सीतारामको ‘स्विट’ तिहार

writer

सम्पूर्ण

शुक्रबार, ०८ कार्तिक २०७६


गत वर्ष हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो फेसबुक पृष्ठमा तिहारको टीका लगाएको तस्बिर सार्वजनिक गरे। तीन दाजुभाइ र दुई दिदीबहिनीले एउटै किसिमको पोशाकमा सजिएर भाइटीका मनाएका थिए। सीताराम भन्छन्, ‘विगतका वर्षमा मैले थुप्रै भाइटीका छुटाएँ। तर, केही वर्षयता जस्तोसुकै व्यस्ततामा पनि तिहारका निम्ति समय निकाल्छु। तिहार ‘स्विट’ पर्व हो।’

सीतारामका दुई भाइ छन्। उनी जेठा हुन्। माइला भाइ कुमार कट्टेल ‘जिग्री’ र कान्छा भाइ प्रकाश कट्टेल पनि कलाकारिता क्षेत्रमा छन्। उनका दुई बहिनी छन्, शान्ता आचार्य र पुष्पा कट्टेल। 

‘अन्य समयमा सबै जनाको एकसाथ जमघट गर्ने समय नमिले पनि तिहारको समयमा भने सबैले समय मिलाउँछौँ,’ सीताराम भन्छन्। तिहारको टीका जेठी बहिनीको ललितपुर, बालकुमारीस्थित घरमा मनाउने गरेको उनी बताउँछन्।

आफूले कलाकारिता सुरु गर्दाको समयमा संघर्ष गरिरहेका थिए, सीताराम। त्यति बेला थुप्रै तिहार छुटाए। चाहेर पनि भाइटीकामा सरिक हुन पाउँदैन थिए। भन्छन्, ‘कलाकारिता सुरु गर्दा मैले समय मिलाउन सक्दिनँ थिए। संघर्ष चलिरहेको थियो। तर, अहिले भने तिहारको समयमा कतै कार्यक्रम पर्‍यो भने पनि त्यसलाई क्यान्सिल गरेर भाइबहिनीसँग तिहार मनाउँछु।’ विगतमा घरपरिवारलाई चाडबाडमा आफू नजाँदा निकै नराम्रो लाग्ने गरेको सम्झिन्छन् उनी। भन्छन्, ‘अहिले जस्तोसुकै व्यस्त समय भए पनि चाडको बेलामा समय मिलाउछु।’

बाल्यकालमा जस्तै अहिले पनि आफू तिहारमा निकै रम्ने गरेको बताउँछन्, सीताराम। भन्छन्, ‘अहिले हामी दाजुभाइ–दिदीबहिनी रम्ने चाड भनेकै तिहार हो।’ तिहारको समयमा उनी आफ्नो बाल्यकाल पनि निकै ‘मिस’ गर्छन्। भन्छन्, ‘बाल्यकालमा बहिनीको हातबाट टीका लगाइन्थ्यो। टीकाको अघिल्लो दिन देउसी खेलेर बहिनीलाई दिन पैसा जम्मा गरिन्थ्यो। राति कसैले ढोका नखोले, कसैले पैसा कम दिए उनीहरूलाई ‘अझै धेरै देऊ’ भन्दै चिच्याउँदै भट्याएको पनि उनलाई याद छ।’ उबेला लंगुरबुर्जा खेलेर पनि बहिनीहरूलाई दिने पैसा जम्मा गरेको सीताराम सम्झन्छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि