राजवका ५ कविता

writer

सम्पूर्ण

बुधबार, २० कार्तिक २०७६


क्रूरको सौन्दर्यप्रेम

बाज पनि मुग्ध छ 
यो बिहान 

आफ्ना नङ्ग्राहरू 
हाँगोमा गाडेर 
मोहित 
महसुस गर्दै छ 
आफ्ना पखेटाका काप–कापमा 
चिसो सिरेटो 

ऊ अहिले आहारका लागि सक्रिय छैन 
छ उत्तिसको हाँगामा स्थिरआनन्दित 

त्यसकारण 
चराहरू 
अहिले निमग्न उडिरहेछन् 

खबर छैन उनीहरूलाई 
नजिकैको यो बाजको 
जो लालायित सुदूर देशको पर्यटकझैँ 
हरिया पहाड पछाडिको अर्धउदित सूर्य हेर्दै छ 

बिहानको यो कलिलो मोहकता 
हट्नेबित्तिकै 
फेरि झम्टनेछ ऊ 
चराहरू 

वास्तवमा 
क्रूरको सौन्दर्यप्रेम 
स्थायी हुँदैन। 


इमान   

जसमा हुने छैन देवत्वको उपस्थिति
जसमा हुने छैन 
सम्राटका मानिसहरूको घुसपैठ 
जसमा हुने छैन 
निर्धन मानिसहरूको काँधमा खट 
जसमा हुने छैन 
ईश्वर बनेका गद्दारहरूको रथ 
खोजिरहेछु म मानिसहरूको मात्र आन्दोलन 

म त्यो आन्दोलनमा सामेल हुँदै छु 
जसमा सुन्दर कविहरूको सामेली छ 
जसमा इमानदार लेखकहरू परेड गर्छन् 
जसका वादकहरू अधिकारको गिटार बजाउँछन् 

म त्यो आन्दोलनको साथ हुन्छु 
जसमा अधिकारको गीत र 
स्वतन्त्रताको नारा हुन्छ 

मिसाइदिन्छु म पनि 
आन्दोलनरत लाखौँ मानिसहरूको नारामा 
आफ्नो एउटा इमान। 


खबर   

सडकको भीडमा 
कुनै भ्रष्टाचारीले कुम जोडेको 
र कुनै निर्धन कारिन्दा 
त्यसको गगल्स हेरेर कल्पिएको 
देख्न नपरोस् 
भन्नै त हो 
तर यो कम सम्भव छ 

मञ्चमा कम्मर र उरोज नापेर 
स्त्रीको मूल्याङ्कन गर्ने विद्वान 
सत्ताको चाकरीमा लिप्त माक्र्सवादी 
जोड, घटाउ र हटाउ पक्षधर काइते बढी देखिन्छन् 

केही सीधा, राम्रा मान्छे खोज्यो भने 
झ्यालबाट तल सडकमा 
दाल, चामल, कफ सिरप र 
सिटामोलको चिन्तैचिन्तामा 
लœयाकलुत्रुक घर फर्किरहेका 
साना मान्छेहरू
क्लर्क, खरदार, पिउन, मजदुर 
घोटिँदा–घोटिँदा थाकेको पत्रकार र 
प्राइमरी स्कुलको मास्टरको 
मर्लान्त मुहार जोत्तिएको देखिन्छ 

केही जो देखिँदै छन् 
हृष्टपुष्ट हँसिला भुँडे 
ती केही सत्ताको घरदैलो पोत्छन् 
केही नेताको शिरपाउ चमर फन्काउँछन् 
जो मुस्काएका छन् केही 
ती सब यस्तै मुहार हुन् 

भीडको पूरै अनुहार परिवर्तन गर्न
सच्चा मुहार खोज्नेहरूको पनि 
खबर छैन। 


अद्रियानाले सिकेको पाठ

मलाई जन्माएर 
तीन वर्षपछि 
मेरा बा–आमा छुट्टिए
तिनको कलहले 
वर्षाैंसम्म म तानातानमा परिरहेँ 
मेरो ढोँगी बाउ, आमा
जीवनभर 
थुप्रै स्त्री, पुरुषहरूसँग 
बाँधिँदै, छुट्टिँदै गरिरहे 
मेरो संसारका पाठशालाका मास्टरहरू तिनै हुन् 
तिनको हर एक क्रियाकलापले मलाई 
प्रेम भरोसापूर्ण नहुने सिकाइरह्यो 

मेरो अन्तिम सौतेनो बाउ 
सिर्फ मेरा नाजुक अङ्गहरूसँग प्रेम गथ्र्यो 
उसका खस्रा कामुक हातहरूले 
मेरो शरीरको हर एक अङ्ग थिल्थिलिन्थ्यो 
ऊ मेरी बूढी आमाको आँखा छलेर 
ममाथि खनिन्थ्यो 
र मलाई आफ्नू क्रूर अँगालोमा निचोथ्र्यो 
रक्सीले लट्ठिएको आफ्नू जिब्रो 
मेरो नाकदेखि कुर्कुच्चासम्म र्‍याल काढ्दै पुर्‍याउँथ्यो 
तर यो यातनाविरुद्ध नालिस गर्न
म मेरी आमाको क्रूर अदालतमा जान सक्दिनथेँ 

मेरा बाउ जो मबाट एक हजार माइल टाढा
क्यान्सासिटीमा पुगेको थियो 
ऊ मेरो रेखदेखका लागि अदालतले तोकिदिएको रकम
हर महिना 
मेरी आमाको नाममा पठाउँथ्यो 
र मेरी आमा त्यो रकम 
मेरो सौतिनो बाउको जाँडमा खर्च गर्थी 
आफू पनि ऊसँगै जाँडमा लट्ठिन्थी 

दिउसो स्कुल खुलेका दिनहरू 
मेरो राहतका क्षणहरू हुन्थे 
अन्यथा
घृणा, कामुक पासो र यातनाका क्षणहरू आइलाग्थे 
प्रेम र पुरुष चिन्ने स्कुल मेरो त्यै थियो 
मलाई प्रेम, त्यसको आँखा र संवेदना 
सब क्रूरहरूको नाम लाग्छ 
म तिनको भरोसा गर्न सक्दिनँ 
मैले सिकेको पाठ घृणा हो 
जुन अब म हर एक सम्बन्धमा देख्छु। 


जेना हेन्सनको माइलेज 

अलि–अलि कोलम्बियन गाँजा 
र मेक्सिकन बियरमा 
लट्ठिएकी जेना हेन्सन भन्छे–

लट्ठिनुको आनन्द नै मेरो प्रेम हो 
छैनन् मेरा अरू कोही प्रेमी 
मसँग लोग्ने वा 
ब्वाइफ्रेन्डजस्ता अरिङ्गाल छैनन् 
आनन्दमा छ मेरो जीवन 
म तथाकथित लोग्ने र 
ब्वाइफ्रेन्डको झन्झटबाट 
मुक्त छु 
आनन्द छ मलाई 
छ, सात गिलास बियर र 
चार, पाँच पफ ह्यासिस वा मारिजुवानामा 
म मस्तले 
आफ्नू ओछ्यानमा निदाउँछु र
एउटा अर्काे स्वतन्त्र बिहान जन्माउँछु 
न केटाकेटीको स्याहारको झन्झट 
न लोग्नेको करकाप र फतफत 
न ब्वाइफ्रेन्डको कलह 
आफ्नू एकल जीवन 
आनन्दले चलाएकी छु 
चाहेँ भने म थुप्रैलाई निम्त्याउँछु 
थुप्रैलाई लत्याउँछु 
अड्तीस वर्षकी मलाई 
चुम्न 
बारहरूमा अनेक पुरुष ओठहरू चल्मलाउँछन् 
तर मलाई 
तिनका ओठहरूसँग घृणा छ 
तथापि कुनै पनि बेला 
म चाहेको ओठ रोज्न सक्छु 
अझ पनि म 
पुरुषहरूको तृष्णालाई दास बनाउन सक्छु 

आनन्दमा छ मेरो जीवन 
म आफ्नै लागि कमाउँछु र 
खर्च गर्छु 
खर्च गर्न 
न मसँग बच्चाहरू छन् 
न लोग्ने 
न कुनै पुरुषको अधीन छ 
एक्लो म कोलम्बियन गाँजा र 
चिसो बियरको आनन्द 
भरपूर भोग्छु एक्लै 
र प्रत्येक दिन आफ्नू निजी बनाउँछु 

म क्यारेबियन सागर तट जान्छु 
अरुबाद्वीप जान्छु 
केन्यामा पुगेर
कुनै जवान कालेसँग निदाउन सक्छु 
यो मेरो जीवन कसैलाई हैन 
आफ्नै लागि भोग्छु र 
समयहरू आफैँलाई बिताउँछु 
म इन्डिया पनि पुगेकी छु 
र बनारसका घाट–घाटका
तिघ्रे साधुहरूसँग 
गाँजा तानेकी छु 
मैले तिनको खोबिल्टे गहिरा आँखामा 
गाँजाभन्दा मेरो शरीरको तृष्णा चढेको 
देखेकी छु 
गाँजा तान्दै तिनका छड्के आँखाले 
मलाई थुप्रै बलात्कार गरेका छन् 
मलाई थाहा छ 
श्रीलङ्काका साधुहरूमा पनि साधुत्व छैन 
चर्चका प्रिस्टहरू हुन् वा 
पादरीहरू हुन् वा यहुदीका राबीहरू हुन् 
सब खरानीको भेषका 
अरिङ्गाल हुन् 
सबको पछाडि अवैध वीर्यपातका 
शृङ्खलाहरू छन् 
मलाई थाहा छ 
सबको आँखामा वीर्यपातको चाहबाहेक 
केही छैन 
तर मेरो जीवनको माइलेज कति छ 
मलाई थाहा छैन 
तथापि म आफ्ना बाटोहरूमा 
आनन्दले कुद्छु 
मलाई कुनै ट्राफिक राडारले 
रोक्न सक्दैन 
म आफ्नू पथको माइलेज 
आफैँ निर्धारण गर्छु। 

तपाईको कमेन्ट

मुख्य समाचार