तिहार महिमा

writer

डा. वासुदेवकृष्ण शास्त्री

शुक्रबार, ०८ कार्तिक २०७६


कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण  गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो।

कागपूजा

यमपञ्चकको पहिलो दिन बिहान घरलाई रातो माटोले लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधानअनुसार यमदूतका रूपमा कागको पूजा गरिन्छ, कागलाई मीठो लाग्ने खानेकुरा दिइन्छ। कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छी मानिन्छ। पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रको वक्ता कागलाई मानिएको छ। हिन्दू धर्मावलम्बीले ‘वसुधैव कुटुम्बकम्’को भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै कागको पूजा गर्छन्। भगवान् विष्णुको वाहन गरुड, लक्ष्मीको वाहन लाटोकोसेरो, सरस्वतीको वाहन हंश, कार्तिकेयको वाहन मयुर र यमको दूत कागलाई मान्ने गरिन्छ। पौराणिक रूपमा मात्र नभएर कागले सामाजिक रूपमा पनि घरगाउँमा रहेका कतिपय फोहोरमैला खाएर वातावरण सफा गर्ने गर्छन्। पितृकार्यमा पनि मान्छेको देहावसान भएपछि अनिवार्य रूपमा कागबली (खाना) दिने विधान छ। पौराणिक रूपमा काग भुसुण्डी नामक ऋषि प्रसिद्ध भएको र रामायणको कथा सुनाएको प्रसंग पनि अवगत हुन आउँछ। यही दिन भगवान धन्वन्तरीको प्रादुर्भाव भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारसामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्य तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ। त्यो घरमा कहिले पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। यस दिन बिहानै तेल लगाएर अवमार्ग आदिको प्रयोग गरी स्नान गर्नुपर्छ। आफ्ना पितृलाई सम्झेर नदी, तलाउ आदिमा दीप प्रवाह गर्ने विधान पनि छ। आफ्नो कुलोचित तर्पणादि समाप्त गरी कुकुर पूजा गर्नुपर्छ। कुकुरलाई पनि यमराजको दूत र भैरवजीको वाहनका रूपमा लिने गरिन्छ। स्याव र शबल नाम गरेका कुकुरको जन्म वैवश्वत कुलमा भएको पौराणिक प्रमाण छ। यो आधारमा पनि मानव र कुकुरको सम्बन्ध निकट रहेको देखिन्छ। सनातन हिन्दू धर्मावलम्बीले यस बफादार प्राणीको सम्मान गर्दै यमपञ्चकअन्तर्गत पूजा गर्ने र श्रद्धाभाव प्रकट गर्ने गर्छन्। कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ। कुकुरको सामाजिक महत्त्व पनि छ। प्राणीहरूमा अत्यन्त तीव्र घ्राण शक्ति भएको चौपाया कुकुर हो। कुकुरको सहयोगले ठूलठूला अपराधीहरूलाई पत्ता लगाउने गरिन्छ। यो प्राणी आफ्नो स्वामीप्रति सधैँ उत्तरदायी रहन्छ। धेरै खाने मांसभक्षी जनावर भए पनि थोरैमा पनि सन्तुष्ट हुने स्वभाव पाइन्छ। कुकुर तिहारले मानिसलाई आफ्ना स्वामी (ईश्वर) प्रति सधैँ बफादार रहने, सधैँ चतुर रहने सामाजिक दायित्वबोध गराउँछ।

लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिन अमावश्यालाई लक्ष्मीपूजा वा गाईतिहारे औँसी पनि भनिन्छ। मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरूप हुन्छन्– दुर्भाग्य लक्ष्मी र सौभाग्य लक्ष्मी। औँशीको दिन (लक्ष्मीपूजा) बिहान घरलाई लिपपोत गरी सफा–सुग्घर भएर नित्यकर्म गरी दुर्भाग्य लक्ष्मीको प्रार्थना गरिन्छ। दुर्भाग्य लक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पूजा गर्नुपर्छ। कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकोले पहिले दुर्भाग्यलाई हटाई सौभाग्य वृद्धिका लागि सौभाग्य लक्ष्मीको पूजा गर्नुपर्छ। त्यसपछि धनधान्यकी देवी लक्ष्मी र ऋद्धिसिद्धिले युक्त भएका भगवान् गणेश, कुबेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्छ। गाईलाई लक्ष्मीको रूप मानी तेत्तीस कोटी देवता गाईको शरीरमा रहने भएकाले गाईको पूजाले सम्पूर्ण तेत्तीस कोटी देवताको पूजा भएको मानिन्छ। यसरी पूजा गरिसकेपछि मीठो घाँस, कुँडो, रोटी, पसाएको हरियो धान आदि खुवाउने गरिन्छ। यही दिन सन्ध्याकालमा कुबेर, इन्द्र, धनसम्पत्ति आदिको पूजा गरी दीपावली गर्ने गरिन्छ। स्थिरलक्ष्मी, यश, कीर्ति, ऐश्वर्य, उन्नति प्राप्तिका लागि सन्ध्याकालमा कोठा, चोटा, प्रांगण, जलाशय, गौशाला आदिमा बत्ती बाल्ने गरिन्छ। गाईलाई हिन्दू धर्मावलम्वीले माताका रूपमा सम्मान प्रकट गर्छन्। गाईले दूध पान गराएर मानिसको शरीरलाई हृष्टपुष्ट गराउँछिन्। गोमूत्र पान गरी आन्तरिक बाथ, कफ, पित्त आदि रोग निवारण हुने गर्छ। गौदुग्धलाई अमृत मानिन्छ। त्यस्तै घिउलाई आयुर्वेदमा घृतम् भनिन्छ। बाँचुञ्जेल जीवनदायिनी शक्तिको रूपमा गोरसपान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराको रूपमा गाईलाई हिन्दू धर्मले सम्मानपूर्वक विशिष्ट स्थान दिएको छ। त्यसैले गाईलाई माताका रूपमा, लक्ष्मीका रूपमा र हाम्रो देशमा राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिएको छ। यसै दिन साँझमा महाकालीको पूजा पनि गरिन्छ। नयाँ बहीखातामा, सरस्वतीको तथा धनियाँ, सुठो, कौडा, कमलगट्टा, भोजपत्र आदिमा लक्ष्मीको स्थापना गरी पूजा गरिन्छ। 

गोवद्र्धन पूजा

यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिनलाई गोवद्र्धनपूजा अर्थात् गोरु तिहार भनिन्छ। यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोबरले गोवद्र्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्नुपर्छ। गोवद्र्धनपूजाबारे कृष्ण चरित्र भागवत्मा विस्तृत चर्चा गरिएको पाइन्छ। सनातन आर्य जातिले गाईलाई विशेष महत्त्व दिएर माता भनेर सम्मान गर्ने हुनाले तिनीहरूको चरन, घाँसपात प्रदान गर्ने क्षेत्र वा प्रकृतिलाई नै गोवद्र्धनका रूपमा पूजा गरिएको, संरक्षण गरिएको अवगत हुन आउँछ। यसै दिन सत्यवादी बलिको पूजा पनि गर्ने विधान रहेको छ। अमावश्याको दिन साँझदेखि भोलिपल्ट बिहानसम्म चेलीबेटी आपसमा भेला भई घर–घरमा भैलो खेल्छन्। गोवद्र्धनपूजाको दिन र यम द्वितीयाको दिन दाजुभाइ मिलेर देउसी खेल्ने प्रचलन छ। गाउँघरमा लिंगे पिङ हाली रमाइलो गर्ने, ऋतुराज अनुजका रूपमा शारदीय समयमा वसन्त ऋतुझैँ पुष्प फुल्ने, खेतबारीमा अन्नबाली लहलह लहराउने, बाटाघाटा सफा र स्वच्छ रहने हुनाले अति नै सुन्दर समयमा यो पूजा या गोवद्र्धन उत्सव गरिन्छ।

भाइटीका

यमपञ्चकको पाँचौँ दिनलाई भाइटीका अर्थात् भातृद्वितीया भनिन्छ। यस दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ। बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ। त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन रहेको छ। यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ।

दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार दक्षिणा, उपहार दिने प्रचलन छ। यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, गौ, लक्ष्मी गोवद्र्धन र भाइपूजा गरी पशुपक्षीलगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्य, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।

हाम्रा पर्व संसारभरि फैलिएका छन्। सुमात्रादेखि हिन्द एसिया ब्रह्मदेश (बर्मा)देखि अजरबैजानको बाकुसम्म ज्योति र फूलैफूलको पर्व, रंगीबिरंगी सप्तरंगी पर्वको रूपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई फैलाइएको छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि