‘बाटोको कुरै नगरम्’

writer

सम्पूर्ण

सोमबार, १८ कार्तिक २०७६


काठमाडौँ–हेलम्बु बा.२ ख ६२५५ विजय तामाङ, चालक ।

मेरो घर पाँचखाल, काभ्रे  हो। सात वर्ष भयो गाडी लाइनमा लागेको। चार वर्षजति अर्काको गाडीमा सहचालक भएर काम गरेँ। त्यसपछि मात्र चालक भएँ। सात कक्षासम्म पढेको छु। घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर गाडीमा काम गर्न थालेको हुँ। मेरा केही साथी गाडी लाइनमा थिए। उनीहरूकै सहयोगले यो काम गर्ने मौका पाएँ। 

बाटोको बिजोक 

हेलम्बुसम्म गाडी लैजान साह्रै गाह्रो छ। बाटोको कुरै नगरम्, खत्तम छ। अर्काे गाडीलाई साइड दिने जति पनि ठाउँ छैन। पानी पर्‍यो भने त गाडी जाँदै जान्न। जसोतसो गाडी गन्तव्यसम्म पुर्‍याइन्छ। भोलिपल्ट फर्कने दिनमा पानी पर्‍यो भने त्यहीँ बास बस्नुपर्ने अवस्था आउँछ। बाटोका कारण हामीले एकदमै दुःख पाएका छौँ।

मन पर्छ नेपाली गीत 

गाडी चलाउँदा गीत साथीजस्तै लाग्छ। मलाई नेपाली गीत एकदमै मन पर्छन्। प्रायः गाडीमा नेपाली गीत नै बजाउँछु। गीतको तालमा गाडी चलाउन रमाइलो लाग्छ। कहिलेकाहीँ यात्रुको रोजाइका गीत–संगीत बजाउने गर्छु। नेपाली आधुनिक गीत मन पर्छन्। गीत सुन्दै गाडी चलाउँदा बिग्रेको बाटो सजिलै कटेजस्तो लाग्छ। 

काममै रमाइलो 

ड्राइभिङ मेरो जीवनको अभिन्न अंग भइसकेको छ। गरिखाने भाँडो नै यही हो। बसमा हरेक दिन फरक–फरक खालका यात्रीसँग भेट हुन्छ। सुरुताका एउटै रुटमा सधैैैैँ गाडी चलाउँदा दिक्क लाग्थ्यो। अहिले सबै बाटो चिनेर होला, आफ्नैजस्तो लाग्छ। गाडीको कमाइबाट परिवार पाल्न पुगेको छ। जीउमा बल हुँदासम्म गाडी नै चलाउनेछु।

दशैँमा चार दिन बिदा

गाडी रिजर्भ हुँदा धेरै ठाउँ घुमेको छु। मुस्ताङ जाने ठूलो रहर छ। तर, जाने मौका जुरेको छैन। जीवनमा एक पटक समय मिलाएर मुस्ताङ घुम्न जानेछु। रिजर्भ पर्‍यो भने गइन्छ। रिजर्भ भएन भने पनि आफैँ घुम्न जानेछु। दशैँमा चार दिन बिदा बसियो। यो चार दिन गाडी चलाउन मन पनि लाग्दैन। हाम्रो बिदा तलबी हो। तिहारमा पनि दुई दिन बिदा हुने गर्छ। 

गाडी चलाउँदा सबैतिर आँखा लगाउनुपर्ने हुन्छ। दायाँ–बायाँ दिमाग लगाउनु हुँदैन। बाटोमा विभिन्न किसिमका दुर्घटना देख्दा मन आत्तिन्छ। त्यसैले एकदमै संयमित भएर गाडी चलाउँछु। चनाखो पनि त्यति नै हुनुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार