क्यासिनो बिर्साउने जुवा खाल

writer

सृजना खड्का

बिहिबार, २१ कार्तिक २०७६


नखेल्नू जुवा र तास 
धनको नाश, जीवनको वनबास 

यो पुरानो गीतले जुवाका हानि र नोक्सानीबारे सटिक चेतावनी दिएको छ। तर, जसलाई जुवाको लत लागेको छ, उसलाई यो गीतले कुनै प्रभाव पार्दैन। 

जुवा खेल्नु हुँदैन भन्ने सबैलाई थाहा छ। जुवा खेलेको वा खेलाइएको पाइएमा प्रहरीले समात्छ भन्ने पनि सबैलाई थाहा छ। तर, राजधानी काठमाडौँमा टोलैपिच्छे खाल जम्ने गरेका छन्। लाखौँ, करोडौँका खेल हुने गरेका छन्।  

कात्तिक ८ गते अर्थात् लक्ष्मीपूजाको अघिल्लो दिन एउटा जुवाको खालबाट बरामद भएको पैसा देखेर प्रहरीहरू चकित भए। पैसा गन्न प्रहरीलाई तीन घण्टा लाग्यो। 

काठमाडौं, महाराजगञ्जस्थित होटल साम्बाला पछाडिको एउटा घरमा सञ्चालित जुवाबाट बरामद भएको पैसा गन्न प्रहरीको एउटा समूहलाई यत्रो समय लागेको थियो। 

काठमाडौँ महानगरपालिका–३, पीपलमार्गस्थित विक्रम गौतमको घरमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी पुग्दा हजार र पाँच सयका नोटका गड्डीहरू चाङ लागेका थिए। मुख्य चार जना जुवा खेलिरहेका थिए। बाँकी २१ जना च्याँखे थापिरहेका थिए।

जुवा खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगद, बैँक अफ काठमाडौँको तीन लाखको चेक, ३२ थान कौडा र चार बुक तास बरामद गर्‍यो। खालमा प्रहरीले भेटाएको रकम सरकारी राजस्वमा जम्मा गर्ने प्रावधान छ। 

‘त्यहाँ भएको पैसाको गड्डी देखेर म त छक्क परेँ,’ महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज, काठमाडौंका डीएसपी उमेश लम्सालले भने, ‘यत्रो पैसा राखेर पनि कसैले जुवा खेल्छ भन्ने पत्यारै लागेन। नक्कली पैसा पो हो कि क्या हो भन्ने पनि लागेको थियो। पैसा त कति हो कति ! हातले गनेर पनि भोलिपल्ट फेरि मेसिनले गनेर भेरिफाई गर्नुपर्‍यो।’

डीएसपी लम्सालले गरेको जुवाको यो आठौँ अपरेसन हो। सात वटा केसमा मुद्दा चलिसक्यो। ती सबै केस दशैँतिहार आसपासका हुन्। लम्सालले जुवामा यति ठूलो रकम समातेको भने यो पहिलो अनुभव हो। यति धेरै रकम एउटै जुवा खालबाट बरामद भएको पनि पहिलो पटक हो। 

पीपलमार्गस्थित उक्त जुवा खालमा प्रहरी पुग्दा काठमाडौँ महानगरपालिका–३ का विक्रम गौतम (सञ्चालक-घरधनी), काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ का बलराम सापकोटा (बले), काठमाडौँ महानगरपालिका–१५ का मुक्ति लामा, काठमाडौँ महानगरपालिका–२६ का अशोक श्रेष्ठ, काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–५ का प्रदीप बोगटी, ललितपुर पुल्चोकका सोहेल कार्की, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–३ का शोभित सिलवाल, काठमाडौँ महानगरपालिका–६ का सुमन अग्रवाललगायत जुवाडे जुवा खेलिरहेका थिए। 

प्रहरीका अनुसार जुवा खेलाउन प्रयोग भएको घर ‘मिनी क्यासिनो’ चलाउने हिसाबले बनाइएको थियो। ‘घरभित्रको बनोट हेर्दा ‘मिनी क्यासिनो’को हिसाबले जुवा खेलाइरहने ठाउँजस्तो देखिन्थ्यो,’ डीएसपी लम्सालले भने, ‘दायाँबायाँका दराजमा ब्रान्डेड रक्सीहरू राखिएका थिए। जुवाडेहरू तिनै रक्सी खाँदै जुवा खेलिरहेका थिए।’ उनका अनुसार ५०–६० जना अटाउने उक्त घर जुवा खेलाउनकै लागि बनाइएको जस्तो देखिन्थ्यो। ‘खालको दुईतिर दुइटा बाथरुम थिए,’ उनले भने ‘एकातिरबाट प्रवेश र अर्काेतिरबाट बाहिर निस्किन मिल्ने खालको घर थियो। प्रहरी आएको थाहा पाए भाग्न मिल्ने हिसाबले बनाइएको घर थियो।’ 

जुवासँगै जघन्य अपराध 

जुवा खालबाट समातिएकामध्ये कतिपयको जुवासँगै जबर्जस्ती करणीदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा पहिल्यै चलिसकेको छ। कोही सवारी ज्यानमा मुद्दा चलेका व्यक्ति पनि छन्। केही व्यक्तिलाई पहिले नै सार्वजनिक अपराधमा समेत मुद्दा चलाइसकेको प्रहरी बताउँछ। 

प्रहरीका अनुसार ‘क्यासिनो किङ’का रूपमा चिनिने बलराम सापकोटा ‘बले’ लाई यसअघि सार्वजनिक अपराधअन्तर्गत दुई पटक मुद्दा चलाइसकिएको छ। सोहेल कार्कीको पनि जबर्जस्ती करणीमा यसअघि नै मुद्दा चलिसकेको थियो। मुक्ति लामाको ज्यान मार्ने उद्योग र प्रदीप बोगटीको पनि केही वर्षअघि सवारी ज्यानमा मुद्दा चलेको थियो। 

जुवा खालबाट समातिएका २५ जनामध्ये अधिकांश पेशाले ठेकेदार र व्यवसायी भएको प्रहरीले बताएको छ। मिनी क्यासिनो सञ्चालक एवं घरधनी विक्रम गौतम ठेकेदार हुन्। खालबाट पक्राउ परेका पवनकुमार गुप्ता पनि ठेकेदार हुन्। त्यस्तै, श्रवणकुमार गोयल उद्योगी हुन् भने पवित्रकुमार कार्की एयर डाइनेस्टीका सञ्चालक हुन्। 

पटके जुवाडे पनि  

प्रहरीका अनुसार बलराम सापकोटा ‘बले’, शोभित सिलवाल, अशोक श्रेष्ठ पहिलादेखि नै क्यासिनोमा जाने र जुवामा पैसा लगानी गर्नेमा पर्छन्। उनीहरू जुवा खेल्ने मात्रै नभएर पैसा लगानी गरेर जुवा पनि खेलाउँछन्। उनीहरू पहिला पनि पटक–पटक मुद्दा चलेर छुटेका थिए। 

पटक–पटक जुवामा समातिनेमा बलराम सापकोटा, मुक्ति लामा, अशोक श्रेष्ठ, प्रदीप बोगटी, शोभित सिलवाल, अशोक श्रेष्ठ, सोहेल कार्की पर्छन्।
प्रहरीको रिपोर्टअनुसार अशोक श्रेष्ठलाई २०६९ सालमा जुवामा मुद्दा चलाइएको थियो। सोहेल कार्की पनि अशोकसँगै जुवा खेल्दाखेल्दै त्यही साल पक्राउ परेका थिए। 

रोशन तामाङ र बुद्ध लामालाई २०७४ सालमा जुवाकै केसमा मुद्दा चलाइएको थियो। शोभित सिलवालको पनि २०६८ सालमा जुवामा मुद्दा चलिसकेको छ। योसमेत गरेर मुक्ति लामाको जुवामा मुद्दा चलेको तेस्रो पटक हो। 

बन्दी प्रत्यक्षीकरणको रिट खारेज

पक्राउ परेको भोलिपल्ट अर्थात् कात्तिक १० गते बलराम सापकोटा ‘बले’, श्रवण गोयल, पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, मुक्ति लामा र घरबेटी विक्रम गौतम लगायतले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे। सेटिङ गरी पावर देखाएर छुट्ने दाउ उनीहरूको थियो। तर, सर्वोच्च अदालतले फैसला गरेर रिट खारेज गर्‍यो। कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको अवस्थामा बन्दी प्रत्यक्षीकरण रिट जारी गरिन्छ। यस रिटले कुनै व्यक्ति गैरकानुनी रूपमा थुनामा परेको हो वा होइन ? भन्ने हेर्छ। अनधिकृत ढंगले वा अधिकार नपाएको व्यक्तिले वा कानुनले तय गरेको कार्यविधि नपुर्‍याई कुनै व्यक्तिलाई बन्दी बनाइएको छ भने अदालतले त्यस्तो व्यक्तिलाई थुनामुक्त गर्ने आदेश दिन्छ।

सम्पत्ति छानबिन हुने

पीपलमार्गको जुवा खालबाट नियन्त्रणमा लिइएका २५ जनामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गर्ने भएको छ। थुनामा रहेका बलराम सापकोटासहित पवनकुमार गुप्ता, श्रवणकुमार गोयल, पवित्रकुमार कार्की, मुक्ति लामा, घरबेटी विक्रम गौतम लगायतको जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई पत्र काटेको छ। विभागले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै प्रहरी हिरासतबाट मुक्त भएमा आफूलाई जिम्मा लगाउन आग्रह गरेको छ। उनीहरूले अवैध रूपमा करोडौँ रुपैयाँ कमाएको प्रहरीको छानबिनमा देखिएको छ। ‘उनीहरूको सम्पत्ति अवैध हो भन्ने शंका लागेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाउन खोजेका हौँ,’ डीएसपी लम्सालले भने, ‘उनीहरूमध्ये केही विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको देखिएका कारणले पनि सम्पत्ति शुद्धीकरणको प्रक्रियामा लैजानु जरुरी देखिन्छ।’ 

प्रधानमन्त्रीकै सुरक्षा अधिकारी जुवामा पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी नेपाली सेनाका मेजर राजेन्द्र शाही गत शुक्रबार साँझ जुवाको खालबाट पक्राउ परे। जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुशीस्थित सोमबहादुर मगरको घरबाट उनलाई पक्राउ गरेको थियो।  

१ लाख ५९ हजार ३ सय रुपैयाँसहित म्यारिज खेलिरहेको अवस्थामा उनीसहित आठ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जीत गुरुङलगायत छन्। 

मेजर शाहीले बिदाको बेला प्रायः जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ परेको दिन उनी बिदामा थिए । गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ ।

ठाउँठाउँमा जुवाको खाल

असोज २२ गते साँझ ५ बजे काठमाडौँ, टोखा नगरपालिका–११, भण्डारीटोलस्थित पूर्णबहादुर लिम्बूको कोठामा विदुर अधिकारी, सानु महर्जनलगायत छ जनालाई अवैध रूपमा जुवातास खेली–खेलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। खालबाट प्रहरीले २ लाख ४ हजार ९ सय रुपैयाँसहित पाँच बुक तास बरामद गरेको थियो। 

त्यसै गरी, असोज २६ गते काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–४ स्थित भसमथली क्वाटोमा रहेको उत्तमकुमार कुइकेलको घरमा बालकृष्ण श्रेष्ठ, शिवराम भण्डारी, कृष्ण खत्री, प्रेमप्रसाद दुवाललगायत ११ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो। सो खालमा प्रहरीले ४ लाख १० हजार १५ रुपैयाँ, १८ थान कौडा, छ बुक तास फेला पारेको थियो। 

कात्तिक २ गते टोखाको भण्डारीटोलबाटै केही जुवाडे पक्राउ परेका थिए। जीतबहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका थिए। प्रहरीले उक्त खालबाट १ लाख ६८ हजार ९ सय २५ रुपैयाँ र १६ बुक तास बरामद गरेको थियो। 

जुवा खेलाउने महिला

कात्तिक ५ गते बूढानीलकण्ठ नगरपालिका–४, भेटघाटचोकस्थित लक्ष्मीदेवी गुरुङको कोठामा जुवातास खेल्ने÷खेलाउने कार्य गरिरहेको अवस्थामा रेशम गौतम, राजकुमार भारतीलगायत छ जनालाई प्रहरीले पक्राउ गर्‍यो। सो खालमा प्रहरीले १ लाख ५५ हजार ५ सय ५० रुपैयाँ र चार बुक तास फेला पारेको थियो। 

लक्ष्मीदेवी यसअघि तीन पटक जुवामा मुद्दा चलेर छुटेकी महिला हुन्। ‘उनी एउटा फ्ल्याट नै भाडामा लिएर जुवा खेलाउँछिन्,’ डीएसपी लम्सालले भने, ‘लोकल मदिरा बनाउने÷खुवाउने र जुवा पनि खेलाउने भएकाले उनलाई हामीले समातेका हौँ। पछिल्लो पटक उनको डेरामा भएको मदिरासमेत नष्ट गरेका थियौँ।’ 

जेल पुग्दैनन् जुवाडे  

महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँका डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज काठमाडौंका डीएसपी उमेश लम्साल जुवा खालबाट समातिएकाहरू प्रायः धरौटी र जरिवानामा छुट्ने गरेको बताउँछन्। ‘जुवाको हकमा हामीले बढीमा २५ दिन दोषीलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्छौँ,’ लम्सालले भने, ‘त्यसपछि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा पेश गर्छौं। त्यसपछि यो मुद्दा सीडीओले हेर्छन्। सीडीओले नै कैद गर्ने हो कि धरौटीमा छुटाउने हो भन्ने कुरा निर्धारण गर्छन्।’ 

जुवामा जेल जाने केस एकदमै थोरै मात्रै रहेको डीएसपी बोगटी बताउँछन्। ‘धेरैजसो धरौटी र जरिवानामा छुट्ने गरेको पाइएको छ,’ उनी भन्छन्। 
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल २५ जना जुवाडेको केसमा अनुसन्धान भइरहेको र आफूसम्म फाइल आइनसकेको बताउँछन्। ‘सरकारी वकिलबाट बयान भएपछि फाइल मेरोमा आउँछ,’ सीडीओ दाहाल भन्छन्, ‘मकहाँ पनि वकिलमार्फत बहस हुन्छ। त्यो बहस सुनिसकेपछि म निर्णय लिन्छु।’

सीडीओ दाहालले अहिलेसम्म एक जना पनि पटके जुवाडेलाई कारबाही गरेका छैनन्। ‘म आएको बल्ल दुई महिना भयो,’ उनी भन्छन्, ‘यस अवधिमा ३० हजारसम्म जरिवाना गरेका केसहरू पनि छन्। अहिलेसम्म पटकेलाई भने कारबाही गरेको छैन। तर, यस पटक म पटके पनि हेरेर छुट्याउँछु।’

च्याँखे थाप्नु पनि जुवा खेल्नुसरह 

मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

जुवा खेल्ने मात्र नभई अरूले खेलेको ठाउँमा च्याँखे थाप्नेलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख छ। जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति वा गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ।

यसअघि जुवा खेल्नेलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको थियो। जसमा ज्यादै न्यून सजायको व्यवस्था थियो। पहिलो पटक जुवा खेल्नेलाई दुई सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि तीन महिनासम्म कैद र तेस्रो पटक पनि खेलेमा एक वर्षसम्म कैदको व्यवस्था जुवा ऐनमा गरिएको थियो।

त्यसै गरी, जुवा खेल्नेलाई ठाउँ उपलब्ध गराउनेलाई पहिलो पटक तीन सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि तीन महिनादेखि नौ महिनासम्म कैदको व्यवस्था पुरानो कानुनमा थियो।

ललितपुरमा कम खेलिन्छ जुवा

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा जुवामा काठमाडौँ जिल्लाबाट ९ सय २७ जनालाई पक्राउ गरिएको थियो भने जुवाका खालहरूबाट १ करोड ४९ लाख ५९ हजार ५ सय ८७ रुपैयाँ बरामद गरिएको थियो। त्यस्तै, भक्तपुर जिल्लामा गत आर्थिक वर्षमा १ सय ७१ जना पक्राउ गरी २१ लाख ५८ हजार ११ रुपैयाँँ बरामद गरिएको थियो। काठमाडौँ र भक्तपुरको तुलनामा ललितपुर जिल्लामा कम जुवा खेलिने तथ्यांकले देखाउँछ। ललितपुरबाट गत आर्थिक वर्ष ६३ जना जुवाडे पक्राउ परेका थिए भने जुवाका खालबाट १९ लाख ७७ हजार ८ सय १७ रुपैयाँ बरामद भएको थियो। तीनै जिल्लाबाट प्रहरीले १ हजार १ सय ६१ जनालाई पक्राउ गरी १ करोड ९० लाख ९५ हजार १ सय १५ रुपैयाँ बरामद गरेको थियो। 

अर्थिक वर्ष २०७६÷७७ को असोजमा मात्रै काठमाडौँबाट १ सय ६५ जना पक्राउ परेका छन् भने जुवाका खालबाट ३६ लाख ७३ हजार ६ सय ७५ रुपैयाँ बरामद भएको छ। असोज महिनामा भक्तपुरमा १२ जना जुवाडे पक्राउ परे भने ललितपुरबाट छ जना पक्राउ परे। 

कात्तिक १३ गतेसम्मको तथ्यांक हेर्ने हो भने यो महिना काठमाडौँमा १ सय ६५ जना जुवाडे पक्राउ परेका छन्। विभिन्न खालबाट २ करोड ९८ लाख ११ हजार १ सय ६३ रुपैयाँ बरामद भएको छ। त्यसै गरी, भक्तपुरमा २६ जना पक्राउ परी ४ लाख २६ हजार ७ सय ७ रुपैयाँ बरामद भएको छ। ललितपुरमा भने कात्तिक १३ गतेसम्म कोही पनि पक्राउ परेका छैनन्।  


‘खालको पैसा गन्न तीन घण्टा लाग्यो’

डीएसपी, उमेश लम्साल, महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज, काठमाडौं

समाजमा जुवातास नियन्त्रण गर्नु हाम्रो दायित्वभित्र पर्छ। गैरकानुनी हिसाबले समाजमा खलल पुर्‍याउने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउन हामी कोसिस गरिरहेका हुन्छाँै।

काठमाडौँमा चाडपर्वका बेला बलराम सापकोटा, शोभित सिलवाल, अशोक श्रेष्ठजस्ता व्यक्तिहरू कहीँ न कहीँ बसेर जुवा खेल्छन्÷खेलाउँछन् भन्ने हामीलाई लागेको थियो। किनभने, उनीहरूलाई जुवाको लत छ। उनीहरूलाई हामीले सूक्ष्म ढंगले निगरानी गरिरहेका थियौँ। एक दिन उनीहरूको जुवाको खाल पत्ता लगायौँ र समात्यौँ। 

त्यहाँबाट हामीले २ करोड ६७ लाख रुपैयाँ र बैंक अफ काठमाडौँको तीन लाखको चेक एक थान बरामद गरेका थियौँ। जुवा खेल्दा प्रयोग भएको सामान जफत हुन्छ। तर, घर, कोठा, सवारी साधन जफत गर्न मिल्दैन। उनीहरू त्यो घरमा कहिलेदेखि जुवा खेल्थे भन्ने कुरा अनुसन्धान भइरहेको छ।

खालमा यत्रो ठूलो रकम भेटिएको मेरो पहिलो अनुभव हो। सुरुमा त पैसा नक्कली हो कि क्या हो भन्ने पनि लागेको थियो। तर, बैंकको ट्याग देखेपछि सक्कली नै रहेछ भन्ने लाग्यो। हामी प्रहरीलाई त्यो जुवा खालमा भेटिएको पैसा गन्न मात्रै तीन घण्टा लाग्यो। 

उनीहरूले ‘चाडपर्व भएर रमाइलोका लागि खेलेका हौँ’ भनेका छन्। तर, रमाइलोका लागि नभएर व्यावसायिक किसिमले जुवा खेलिरहेको हामीले पाएका छाँै। ‘साथीभाइ भेट्ने, शुभकामना आदानप्रदान गर्ने र खानपान गर्ने भनेर भेला भएका हौँ’ पनि भनेका छन्। तैपनि, जुवा खेलेको कुरा भने उनीहरूले बयानमा स्विकारेका छन्। 

मुक्ति लामालाई पहिले पनि दुई पटक जुवामा मुद्दा चलाइसकिएको छ। ज्यान मार्ने उद्योगमा पनि उनको मुद्दा चलेको छ। सोहेल कार्की जबर्जस्ती करणीमा मुद्दा चलिसकेका व्यक्ति हुन्। प्रदीप बोगटीलाई सवारी ज्यानमा मुद्दा चलाइसकिएको छ। बलराम सापकोटा ‘बले’को पनि जुवासँगै केही सार्वजनिक अपराधमा पहिला नै मुद्दा चलिसकेको छ।

उनीहरूमध्ये धेरैको देखिने खालको पेशा–व्यवसाय केही छैन। कसैले आफूलाई पर्यटन व्यवसायी भन्छन्, कसैले बैंकर। कोही व्यापारी र ठेकेदार छन्। 

जुवाको हकमा हामीले बढीमा २५ दिन दोषीलाई कस्टडीमा राखेर अनुसन्धान गर्न सक्छौँ। त्यसपछि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा पेश गर्छौं। त्यसपछि यो मुद्दा सीडीओले हेर्छन्। सीडीओले नै कैद गर्ने हो कि धरौटीमा छुटाउने हो भन्ने कुरा निर्धारण गर्छन्। यो उनको क्षेत्राधिकारभित्र पर्ने कुरा हो। 

जुवामा जेल जाने केस एकदमै थोरै हुन्छ। धेरैजसो जुवाडे धरौटी र जरिवानामा छुटेको पाइएको छ। पीपलमार्गमा समातिएकामध्ये पटके जुवाडे पनि छन्। रकम पनि ठूलो छ। उनीहरूलाई के कारबाही हुन्छ ? हेर्न बाँकी छ। 


‘हारेपछि जित्ने आश जितेपछि झन् जित्ने लोभ’ 

डीएसपी होबिन्द्र बोगटी, प्रवक्ता, महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँ 

काठमाडौं, महानगरीय प्रहरी परिसर चाडपर्वमा मात्र नभएर जुवा–तास तथा गैरकानुनी धन्दा नियन्त्रणका लागि ३ सय ६५ दिनै सक्रिय हुन्छ। हामी प्रत्येक महिना चार–पाँच वटा जुवाको खालमा छापा मार्छाैं, पैसा बरामद गर्छौं र प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउँछौं। दशैँतिहारमा मात्रै नभएर यो हाम्रो नियमित प्रक्रिया हो। तैपनि, दशैँतिहारमा विशेष सुरक्षा योजनाअन्तर्गत अपरेसन सञ्चालन गरेका हुन्छौँ। 

जुवामा समातिएकालाई प्रचलित कानुनबमोजिम म्याद थप गरेर अनुसन्धान गर्छौं। हामीले समातेका कतिपय धरौटीमा छुटेका छन्। कति अनुसन्धान प्रक्रियामै छन्। पछिल्लो समय महाराजगञ्जमा हामीले एउटा सफल अपरेसन गर्‍यौँ। २ करोड ६७ लाखभन्दा बढी रुपैयाँ बरामद भएको छ। यसअघि कीर्तिपुरबाट पनि एउटै खालबाट साढे पन्ध्र लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेका थियौँ।

जुवा एक प्रकारको लत हो। हारेपछि जितिन्छ कि भन्ने लोभ हुन्छ। जितेपछि झनै जित्नुपर्छ भनेर खेलिरहन मन लाग्छ। अनुसन्धानका क्रममा ठूलो मात्रामा हारजीत हुने गरेको पाएका छौँ। घरबार नै गुमाउने हिसाबले जुवा खेलिरहेका मान्छे पनि भेटेका छौँ। जुवामा पक्राउ परेकाहरू लतमा फसेका, धेरै पैसा भएका, हारजीत गर्ने मनसायले खेल्ने व्यक्ति हुन्छन्। घरबार सारा बेचेर दाउ लगाउने मानिस पनि हुन्छन्। 

जुवा हारजीतको खेल हो। तर, हारजीतको खेलले समाजमा ठूलठूला अपराध जन्माउन सक्छ। हारजीतको झोकमा कसैको राम्रो परिवार सडकमा आउँछ। जुवामा हारेपछि आत्महत्या गरेका धेरै घटना छन्। जुवाकै कारण झैझगडा र घरेलु हिंसाका घटना पनि हुने गरेका छन्। 


‘पटकेलाई कडा कारबाही हुन्छ’

जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौँ 

महाराजगञ्जबाट समातिएका २५ जना जुवाडेहरूको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सरकारी वकिलबाट मकहाँ फाइल आइपुगेको छैन। सरकारी वकिलबाट बयान गर्ने÷गराउने काम भइरहेको छ। त्यहाँबाट मेरो इजलासमा आइसकेपछि यहाँ पनि वकिलमार्फत बहस हुन्छ। त्यो बहस सुनिसकेपछि म निर्णय लिन्छु।

म आएको बल्ल दुई महिना भयो। मैले ३० हजार जरिवाना गरेका केसहरू पनि छन्। खेल्ने कति जना छन् ? रमिते कति जना छन् ? पटके कति छन् ? जस्ता कुरा हेरेर निर्णय गर्नुपर्ने हुन्छ। मैले अहिलेसम्म पटकेलाई कारबाही गरेको छैन। तर, यस पटक म पटके पनि हेरेर छुट्याउँछु र उनीहरूलाई कडा कारबाही गर्छु। 

उनीहरूलाई कडा कारबाही हुनुपर्छ भन्नेमा शंका छैन। किनभने, जुवातासले गर्दा धेरैको घरखेत गएको छ। घर भाँडिएर सम्बन्ध विच्छेद भएका छन्। विगत वर्षको तुलनामा यस वर्ष थुप्रै जुवाडे समातिएका छन्। हाई प्रोफाइलका मानिसलाई पनि छाडिएको छैन। विगत वर्षहरूभन्दा यस वर्ष हामी जुवाडेविरुद्ध कडा रूपमा प्रस्तुत भएका छौँ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि