दा पहिलो पटक मञ्चबाट गीत गाएको थिएँ। त्यसपछि गाउँठाउँमा हुने कार्यक्रममा निरन्तर गाउन थालेँ। 

एसएलसी दिएपछि केही समय बितामोर्डमा संगीत पनि सिकेँ। तर, बीचमा काम गर्न फिदिम गएँ। त्यहाँ फर्निचर बनाउने ठाउँमा काम गर्थें। ‘गीत गाउने मान्छे, कहाँ आइपुगेँ’ भन्ने लागिरह्यो। त्यसपछि झापा फर्केर संगीत सिक्न थालेँ। 

केही कभर–सङ गाएको छु। मलाई एउटा प्लेटफर्म चाहिएको थियो। द भ्वाइसले सो मञ्च दिलाइदियो। मैले २०७० सालमा नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘स्वर संग्राम’मा भाग लिएको थिएँ। त्यसमा पहिलो रनरअप भएको थिएँ। 

द भ्वाइसको ब्लाइन्ड अडिसनदेखि आज टप १२ सम्म आइपुगेको छु। जीत–हार त गौण कुरा हो। संगीत प्राथमिक कुरा हो। 

‘अघि बढ्ने बाटो बन्दै छ’
मेचु धिमाल, २४

मेरो घर उर्लाबारी, मोरङ हो। पहिले मलाई नृत्यमा रुचि थियो। कक्षा ९ मा पुगेपछि गाउन थालेँ। २०६९ सालमा काठमाडौँ आएर संगीत सिक्न थालेँ। नेपाल ताराको तेस्रो सिजनमा टप २० सम्म पुग्न सफल भएकी थिएँ। 

मेरा तीन दर्जनजति गीत सार्वजनिक भएका छन्। त्यसबाहेक कभरसङ पनि गाएकी छु। द भ्वाइसमा आएपछि भोलिका दिनमा गीत–संगीतमा लागिरहने एउटा बाटो निर्माण भइरहेको छ। 

‘संगीतको भोक झन् बढेको छ’
याङ्की योल्मो, २३

म द भ्वाइसमा सहभागी हुन दार्जिलिङबाट आएकी हुँ। सुरुमा नाच्ने मात्रै गर्थें। बाल्यकालमा गायनमा त्यति रुचि थिएन। पछि स्कुलमा गिटार सिक्न थालेँ। घरमा पनि दाइहरूसँग गिटार सिक्दै गीत गाउन थालेँ। पछि स्कुलमा ८ कक्षामा पढ्दा एउटा प्रतियोगिता जितेँ। गीत गाउन सक्छु भन्ने आत्मविश्वास पलायो। घरको वातावरण संगीतमय छ। मेरा बुबा, हजुरबुबा संगीतप्रेमी हुनुहुन्छ। उहाँहरूबाट प्रेरणा पाएकी छु। गत वर्ष दार्जिलिङमा भएको दार्जिलिङ राइजिङ स्टारमा चौथो भएकी थिएँ। 

द भ्वाइसमा सबैको साथ पाइरहेकी छु। खुशी छु। यस प्रतियोगितामा आएपछि संगीतको भोक झन् बढेको छ। 

‘गीतमा जिउनुको अर्थ पाउँछु’
सनिस श्रेष्ठ, २०

मेरो घर कोटेश्वर, काठमाडौँ हो। बाल्यकालमा कहिलेकाहीँ मूलथलो गोरखा जाने गरिन्थ्यो। त्यहाँ हजुरबुबाले भजन गाउनुहुन्थ्यो। उहाँले गाएको देख्दा रमाइलो लाग्थ्यो। त्यहाँ भएका बाजागाजा बजाउन मन लाग्थ्यो। यसरी नै गीत–संगीतमा रुचि जाग्यो। कक्षा ८ मा हुँदा मैले गिटार बजाउन थालिसकेको थिएँ। गीत पनि गाउन थालेको थिएँ। अन्य बाजा पनि बजाउँथेँ। म्युजिकमा बढी ध्यान गएपछि पढाइ बिग्रँदै गयो। 

प्लस टूमा म्युजिक पढ्न थालेँ। तर, पढाइलाई निरन्तरता दिन सकिनँ। कलेज छाडेपछि विगत तीन वर्षदेखि घरमै गिटार बजाउँदै गीत गाउँदै गरेको छु। तीनटा कभरसङ गरेको छु। द भ्वाइसमा छनोट भएपछि आमाबुबा निकै खुशी हुनुहुन्छ। यस कार्यक्रमबाट मैले जेजति सिकेको छु, त्यसले मेरो सांंगीतिक जीवनलाई अगाडि बढ्न सघाउन पुर्‍याउनेछ। मेरो जीवनमा संगीतका अगाडि अरू सबै कुरा अर्थहीन छन्। गीतमा जिउनुको अर्थ पाउँछु। 

‘संगीत मेरो आत्मा हो’
सञ्जय महत, २६

 

मेरो काठमाडौँ, कपनमा बस्छु। बाल्यकालदेखि नै अन्तरमुखी स्वभावको थिएँ। गीत मेरा निम्ति आफूलाई पोख्ने माध्यम थियो। १० कक्षामा स्कुलमा भएको कार्यक्रममा एउटा गीत गाएको थिएँ। सबैले मन पराइदिएपछि गायन मबाट सम्भव छ भन्ने लाग्यो। 

गिटार बजाउन सिकेको थिएँ। गिटार बजाउँदै गाउने गर्थें। स्टेजमा गाउन डर लाग्थ्यो। होटलहरूमा गिग गर्न थालेपछि डर हराउँदै गयो। 

द भ्वाइसमा आएपछि बल्ल जीवनको सही मोडमा आइपुगेको जस्तो लागेको छ। मेहनत गरिरहेको छु। फल पनि पाइरहेको छु। जीत–हार ठूलो कुरा होइन। संगीत मेरो आत्मा हो। 

‘स्रोताको मायाले भावुक बनाउँछ’
बलबहादुर राजवंशी, ३०

मेरो घर गौरादह, झापा हो। स्कुल पढ्दादेखि नै गीत गाउँथेँ। एसएलसीपछि विराटनगर गएँ। त्यहाँ ल्याब असिस्टेन्ट पढेँ। काम पनि गर्न थालेँ। २०६५ सालदेखि भोकलको क्लास लिएँ। पाँच वर्षसम्म संगीत सिकेँ। बेलाबखत राजवंशी भाषाका गीत गाएँ। अहिलेसम्म आफ्नै भाषामा पाँच वटा एल्बम निकालिसकेको छु। 

द भ्वाइसले मलाई एउटा मौका दिएको छ। धेरैको माया पाइरहेको छु। यो माया मेरा निम्ति भोलिका दिनमा संगीतमा लाग्ने ऊर्जा हो। स्रोताको मायाले भावुक बनाउँछ।  

‘संगीतः प्राण धान्ने अन्नजस्तो’ 
राम लिम्बू, २६

मेरो घर झापा, बिर्तामोड हो। एन्फा एकेडेमीमा पढ्थेँ। फुटबल खेलाडी थिएँ। तर, खुट्टामा समस्या आएपछि एकेडेमी छाड्नुपर्‍यो। गाउँमा दाइहरू विभिन्न बाजा बजाउँथे। उनीहरूले ड्रम, गिटार बजाएको देखेर संगीतमा रुचि जाग्यो। 

एक पटक स्टेजमा गाउने मौका पाएँ। सबैले राम्रो गायौ भनेपछि गीत गाउन सक्दो रहेछु भन्ने आत्मविश्वास पलायो। त्यसपछि संगीतमा निरन्तर लागिरहेँ। संगीत मेरा निम्ति प्राण धान्ने अन्नजस्तै हो। 

द भ्वाइसको ब्लाइन्ड अडिसनमा छानिएपछि गीत–संगीतमा मेरो भविष्य छ भन्ने लाग्न थालेको छ। थुप्रै प्रशंसक पाएको छु। उहाँहरूको माया नै मेरो शक्ति हो। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि