गीत जब प्रहरी चौकी पुग्छ...

writer

युवराज भट्टराई-अस्मिता खड्का

शुक्रबार, २२ कार्तिक २०७६


छाडा, अश्लील, अभद्र गीत गाएको आरोपमा भटाभट दुई गायक पक्राउ परे। पहिले दुर्गेश र केही दिनपछि भिटेन। यसलाई केही लेखक र गीतकारले कलाकार र सिर्जनामाथि सत्ताको प्रहार भनेका छन्। उनीहरूको मतमा यो कदम अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सिद्धान्तविपरीत छ। 


कात्तिक ७ गते ललितपुर, झम्सिखेलस्थित स्टुडियोमा बसेर काम गरिरहेका थिए, र्‍यापर समिर घिसिङ अर्थात् भिटेन। त्यही दिन प्राइभेट गाडीमा केही मानिस आएर उनको नम्बर मागेको उनले बताए। ‘सुरुमा अरू कोही जस्तो लाग्यो, पछि सिभिल प्रहरीबाट आएको भन्नुभयो,’ उनले ‘अन्नपूर्ण सम्पूर्ण’ सँग भने, ‘उहाँहरूसँग ललितपुर प्रहरी वृत्त जानुपर्ने भनेपछि अचम्म लागेको थियो।’ प्रहरीको गाडीमा बसेको केही समयपछि आफूमाथि हातपात भएको उनले बताए। ‘गाडीमा बसेको एकछिनपछि ममाथि हातपात भयो,’ उनले भने, ‘मलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको भन्दै पक्रिन आएको बताउनुभएको थियो।’

भिटेनलाई पक्राउ गर्नुको कारण उनले गाएको गीत र सामाजिक सञ्जालमा उनले लगाएको पोशाक रहेको प्रहरीले बताएको थियो। उनको पछिल्लो गीत ‘हामी यस्तै त हो नि ब्रो’ र सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको पोशाक लगाएर हालेको तस्बिरका कारण उनी प्रहरीको कारबाहीमा परे। गीतमा अश्लील शब्द प्रयोग गरिएको र फेसबुकमा हालिएको तस्बिर अमर्यादित भएको जानकारी अपराध अनुसन्धा महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले दिएका थिए। 

भिटेनलाई पक्राउ गर्नेबित्तिकै उनको गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो। साथै, अभद्र व्यवहारको मुद्दा चलाउन उनलाई अपराध अनुसन्धान महाशाखा, टेकुले महानगरीय प्रहरी वृत्त ललितपुर पठाएको थियो। ललितपुर प्रहरी वृत्तले भिटेनलाई ८ गते उनका बाबुको जिम्मा लगाएर तारेखमा रिहा गर्‍यो। 

‘प्रहरीको कुरा सुन्दा म त चकित भएँ,’ भिटेनले भने, ‘गीत र पोशाकलाई लिएर गरिएको विवाद उचितजस्तो लागेको थिएन।’

भिटेनलाई पक्राउ गर्नुभन्दा केही दिनअघि मात्रै गीतकै कारण पक्राउ परेका थिए, गायक दुर्गेश थापा। उनको पछिल्लो गीत ‘ह्याप्पी तिहार’ले सामाजिक सहिष्णुतामा खलल पुर्‍याएको भन्ने कारण प्रहरीले दिएको थियो। 

दुर्गेशमाथि परेको उजुरीलाई आधार मान्दै प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको अपराध अनुसन्धान महाशाखाले बताएको थियो। अघिल्लो दिन झापाको कार्यक्रम सकेर काठमाडौँ फर्किएका दुर्गेश कात्तिक ५ गते दिउँसो ११ बजे टेकु पुगेका थिए। ‘त्यहाँ पुगेपछि मेरो गीतविरुद्ध उजुरी परेको थाहा पाएँ,’ उनले भने, ‘तर, ‘कसले उजुरी गरेको, भन्न मिल्दैन’ भनियो। प्रहरीले ‘माथिबाटै अर्डर आएको छ, गीत हटाइदिनुस्’ भनेपछि गीत हटाउन बाध्य भएँ।’ पक्राउ परेलगत्तै दुर्गेशको युट्युब च्यालनबाट गीत हटाइएको थियो। प्रहरीसँगको छलफलबाट भने दुर्गेशले गीतमा रहेका केही शब्दलाई हटाएर परिमार्जनसहित प्रसारण गर्ने निर्णय भएको थियो। 

जुन गीतका कारण दुर्गेशलाई पक्राउ गरिएको थियो, उक्त गीतमा धूम्रपान, मादकपदार्थ र लागुपदार्थ जनाउने शब्दहरू प्रयोग गरिएका छन्। गीतमा ‘बियर’, ‘गाँजा’ लगायत शब्द प्रयोग गरेकाले यसले देउसीभैलोको मौलिकतामाथि नै प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। प्रहरीसँग सम्झौता भएपछि भने उनले युट्युबमा भएको पुरानो गीत हटाएर केही परिमार्जनसहित फेरि प्रसारण गरे।

लोकगायक पशुपति शर्मालाई पनि केही समयअगाडि उनको गीत ‘लुट्न सके लुट् कान्छा’लाई लिएर विवादमा ल्याइएको थियो। उनको गीतलाई बजाउनै नदिने भन्दै नेकपाका समर्थकहरूले विज्ञप्ति नै निकालेर गीतलाई प्रतिबन्ध गरिने बताएका थिए।

पशुपति शर्मा हुँदै दुर्गेश थापा, भिटेनसम्म आइपुग्दा धेरैले सरकारले चालेको कदमलाई ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार’का रूपमा लिएका छन्। प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङ यी कदमलाई सरकारमा भएकाहरूको मनोविज्ञानमा रहेको अधिनायकवादी सोचको उपज ठान्छन्। ‘सरकारले कस्तो गीत गाउने ? कस्तो कविता लेख्ने ? कस्तो समाचार बनाउने ? भनेर निश्चित मापदण्ड बनाउन थाल्यो भने त्यो लोकतन्त्र कहाँ भयो ?’ मुकारुङको प्रश्न छ। 

र्‍यापर गिरिश खतिवडा सरकारको कदमलाई विचारमाथि लगाउन खोजिएको बन्देजका रूपमा अथ्र्याउँछन्। भन्छन्, ‘गीत छाडा र अश्लील भयो भन्दै भिटेन र दुर्गेशलाई सीधै पक्राउ गरियो। एउटा कलाकारले जे भन्नुपर्छ, त्यो गीतबाटै भन्छ। समाजमा हरेक समय सही वा गलत नदेखी स्तुतिगान गाउने मात्र हुँदैनन्। गलतलाई गलत र सत्यलाई सत्य देखेर प्रस्तुत गर्दा त्यसलाई नैतिक-अनैतिक भनेर छुट्याउनु कत्तिको नैतिक काम हो ? भिटेन होस् वा दुर्गेश, उनीहरूले यही समाजका पात्रका कथा गीतमा बोलेका हुन्।’

के अश्लील, के श्लील ? 

लेखक युग पाठक सरकारले चालेका कदमहरू हेर्दा नैतिकताको परिभाषा पुलिस स्टेसनबाट जारी गर्न खोजेको बताउँछन्। गायक भिटेन र दुर्गेशको गीतलाई अनैतिक र अश्लील भएको तर्क सरकारले गरेको थियो। पाठक भन्छन्, ‘नैतिकताको परिभाषा न त पुलिसले जारी गर्न सक्छ, न सरकारले। हाम्रोजस्तो विविध समाज भएको देशमा कसैले कुनै एउटा नैतिकताको आधारलाई मूल  नैतिकताको आधार भन्न सक्दैन।’ पाठक सरकारले चालको कदमलाई असफलता छोप्न खोजेको पर्दा भन्छन्। ‘लुट्न सके लुटदेखि आज भिटेनको गीतसम्म आइपुग्दा सरकारमा बसेका मान्छेहरूले आफ्नो असफलता छोप्नका लागि अकर्मन्य चरित्र अपनाएका छन्,’ उनी भन्छन्, ‘आफ्नो दिशाहीन र असफल चरित्रलाई छोप्नका लागि कलाकारलाई पक्रिएर देखाउन खोजेको एउटा तमासा मात्रै हो।’

कवि मुकारुङ सरकारले कुनै सिर्जनालाई अश्लील र श्लील भन्नु कति उचित हो भन्दै प्रश्न गर्छन्। भन्छन्, ‘अश्लील केलाई भन्ने ? श्लील केलाई भन्ने ? मैले दुवै गायकको गीत सुनेँ, ती गीतमा कुनै पनि अश्लीलता देखिनँ।’ आफूले गीतमा मानिसले भोगिरहेको कुरालाई प्रस्तुत गरेको तर्क गरिरहेका भिटेनको कुरामा आफ्नो समर्थन रहेको बताउँछन् उनी। भन्छन्, ‘उनीहरूको गीतमा त अहिले हाम्रो समाजमा जे भइरहेको छ, त्यो देखाइएको छ। त्यसलाई कसरी अश्लील भन्ने ? बियर र गाँजा शब्दको प्रयोग कलामा हुँदा त्यो प्रवद्र्धन कसरी भयो ? त्यसो हो भने त, पत्रपत्रिका, टेलिभिजनमा आउने विज्ञापनलाई पनि खारेज गर्नुपर्‍यो। राज्यले असुल्ने कर र राजस्वलाई पनि बहिष्कार गर्नुपर्‍यो।’

गिरिश खतिवडा कलाकारको गीत समाजको ऐना भएको बताउँछन्। भन्छन्, वास्तवमा भन्ने हो भने हाम्रो समाज चाहिँ छाडा छ। नभए भिटेनको गीतले किन करोडौँ भ्युअर्स पाउँछ ? किन दुर्गेशको गीत बजाएर नाचगान गरिन्छ ?’ समाज चित्रण गर्दा त्यसलाई अश्लील भन्दै प्रतिबन्ध लगाउनु, कलाकारलाई दबाब दिनु भनेको सरकारको पाखण्ड भएको उनी बताउँछन्। ‘आजभोलिका युवाको चासो केमा छ भन्ने कुरा पनि ठ्याक्कै देखाइदिएको मात्र हो,’ उनी भन्छन्, ‘गायक एक जना व्यक्ति हो। उसको प्रस्तुति समाज र व्यक्तिको मानसिकता हो। यो कुरालाई सरकारले अश्लील देख्छ भने देश नै अश्लील छ।’

सरकारले अश्लील र श्लीलको परिभाषा दिनु उपयुक्त नरहेको बताउँछन्, लेखक पाठक। ‘अहिलेको राजनीतिलाई हेर्ने हो भने यो कति श्लील छ ? यी गीतमा भन्दा बढी अश्लील राजनीतिक तथा अराजनीतिक शब्दावलीहरू प्रयोग गरेर गाली गर्ने, अपमान गर्ने काम सरकारले गरिरहेको छ। सामाजिक सञ्जालमा निरुत्साहित गर्ने काम सरकार आफैँले गरिरहेको छ।’ पछिल्लो समयमा प्रहरी प्रशासनको प्रयोगबाट सरकारले सर्जकको विचारमाथि आक्रमण गरिरहेको बताउँछन्, पाठक। भन्छन्, ‘रसुवाली कविलाई विप्लवको विचार मन पर्न सक्छ, भिटेनलाई आफूले गाउने गीतको प्रकृति ठीक लाग्न सक्छ। तर, सरकारका लागि यी कुरा अश्लील भएका छन्।’

ब्रेकरः ‘एउटा कलाकार कलाकार बन्न कति कुरा छाडेर आएको हुन्छ, त्यो सरकारलाई थाहा छैन। एउटा गीत निकाल्न कति मेहनत गर्नुपर्छ, त्यो पनि सरकार जान्दैन। मात्र, यो भएन, त्यो भएन भन्छ। कलाकारलाई पक्रेर र संगीतमा बन्देज लगाएर मात्र केही हुँदैन।’   – गिरिश खतिवडा, र्‍यापर 

दुर्गेश थापा बियर र गाँजा शब्दको प्रयोगमा प्रहरीले देखाएको आपत्तिप्रति खेद प्रकट गर्छन्। अर्ना बियर कम्पनीसँग अग्रिमेन्ट भएपछि भिडियोमा बियर राखेको उनी बताउँछन्। भन्छन्, ‘बियरको साटो कोकाकोला राख्न मिल्ने पनि थिएन। तर, बुझ्नेले मैले ‘बियर खानुपर्छ, नखाई हुँदैन, गाँजा नतानी हुँदैन’ भनेँ भन्ने बुझेछन्।’ आफू अनुसन्धान महाशाखामा रहँदा ‘बाटोमा टाँसिएका होर्डिङ बोर्ड पनि हटाउनुपर्‍यो, पत्रिकामा आउने विज्ञापन रोक्नुपर्‍यो, बियर उत्पादन बन्द गर्नुपर्‍यो’ भन्ने सोच आइरहेको थियो, भन्छन् उनी। ‘टेकुमा रहँदा यी कुरा सोचेँ। तर, बोल्न जरुरी हो जस्तो लागेन। कला बुझ्नेहरूले यस्ता कुरा नै उठाउने थिएनन्। त्यसैले चुपचाप बसिदिएँ।’

‘सरकारले कला बुझेको छैन’

भिटेनलाई गीतसँगै प्रहरीको पोशाक लगाएर अपमान गरेको आरोप प्रहरीले लगाएको थियो। उनले सामाजिक सञ्जालमा प्रहरीको पोशाक लगाएर चुरोट खाइरहेको फोटो पोस्ट गरेका थिए। भिटेन भन्छन्, ‘त्यो ड्रेस सुटिङका लागि भनेर ल्याइएको थियो। मैले लगाएर फोटो खिचेँ।’ फोटो मन परेपछि फेसबुकमा राखेको उनी बताउँछन्। भन्छन्, ‘मैले अपमान गर्ने ध्येयले फोटो राखेकै थिइनँ। कलाकारितामा प्रहरीको बर्दी प्रयोग गर्नु गैरकानुनी हो भनेको भए म त्यो काम किन गर्थें र ?’ 

कवि मुकारुङ सरकारले लगाएको आरोप मूर्खतापूर्ण भएको बताउँछन्। भन्छन्, ‘उनलाई प्रहरीको पोशाक लगाएको आरोपमा पक्रिनु भनेको सरकार कति मूर्ख र पाखण्डी छ भन्ने प्रमाणित हुनु हो।’ अहिलेको सरकारसँग कला बुझ्न सक्ने बौद्धिकता नभएको उनको तर्क छ। भन्छन्, ‘कलाजस्तो उच्च बौद्धिकतालाई सरकारले बुझ्न सकेन। प्रयोग भएको पोशाक र विम्बलाई अपमान देख्यो। त्यही आरोप लगाउँदे कलाकारलाई पक्राउ गर्‍यो।’

भिटेन आफूले गीतमा दुईअर्थी शब्द प्रयोग गरेको स्विकार्छन्। भन्छन्, ‘मैले केही छाडा शब्द प्रयोग गरेको हुँ। तर, ती शब्द हरेकले सुन्नुपर्छ भन्ने मेरो कुनै जबर्जस्ती छैन्। मैले आफ्नो गीतका लागि कसैको अपमान गरेको छैन। अभद्र व्यवहार पनि गरेको छैन। तर, त्यो कुरालाई पनि उहाँहरूले बुझ्नुभएन। गीत मनोरञ्जनका लागि हो। कसैले त्यसलाई नबुझेमा सर्जकको के गल्ती ?’

र्‍यापर खतिवडा भने गीतसंगीतलाई लिएर सरकारमा कुनै चेत नै नभएको तर्क गर्छन्। भन्छन्, ‘एकछिनलाई मानौँ, यी गीत सरकारले भनेकै जस्ता भए। तर, यसको अर्थ कलाकारलाई पक्रिने, उनीहरूलाई दबाब दिने हो कि उनीहरूको गीतसंगीतलाई बदल्नतिर लाग्ने ? सरकारले कलाको अर्थ नबुझी यो कदम चालेको हो।’ समाजको संस्कृति बिग्रेला भनेर कलाकारमाथि रोक लगाउनुलाई सरकारले आफ्नो दायित्व ठान्छ भने कलाकारितालाई हौसला र सुरक्षा गर्नु पनि सरकारको दायित्व हुने उनी बताउँछन्। भन्छन्, ‘एउटा कलाकार कलाकार बन्न कति कुरा छाडेर आएको हुन्छ, त्यो सरकारलाई थाहा छैन। एउटा गीत निकाल्न कति मेहनत गर्नुपर्छ, त्यो पनि सरकार जान्दैन। मात्र, यो भएन, त्यो भएन भन्छ। यदि भएन भने हुनुपर्ने कस्तो हो ? त्यो पनि सरकारले बताउन आवश्यक छ भन्ने ठान्नुपर्छ।’ कलाकारलाई पक्रेर र संगीतमा बन्देज लगाएर मात्र केही नहुने उनी बताउँछन्।

विचारमाथि अंकुश

लेखक पाठक गीतसंगीतलाई सामाजिक साहिष्णुता बिगार्ने आरोप लागिरहँदा सरकारले यी कुरा जोगाउन के गरेको छ भन्ने प्रश्न गर्छन्। भन्छन्, ‘तिहारमा कसैले निगरानी गर्न जान्छ भने कति मन्त्रीले चिसो बियर खान्छन्, नेताका वरपरका कति जना बियरसँग भेटिँदा हुन् ? तर, चिसो बियर भनेर गीत गाउँदैमा अश्लील भनेर पक्रिनु, सामाजिक साहिष्णुता बिगार्‍यो भन्नु हास्यास्पद तर्क हो।’ पाठक सरकार सर्जकलाई आफूअनुकूल बनाउने प्रयत्नमा रहेको बताउँछन्। भन्छन्, ‘के गाउने ? के लेख्ने ? के बोल्ने ? भन्ने कुरामा सरकार नियन्त्रण गर्ने चरित्र देखाइरहेको छ। जसले गर्दा पटक–पटक यस्ता कार्य गरिरहेको छ।’ अहिलेको सरकारले असफल भएको र जनतालाई आशा जगाउने काम गर्न नसकेको अवस्थामा आफू शुद्ध छु भनेर देखाउन बियर र गाँजालाई अनैतिक भएको बताइरहेको तर्क गर्छन्, पाठक। भन्छन्, ‘अनैतिक त डोजरले मान्छेलाई उधिन्ने काम हो, सरकारमा बस्नेले जनतालाई झुटा वाचा गर्नु हो। सिद्धान्तमा जनताको पक्षमा छौँ भन्दै व्यवहारमा विपरीत हुनु अश्लीलता हो, अनैतिकता हो।’

कवि श्रवण मुकारुङ अहिलेको सरकार पुरातन विचारबाट निर्देशित भएको देखिएको बताउँछन्। भन्छन्, ‘एकपछि अर्को गर्दै विचारमाथि अंकुश लगाउने काम सरकारबाट भएको छ। लोकतन्त्र, गणतन्त्र भन्ने कुरा छ भन्न नसक्ने स्थिति देखिएको छ। यी घटनालाई मिहिन ढंगले नियाल्दा अहिलेको ओली सरकार कम्युनिस्ट भने पनि महेन्द्र शाहकै विचारबाट निर्देशित छ। कलाकार, गायक, कवि, लेखक सबैले आफ्नो गुणगान मात्रै गरिदिऊन् भन्ने सोच्छ।’ मुकारुङ आफूले थाहा पाउँदासम्म अहिलेजस्तो पतनको क्रममा रहेको सरकार नदेखेको बताउँछन्। भन्छन्, ‘विवादैविवादको बीचमा सर्जकलाई दबाउन खोजिएको छ। सर्जकमाथि अंकुश लगाएर उनीहरूको रचनाले गर्न सक्ने परिवर्तनलाई मारिरहेको छ। भोलि आउन सक्ने अरू सर्जकलाई खुलेर सिर्जना गर्नुअगाडि डराउने परिस्थिति निर्माण गर्न खोजिएको छ।’ 

०००००

भिटेनमाथि गत वर्ष पोखरामा भएको एक कार्यक्रममा ढुंगा प्रहार भएको थियो। साथै, उनका गीतलाई आलोचना गर्नेहरू पनि युट्युबमा थुप्रै छन्। उनी आफ्ना गीत स्रोतालाई मन पराउन-नपराउन छुट रहेको बताउँछन्। भन्छन्, ‘मेरो गीतलाई आफूअनुकूल ठान्ने र नठान्ने दुवै छन्। मैले कतिलाई मन पर्ने गरेको छु, कतिलाई मन नपर्ने।’ आफूले गाएका गीतमा आफ्नो तर्फबाट मूल्यांकन गर्छन् उनी। भन्छन्, ‘यतिसम्म कुरा पाच्य हुन्छ भन्ने मूल्यांकन गरेर नै गीत सार्वजनिक गर्ने गरेको छु।’ आगामी दिनमा पनि आफूले विगतमा जस्तै गीतमा स्वमूल्यांकन गर्ने उनी बताउँछन्। भन्छन्, ‘मेरो तर्फबाट गीतमा सक्दो समीक्षा भएपछि मात्रै सार्वजनिक हुन्छ। यसलाई कसले कसरी लिन्छ, त्यो मेरो वशमा रहने कुरा होइन।’

दुर्गेश भने आफूले पछिल्लो गीतमा केही गल्ती गरेको जस्तो महसुस भएको बताउँछन्। भन्छन्, ‘खासमा मैले तिहारमा बियरसँगै रमाइलो गर्ने जमातका लागि त्यो गीत बनाएको थिएँ। त्यसको उद्देश्य संस्कृति बिगार्नु थिएन। मेरा अधिकांश गीत हाउडे छन्, त्यो म मान्छु। त्यो सिर्फ मनोरञ्जनका लागि थियो।’ रमाइलोका लागि गाएको गीत इस्यू बन्छ र  प्रहरीसम्म पुग्छ भन्ने आफूले नसोचेको बताउँछन् उनी। ‘जे भए पनि मलाई रियलाइज भयो, गल्ती गरेको महसुस भयो,’ उनी भन्छन्, ‘देउसीमा बियर र गाँजा नल्याउनुपर्ने रहेछ। तर, प्रहरीले यसरी ट्रिट गर्‍यो कि मानौँ, मैले पोर्न भिडियो नै बनाएर खुलेआम प्रचार गरिरहेको छु।’ 

कवि मुकारुङ सर्जकले आफ्नो सिर्जना आफैँले मूल्यांकन गर्न पनि जरुरी रहेको बताउँछन्। भन्छन्, ‘जुन प्रकारले सरकार र सरकारका प्रवक्ताको कुरा आयो, त्यो नआउनुपथ्र्याे। त्यो मूर्खता थियो। तर, महŒवपूर्ण कुरा के हो भने कलाकारले आफ्नो सिर्जनाको मूल्यांकन अहिले आवश्यक भएको छ।’ कुनै पनि सिर्जनाले समाजमा हानि पुर्‍याउनुको अर्थ फरक हुने उनी बताउँछन्। ‘यदि भिटेन र दुर्गेशको गीत सुनेर कसैले हत्या गरेको भए, बलात्कार गरेको भए, त्यो बेला यी गीतलाई लिएर सरकारले कदम चाल्नुपथ्र्यो,’ कवि मुकारुङ भन्छन्, ‘सर्जकले पनि आफ्ना सिर्जनाले के कस्तो प्रभाव पार्छ, ती कुराको मूल्यांकन गर्नु आवश्यक छ। यसले सर्जकलाई झन् सशक्त सिर्जना गर्न प्रेरित गर्छ।’ 


‘सरकारको नियत ठीक छैन’

श्रवण मुकारुङ, कवि-गीतकार 

अहिलेको सरकार बहुमतले बलियो छ। तर, उसले काम गर्न सकेको छैन। सत्तामा बसेर प्रशंसा कमाउने काम केही गरेको छैन। लघुताभासका कारण उनीहरू बेलाबखत कलाकार, कवि, लेखकमाथि दबाब सिर्जना गरिरहेका छन्। आफूले काम गर्न नसकेका कारण कसले के गर्‍यो, कसले फेसबुकमा के राख्यो, कसले कस्तो गीत गायो भन्दै निगरानी गरिरहेका छन्। यसको पछाडि उनीहरूको आफ्नै डर छन्। गीतको कारण भन्दा पनि उनीहरूभित्र जन्मिएको भयका कारण उनीहरू सर्जकमाथि दबाब सिर्जना गरिरहेका छन्।

गीत, कविता, रचनामा आफ्नो वरिपरिका कुरा नै प्रतिविम्बित हुने हुन्। सरकारले गर्न नकसेको कुरा, जनतामा भएको भडास रचनामा आउने हुन्। सरकारका लागि यी कुरा ऐना हुन्, जसले उसका कमीकमजोरी देखाइदिन्छन्। थुप्रै जनताले मन पराएको गीत देखेपछि जनताको सोचलाई सत्ताले बुझ्नुपर्ने हो। भिटेनले गाउँदा जनताले मन पराएपछि किन मन पराए ? आफ्नो गल्ती के हो ? भन्ने कुरा सरकारले बुझ्नुपर्ने हो।

प्रस्तुतिको शैलीमाथि सरकारले प्रश्न उठाउने ठाउँ नै हुन्न। हरेक सिर्जनाको आफ्नै शैली हुन्छ। किन यसरी गाइस् भन्नु त आफ्नै निरक्षरता देखाउनु हो। सरकारले मूर्खता र अज्ञान प्रदर्शन गरिरहेको छ। 

कुनै कुरालाई नैतिक र अनैतिक भन्ने आधार के हो ? मैले ती गीत सुन्दा कहीँ कतै पनि सरकारले भनेको अश्लीलता वा अनैतिकता भेटिनँ। यदि भिटेन वा अरूले गाएका गीतका कारण कसैले सुसाइड गर्‍यो, कसैले हत्या गर्‍यो, वा कसैले बलात्कार गर्‍यो भने त्यसमा सरकार, प्रहरी लगायतले हस्तक्षेप गर्ने कुरा आउँछ। जबसम्म ती सिर्जनाबाट यस्तो केही भएको हुँदैन, त्यो बेलासम्म सरकारले ‘तेरो यो भएन, तैँले गाएको भएन’ भन्छ भने त्यो कदापि उचित हुँदैन। यदि विज्ञहरूको समूहले गीतलाई ठीक देख्दैनन् र उनीहरूले छलफलबाट यस्तो गीत बज्नुहुँदैन भन्छन् भने त्यसमा उचित कदम चाल्न सकिन्छ। तर, सरकारका प्रवक्ता वा प्रहरी गीतसंगीतका विज्ञ होइनन्। सरकारमा भएका मान्छे र सरकारको प्रवक्ताको बोली सुन्दा कला क्षेत्रमा त उनीहरू भुइँभन्दा पनि निकै तल रहेको भान हुन्छ। उनीरुको कुरा सुन्दा कला–साहित्यको कखरा पनि आउँछजस्तो लाग्दैन। 

प्रधानमन्त्री केपी ओलीले उहिले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन, नेपालमा गणतन्त्र आउँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए। तर, आज उनको भनाइअनुसार उनी बयलगाडामै अमेरिका पुगिसकेका छन्। उनको विचार भने अझै झापामै अड्किएको छ। सरकारको गतिविधि हेर्दा महेन्द्र शाहकै विचारधाराबाट निर्देशित छजस्तो लाग्छ। 

सर्जकहरूमा पनि केही कुरामा जिम्मेवारी भने आउनुपर्ने हुन्छ। शैली जुनसुकै होस्, तर कलाको पनि एउटा स्तर हुन्छ। कलाको तह–तहअनुसार आफूलाई स्तरोन्नति गर्नतर्फ लैजानु आवश्यक हुन्छ। 

सरकारले कुनै सर्जकलाई समातेर उसको सिर्जनामाथि प्रश्न उठाउनु सानो कुरा होइन। उसको नीति–नियममा पनि प्रश्न उठ्छ। अहिलेको सरकारको नियत ठीक देखिँदैन। सर्जकले आफ्नै मात्र भजन गाइदेओस् भन्ने उसको चाहना भएको बुझिन्छ। सत्तामा बस्नेहरूका क्रियाकलाप हेर्दा कि उनीहरू अज्ञान, मूर्खता र अयोग्यता प्रदर्शन गरिरहेका छन् कि नियोजित ढंगले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने प्रक्रियामा छन्। यी कदमले अहिलेको सरकारलाई भविष्यतर्फ नभएर फेरि विगततर्फ नै धकेलिरहेको देखिन्छ, जुन कदापि मान्य हुँदैन।

(कुराकानीमा आधारित)
 


‘भिटेनको गीत अश्लील कि डोजरले मान्छे उधिन्नु अश्लील ?’ 

युग पाठक, लेखक  

हाम्रो कला क्षेत्रअन्तर्गत सिनेमा, गीत, लेखन वा अन्य केहीमा पनि कति चिजलाई छाडा, कतिलाई नछाडा, कतिलाई अश्लील, कतिलाई श्लील भन्ने परिभाषा छैन। यस्तो परिभाषा जो नैतिकताको परिभाषा हुन्छ, त्यो समाजले एउटा परम्परा मानेर आएको कुरा हुन्छ। जसको हरेक घरमा आ–आफ्नै दायरा हुन्छ। कुनै घरमा भिटेनको गीतमा भनिएका जस्ता शब्द बोल्ने कुरा सामान्य हुन्छ, कुनैमा यसलाई  असामान्य मानिन्छ। 
कलाकारलाई पक्रिनु भनेको कतिसम्म असंगत कुरा हो भने नैतिकताको परिभाषा पुलिस स्टेसनबाट जारी गर्न खोजिएको देखिन्छ। नैतिकताको परिभाषा न त पुलिसले जारी गर्न सक्छ, न सरकारले। 

पुशपति शर्माको गीत ‘लुट्न सके लुट्’ देखि भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’सम्म आइपुग्दा सरकारमा बसेका मान्छेले आफ्नो असफलता छोप्नका लागि अकर्मन्य चरित्र देखाएका छन्। यो आफ्नै असफलता र दिशाहीनता छोप्ने तमासा मात्रै हो। भिटेन वा दुर्गेशले प्रयोग गरेका भन्दा धेरै नै अश्लील शब्द र धेरै नै अश्लील राजनीतिक, अराजनीतिक शब्दावली प्रयोग गरेर गाली गर्ने र सामाजिक सञ्जालमा निरुत्साहित गर्ने, बोल्न नसक्ने तुल्याउने काम उनीहरू आफैँ गरिरहेका छन्।  

अहिलेको सत्ताले नियन्त्रण गर्न खोजेको छ हरेक कुरामा। नागरिकको बोली, विचार र स्वतन्त्रतालाई नियन्त्रण गरेको छ। नियन्त्रण गर्न सक्यो भने मात्र हामीले काम गर्न सक्छौँ भन्ने सत्तावादीहरूको गलत धारणा बसेको छ। जुन आफ्नै राजनीतिक विरासतको पनि विरुद्धमा छ भन्ने कुराको उनीहरूलाई हेक्का छैन। 

मानौँ, भिटेन अश्लील भए, त्यही कुरा सरकारको प्रवक्तालाई पनि अश्लील लाग्यो। त्यसो भए भिटेनको गीत मन पराउने करोडौँ मान्छे को हुन् ? भनेपछि यिनको र हाम्रो सबैको घरभित्र भिटेन रहेछन्। सबैको घरभित्र अश्लीलता रहेछ। अव नियन्त्रण कहाँ गर्ने हो ? सबैभन्दा ठूलो प्रश्न यही हो।

मेरा लागि सबैभन्दा ठूलो अश्लीलता भनेको डोजरले मान्छे उधिन्ने काम हो। भिटेनको गीत अश्लील कि डोजरले मान्छे उधिन्नु अश्लील ? सबैभन्दा ठूलो अश्लीलता त डोजरले मान्छे उधिन्नु हो नि। सरकारले जनतालाई स्वास्थ्य, शिक्षा र अन्य आधारभूत आवश्यकताका लागि यसोउसो गर्छौं भन्दै वाचा गरेर काम नगर्र्नु अश्लीलता हो।  सिद्धान्तमा हामी जनताको पक्षमा छौँ भन्नु र व्यवहारमा मेडिकल शिक्षा बेच्नु सबैभन्दा ठूलो अश्लीलता हो। 

एमालेको चुनाव प्रचार गर्दै हिँडेका गायक बद्री पंगेनीको ‘ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ सबैभन्दा चर्चित गीत बन्यो। त्यो गाउन पाइन्छ। तर, बहुविवाह चाहिँ अपराध मानिन्छ हाम्रो समाजमा। दिनदहाडै कान्छी साली मन पराउँछु भन्न पाइन्छ ? यो मात्र हैन, जति पनि बजारमा चलेका लोकगीत, दोहोरी गीत छन्, सबै उस्तै छन्। हरेक जसो लोकगीतमा छोरा नै पाउने विषय किन हुन्छ ? तेरो काखमा छोरो हालिदिन्छु भन्ने भाव किन हुन्छ ? यस्ता गीत चाहिँ अश्लील हुन्। मान्छेलाई अपमानित गर्ने, दोस्रो दर्जाको देखाउने, हाँसोको पात्र बनाउने सबै खालका प्रवृत्ति अश्लील हुन्। 

कलाको सन्दर्भमा के कुरा ठीक, के कुरा बेठीक भन्ने बहसको विषय हो। हरेक ठाउँमा चेतनाको बहस नपुगेको हुन सक्छ। कलामा खुला बहस भएको छैन। कला समीक्षक नै नभएको हाम्रो देशमा त्यो वातावरण बन्नुपर्‍यो। यदि कसैलाई महिला भनेको होटेलको कोठामा लगेर रमाइलो गर्ने चिज मात्रै हो लाग्छ भने, त्यस्तो किन लाग्छ ? त्यसको बहस गर्नुपर्‍यो। यसका लागि सामाजिक र बौद्धिक बहस चाहिन्छ। यो प्रहरीले नियन्त्रण गर्ने कुरा होइन। 

(कुराकानीमा आधारित)

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि