बोर्डिङ छोडेर सरकारी स्कुलतिर

writer

मेनुका कोइराला

शनिबार, २३ कार्तिक २०७६


पहिले निजी बोर्डिङ स्कुलमा पढेका कतिपय विद्यार्थी सरकारी स्कुलमा भर्ना भएका छन्। उनीहरूको अनुभवमा सरकारी स्कुलमा प्राइभेटमा भन्दा राम्रो पढाइ हुन्छ र शिक्षक–शिक्षिका पनि बढी योग्य हुन्छन्। 


कतिपय विद्याथी र अभिभावकको अचेल सरकारी स्कुलतिर आकर्षण बढिरहेको देखिन्छ। प्राइभेट बोर्डिङ स्कुलको चर्काे शुल्कले उनीहरू आजित भएका देखिन्छन्। कतिपय विद्यार्थी आफूले पढिरहेको प्राइभेट स्कुल छोडेर सरकारी विद्यालयमा पढिरहेका भेटिए। कक्षा ९ मा पढ्दै गरेकी आयुषा पुडासैनी कक्षा ८ सम्म बोर्डिङ स्कुलमा पढिन्। कक्षा ९ देखि उनलाई सरकारी विद्यालय पढ्न मन लागेको उनी बताउँछिन्। उनी अहिले श्री आदर्श माविमा पढिरहेकी छिन्। भन्छिन्, ‘प्राइभेट बोर्डिङमा भन्दा पनि राम्रो पढाइ छ,’ उनी भन्छिन्। सरकारी विद्यालयमा उनले भर्ना र परीक्षा शुल्कबाहेक अरू शुल्क तिर्नुपरेको छैन। आयुषा भन्छिन्, ‘निजी बोर्डिङमा पढ्दा थरी–थरी नाममा पैसा तिर्नुपथ्र्याे। सरहरूलाई नबुझेको कुरा सोध्दा ‘बुझिनौ भने ट्युसन पढ’ भनिदिनुहुन्थ्यो। स्कुल सकेर बेलुका फेरि पैसा तिरेर ट्युसन पढ्नुपथ्र्यो।’ बोर्डिङमा पास हुनलाई पढाइको बोझ हुने र सरकारीमा पास हुनैपर्छ भन्ने डर नभएकाले पनि सरकारी विद्यालय मन परेको उनी बताउँछिन्। 

क्षितिज पोखरेल कक्षा ७ सम्म बोर्डिङ पढेर कक्षा ८ देखि सरकारी विद्यालय पढिरहेका छन्। उनको लक्ष्य डाक्टर बन्नु हो। सरकरी विद्यालयमा पढेपछि धेरै छात्रवृत्ति पाइने उनी बताउँछन्। ‘सरकारी स्कुल भए पनि हामी स्कुलभित्र प्रवेश गरेपछि इंग्लिस बोल्छौँ। सर–मिसहरूले पनि इंग्लिस मिडियममै पढाउनुहुन्छ। अतिरिक्त क्रियाकलाप पनि थुप्रै हुन्छन्। आजभोलि सरकारी स्कुल पनि निजी बोर्डिङभन्दा कम छैनन्।’ 

काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिकास्थित भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालय वाग्मती अञ्चलकै नमुना विद्यालयमा छनोट भएको छ। नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७४ सालमा यस विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो। २०१७ सालमा प्राथमिक तहबाट सञ्चालनमा आएको यो विद्यालय २०३४ सालमा माध्यमिक भयो। विद्यालयनजिकै थुप्रै बोर्डिङ स्कुल भए तापनि विद्यार्थीहरूको रोजाइमा आदर्श मावि नै परेको भेटियो। कक्षा १ देखि १० सम्म यहाँ ५ सय ९५ विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल जयसिंह चौधरी बताउँछन्। उनी ३० वर्षदेखि आदर्श विद्यालयमा कार्यरत छन्। चौधरी भन्छन्,  ‘बोर्डिङबाट कक्षा ८, ९ र १० मा २०७६ सालमा पनि धेरै संख्यामा हाम्रो विद्यालयमा विद्यार्थीहरू भर्ना भएका  छन्। हामीले शिक्षाको गुणस्तर कायम गरेका छौँ।’ बोर्डिङ स्कुलहरूले घेरिएको आदर्श माविको एसईईको नतिजा प्राइभेट स्कुलको भन्दा उत्कृष्ट रहेको प्रिन्सिपल चौधरी बताउँछन्। भन्छन्, ‘हामीले प्राइभेट विद्यालयहरूसँग आफ्ना विद्यार्थीको तुलना गर्दा नतिजा राम्रो पाएका छौँ। अहिले राम्रो शिक्षाका लागि प्राइभेट स्कुलमै पढाउनुपर्छ भन्ने सोच कमजोर हुँदै गएको छ।’

यही स्कुलमा कक्षा ८ मा पढ्दै गरेका सक्षम फुयाल कक्षा ७ सम्म नजिकैको प्राइभेट बोर्डिङमा पढेका हुन्। भन्छन्, ‘मेरो बाबा प्राइभेट स्कुलमा शिक्षक भए पनि उहाँले मलाई सरकारी स्कुलै पढ्नुपर्छ भन्नुभयो। बाबाले सरकारी विद्यालमा धेरै अनुभवी शिक्षक–शिक्षिकाले पढाउनुहुन्छ भनेर सरकारी स्कुलमा भर्ना गरिदिनुभएको थियो।’ सक्षमलाई पहिलेको बोर्डिङभन्दा अहिलेको सरकारी स्कुलको पढाइ राम्रो लागेको छ। 

आदर्श माविमै कक्षा ९ मा पढिरहेका न्युटन पुडासैनी पनि पहिले बोर्डिङ पढेका विद्यार्थी हुन्। भन्छन्, ‘सरकारी विद्यालय पनि बोर्डिङजत्तिकै राम्रो भएपछि किन बढी पैसा तिरेर त्यहाँ पढ्नु ? जता पढे पनि राम्रो शिक्षा पाउनु नै हो।’

प्रिन्सिपल चौधरी भन्छन्, ‘हाम्रो स्कुल सरकारी स्कुलहरू नराम्रा हुन्छन्, शिक्षकले राम्रो पढाउँदैनन् र राम्रो प्राइभेट स्कुलमा पढ्न नसक्ने आर्थिक स्थिति भएका मात्र सरकारी स्कुल पढ्छन् भन्ने भ्रमलाई तोड्न सफल भएको छ।’ 

उता, काठमाडौँ, साँखुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पनि बोर्डिङ स्कुल छोडेर आउनेको संख्या बढेको बताउँछन्, स्कुलका प्रिन्सिपल अर्जुन कारञ्जित। भन्छन्,  ‘खास गरी, कक्षा ७, ८ र ९ मा बढी विद्यार्थी भर्ना भएका छन्। अभिभावकहरू आर्थिक हिसाबले सक्षमै भए पनि ‘प्राइभेट विद्यालयभन्दा सरकारीमै राम्रो पढाइ हुने रहेछ’ भन्दै आफ्ना छोराछोरीको भर्ना गराउन आएका छन्।’ 

यस विद्यालयमा कक्षा ९ मा पढिरहेका मोहन श्रेष्ठले पहिले बोर्डिङ पढेका थिए। सरकारी स्कुलमा राम्रो पढ्न सक्यो भने धेरै अवसर पाइने देखेर उनी यस स्कुलमा आएका हुन्। भन्छन्, ‘प्राइभेट बोर्डिङमा पैसा मात्र धेरै तिर्नुपर्छ। पढाइ त सरकारी विद्यालयमै राम्रो हुन्छ। शिक्षकहरू पनि धेरै अनुभवी हुनुहुन्छ।’ 

राष्ट्रिय माविमै कक्षा ८ मा पढिरहेकी सिर्जना केसीले कक्षा ७ सम्म बोर्डिङ पढिन्। ‘अहिले सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुन्छ,’ उनी भन्छिन्, ‘प्राइभेटमा भन्दा सरकारीमा योग्य शिक्षकहरू हुन्छन्। प्राइभेटमा रिजल्टको मात्र वास्ता हुन्छ। तर, सरकारी विद्यालयमा ज्ञान पाइन्छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि