पहिलो लोकस्टार रोल्पाली ठिटो शनि

writer

सम्पूर्ण

बुधबार, २० कार्तिक २०७६


एपी वान टेलिभिजनमा असारबाट प्रसारण भइरहेको कार्यक्रम नेपाल लोकस्टारको फाइलन सम्पन्न भयो। कार्यक्रममा पहिलो नेपाल लोकस्टारका रूपमा रोल्पाका शनि विश्वकर्मा छानिए। त्यस्तै, स्याङ्जाका चेतन गोतामे र उदयपुरका विनोद दनुवार दोस्रो र तेस्रो भए। रामेछापका रामकुमार नेपाली भने ‘लिट्मस इलेक्ट्रिफाइङ पर्फर्मर अफ द सिजन’ हुन सफल भए।


कात्तिक ८ गते काठमाडौँ, प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको बगैँचा अरू दिनभन्दा निकै फरक थियो। विगत चार महिनादेखि भइरहेको लोकगायन रियालिटी सो ‘नेपाल लोकस्टार’को फाइनल कार्यक्रमका लागि बगैँचालाई भव्य ढंगले सजाइएको थियो। चैत २५ सम्म अडिसन भएर असार १२ बाट एपीवान एचडी टेलिभिजन च्यानलबाट प्रसारण भइरहेको कार्यक्रमका चार जना फाइनलिस्टमध्येबाट एक जना छानिँदै थिए, पहिलो ‘नेपाल लोकस्टार’।

साँझ ५ बजेपछि कार्यक्रम सुरु भएको थियो। स्टेजमा कार्यक्रम सञ्चालकद्वय नरेश भट्टराई र सुगरिका केसी देखापरे। स्टेजको ठीक सामुन्ने अतिथि र त्यसपछाडि अन्य दर्शकलाई बस्ने व्यवस्था मिलाइएको थियो भने स्टेजको दुईतिर एलईडीको व्यवस्था पनि गरिएको थियो। सञ्चालकहरूले लोकस्टारबारे औपचारिक जानकारी राखेपछि कार्यक्रममा सांगीतिक प्रस्तुति सुरु भयो। 

प्रदेशस्तरीय अडिसनबाट मेगा अडिसन हुँदै टप फोर अर्थात् फाइनलिस्ट छानिएका थिए। रामेछापका रामकुमार नेपाली, रोल्पाका शनि विश्वकर्मा, स्याङ्जाका चेतन गोतामे र उदयपुरका विनोद दनुवार फाइनलमा प्रवेश गरेका थिए। उनीहरूमध्येबाट एक जना देशको पहिलो लोकस्टार बन्दै थिए। 

कार्यक्रममा पहिलो प्रस्तुति टप फोर्टिनसम्म पुग्न सफल राजु गुरुङले दिएका थिए। उनले ‘सालैजो’ बोलको गीत प्रस्तुत गरेका थिए भने टप फोर्टिनसम्म पुग्ने अर्का प्रतिस्पर्धी रेशम निर्दोषले ‘पिलिपिली जूनकीरी’ बोलको गीत प्रस्तुत गरेका थिए। टप टेनसम्म पुगेका भोजपुरका दीपेन्द्र राईले भने फाइनलको कार्यक्रममा आफ्नै पहिलो रेकडेर्ड गीत प्रस्तुत गरेका थिए। रुद्र श्रेष्ठको शब्द तथा संगीतमा रहेको ‘बाँसुरीको धुन तिमी’ बोलको गीत उनले गाएका थिए। टप फाइभसम्म पुगेका पविन्द्र सुनारले ‘अरू कालो रेलको धुवाँले’, टप टेनसम्म पुगेका प्रभुराज पाण्डेले ‘जिम्मल बाको आँगनैमा’, टप नाइनसम्म पुगेकी मुना अर्यालले ‘निधारैमा लेखेसि’, र टप सिक्ससम्म पुगेका रविराज शाहले ‘बोतलको पानीले’ बोलको गीत प्रस्तुत गरेका थिए। 

कार्यक्रममा आमन्त्रित अतिथिले पनि प्रस्तुति दिएका थिए। यसै क्रममा पहिलो प्रस्तुति लोकगायिका पूर्णकला बीसीले दिएकी थिइन्। उनले विभिन्न लोकगीत गाएकी थिइन्। शान्तिश्री परियारले भने ‘बोल माया’, ‘दशैँ र तिहारमा रातै रमाइलो’, ‘गलबन्दी’ लगायत गीत प्रस्तुत गरेकी थिइन्। अर्का लोकगायक पुस्कल शर्माले ‘शिरमा रातो डोरी’ बोलको गीत प्रस्तुत गरेका थिए।

विभिन्न प्रस्तुतिसँगै कार्यक्रमलाई औपचारिकतातर्फ लगिएको थियो। लोकस्टार निर्माण गर्ने चाहना मिडियाकी एचआर प्रमुख अबिप्सा बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन्। त्यससँगै कार्यक्रमका सञ्चालकले निर्णायकलाई स्टेजमा निम्त्याएर उनीहरूको परिचय दिएका थिए। सोही क्रममा निर्णायकमध्ये एक रामजी खाँडले ‘दामी देखिन्छ’ बोलको गीत प्रस्तुत गरेका थिए। 

निर्णायक जयनन्द लामाले लोकस्टारले लोकगीतको उत्थानका लागि निकै उदाहरणीय कदम चालेको बताए। उनले भने, ‘हामी लोकस्टारको सुरुवातबाटै अहोरात्र खटिरह्यौँ। त्यसको परिणाम अहिले देखिएको छ। एक जनाले मात्रै गाएको गीत भए निर्णय गर्न सकिन्थ्यो। तर, लोकगीत लोकले, देशले गाएको गीत भएकाले मौलिक गीत छान्न निकै गाह्रो भएको थियो।’ बीबी अनुरागीले भने थाहै नपाई लोकस्टार सकिएको बताए। उनले भने, ‘सुरु भएदेखि कति चाँडै अन्त्यमा आइपुगिएछ।’ उनले प्रतिस्पर्धीहरूलाई आगामी दिनमा लोकगीतकै उत्थानमा लाग्न सुझाव पनि दिएका थिए। निर्णायक रामजी खाँड र सुनीता दुलाल पनि निकै हर्षित थिए। उनीहरूको साझा मत थियो– ‘लोकस्टारमा जोडिएर लोकगीतको क्षेत्रमा नयाँ कदम चालेका थियौँ, जो सफल भएको छ।’ 

निर्णायकको औपचारिक मन्तव्यपछि भने चार जना फाइनलिस्टको प्रस्तुति सुरु भयो। पहिलो प्रस्तुतिमा रामेछापका रामकुमार नेपालीले ‘आज गाउँमा बिजुली चम्कियो कि सोल्टिनी’ बोलको गीत गाएका थिए। त्यस्तै, अर्का फाईनलिस्ट रोल्पाका शनि विश्वकर्माले आफू यहाँसम्म आइपुग्दा खुशी लागेको बताउँदै ‘अमिलो रसैले’ बोलको गीत प्रस्तुत गरेका थिए। स्याङ्जाका चेतन गोतामेले भने ‘उही खोलीमा पानी उही खोलीमा माछा’ बोलको गीत गाएका थिए। फाइनलिस्टहरूको अन्तिम प्रस्तुतिमा उदयपुरका विनोद दनुवारले ‘फूल फुलेर पयाँलै भयो’ बोलको गीत प्रस्तुत गरेका थिए।

एसएमएस भोटिङ तथा आईएमई–पेमार्फत गरिएको भोटिङबाट ५६ लाख बराबरको भोट खसेको जानकारी सञ्चालकले दिए। चाहना मिडियाका तर्फबाट सहदेव कोइरालाले धन्यवाद मन्तव्य राखेका थिए। उनले भने, ‘लोकस्टार पुरानो सपना थियो। आज त्यो सपना पूरा भएको छ।’  कोइराला र लोकगायक तथा संकलक कुमार बस्नेतले लोकस्टारका निर्णायकलाई मायाको चिनो वितरण गरेका थिए। 

कार्यक्रममा लिट्मस इलेक्ट्रिफाइङ पर्फर्मेन्स अफ द सिजन अवार्ड वितरण भएको थियो। लिट्मस केबलले प्रायोजन गरेको उक्त अवार्ड फाइनलिस्ट रामकुमार नेपालीले पाए। दुई लाख रुपैयाँ पुरस्कार रहेको उक्त अवार्डलाई लिट्मस केबलका भाइस प्रेसिडेन्ट सरोजकुमार मिश्र र चाहना मिडियाका भरत बस्नेतले प्रदान गरेका थिए।

लोकस्टारलाई ल्याउने आईएमई ग्रुपका तर्फबाट चन्द्र ढकालले आफ्नो मन्तव्य राखेका थिए। उनले भने, ‘लोकगीत ओठले होइन, मनले गाउँछ। लोकगीतको यति ठूलो कार्यक्रममा जोडिन पाउँदा मलगायत आईएमई ग्रुप नै गर्व महसुस गरिरहेका छौँ।’ त्यसपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले मन्तव्य राखेका थिए। ‘लोकस्टार मौलिक सम्पदा र संस्कृति प्रस्फुटन गर्ने, प्रवद्र्धन गर्ने ठाउँ बनेको छ,’ उनले भने। क्याप्टेन थापाले लोकस्टारलाई सफल बनाउन दर्शकको ठूलो हात भएको बताउँदै सबैलाई धन्यवाद दिए। 

औपचारिक मन्तव्यको समापनसँगै कार्यक्रमको अन्त्यमा फाइनलिस्टमध्येबाट प्रथम लोकस्टार, दोस्रो तथा तेस्रो प्रतिस्पर्धीको नाम घोषणा गरिएको थियो। सञ्चालकद्वयले क्रमशः तेस्रो, दोस्रो र प्रथम हुनेको नाम घोषणा गरेका थिए। नाम घोषणासँगै उनीहरूलाई पुरस्कार हस्तान्तरण गरिएको थियो। 

रोल्पाका शनि विश्वकर्मा पहिलो लोकस्टार घोषित भए। उनले उपाधिसँगै ५० लाख रुपैयाँ नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सुरेन्सका तर्फबाट २५ लाख रुपैयाँ बराबरको जीवन बिमा हासिल गरे। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भए। उनले २५ लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। त्यसै गरी, रामेछापका रामकुमार नेपालीले तेस्रो स्थान हासिल गरे। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि