घरमै बसेर गर्न सकिन्छ मास्टर्स र पीएचडी

writer

सुमित सुवेदी

शुक्रबार, २२ कार्तिक २०७६


 

विश्वविद्यालयमा उपस्थित भएर पढ्न नसक्ने विद्यार्थीका लागि खुला विश्वविद्यालय राम्रो विकल्प भएको छ। एउटा ल्यापटप र इन्टरनेटको सुविधा भए घरमै बसेर पढ्न सकिन्छ। हाल नेपाल खुला विश्वविद्यालयमा १२ सयभन्दा बढी विद्यार्थीले ब्याचलर्स, मास्टर्स र एमफिल अध्ययन गरिरहेका छन्। थुप्रैले पीएचडी गरिरहेका छन्। 


पढाइ र कामलाई सबैले एकसाथ लैजान सक्दैनन्। कसैले कामको लागि पढाइ छोड्छन् भने कसैले पढाइका लागि काम। आर्थिक, पारिवारिकलगायत बाधा–अड्चनका कारण धेरैले पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न पाउँदैनन्। खुला विश्वविद्यालय यस्ता विद्यार्थीका लागि उपयोगी हुन्छ। 

मकवानपुर, हेटौँडा घर भई कलेजमा अध्यापन गर्दै आएका केशवप्रशाद तिमल्सिनालाई पनि एक समय पढाइ छोडौँ कि जागीर छोडौँ भन्ने समस्या आइपर्‍यो। उनको समाजशास्त्रमा एमफिल गर्ने चाहना थियो। तर, त्यसका लागि काठमाडौँ आउनुपर्ने भयो, जागिर छोड्नुपर्ने भयो। कुनै रोजगारीबिना काठमाडौँमा बाँच्न मुश्किल छँदै थियो। त्यसैले उनले पढ्न पनि पाइने र जागिर पनि छोड्न नपर्ने विकल्प खोजे। त्यो थियो– अनलाइन शिक्षा। 

उनी नेपाल खुला विश्वविद्यालय (एनओयू) मा भर्ना भए। अनलाइन शिक्षाले उनको पढ्ने धोको पूरा गरेको तिमल्सिना बताउँछन्। भन्छन्, ‘जागिरको कारणले मेरो पढाइ अधुरो हुने सम्भावना थियो। तर, नेपाल खुला विश्वविद्यालयले मेरो सपना पूरा गरेको छ।’ खुला विश्वविद्यालयले दिने अनलाइन शिक्षामा बेलुका ६ बजेदेखि ९ बजेसम्म इन्टरनेटको माध्यमबाट अध्यापन गराइन्छ। जसले गर्दा दिनभर व्यस्त हुने विद्यार्थीलाई समय व्यवस्थापन गर्न निकै सहज हुने गरेको छ। 

यस्ता कक्षाहरूमा पढाइ सहज रहेको तिमल्सिना बताउँछन्। ‘कक्षाहरू लिँदै गर्दा शिक्षकसँगको संवाद, विद्यार्थीले उठाएका प्रश्न, शिक्षकहरूले दिएका उत्तरलाई रेकर्ड गर्न मिल्छ,’ उनी भन्छन्, ‘जसले गर्दा नबुझेका कुरालाई पुनः सुनेर प्रष्ट हुन सकिन्छ।’ उनी हाल एमफिल तेस्रो सेमेस्टरमा अध्ययनरत छन्। 

घरमै बसेर पढ्दा समय पनि बचत हुने गरेको उनी बताउँछन्। भन्छन्, ‘पहिला मास्टर्ससम्म पढ्दा कलेज जान–आउनै निकै समय लाग्थ्यो। खुला विश्वविद्यालयले गर्दा समयको निकै बचत भएको छ।’ 

खुला विश्वविद्यालयको अवधारण 

पहिले नेपाललगायत अन्य देशमा करेसपोन्डेन्ट कोर्सहरूको पढाइ हुन्थ्यो। त्यसको माध्यमबाट विद्यार्थीहरूले परीक्षासमेत दिन्थे। त्यसपछि दूर शिक्षाको अवधारणा आयो। जसमा विद्यार्थी र शिक्षक टाढा भएर शिक्षा लिने–दिने काम हुन्थ्यो। त्यसपछि इन्टरनेट आयो। सुरुमा इन्टरनेटमा हेर्न र पढ्न मात्र मिल्थ्यो। बिस्तारै  इन्टरनेटको माध्यमबाट अन्तरक्रियासमेत हुन थाल्यो। 

खुला विश्वविद्यालय पनि दूर शिक्षा हो। ०३४÷०३५ सालबाटै नेपालमा खुला विश्वविद्यालय चाहिन्छ भन्ने आवाज उठ्न थालेको नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक लेखनाथ शर्मा बताउँछन्। भन्छन्, ‘नेपालमा खुला विश्वविद्यालय आवश्यक छ भनेर ०३४÷०३५ सालबाटै पहल गर्न थालिएको थियो। तर, ०७३ सालमा नेपाल खुला विश्वविद्यालयल ऐन बनेपछि औपचारिक रूपमा यसको सुरुवात भएको हो।’ 

शिक्षाको मूलधारबाट वञ्चित नागरिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको हो। नेपाल खुला विश्वविद्यालय नेपाल सरकारको मातहतमा सञ्चालित छ। यसको स्थापनामा एनआरएनको पनि उल्लेखनीय योगदान रहेको छ। ‘नेपाल खुला विश्वविद्यालय स्थापनामा एनआरएनको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन,’ उपकुलपति शर्मा भन्छन्, ‘नेपाल सरकार र एनआरएनको संयुक्त प्रयासमा विश्वविद्यालयको स्थापना भएको हो।’ 

कसरी हुन्छ पढाइ ? 

खुला विश्वविद्यालय पूर्णतया इन्टरनेटमा निर्भर रहेको छ। यसले अनलाइन शिक्षा दिन्छ। भर्चुअल कक्षामा मोडेल बेस सिकाइ पद्धतिमार्फत कक्षाहरू सञ्चालन  हुन्छन्। अनलाइन कक्षा सञ्चालन गर्न माईक्रोसफ्ट टिम्सको प्रयोग गरिने विश्वविद्यालयका शिक्षक लेखनाथ पौडेल बताउँछन्। 

विश्वविद्यालयमा अनलाइनबाट नै भर्ना हुन सकिन्छ। त्यसपछि विद्यार्थीले प्रवेश परीक्षा पास गरेपछि मात्र विद्यालयमा भर्ना हुन पाउने एनओयूका शाखा अधिकृत गुरुप्रसाद पौडेल बताउँछन्। भर्ना भएका विद्यार्थीहरू ओरियन्टेसनका लागि विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आउनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘तीन दिनको ओरिएन्टेसन कक्षा लिन विद्यार्थीहरू केन्द्रमा नै आउनुपर्छ। जसमा विद्यार्थीलाई पाठ्यक्रम, प्रविधि तथा अन्य कार्यक्रमको जानकारी दिने काम गर्छौं।’ त्यसपछि एउटा सेमेस्टरमा कम्तीमा तीन पटकसम्म आफ्नो पायक पर्ने सम्पर्ककेन्द्रमा हाजिर हुनुपर्ने व्यवस्था रहेको छ। 

हाल नेपालमा पोखरा, धनगढी, इटहरी, ललितपुर र कोहलपुर गरेर पाँच वटा स्थानमा सम्पर्ककेन्द्र रहेका छन्। यसलाई विस्तार गरेर सात वटै प्रदेशमा एक– एक वटा केन्द्र बनाउने योजना भएको उपकुलपति शर्मा बताउँछन्।  भन्छन् ‘अब हामी सम्पर्ककेन्द्र विस्तार गर्दै छौँ। त्यसपछि हरेक प्रदेशका विद्यार्थीले आ–आफ्ना सम्पर्ककेन्द्रमा सम्पर्क गर्न पाउनेछन्।’ क्रेडिट आवरको कम्तीमा १५ प्रतिशत समय विद्यार्थी र शिक्षक आमनेसामने भएर पढाइने गरिन्छ। त्यस्तै, कम्तीमा ३५ प्रतिशत समय अनलाइनमार्फत विद्यार्थी र शिक्षक आमनेसामने हुने भनिए पनि त्योभन्दा निकै बढी रहेको शर्मा बताउँछन्। 

विद्यार्थीलाई हरेक दिन तीन घण्टा पढाइन्छ। विभिन्न असाइनमेन्ट गर्न लगाइन्छ। विद्यार्थीहरूको दैनिक लेखाजोखा हुन्छ। ‘कुन विद्यार्थीले कक्षा लियो ? के के कुरा पढ्यो ? दिएको काम गर्‍यो कि गरेन ? भनेर सबै कुरा शिक्षकले अनलाइनबाट नै चेक गर्छन्,’ उपकुलपति शर्मा भन्छन्, ‘यदि उसले यी काम गरेको छैन भने ऊ आन्तरिक एसेसमेन्टमा फेल हुन्छ। उसले सेन्टर बेस परीक्षा दिन पाउँदैन।’ विद्यार्थीले ४० प्रतिशत अंक इन्टरनल एसेसमेन्टमार्फत पाउँछ भने ६० प्रतिशत केन्द्रमा आधारित परीक्षाबाट पाउँछ। विद्यार्थीले परीक्षा सम्पर्ककेन्द्रमार्फत दिनुपर्ने व्यवस्था रहेको छ। यसको परीक्षा अन्य विश्वविद्यालयको जस्तै रहेको छ।  

के के पढाइ हुन्छ ? 

विश्वविद्यालयले पीएचडी, एमफिल, मास्टर्स र ब्याचलर्सका कोर्सहरू सञ्चालन गर्दै  आएको छ। पीएचडीमा कोर्स बेस तथा ननकोर्स बेस कक्षाहरू सञ्चालन भएका छन्। एमफिलअन्तर्गत स्वास्थ्य, विज्ञान तथा प्रविधि, सामाजिक विज्ञान र शिक्षामा पढाइ हुने गरेको छ। त्यस्तै, मास्टर्समा एमबीए र एमएसडीएम तथा ब्याचलर्समा बीबीएस, एलएलबी र पीजीडीका कोर्सहरू सञ्चालनमा भइहेका छन्। हाल १७ वटा कार्यक्रम सञ्चालन भएकामा अन्य थप कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको उपकुलपति शर्मा बताउँछन्।  

विद्यार्थीका लागि ई–लाइब्रेरी 

नेपाल खुला विश्वविद्यालयले विद्यार्थीका लागि ई–लाइब्रेरी अर्थात् अनलाइन पुस्तकालयको व्यवस्था गरेको छ। यो पुस्तकालय विश्वविद्यालयको वेबसाइटमा उपलब्ध छ। विद्यार्थीले विश्वविद्यालयले उपलब्ध गराएको युजर नेम र पासवर्ड प्रयोग गरेर देशको जुनसुकै कुनाबाट पनि यो पुस्तकालय भिजिट गर्न सक्ने विश्वविद्यालयका उपकुलपति शर्मा बताउँछन्। भन्छन्, ‘इन्टरनेटको सुविधा भएको ठाउँबाट आईडी प्रयोग गरी पुस्तकालय भिजिट गर्न सकिन्छ। पुस्तकालयमा खुला रूपमा पाइने सम्पूर्ण पुस्तक र जर्नलहरू पाइन्छन्।’ 

घरबाटै पढाउन सकिने 

खुला विश्वविद्यालयमा अध्यापन गराउन प्रविधिसँग निकै घुलमिल हुनुपर्ने विश्वविद्यालयका प्राध्यापक प्रकाश पौडेल बताउँछन्। ‘अनलाइन कोर्सहरू दिन प्राविधिक रूपमा स्मार्ट र चनाखो हुनुपर्छ,’ उनी भन्छन्, ‘जो प्रविधि चलाउन सक्षम छ, उसलाई यस्ता कक्षा दिन सहज हुन्छ।’ उनका अनुसार यस्ता कक्षामा अध्यापन गराउन निकै मेहनत गर्नुपर्छ। भन्छन्, ‘पढाउनुअगाडि लेसन प्लानहरू बनाउनुपर्छ। पाठ्यवस्तुको ज्ञान लिनुपर्छ। सोर्सहरू खोज्नुपर्छ। यसका लागि मेहनत गर्नुपर्छ।’ 

यस्ता कक्षा शिक्षकले घरबाटै दिन सक्छन्। यसका लागि उनीहरूसँग एउटा ल्यापटप, इन्टरनेट र माइक्रोसफ्ट टिम्स भए पुग्छ। घरमा बसेर विद्यार्थीहरूलाई कक्षा दिने गरेको प्राध्यापक पौडेल बताउँछन्। ‘घरमै बसेर कक्षा दिन सकिने भएकाले अनलाइन कक्षामा पढाउन सहज छ,’ उनी भन्छन्। 

शुल्क कति ? 

खुला विश्वविद्यालयमा पनि अध्यायन शुल्क तिर्नुपर्छ। यसका लागि विश्वविद्यालयले विभिन्न संकायमा क्रेडिट आवरअनुसार शुल्क निर्धारण गरेको छ। सामाजिक शास्त्र तथा शिक्षामा एमफिल गर्ने विद्यार्थीले कुल १ लाख ८ सय रुपैयाँ बुझाउनु पर्छ। सोही संकायमा डिप्लोमाको शुल्क भने कुल २० हजार ४ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, विज्ञान स्वास्थ्य तथा प्रविधिमा एमफिल गर्न प्रति क्रेडिट आवर ४ हजार २ सयको दरले १ लाख ६३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। यसै संकायमा ई–गभर्नेन्समा स्नातकोत्तरका लागि कुल १ लाख २६ हजार रुपैयाँ शुल्क तोकिएको छ। व्यवस्थापन तथा कानुन संकायमा स्नातकोत्तर गर्न २ लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यस्तै, व्यवस्थापनमा स्नातकको लागि भने १ लाख ८० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। 

विदेशि विद्यार्थी तान्न सक्ने सम्भावना 

एनओयूले क्षमता विस्तार गरी विदेशी डलर आर्जन गर्न सकिने उपकुलपति शर्मा बताउँछन्। भन्छन्, ‘विदेशी विद्यार्थीलाई उनीहरूको देशमा कतिपय कोर्स महँगो पर्छ। तर, त्यही कोर्स हाम्रा प्राध्यापकहरूले सस्तोमा पढाउँछन्। जसले गर्दा कम शुल्कमा उनीहरूले उही गुणस्तरको कोर्स अध्ययन गर्न पाउँछन्। यसले विदेशी विद्यार्थीलाई आकर्षण गर्न सक्छ।’ त्यसका लागि अन्य देशमा पनि सम्पर्ककेन्द्र खोल्नुपर्छ। सरकारबाट स्वीकृति लिन पहल गरिएको शर्मा बताउँछन्।  

भौतिक संरचनाको अभाव    

सार्वजनिक विश्वविद्यालय भए पनि यसको आफ्नै भवन छैन। हाल मानभवन, ललितपुरमा घर भाडामा लिएर यसको केन्द्रीय कार्यालय खडा गरिएको छ। यो घरले विश्वविद्यालयको चापलाई थेग्न नसकेर अर्को घर भाडामा लिन विज्ञापन गरिएको उपकुलपति शर्मा बताउँछन्। अनलाइनमार्फत कक्षाहरू सञ्चालन गरिने भए तापनि विभिन्न समयमा विद्यार्थीहरू अनिवार्य रूपमा विश्वविद्यालय आउनुपर्छ। हाल यस विश्वविद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, ३६ जना पूर्णकालीन शिक्षक छन् भने दुई सय जना पार्ट टाईम शिक्षक रहेका छन्। 

तपाईको कमेन्ट