ज्यान बनाउन जिमखानातिर

writer

सुमित सुवेदी

शनिबार, २३ कार्तिक २०७६


विश्वप्रसिद्ध कलाकारको जीउडाल देखेर प्रभावित भएका थुप्रै तन्नेरी ज्यान बनाउन जिमखाना पुगिरहेका छन्। जिम गरेर उनीहरू सुडौल शरीर प्राप्त गर्न चाहन्छन्। 


राम्रो र सुडौल देखिने इच्छाले अचेल थुप्रै तन्नेरीलाई जिमखाना पुर्‍याएको छ। शारीरिक कसरतले स्वस्थ मात्र होइन, ‘ह्यान्डसम’ पनि बनाउने भएकाले उनीहरू जिम गर्न जाने गरेका छन्। 

जिम जाने थुप्रै युवा विश्वप्रसिद्ध अभिनेताको जीउडालबाट प्रेरित भएका देखिन्छन्। उनीहरू पनि आफ्ना प्रिय सेलिब्रिटीको जस्तै ज्यान बनाउन चाहन्छन्। लोकन्थली,  भक्तपुरका रोशन भुजेल जिम जान थालेको चारपाँच महिना भयो। उनी ‘थोर’ सुपरहिरोको भूमिका निर्वाह गरेका हलिउड अभिनेता क्रिस हेम्सवर्थको आकर्षक शरीर देखेर निकै प्रभावित छन्। ‘मलाई क्रिस हेम्सवर्थ निकै मन पर्छ,’ उनी भन्छन्, ‘उनको शरीर देखेर मलाई पनि ज्यान बनाउन मन लाग्यो। समय मिलाएर अहिले जिम सुरु गरेको छु।’ जिमले उनमा निकै परिवर्तन ल्याएको छ। पहिलाभन्दा निकै आत्मविश्वास बढेको उनी बताउँछन्। भन्छन्, ‘पहिला कमजोर थिएँ। अहिले ज्यानमा तागत आएजस्तो महसुस हुन्छ। दैनिक जीवनका कामहरू पनि जाँगर लगाएर गर्ने गरेको छु।’ सुरुसुरुमा जिम जाँदा दुईतीन दिनसम्म हातखुट्टा दुखेर चलाउनै नभएको उनी बताउँछन्। ‘बिस्तारै बानी पर्दै गयो,’ उनी भन्छन्, ‘अहिले ठूलोठूलो तौल उचाल्न सक्छु।’  


ब्रेकरः छिट्टै ज्यान बनाउने धुनमा जिम धाउने अनि नतिजा नदेखिएपछि सर्टकट बाटो रोज्नेको संख्या पनि ठूलो छ। उनीहरू स्टेरोइड प्रयोग गर्न थाल्छन्, जो हानिकारक हुन्छ।  

विगत एक वर्षदेखि नियमित जिम गइरहेका छन्, आयुष खड्का। उनी ‘ह्यान्डसम’  देखिनका लागि जिम गर्न थालेको बताउँछन्। उनी भने आफ्नै बुबाबाट प्रेरित छन्। ‘ड्याडी सानै उमेरदेखि कसरत गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँको ज्यान पनि राम्रो र बलिष्ठ छ। घरमा जिमका सामानहरू पनि प्रशस्तै छन्। मलाई पनि बडी बनाउन मन लाग्यो र जिम ज्वाइन गरेँ।’ जिम गर्न थालेदेखि आफू निकै बलियो भएको उनी बताउँछन्। ‘जिम सुरु गर्दा पाँच केजीको डमबेल उचाल्न निकै गाह्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले २० केजीको डमबेल पनि सजिलै उचाल्न सक्छु।’ 

आयुष जिममा कसरत गर्दा मानसिक स्थिरता बढ्ने भएकाले यसले शरीरलाई नियन्त्रण तथा निर्देशन गर्ने क्षमतामा वृद्धि गर्ने बताउँछन्। नियमित व्यायामले शरीरको ‘स्टामिना’ पनि बढेको उनले महसुस गरेका छन्। ‘पहिला एकैछिन हिँड्दा पनि थाक्थेँ,’ उनी भन्छन्, ‘अहिले साथीहरूभन्दा छिटो हिँड्न सक्छु। हामी केही समयअगाडि ट्रेकिङ गएका थियौँ। सबै साथी थाकेर हिँड्न सकेनन्। मलाई भने थकाइ नै लागेन।’ 

आयुष जिमले आफूमा धेरै परिवर्तन ल्याएको बताउँछन्। जिमले स्मरणशक्ति पनि बढाएको उनको दाबी छ। ‘जिम गर्नुअघि पढेका कुराहरू छिट्टै बिर्सन्थेँ,’ उनी भन्छन्, ‘अहिले पढेका कुरा निकै सम्झिन्छु। जिमले मेरो पढाइमा पनि सकारात्मक प्रभाव पारेको छ।’

सुजन खड्का पनि ज्यान बनाउन र स्वस्थ रहन जिमखाना धाइरहेका अर्का युवा हुन्। उनलाई प्रोफेसनल बडिबिल्डर रोली विंकलार असाध्यै मन पर्छ। उनकै आकर्षक शरीर देखेर जिम जान मन लागेको सुजन बताउँछन्। भन्छन् ‘बडिबिल्डर रोलीलाई हेरेर म जिम जान मोटिभेटेड भएको हुँ।’ जिम गर्न थालेपछि सुजनले दिनमा पाँच पटकसम्म खाना खाने गरेका छन्। ‘बिहान उठेर दूध र केरा खान्छु,’ उनको भोजन यस्तो छ, ‘अनि खाना खान्छु। दिउँसो अन्डा खान्छु। जिम जानुभन्दा एक घण्टाअघि हल्का नास्ता गर्छु। जिमबाट फर्केर अन्डा र प्रोटिनयुक्त खानेकुरा खान्छु।’ 

जिम जानाले मानिस शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि निकै तन्दुरुस्त हुने फिटनेस प्रशिक्षक प्रकाश आले बताउँछन्। उनी मध्यपुर, थिमीस्थित भीआर फिटनेस सेन्टरका प्रशिक्षक हुन्। ’जिममा शारीरिक कसरत गरिन्छ,’ उनी भन्छन्, ‘कसरतबिना शरीरलाई मेन्टेन गर्न सकिँदैन। शारीरिक रूपमा स्वस्थ मान्छे मानसिक रूपमा पनि तन्दुरुस्त हुन्छ।’ 

शारीरिक कसरत घरमा पनि गर्न सकिन्छ। दौडिने, कुद्ने, पुसअप गर्नेलगायत थुप्रै व्यायाम छन्, जसका लागि जिम गइराख्नुपर्दैन। तर, घरमै कसरी कसरत गर्ने भन्ने विषयमा मानिसहरूलाई ज्ञान नहुने भएकाले जिम जान आवश्यक भएको प्रशिक्षक आले बताउँछन्। भन्छन्, ‘जिममा प्रशिक्षक हुन्छन्। कसरी कसरत गर्ने भनेर सिकाउँछन्। जसले गर्दा दुर्घटनाबाट बचिन्छ। घरमा कसरत गर्दा नियमित गर्न  सकिँदैन। कहिले व्यस्तताले र कहिले आलस्यले कसरत छुट्छ। जिम जान थालेपछि त्यसका लागि समय छुट्याइन्छ।’ प्रोत्साहन गर्ने मान्छेको अभाव हुने भएकाले पनि घरमा गरिने कसरत प्रभावकारी नहुने आले बताउँछन्। 

दुई महिनामा बन्दैन ज्यान 

प्रायः युवा जिम गयो भने दुईतीन महिनामै ज्यान बन्छ भन्ने सोच्छन्। यो सोच गलत भएको प्रशिक्षक आले बताउँछन्। ‘पहिलो पटक जिम जाने व्यक्तिले यति छोटो समयमा बडी बनाउन सक्दैनन्,’ उनी भन्छन्, ‘अनि निराश भएर जिम जान छोड्छन्। उनीहरूले के बुझ्नुपर्छ भने आर्नाेल्ड स्वार्जनेगरले दुई महिनामै ज्यान बनाएका होइनन्। उनको ज्यानमा जीवनभरिको लगानी छ।’ रातारात आफ्नो शरीर सुडौल होस् भन्ने चाहना राख्नु नै गलत भएको उनी बताउँछन्। ‘दुई महिनामा ज्यान बन्दैन,’ आले भन्छन्, ‘छसात महिना जिम गरेपछि अलि–अलि सेपहरू देखिन थाल्छन्। राम्रो र सन्तुलित भोजन खाने हो भने एक वर्षमा शरीर आकर्षक बनाउन सकिन्छ। तर, त्यसका लागि त्यहीअनुसार मेहनत गर्नुपर्छ।’ प्रशिक्षक आलेका अनुसार धैर्य राखेर मेहनत गर्नेहरूले नै ज्यान बनाउँछन्। ‘धैर्य र अनुशासन नहुनेले जिमबाट केही पनि हासिल गर्न सक्दैनन्,’ उनी भन्छन्। 

३० प्रतिशत कसरत र ७० प्रतिशत डाइट 

जिम जाँदैमा आफूले चाहेको शरीर प्राप्त गर्न सकिन्छ भन्ने हुँदैन। यसका लागि व्यायाम र भोजनमा ध्यान दिनुपर्छ। सन्तुलित भोजनले शरीर बनाउन ठूलो भूमिका निर्वाह गर्ने फिटनेस प्रशिक्षक आले बताउँछन्। भन्छन्, ‘जिममा कसरत गर्दैमा ज्यान बन्दैन। कसरत त ३० प्रतिशत मात्र हो, बाँकी ७० प्रतिशत भूमिका त डाइटको हुन्छ।’ डाइट पनि ज्यानअनुसार हुन्छ। ‘यदि कसैलाई तौल बढाउनु छ भने उसले प्रोटिनको साथसाथै कार्बाेहाइड्रेट पनि ठूलै मात्रामा लिनुपर्छ,’ आले भन्छन्, ‘ज्यान घटाउनु छ भने प्रोटिनको मात्रा त लिनुपर्छ, तर, कार्बोहाइड्रेटको मात्रा विशेष ध्यान दिनुपर्छ।’ उनका अनुसार जिम जानेले दिनमा चारपाँच पटक सन्तुलित भोजन गर्नुपर्छ। हरेक पटक खानामा प्रोटिनको मात्रा हुनुपर्ने उनी बताउँछन्। ‘जिम गरेपछि प्रोटिनको सप्लिमेन्ट लिँदा शरीरलाई फाइदा हुन्छ,’ उनी भन्छन्, ‘जिम गर्दा हाम्रा मसलहरू टुक्रिन्छन्। त्यसलाई रिकभर गर्न ह्वे प्रोटिन लिनुपर्छ। जुन छिट्टै पच्छ र रगतमा घुल्छ।’ जिम गर्नेले चिल्लोचाप्लो खानेकुराबाट बच्नुपर्ने आलेको सुझाव छ। ‘तेलमा तारेको खानेकुरा खानु हुँदैन,’ उनी भन्छन्, ‘यसले शरीरमा बोसोको मात्रा वृद्धि गर्छ। त्यस्तै, खसी तथा राँगाको मासु (रेड मिट) पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन।’

स्टेरोइड हानिकारक 

छिट्टै ज्यान बनाउने धुनमा जिम धाउने अनि नतिजा नदेखिएपछि सर्टकट बाटो रोज्नेहरूको संख्या पनि ठूलो भएको प्रशिक्षक आले बताउँछन्। भन्छन्, ‘उनीहरू अरूको लहैलहैमा लागेर स्टेरोइड प्रयोग गर्न थाल्छन्। जो हानिकारक हुन्छ।’  स्टेरोइडले छिट्टै शरीर सुडौल बने पनि यसका प्रतिप्रभाव (साइड इफेक्ट) हुने उनी बताउँछन्। भन्छन्, ‘स्टेरोइड प्रयोग गर्दा शरीर त छिटो बन्छ। तर, शरीरमा पिम्पल आउने, यौन शक्तिमा ह्रास आउने, किड्नीमा समस्या देखिने लिएर अनेकौँ हानि गर्छ। यसको प्रयोगले ज्यानैसमेत गुमाउनुपर्ने हुन सक्छ।’ प्रशिक्षक आले छिट्टो ज्यान बनाउने सोच नै हानिकारक हुने बताउँछन्। 

तपाईको कमेन्ट

मुख्य समाचार