‘सुदूरपश्चिममा हानिकारक मान्यता धेरै छन्’

writer

सम्पूर्ण

शुक्रबार, २२ कार्तिक २०७६


कञ्चनपुरकी १८ वर्षीया शीतल खड्का दोस्रो मिस सुदूरपश्चिम भएकी छिन्। उनी फार्मेसीमा डिप्लोमा गरिरहेकी छिन्। खड्कासँग शिवराज भट्टले संक्षिप्त संवाद गरेका छन्। 


स्वास्थ्यको विद्यार्थी कसरी सौन्दर्य प्रतियोगितातिर लाग्नुभयो?

टीभीमा मिस नेपाल, मिस पोखराजस्ता ब्युटी पेजेन्ट हेर्ने गर्थें। बाल्यकालदेखि नै यस्ता प्रतियोगितामा रुचि थियो। रुचिकै क्षेत्र भएकाले सौन्दर्य प्रतियोगितामा भाग लिएँ। 

तपाईंको विचारमा सुन्दरता के हो? 

सुन्दरता खासमा सोच हो। जसको सोच सुन्दर छ, उही सुन्दर। 

यस्ता प्रतियोगिताको विरोध गर्नेहरू पनि त छन् नि?

बेला–बेला सौन्दर्य प्रतियोगिताको विरोध सुनिने गर्छ। आ–आफ्नो ‘ओपिनियन’ हो। तर, ब्युटी पेजेन्टबारे राम्ररी नबुझेकाले नै विरोध गर्छन्जस्तो लाग्छ।

सुदूरपश्चिमको समाजमा महिलाको अवस्था कस्तो छ? 

सुदूरपश्चिम अरू प्रदेशभन्दा अलि पछाडि छ। यहाँ बढी गरिबी छ, अशिक्षा छ, परम्परागत हानिकारक मान्यताहरू छन्। त्यसैले महिलाहरू पनि त्यसको शिकार भएका छन्। छाउपडी, देउकी, जातीय भेदभाव यहाँका मुख्य चुनौती हुन्। 

मिस सुदूरपश्चिम भएपछि के–कस्ता टिप्पणी पाउनुभयो? 

मेरो ममी–बाबाको मलाई पूर्ण सपोर्ट छ। तर, समुदायमा ‘छोरी मान्छे, किन त्यहाँ पठाएको? यो राम्रो कुरा होइन’ भन्ने कुरा आइरहेका छन्। सौन्दर्य प्रतियोगिताबारे समाजलाई बुझाउनुपर्ने बेला भएको छ। 

अबको लक्ष्य? 

पहिले पढाइ पूरा गर्छु। स्वास्थ्यकर्मी भएर समुदायको सेवामा समर्पित हुन चाहन्छु। कलाकारिता पनि मेरो रुचिको क्षेत्र हो। दुवै क्षेत्रमा केही गर्ने सोच छ। 

तपाईंको विचारमा प्रेम के हो?

प्रेम भनेको भावना हो। एकअर्कालाई बुझ्ने र सम्मान गर्ने कुरा हो। प्रेम भनेको जीवन बुझ्ने यन्त्र हो।

सात प्रदेशमध्ये सुदूरपश्चिम कर्णालीपछिको दोस्रो गरिब प्रदेश किन भएको होला? कोही भन्छन्, नेताहरूका कारणले। तपाईंलाई के लाग्छ?

 म सबै दोष नेतालाई मात्र दिन चाहन्नँ। यसमा हामी जनताको पनि दोष देख्छु। हामीले अधिकार खोज्यौँ, अधिकारका लागि वर्षौं लडाइँ पनि गर्‍यौँ, तर हाम्रो कर्तव्य के हो भन्ने कुरा कहिल्यै पनि गरेनौँ। देश बनाउने त पोलिटिक्सले  नै हो, पोलिटिसियनले नै हो। तर, त्यसका लागि कर्तव्यबोध भएका सचेत जनता पनि चाहिन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि