बीपी कोइरालाले सोधे,‘को रहेछन् यी ठिटाहरू ?’

writer

उपेन्द्र अर्याल

बिहिबार, २१ कार्तिक २०७६


२०३८ सालको गाईजात्रामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘यमलोक’ नामक प्रहसन प्रस्तुत गरेका थिए। त्यो कार्यक्रम हेर्न बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आएका थिए। बीपी कोइरालाले पछि संगीतकार नातिकाजीसँग यो जोडीबारे अभिरुचिपूर्वक सोधखोज गरेका थिए।


‘स्वास्थ्य त ठीकै छ। तर, शरीर गोलमाल छ।’ 

नेपाली हास्यव्यंग्यका हस्ती तथा प्रसिद्ध अभिनेता मदनकृष्ण श्रेष्ठ ‘स्वास्थ्य कस्तो छ ?’ भनेर सोध्ने हरेक शुभचिन्तकलाई यही जबाफ दिन्छन्। 

केही वर्षअघि मदनकृष्णलाई पार्किन्सन्स डिजिज लाग्यो। रोगका कारण उनका नसाले काम गर्दैनथे। धेरै कुरा बिर्सन्थे। उपचारका क्रममा उनको शरीरमा शल्यक्रिया गरेर डिभाइस राखियो। अहिले उनको मुटुको छेउमा पेस मेकर छ। त्यसबाट उत्पादन हुने चार्जलाई शरीरमा बिछ्याइएका तारबाट मस्तिष्कसम्म पुर्‍याइन्छ। मस्तिष्कमा चिप राखिएको छ, जसले त्यहाँ शक्ति उत्पादन गरी मस्तिष्कलाई सक्रिय बनाउँछ। उनको शरीरको डिभाइसलाई चार्ज गर्नुपर्छ। त्यसका लागि उनीसँग एउटा रिमोट कन्ट्रोल छ। जसले शरीरमा भएको ब्याट्री चार्ज गर्छ। अनि, शरीर चलाउन मद्दत गर्छ। प्रविधिले गर्दा मात्रै आफू बाँचेको उनी बताउँछन्। ‘प्रविधिले गर्दा बाँचेँ,’ मदनकृष्ण भन्छन्, ‘रिमोटले चालएको छ शरीर।’ शरीरमा भएको तारले गर्दा हिँड्न असहज हुने उनी बताउँछन्। तर, जति असहज भए पनि उनले आफ्नो काम भने छाडेका छैनन्। अझै पनि सक्रिय छन्।

राजाको अघि स्टेज कार्यक्रम 

काठमाडौँको जीतपुर, फेदीमा जन्मिएका थिए, मदनकृष्ण। उनले गाउँबाटै  २०२२ सालमा एसएलसी दिए। आाईए महेन्द्र रत्न पब्लिक कर्मस कलेजमा भर्ना भए।  कला क्षेत्रमा बाल्यकालदेखि नै लागेकाले कलेजका विभिन्न कार्यक्रममा पनि भाग लिन्थे। तर, स्टेजमा भने राजा महेन्द्रको भ्रमण भएको बेला उभिने मौका पाएको उनी बताउँछन्। 

‘त्यो बेला मेरो बुबा प्रधानपञ्च हुनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘राजा महेन्द्र पश्चिमाञ्चल भ्रमणमा जाँदाखेरि स्वागत गीत गाउनुपर्ने भयो। म अलिअलि गीत गाउने भएकाले बुबाले मलाई गाउने वातावरण मिलाइदिनुभयो। त्यो अवसरमा पहिलो चोटि स्टेजमा गीत गाएँ।’ गीत  त गाएर फर्के, तर के गाए, उनले पत्तो पाएनन्।  फर्केपछि एकदम लाज भयो उनलाई। दर्शकदीर्घामा राजा पनि भएकाले डर लागेको थियो उनलाई।

मान्छेको अनुहारै नहेरी स्टेजबाट फर्के उनी। ‘गीत राम्रो गाएको रहेछु,’ उनी याद गर्छन्, ‘सबैले मलाई हेरे। मैले हेर्नै सकिनँ। पछि सबैले प्रशंसा गरे।’ जेपी कलेजमा पढ्दा पनि उनले कलेजका कार्यक्रममा गीत गाएका थिए। त्यही साल उनले रेडियो नेपालमा एउटा लाइभ गीत गाउने अवसर पाएका थिए। आफ्नो बुबाले लेखेको एउटा नेवार गीत गाए। गीत सबैले राम्रै माने। त्यसपछि २०२३ सालमा मदनकृष्णले रेडियो नेपालमा भ्वाइस टेस्ट दिए। पास भए। ‘त्यसबेला रेडियो नेपालबाहेक गाउने अन्य ठाउँ थिएन,’ उनी भन्छन्, ‘अहिलेजस्तो प्राइभेट स्टुडियो हुने कुरै भएन। भ्वाइस टेस्ट पास गरेपछि पाँच वटाजति गीत रेकर्ड गराएँ।’

त्यस बेला उनले ‘हिमालमुनि हाम्रो घर’ लगायत गीत गाएका थिए। त्यसपछि उनको सांगीतिक यात्रा बढ्दै गयो। उनले रमेश ताम्राकारसँग मिलेर ‘गुन्दु्रक पकाउनुपर्दैन, साली फकाउनुपर्दैन’ बोलको गीत गाए। त्यति बेला त्यो गीत असाध्यै चर्चित भएको थियो।

१४ वर्षमै हेडमास्टर 

२०२२ सालतिर मदनकृष्ण भर्खर एसएलसी दिँदै थिए। उनको गाउँमा स्कूल खुल्ने भयो। बुबा प्रधानपञ्चले माग गरेका कारण गाउँमा स्कुल आएको थियो। तर, स्कुलमा पढाउन जाने कोही भएन। उनको बुबाले उनलाई ‘तँ सक्छस् ?’ भनेर सोधे। उनले पनि लोते–लोते हुँदै ‘हुन्छ’ भन्ने जवाफ दिए। ‘स्कुलमा अरू पढाउने नभएपछि बुबाले ‘हेडमास्टर पनि तैँ भइस्’ भन्नुभएको थियो,’ उनी अतीतमा पुग्छन्, ‘१४ वर्षको थिएँ म। शिक्षक पनि आफैँ, हेडमास्टर पनि आफँै भएँ।’ त्यस बेलाको स्कुलमा एउटै कोठा थियो। सबै कक्षाका विद्यार्थीलाई एकैठाउँमा राखेर पढाउँथे। ‘कक्षा छ्ुट्याउनका लागि माटोको चपरीको घेरा लगाइन्थ्यो,’ उनी सम्झन्छन्।

एक वर्षजति मास्टर तथा हेडमास्टर भएपछि उनी सञ्चयकोषमा जागिर खान पुगे। त्यस बेलासम्म उनको नागरिकता बनेको थिएन। सञ्चयकोषको परीक्षामा पास भए। नियुक्ति पाए। ‘बुबा प्रधानपञ्च भएकाले जागिरमा छिर्न सजिलै थियो मलाई,’ उनी भन्छन्।

सञ्चयकोषमा जागिर खाँदा उनको चिनजान कार्यलयकै कर्मचारी यशोदा सुवेदीसँग भयो। काम गर्ने सिलसिलामा सम्बन्ध झाँगिँदै गयो। दिन प्रतिदिन उनीहरू निकट, झन् निकट हुँदै गए। प्रेममा परे। तर, त्यो बेला उनीहरूको सम्बन्ध समाजलाई अपाच्य थियो। मदनकृष्ण र यशोदाको जात मिल्दैनथ्यो। उनी नेवारको छोरा थिए, यशोदा बाह्रमणकी छोरी। ‘त्यस बेला अन्तरजातीय विवाह गर्न एकदमै गाह्रो थियो,’ उनी सम्झन्छन्, ‘परिवार राजी हुने भएन। त्यसैले हामीले भागेर विवाह गर्‍यौँ। १४ दिन घरबाट भागेँ।’ उनका बुबा प्रधानपञ्च गाउँका मुद्दा मिलाउने भएकाले घरको मुद्दा पनि मिलाउन बोलाए। परिवारले बिस्तारै स्वीकार गर्‍यो। तर, श्रीमतीलाई भने लामो समय माइतबाट बोलाएनन। पछि भने सम्बन्ध राम्रो बन्दै गयो।

व्यंग्य गर्न कठिन 

२०२८ सालमा नेपाल भाषा जोगाउने अभिप्रायले उनले साथीहरूसँग मिलेर ‘मुनास’ नामक संस्था खोले। संस्थाले  विभिन्न विधामा प्रतिस्पर्धा गराउँथ्यो। तर, उनी आयोजक भएकाले भाग लिँदैन थिए। उनी गीत गाउँथे। ‘त्यस बेला नवीन हाडा भन्ने एक जना दाइ हुनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘उनको गीत गाएपछि म अलिकति अरूका नजरमा परेँ। त्यसपछि सबैले चिन्न थाले।’

उनको संस्थाले त्यो बेला हास्यव्यंग्य पनि सुरु गर्‍यो। यही संस्थाबाट हास्यव्यंग्य सुरु भएको उनी बताउँछन् । ‘हाम्रो संस्थाले राजनीतिक हास्यव्यंग्य पनि गथ्र्यो,’ उनी सुनाउँछन्, ‘त्यस बेला राजनीतिक हास्यव्यंग्य गर्न एकदमै गाह्रो थियो। राजनीतिक व्यंग्य गरेको थाहा भयो कि प्रहरीले समाएर लैजान्थ्यो।’ तर, त्यस बेला उनीहरूले नेपाल भाषामा नै व्यंग्य प्रस्तुत गर्ने भएकाले सरकारी कर्मचारीले खासै बुझ्दैनथे। ‘नेपाली भषामा नभएकाले प्रशासनले केही गर्दैन थियो,’ उनी भन्छन्, ‘कसैले बुझ्दैन थियो। अञ्चलाधीश कार्यालयले आफ्नो कर्मचारीलाई बुझ्न पठाउँथ्यो। तर, स्थानीय नेवार कर्मचारीले हामीले गरेको व्यंग्यबारे बताउँदैन थिए। कार्यालयमा नेवार कर्मचारीले राम्रो भनेर सुनाइदिन्थे।’ त्यो बेला प्रशासनले उनीहरूको राजनीतिक व्यंग्य थाहा पाएको भए सबैलाई लगेर जेलमा जाकिदिने अवस्था भएको उनी बताउँछन्। 

त्यस बेला उनीसँग काम गर्ने रामशेखर, मोहनलाल, नीलकाजीलगायत कलाकार थिए। त्यसपछि विजय मल्लले लेखेको एउटा नाटक गरे उनीहरूले। जसले उनको कलाकारितालाई फस्टाउने मौका दियो। 

जोडी उत्पातै जम्यो 

२०३८ सालमा राष्ट्र बैंकको रजत वर्षको समारोह थियो। उक्त कार्यक्रममा रुबी जोशीले मदनकृष्णलाई कार्यक्रम गर्न बोलाएका थिए। त्यही कार्यक्रममा हरिवंश आचार्यलाई पनि बोलाइएको रहेछ। हरिवंश त्यति बेला एकेडेमीमा जागिरे थिए। उनीहरू दुवैले छुट्टाछुट्टै कार्यक्रमको ढाँचा बनाएर गएका थिए। तर, कार्यक्रम सँगै गर्नुपर्ने अवस्था आयो। ‘उक्त कार्यक्रममा राजा प्रमुख अतिथि थिए,’ उनी सम्झन्छन्, ‘कार्यक्रम ९० मिनेटभित्र सकाउनुपर्ने भएछ। आयोजकले दुई जनाले अलग अलग गर्दा नभ्याइने भनेर एउटै कार्यक्रम गर्न सल्लाह दियो। हाम्रो पहिले भेट र स्टेज सेयर त्यहीँ भएको थियो।’ उनीहरूको त्यो कार्यक्रम राम्रो भयो। जोडीको कार्यक्रम सबैले मन पराए। 

पछि गाईजात्रा आउन लागेको थियो। त्यसमा पनि मदनकृष्ण– हरिवंशको जोडीले सँगै कार्यक्रम गर्ने योजना बनायो। गाईजात्रामा ‘यमलोक’ नामक व्यंग्यात्मक प्रस्तुति देखाए। ‘त्यस बेला हाम्रो प्रोग्राम हेर्न बीपी कोइराला, गणेशमान सिंहलगायत व्यक्तित्व आउनुभएको थियो,’ मदनकृष्ण सम्झन्छन्, ‘नातिकाजी दाइले मलाई पछि सुनाउनुभयो– बीपी कोइरालाले त्यो बेला ‘को रहेछन् यी ठिटाहरू ? एकदम राम्रो काम गरे’ भन्नुभएको थियो।’ त्यस बेला स्टेजमा मात्र नभएर क्यासेट बिक्रीबाट राम्रै चर्चा र दाम कमायो जोडीले। 

‘यमलोक’ प्रहसनपछि हरिवंश र उनको जोडी राम्रोसँग जम्यो। हरेक कार्यक्रम सँगै गर्न थाले। अनि प्रोग्राम गर्दा पारिश्रमिक माग्न थाले। ‘सुरुसुरुमा हामीसँग पैसा हुँदैनथ्यो,’ मदनकृष्ण भन्छन्, ‘एक पटक लायन्स क्लबले कार्यक्रम गरेबापत पैसा पनि दियो। त्यसबेला हामी दंग परेका थियौँ। पछिपछि सबै आयोजकले पारिश्रमिक राम्रो दिन थाले।’ 

जोडी जम्दै गएपछि जोडीको नामकरण पनि भयो– ‘मह’। ‘एउटा कार्यक्रमा राजाराम पौडेलले उद्घोषण गर्ने बेलामा यसका लेखक हुनुहुन्छ मह भने,’ उनी सम्झन्छन्, ‘अनि, सबै छक्क परे। उद्घोषकले फेरि  स्पष्ट पारे– म भनेको मदनकृष्ण ह भनेको हरिवंश। यसरी मह जोडी नाम बन्यो।’

२०४० सालमा नेपाल टेलिभिजन सुरु भयो। नीर शाह महाप्रबन्धक थिए। उनले मह जोडीलाई टेलिफिल्म बनाउन अफर गरे। ‘नीर शाहले अफर गरेपछि हामीले टेलिफिल्म बनायौँ,’ मदनकृष्ण सम्झन्छन्, ‘त्यस बेला हामी नयाँ थियौँ। अंग्रेजी फिल्महरू हेरेर सिक्यौँ। पहिलो टेलिफिल्म ‘फिप्टी–फिप्टी’ बनायौँ।’ यो टेलिफिल्म बनाउँदा मह जोडीको पैसा उल्टो खर्च भएको उनी बताउँछन्। त्यसपछि उनीहरूले  निरन्तर टेलिफल्म बनाए। ‘मह चौतारी’ र ‘मदनबहादुर हरिबहादुर’ टेलिफिल्मका धेरै भाग बनाए। फिचर फिल्ममा पनि यो जोडीले काम सुरु गर्‍यो। मह जोडी निरन्तर सहकार्यमा छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि