‘नुन–खुर्सानी, ढिँडो र आरोहण’

writer

अस्मिता खड्का

शनिबार, २३ कार्तिक २०७६


प्रशंसा पात्र

साथीभाइमाझ ‘निम्स दाइ’ले परिचित आरोही निर्मल पुर्जा अहिले प्रसिद्धिको शिखरमा छन्। सात महिनामै आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखर चढेर विश्व रेकर्ड बनाएसँगै उनको चर्चा पनि संसारभर शिखरझैँ चुलिएको हो। ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत उनले विश्व कीर्तिमान कायम गरे। यो अभियान सन् २०१९, मार्चमा अन्नपूर्णबाट सुरु गरेका उनले तिब्बतको शिशापाङ्मा हिमालमा टुंग्याए। यसअघि पनि उनले आरोहणमा तीनटा विश्व कीर्तिमान राखिसकेका थिए। पाँच दिनको अन्तरालमा सगरमाथा, मकालु र ल्होत्से आरोहण, सबैभन्दा छिटो १० घण्टा १५ मिनेटमा सगरमाथादेखि ल्होत्से शिखर आरोहण गरेका उनले उनले बेलायती महारानीबाट प्रतिष्ठित एमबीई अवार्ड प्राप्त गरेका छन्। पुर्जाले ‘अन्नपूर्ण सम्पूर्ण’सँग आरोहण अनुभव साटेका छन्। 


म ३६ वर्षअघि म्याग्दीमा जन्मेँ। बाल्यकाल चितवनमा बित्यो। कक्षा ९ सम्मको पढाइ चितवनमै गरेँ। बाल्यकालमा हिमालप्रति खासै चासो थिएन। बुबा र दाइझैँ बेलायती सेनामा भर्ना हुन चाहन्थेँ। यही एउटा सपना थियो।

ब्रिटिस आर्मीमा भर्ना हुँदा मैले एसएसलसी पनि दिएको थिइनँ। सन् २००३ मा ‘ब्रिगेड अफ गोर्खा’मा भर्ना भएपछि यूकेको क्याटरिकमा आधारभूत तालिम लिएँ। च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा पुगेँ। स्पेसल बोट सर्भिस, स्पेसल फोर्स युनिट अफ दी युके रोयल नेभी आदिमा गरेर मैले जम्माजम्मी १० वर्ष स्पेसल फोर्समा सेवा गरेँ। त्यतिबेला नेपाली भन्नेबित्तिकै मलाई धेरैले सोध्ने गर्थे, ‘माउन्ट एभरेस्ट चढेको छस् ?’ मेरो जवाफ हुन्थ्यो, ‘छैन।’ 

सन् २०१७ मा यूकेको रक्षा मन्त्रालयमा माउन्टेन स्पेसियलिस्टका रूपमा काम गरेँ। त्यही वर्ष फोर्सबाट १३ जनाका लागि एक्पिडिसनमा पठाइएको थियो। गोर्खा एभरेस्ट एक्पिडिसनलाई मैले नेतृत्व गरेको थिएँ। सगरमाथा अभियान सफल भयो। हाई अल्टिट्युड माउन्टेनियरिङमा राम्रो भूमिका निर्वाह गरेको भन्दै सम्मान पाएँ। सन् २०१८ मा फोर्सको जागिरलाई बिट मारेँ। त्यसपछि सुरु भयो मेरो, आरोहण यात्रा।    

पहिलो आरोहण 

मेरो पहिलो हिमाल आरोहण थियो, सोलुखुम्बुको पूर्वी लोबुचे हिमाल  (६११९ मिटर)। सन् २०१२ मा लोबुचे चढ्नुअघि मसँग आरोहणको अनुभव थिएन। मनमा डर थियो। आर्मीको कमान्डो रिस्की ट्रेनिङ गरेकाले लोबुचे चढ्ने हुटहुटी चाहिँ थियो। पहिलो पटक हिमाल आरोहण गर्दा एभरेस्ट बेस क्याम्प हुँदै लोबुचे पिक पुगेँ।  मसँग अरू साथी पनि थिए। मौसम र अन्य जानकारी थियो। तर, आरोहणको कुनै अनुभव नभएकाले मैले त्यहाँ प्राविधिक समस्याहरू भोग्नुपर्‍यो। हिउँबन्चरो प्रयोग गर्न आउँथ्यो तर कस्तो खाले हिउँमा बन्चरो टेकाउने थाहा थिएन। एक ठाउँमा त झण्डै गुल्टेको थिएँ। त्यहाँ पुगेपछि थाहा भयो, यससम्बन्धी ज्ञान हुन जरुरी रहेछ। रहरले मात्र हुँदैन रहेछ, प्राविधिक ज्ञान पनि हुनुपर्ने रहेछ भन्ने कुरा सिकेँ। त्यहाँबाट देखिने सगमाथाको चुचुरो, आमादाब्लाम, ल्होत्से, मकालु, पुमोरीलगायत हिमालका दृश्यले मलाई झनै तान्यो। हिमाल चढ्ने असली भोक बल्ल सुरु भयो। लोबुचे समिटमा म थकित थिएँ तर मेरा पाइला यत्तिमै रोकिएका थिएनन्। दुई वर्षपछि सन् २०१४ मा धौलागिरि र २०१७ मा ब्रिटिस गोर्खा एक्सपिडिसनसँगै सगरमाथा शिखर आरोहण गरेँ। लगत्तै ९ जुन, २०१८ मा एलिजाबेथ दोस्रोबाट एमबीई अवार्डबाट सम्मानित पनि भएँ। सन् २०१७ मा एकै पटक सगरमाथा, ल्होत्से र मकालु चढेर विश्व रेकर्ड बनाइसकेको थिएँ। तर, त्यसबेला विश्व रेकर्ड राख्ने सोखले भने हिमाल चढेको थिइनँ।  

‘को हो यो हावा ?’ 

गत मार्चमा ‘प्रोजेक्ट पोसिबल’ सुरु गर्दाताका कसैले मेरो नाम सुनेका थिएनन्। उल्टै ‘को हो यो हावा ?’ भन्ने गर्थे। मैले जुनसुकै रेकर्ड बनाएको भए पनि, फोर्समा आफ्नो पहिचान बनाएको भए पनि सात महिनाअघिसम्म म ‘अन्डरकभर’ नै  थिएँ। मैले यस्तो रेकर्ड राखेँ भनेर भन्न जरुरी पनि त थिएन। चर्चाका लागि आफूले रेकर्ड राखेको भन्न मलाई मन पर्दैन। किनकि, ‘आई एम नट अ ग्लोरी हन्टर।’ म जे गर्छु, आफ्नै तरिकाले गर्छु। 

भन्नेले त मलाई अझै पनि भन्छन्, ‘फोर्समा काम गरेको मान्छे, तालिमले गर्दा यस्तो आँट गरेर सफल भयो।’ वास्तवमा ‘प्रोजेक्ट पोसिबल’ मान्छेको वास्तविक क्षमतालाई प्रमाणित गर्ने खालको थियो। यो भावी पुस्ताका लागि थियो। फौजमा हुँदा रिस्क लिने बानी परिसकेको थियो। म उसै पनि जिद्दी मान्छे हुँ। जे चाहन्छु, त्यो प्राप्त गरिछाड्छु। यो मिसनका लागि मैले थुप्रै अध्ययन गरेँ। अनुभवी दाइहरूसँग सल्लाह गरेँ। अनि मात्र निर्णय लिएँ।

मेरो प्रेरणा हिमाल हो। सन् २०१७ मा बनेको पहिलो रेकर्डले मलाई झनै प्रेरित गर्‍यो, शिखर चढ्न। ती हिमाल चढ्नुअघि दुई दिन नाम्चेबजारमा पार्टी गरेका थियौँ। पार्टी नगरेको भए दुई दिनमै तीनटा हिमाल चढिसक्थेँ। सगरमाथा बेसक्याम्पबाटै म यूके जानु पर्ने थियो। हेलिकप्टर नआएपछि कम्तीमा पनि छ दिन लाग्ने मकालुको जोखिमपूर्ण आरोहण १८ घण्टामा पूरा गरेँ। त्यसपछि ल्होत्से चढेँ। आफ्नो क्षमता जाँच्नका लागि पनि मैले मकालु आरोहण गरेको थिएँ। 

पहिलो विश्व रेकर्ड बन्नेबित्तिकै मैले माउन्टेनियरिङका लागि नयाँ प्रोजेक्टबारे सोचेँ। फ्याट्ट नाम जुराएँ– ‘प्रोजेक्ट पोसिबल’। जसको लक्ष्य थियो, सात महिनामा विश्वका आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने । अरूको त कुरै छाडौँ, आरोहणको ज्ञान हुने मान्छेले पनि प्रोजेक्टलाई पत्याएका थिएनन्। पत्याऊन् पनि कसरी ? आठ वर्ष लाग्ने काम सात महिनामा गर्न सकिन्छ भनेर कसरी विश्वास गर्ने ? 

तर, मेरो आरोहण भोक उग्र थियो। मानसिकता दह्रो बनाएँ र साहस बटुलेँ।  पहिले अरूसँग लडियो तर यो चुनौती भने स्वयंसँग थियो। विशेष फोर्समा काम गरेर आएको मान्छे, यता माउन्टेनियरिङ रेकर्ड तोड्दा मलाई आफू ‘जेम्स बन्ड’ जस्तो हो कि भन्ने पनि लाग्यो।  

नुन–खुर्सानीसँग ढिँडो    

थुप्रै जटिलता बेहोरे पनि मेरो यात्रा साँच्चिकै बबाल भयो। बबाल बन्नुमा टिमको भूमिका थियो। टिमका साथीहरू अनुभवी थिए। हामी एउटै परिवारका दाजुभाइजस्ता थियौँ। असम्भवलाई सम्भव बनाउन, क्षमता देखाउन उनीहरू पाइलैपिच्छे मलाई हौसला दिन्थे। टिममा थिए, मिङ्मा डेभिड शेर्पा, गेसमान तामाङ, ग्याल्जेन शेर्पा, लाक्पा डेनी शेर्पा, हालुङ दोर्जे शेर्पा। टिमका म्यानेजर थिए, दावा शेर्पा। 

आरोहणताका आफ्नो भारी आफैँ बोकियो। अक्सिजन, खानेकुरा, टेन्ट, अन्य उपकरण, सबै आफैँ बोक्थेँ। कठांग्रिँदो जाडोमा ढिँडोबाहेक अरू खानेकुरा थिएन। टेन्ट टाँग्ने र ढिँडो पकाएर खाने ! उमालेको पानीमा नुन–खुर्सानी राखेर ढिँडो खाँदा बेग्लै आनन्द आउँथ्यो। चौरासी व्यञ्जन खाएजस्तो। चाहिने सामान मात्र बोकिएन, आफूले लगेको नकुहिने फोहोर पनि ब्यागमै बोकेर फर्किन्थेम् हामी। टेन्टमा सुतेर उठ्ने बेलासम्म हिउँले टेन्ट नै ढाकेको हुन्थ्यो। 

त्यो ज्यानमारा मौसम  

हिमाल चढ्नुलाई मृत्युसँग यसै दाँजेको होइन रहेछ भन्ने त्यो बेला ज्ञान भयो, जुन बेला हामी धौलागिरि समिटमा थियौँ। धौलागिरि चढ्दा बाटोमा रेस्क्यु गर्नुपर्ने भएकाले हामीले त्यहाँको सही मौसम मिस गरेका थियौँ। तर, ढिला नगरी त्यहाँ पुग्नुपर्ने भएकाले हामी हिउँ काट्दै बाटो लागेका मात्रै थियौँ। हिमालको हावा चल्न सुरु भयो।  मौसम कुनै हालतमा सुध्रिने छाँटकाँट देखिएन। मौसमले आफ्नो पारा देखाइरह्यो। हामी भने रोकिएनौँ। हावाको वेग बढ्दै गयो, हामीले पनि आफ्नो हिँडाइ बलियो पार्‍यौँ। किनकि, बीचमा रोकिनु भनेको मृत्युलाई पर्खनुजस्तै थियो। त्यो जोखिम लिँदै हामी साँझ ५ बजे समिटमा पुग्यौँ। मौसम अझै सुध्रिएन। हामी त्यहाँ एकछिन पनि अलमल नगरी रातभर हिँडेर बेसक्याम्प झर्‍यौँ। बाटोमा निद्रा लागिसकेको थियो। एक पाइला रोकियो कि निदाउने डर हुन्थ्यो। बाटोमा निदायो भने हिमपहिरो खसेर मरिएला भन्ने डर अर्कोतिर थियो। हरेक आरोहणमा जोखिम थियो तर सबैभन्दा डरलाग्दो क्षण यही थियो। अरू हिमाल चढ्दा पनि शिखरमा नपुगी फर्किऊँजस्तो चाहिँ कहिल्यै भएन। संयोगवश नराम्रो दुर्घटना भोग्नुपरेन। बरु सिकियो– समस्यासँगै समाधान पनि आउँछ।

बरु खान बिर्सिन्थेँ। तर, वेदर फोरकास्ट चाहिँ मैले कहिल्यै छुटाइनँ। विश्वका पाँचछ वटा फोरकास्टलाई तुलना गर्थें। त्यसपछि मात्र आरोहणका लागि निर्णय लिन्थेँ। मौसम हेरेरै कहिले राति र कहिले बिहान समिट पुग्नुपथ्र्यो। कतिपय शिखर चुम्न थोरै समय लाग्थ्यो भने कतिपयमा धेरै समय लाग्थ्यो। 

मेरो फोकस हिमालमा मात्र थिएन। पैसा उठाउने, गाइड, समिट म्यानेज, नीति– नियम अनुसरण, रेस्क्यूलगायत धेरै कुरालाई एकैपटक डिल गर्नुपथ्र्यो।  अन्नपूर्ण समिटबाट फर्किंदा बेसक्याम्पमा पुगेको तीन घण्टा पनि बितेको थिएन। म धौलागिरि समिटको तयारी गर्दै थिएँ। एउटा रेस्क्यूका लागि फेरि अन्नपूर्ण पुग्नुपर्‍यो। बाटोमा अर्को आरोहीको अक्सिजन सकिएको थियो। मैले आफ्नै अक्सिजन दिएर उसको उद्धार गरेँ। योसहित अन द वे चार वटा रेस्क्यू पनि गरेँ। 

बजेट जुटाउनै कठिन 

हाई अल्टिट्युड माउन्टेनियरिङमा सबैभन्दा बढी खर्च हुन्छ। हिमालमा चाहिने कपडा र अन्य उपकरण पनि महँगा हुन्छन्। एक जोर जुत्ताको एक लाख रुपैयाँभन्दा बढी पर्न सक्छ। अरू सामान झनै महँगा हुन्छन्। यसका लागि कम्तीमा पनि १० हजार डलर लाग्छ। यसका लागि फन्ड खोज्न आफैँ कुद्नुपथ्र्यो। यो मेरा लागि पहिलो चुनौती थियो।  ‘हावा प्रोजेक्टलाई के स्पोन्सर गर्नु ?’ भन्ठानेर पनि हुन सक्छ, कसैले स्पोन्सर गर्न उचित ठानेनन्। ‘हुने कुरा गर्नुस् न, नहुने कुरा गरेर पनि कसैले स्पोन्सर गर्छ’ भनेर फर्काइदिन्थे मलाई। नेपालमा यत्तिका करोडपति, अर्बपति छन्। तर, कसैले सहयोग गरेनन्। हामा स्टिल कम्पनीले मात्र मलाई आर्थिक सहयोग गर्‍यो। रकम जुटाउन आफैँले कसरत गरें। तर, कसैसँग गुनासो छैन। 

खुशी थिएन परिवार 

दाइहरू मसँग दुई महिनासम्म बोल्नुभएन। परिवारमा आमाबा र दाइहरूको अपेक्षा थियो। सबैको चाहना ब्रिटिस सेनामा पेन्सन पकाओस् भन्ने थियो। परिवार र आफन्तले मलाई ‘बौलायो’ भने। ‘१० वर्ष लडेर बाँचेको मान्छे, टेबलमा बसेर तलब पकाउने बेलामा जागिर छोडेर हिमाल चढ्न गयो’ भने। आमाले ‘यो कान्छो छोरा मलाई पाल्नुपर्छ भनेर हिमालतिर दौडियो’ भन्नुभयो। 

म धेरै सवालजवाफ गर्दिनँ। बस्, भन्ने गर्छु– ‘हिमाल भनेको जीवन र मृत्युको सँघार हो। जो पायो, त्यहीले आरोही बन्ने साहस गर्दैन।’ 

तपाईको कमेन्ट