सेलप्रेमी सेलिब्रिटी

writer

सम्पूर्ण

शुक्रबार, ०८ कार्तिक २०७६


सुनीता दुलाल, गायिका

मलाई मन पर्ने खानेकुरामध्ये सेलेरोटी पनि हो। यसपालि दशैँमा ममीलाई सेल बनाउन लगाएर खूब खाएँ। मासुभन्दा बढी सेल खाएँ। अहिलेसम्म सेल बनाउने कोसिस गरेकी छैन। घरमा मबाहेक सबैलाई सेल पकाउन आउँछ। सिक्दा तातो तेलले पोल्छ भन्ने डरले लाग्छ। त्यसैले अहिलेसम्म बनाउने कोसिस गरेकी छैन। मलाई घिउ र सक्खर राखेर बनाएको सेल एकदमै मीठो लाग्छ। 

राधा लम्साल, कलाकार

सधैँ आफैँ सेल बनाएर तिहारमा दाजुभाइलाई खुवाउने गरेकी छु। सानै उमेरदेखि सेल बनाउन च्याम्पियन थिएँ। मलाई सानोमा आमाले सिकाउनुभएको थियो।  पकाउन सिक्दा धेरै पटक हात पोलेकी छु। तर, पनि सिक्न रहर लागेर सिकेँ। एकदमै राम्रो पकाउन नजाने पनि तिहारमा बजारबाट किनेर ल्याउने गरेकी छैन। आफैँ बनाउँछु। 

कोमल वली, गायिका

सानैदेखि सेल पकाउँथेँ। पहिला–पहिला तिहारमा आफैँ सेल पकाउँथेँ। मैले बनाएको सेलको सबैले प्रशंसा गर्थे। अहिले व्यस्तताका कारण बनाउन पाएकी छैन। चारपाँच वर्ष भयो मैले तिहारमा सेल पकाएकी छैन। सेल पकाउन मात्र होइन, खान पनि त्यति नै मन पर्छ। पकाएकै दिनभन्दा एकदुई दिन पछि चियासँग सेल खाँदा खूब मज्जा आउँछ।

सुवेक्षा खड्का, अभिनेत्री 

एक पटक सेल पकाउन सिक्ने कोसिस गरेकी थिएँ। तर, तातो तेलको छिटाले हात पोल्यो। त्यहाँदेखि सिक्ने कोसिस गरिनँ। तिहारमा ममीले सधैँ सेलरोटी बनाउनुहुन्छ। बनाएको हेर्न रमाइलो लाग्छ तर आफूलाई बनाउन डर लाग्छ र्।  ममीले बनाएको सेल एकदमै मन पर्छ। बनाउनेबित्तिकै तातो सेल धेरै खान्छु। 

वर्षा शिवाकोटी, अभिनेत्री

सेल पकाउन आउँदैन तर खान मीठो लाग्छ। घरमा ममीले सेल पकाउनुहुन्छ। पकाएको हेर्न रमाइलो लाग्छ। तर, आफूले पकाउन सिकेकी छैन। सधैँ ममीले नै बनाउनुहुन्छ, आजसम्म मैले बनाउनुपरेको छैन। त्यसैले सिक्न मन पनि लाग्दैन। ममीले पकाएको सेल खान एकदमै मीठो लाग्छ। 

लक्ष्मी गिरी, कलाकार

बिहे भएदेखि सधैँ घरमा सेल म नै बनाउँछु। सेल बनाउन सानोमै आमासँग सिकेकी थिएँ। बिहे नगर्दा बनाएकी थिइनँ तर अहिले बनाउँछु। पहिलो पटक बनाउँदा राम्रो बनेको थिएन। मैले पकाएको सेलको आकार देखेर घरमा सबै हाँसेका थिए। अहिले पहिलाभन्दा राम्रो पकाउँछु। घरका सदस्य मैले पकाएको सेल मीठो मानेर खान्छन्। 

नन्दिता केसी, अभिनेत्री

राम्रो सेल पकाउन त आउँदैन तर घरमा खान हुन सक्ने बनाउन सक्छु। घरमा ममीले पिठो ठिक्क बनाइदिनुभयो भने ममीसँगै बसेर सेल पकाउने गरेकी छु। एकदमै राम्रो गोलो बनाउँदा हात पोल्छ भन्ने डर लाग्छ। मैले बनाएको सेल बांगो र टेढो हुन्छ। 

नीता ढुंगाना, अभिनेत्री

सेल बनाउन आउँदैन। आजसम्म मैले कोसिस पनि गरेकी छैन। सानो बेलामा घरमा सेल बनाउँदा हेर्न रमाइलो लाग्थ्यो। सिक्छु भन्दा सानै भनेर सिक्न दिनुभएन। ठूलो भएपछि खासै वास्ता भएन। तर, सेल खान मीठो लाग्छ। 

केकी अधिकारी, अभिनेत्री 

सेल भएन भने तिहारै अधुरो लाग्छ। सेल बनाउन आउँदैन। तर, खान मीठो लाग्छ। सानो बेलामा एक पटक सेल पकाउने कोसिस गरेकी थिएँ। सेलको पिठो सबै भुइँमा पोखियो। त्यसपछि कहिल्यै कोसिस गरिएन।

सुरबिना  कार्की, अभिनेत्री 

सेल साह्रै मन पर्छ। तर, पकाउन आउँदैन। पकाएको दिनभन्दा दुईतीन दिनपछि खाँदा खूब मीठो लाग्छ। चियासँग खान मन पराउँछु। पकाएको दिनको एकदमै चिल्लो हुन्छ। त्यति खान मन लाग्दैन। पछि–पछि चिल्लो कम हुँदै जान्छ। बासी सेल मीठो लाग्छ। 

प्रस्तुतिः मेनुका 

तपाईको कमेन्ट

मुख्य समाचार