'थिएटरले अनुहार होइन, अभिनय चाहिन्छ'

writer

सम्पूर्ण

बिहिबार, १३ मङि्सर २०७५


रंगमञ्चमा शक्तिशाली उपस्थिति छ, रंगकर्मी सृजना सुब्बाको। एक दशकदेखि रंगमञ्चमा क्रियाशील उनले तीन दर्जनभन्दा बढी नाटक र केही फिल्ममा काम गरेकी छिन्। उनीसँग रामकुमार डिसीले गरेको कुराकानीः


पछिल्लो समय रंगमञ्चमा देखिने गरी भएको परिवर्तन के हो ? 

मैले रंगमञ्चमा प्रवेश गरेको एक दशक भइसक्यो। यी १० वर्षमा निकै परिवर्तन भएको पाएकी छु। कथा लेखन, कथा कथन (मञ्चन)मा पनि परिर्वतन आएको छ। रंगकर्म गरेर पनि बाँच्न सकिन्छ भन्ने रंगकर्मीले सोच्न थाल्नुभएको छ। नाटकका दर्शक बढेका छन्। अहिले धेरैलाई थिएटर राम्रै चिज रहेछ भन्ने परेको छ। सबैभन्दा खुशीको कुरा, अहिलेका अभिभावक नाटक, रंगमञ्चप्रति सचेत र सकरात्मक छन्। उनीहरूले आफ्ना छोराछोरीलाई नाटकमा खेल्नु नराम्रो काम होइन, यो पनि एउटा सम्मानित पेशा हो भन्ने सिकाउन थालेका छन्। यसले रंगमञ्चको भविष्यमा ठूलो अर्थ राख्छ। 

‘रंगकर्म गरेर पनि बाँच्न सकिन्छ’ भन्ने आत्मविश्वास  पलाएको हो ? 

हो, यो आत्मविश्वास पलाएको छ। थिएटरमा मात्रै काम गरेर बाँच्न सकिन्छ भन्ने त होइन तर योसँग जोडिएका अरू धेरै काम छन्। एउटा कलाकारले ठिक्कको जीवन जिउन अब त्यति गाह्रो छैन। अहिले धेरै स्कुल, कलेजमा ‘एक्टिङ’ पढाउन थालिएको छ। विज्ञापन, फिल्ममा काम गर्न सकिन्छ। 
तपाईंको परिवार पनि कला क्षेत्रसँग जोडिएको रहेछ। पारिवारिक पृष्ठभूमिले तपाईंलाई यो क्षेत्रमा आउन कत्तिको उत्प्रेरित ग¥यो ?
प्रत्यक्ष नभए पनि अप्रत्यक्ष प्रभाव चाहिँ परेको छ। मेरा काका गाउँमा चाडपर्वका बेला नाटक देखाउनुहुन्थ्यो। फुपू नाटकमा नायिकाको रूपमा खेल्नुहुन्थ्यो। टेन्ट टाँगेर, बत्ती बालेर सानो ठाउँमा देखाइने त्यस बेलाका नाटक फिल्मजस्ता हुन्थे। फिल्ममा जस्तै हिरो, हिरोइन, भिलेन हुन्थे। चक्कु हानेका दृश्य हुन्थे। मेरो पहिलेदेखिकै रहर हिरोइन बन्ने थियो। त्यस्तो रहर बन्नुमा अप्रत्यक्ष नै भए पनि मेरो पारिवारिक पृष्ठभूमिले काम गरेको होला। 

भनेपछि तपाईंलाई थिएटरभन्दा फिल्ममा बढ्ता रुचि थियो ? 

मैले थिएटरमा आउनेबारे सोचेकै थिइनँ। मेरो एक मात्र लक्ष्य फिल्ममा काम गर्नु थियो। रंगमञ्चमा त अनायासै आइपुगेकी हुँ। उबेला अहिलेजस्तो थिएटरको विकास नभएकाले पनि यसबारे नसोचेको होला। 

रंगमञ्चमा के–कस्ता अप्ठ्यारा झेल्नुपर्‍यो ?

म मोफसलबाट आएको मान्छे। यहाँ आउँदा केही आर्थिक समस्या भयो। तर, मोफसलबाट आएकै कारणले भने अप्ठ्यारो चाहिँ भएन। जनजाति समुदायकी भएकाले अलि चुनौती झेल्नुपर्‍यो। हिरोइन भन्नेबित्तिकै अग्ली, ठूला आँखा, चुच्चो नाक, सुन्दर अनुहार हुनुपर्ने मानक थियो। चिम्सा आँखा, सानो कद, थेप्चो नाक भएकी मजस्तालाई फिल्म क्षेत्रमा प्रवेश निषेध नै थियो। मंगोलियन अनुहारको त हिरोइन नै हुँदैन भन्ने ‘माइन्ड सेट’ थियो। मलाई कतिपयले ‘तिमीले हिरोइन होइन, आइटम गीतमा एक्टिङ गर्दा चाहिँ हुन्छ’ भन्थे। यस्ता कुराले मलाई निराश बनाउँथ्यो। ‘यो क्षेत्रमा बेक्कारमा आएछु’ भन्ने लाग्थ्यो।

थिएटरमा पनि यस्तो हुन्छ र ? 

थिएटरमा आएपछि चाहिँ त्यस्तो लागेन। थिएटरले अनुहार होइन, अभिनय चाहिन्छ भन्ने स्थापित गरिदिएको छ। 

रंगमञ्च कत्तिको समावेशी छ ?

पहिलेभन्दा अहिले कथामा समावेशीकरण देखिन थालेको छ। कसैले पूर्व, कसैले पश्चिमका कथा लेखिरहनुभएको छ। कथाअनुसार विभिन्न भेग, समुदायको पात्र पनि चाहिन्छ। यसले ‘इस्यू’ सँगै पात्रमा पनि समावेशीकरण बढाएको छ। 

तपाईंले थुप्रै फिल्ममा पनि काम गर्नुभएको छ। फिल्ममा हिरोलाई निरन्तरता दिइन्छ तर हिरोइन चाहिँ प्रत्येक पल्ट नयाँ खोजिन्छ। यस्तो किन गरिन्छ होला ?

यो पुरुषवादी मानसिकताको उपज हो। फिल्म निर्माता, निर्देशक भन्नुहुन्छ– हिरोइनका लागि सजिलो केटी चाहियो। सजिलो भनेको के हो ? सजिलो अभिनय गर्नेमा हो कि ? समयमा काममा आउने हो कि ? अनुचित कुरामा पनि ‘एस’ भन्ने हो ? अनुभवी हिरोइनले राम्रो स्क्रिप्ट हेर्छे, राम्रो पारिश्रमिक दाबी गर्छे, नचाहिने कुरामा अडान लिन्छे भन्ने डर उहाँहरूमा हुन्छ। अनमोल केसी दोहोरिँदा पनि हुने तर उसका लागि नयाँ–नयाँ हिरोइन नै खोज्नुपर्ने ? यो मानसिकता रंगमञ्चमा पनि बाँकी नै छ। नाटकको मुख्य पात्र पुरुष नै हुनुपर्छ। कलाकारको नाम लेख्दा केटा नयाँ भए पनि अगाडि लेखिन्छ, केटी सिनियर भए पनि पछाडि लेखिन्छ। 

आफूले गरेकामध्ये तपाईंलाई मन पर्ने नाटक र पात्र ?

थिएटरमा काम गर्नेले एउटा पात्रका लागि महिनौँ रिहर्सल गर्नुपर्छ। पात्रकै ‘ह्याङओभर’ले छुन्छ। आफूलाई पात्रको दुनियाँमा समाहित गर्नुपर्छ। हरेक नाटक र पात्रमा गरिने मेहनत उस्तै हुन्छ। त्यसैले आफूले गरेको हरेक नाटक र पात्रको उस्तै माया लाग्छ। नाटक ‘चरनदास चोर’मा मैले मुख्य पात्र ‘रानी’को भूमिका गरेँ। त्यो क्यारेक्टर मेरा लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो। ‘डिग्री माइला’, ‘एन्टिगोनी’ पनि मलाई मन पर्ने नाटक हुन्। युग पाठकले लेखेको नाटक ‘युमा’ निर्देशन गर्ने अवसर पाएँ। त्यसमा मुख्य भूमिकामा अभिनय पनि गरेकी छु।

कुनै दिन राजनीतिमा आउने योजना छ कि ? 

राजनीति मैले गरी खाने पेशा होइन। तर, राजनीतिक घटनाक्रमसँग ‘अपडेटेड’ चाहिँ भइराख्छु। 

एउटा अन्तर्वार्तामा तपाईंले ‘स्ट्रङ पोलिटिसिएन’को भूमिका गर्ने इच्छा जाहेर गर्नुभएको थियो नि ? 

हरेक फिल्म, नाटकमा माया–प्रेमकै कुरा आउनुपर्छ भन्ने छैन। कथा माया–प्रेमका मात्रै हुँदैनन्। नेपालका हरेक राजनीतिक आन्दोलनमा महिलाको भूमिका पुरुषको भन्दा कुनै पनि मानेमा कम छैन। राजनीतिमा महिलाहरूले पनि धेरै योगदान पु¥याएका छन्। उनीहरूबारे पनि फिल्म बनाउन सकिन्छ। त्यस्तो भूमिकामा म काम गर्न चाहन्छु भन्ने खोजेको हो।

त्यस्ता पात्रलाई लिएर नाटक, फिल्म चाहिँ किन बन्दैनन् ?  

हामीकहाँ रमाइलो पात्र मात्रै खोजिन्छ। मान्छेहरूलाई हाँस्न एकदमै मन पर्छ। गम्भीरभन्दा चटपटे कुरामा रमाउने हाम्रो स्वभाव छ। यस्तो ठाउँमा निर्माता, निर्देशक जोखिम लिन चाहँदैनन्। 

फिल्म र नाटक दुवैमा सक्रिय हुनुहुन्छ ? कसलाई बढी प्राथमिकता दिनुहुन्छ ? 

म अझै पनि ‘हिरोइनभित्र पर्छु कि पर्दिनँ’ भन्ने कुरामा ‘कन्फ्युज्ड’ छु। म कलाकार हुँ। काममा फिल्म वा नाटक भन्दिनँ। चित्तबुझ्दो काम भए फिल्म या नाटक जुनमा भए पनि गर्छु। तर, मेरो आधार चाहिँ रंगमञ्च हो। 

रंगमञ्चले सिनेमालाई चाहिएजति कलाकार दिएको छ ? 

सिनेमाले रंगमञ्चबाट कलाकार खोजकै छैन। नभई नहुने भयो भने मात्रै उहाँहरू रंगमञ्चमा कलाकार खोज्न आउनुहुन्छ। अहिले पनि राम्रो अभिनय गर्ने होइन, ‘डमी’ हिरोइन खोजिन्छ। 

काम कत्तिको पाइरहनुभएको छ ? 

नाटकमा काम गरिरहेकी छु। फिल्म चाहिँ वर्षमा दुइटाभन्दा बढीमा काम गर्न मन लाग्दैन। 

महिला र जनजातिको इस्यूमा तपाईंको योगदान के रहन्छ ? 

महिला भएकाले निश्चित रूपमा महिलाका इस्यू ल्याउँछु। जनजाति समुदायकी भएकाले त्यहाँको कथा, व्यथा राम्ररी बुझ्छु। तिनलाई रंगमञ्चमा ल्याउने प्रयास गर्छु।

तपाईको कमेन्ट