‘व्यक्तिगत स्वार्थ बोकेर ट्राफिक सडकमा जाँदैनन्’

सम्पूर्ण
शुक्रबार, २२ कार्तिक २०७६
केदार केसी, ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँ
आरामै हुनुहुन्छ, सर ?
आरामै छु।
ट्राफिक भएर सेवा दिन थाल्नुभएको कति भयो ?
दुई वर्ष भयो।
सीधै ट्राफिक प्रहरी भएर काम गर्नुभयो कि सिभिल प्रहरी ?
मैले सिभिल प्रहरीमा पनि काम गरेँ।
कति वर्ष सिभिल प्रहरीमा सेवा दिनुभयो ?
सात वर्ष ।
पढाइ सकियो ?
छैन। अहिले मास्टर्स गर्दै छु।
कुन विषयमा मास्टर्स गदै हुनुहुन्छ ?
पोलिटिकल साइन्स।
पढाइ र जागिर सँगसँगै लैजान गाह्रो हुन्छ होला नि ?
एकदमै गाह्रो हुन्छ। तर, दुवैलाई ब्यालेन्स गरेर मिलाउँदै लैजानुपर्छ।
परीक्षाको समयमा कसरी म्यानेज गर्नुहुन्छ ?
अफिसमा परीक्षाका लागी ड्युटी मिलाइपाऊँ भनेर निवेदन दिएपछि समय मिल्छ।
पढ्ने समय कसरी निकाल्नुहुन्छ ?
राति पढ्छु। पढ्ने मान्छेलाई रातिको ड्युटीमा खटाइँदैन।
कलेज नगई आफैँ पढेर, बुझेर परीक्षा पास गर्न गाह्रो हुन्न ?
अहिलेसम्म पास गरिरहेको छु। नबुझेको कुरा इन्टरनेटमा हेर्छु।
यहाँको घर कता पर्यो ?
प्युठान।
यता कता बस्नुहुन्छ ?
अफिसमै बस्छु।
परिवारमा को–को हुनुहुन्छ ?
आमाबुबा, भाइ, छोरी र श्रीमती।
सिभिल र ट्राफिक प्रहरीमा आउनुअघि के काम गर्नुहुन्थ्यो ?
यसअघि म शिक्षक थिएँ। भलिबल प्लेयर पनि थिएँ।
फोर्समा कसरी आइयो ?
सानैदेखि ट्राफिक प्रहरीको काम राम्रो लाग्थ्यो। जीवन राम्रो हुने देखेर यता ट्राई गरेँ।
जागिरे जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु। खान–लाउन पुगेकै छ। खुशी छु।
चालक भन्छन्, ट्राफिक प्रहरीले दुःख दिन्छन्। उनीहरूको भनाइ कति सत्य हो ?
जसले नियम बुझेको छैन, उसैले यस्तो भन्छ। ट्राफिक प्रहरी व्यक्तिगत स्वार्थ लिएर कहिल्यै सडकमा जाँदैन। चालकको भलाइका लागि हामी खटिने हो।
सडक दुर्घटना के कारणले बढेको जस्तो लाग्छ ?
तीव्र गतिले।
सिंहदरबार एरियामा ड्युटी गर्न कत्तिको गाह्रो छ ?
गाह्रै छ। यहाँ सवारी साधनको चाप एकदमै बढी हुन्छ। लेन मिलाउन र जाम खुलाउन गाह्रो हुन्छ।
के भइदिए यो एरियामा काम गर्न सहज हुन्थ्यो ?
ट्राफिक लाइट र चालकमा ट्राफिक नियमसम्बन्धी राम्रो ज्ञान भइदिए काम गर्न सहज हुन्थ्यो।
ड्युटी गर्ने क्रममा आफन्त वा साथीभाइलाई पनि कारबाही गर्नुभएको छ ?
थुप्रै साथीलाई गरेको छु। मापसे गरेर आएको थियो। मैले आफैँले कारबाही गरेँ।
साथीहरूको प्रतिक्रिया के हुन्छ ?
त्यो मेरो ड्युटी हो। ड्युटीले आफन्त र साथीभाइ भन्दैन। उनीहरूका प्रतिक्रियाले कुनै अर्थ राख्दैन।
तिहार कसरी मनाउनुभयो ?
अफिसमै साथीभाइ र सरहरूसँग मनायौँ। सरहरूको घरमा पहिला नै निम्तो दियौँ र देउसीभैलो खेल्न गयौँ।
चाडबाडमा घर जान नपाउँदा कत्तिको दुःख लाग्छ ?
पहिले लाग्थ्यो। अहिले त कामै यस्तो हो भनेर चित्त बुझाइन्छ।
परिवारले दुःख मान्दैनन् र ?
आमाबुबा ‘सकेसम्म मिलाएर घर आइजो’ भन्नुहुन्छ । तर, अब त परिवारलाई पनि बानी परिसक्यो। ‘यसको जागिरै यस्तो हो’ भनेर चित्त बुझाउनुहुन्छ।
सार्वजनिक बिदाको दिन सडकमा काम गर्न सजिलो हुन्छ होला नि ?
कम गाडी गुड्दा सजिलो त हुन्छ नै।
प्रस्तुतिः आशक्ति फुयाल
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७