नेपाल संवत्बारे  बेखबर नेवार युवा

writer

युवराज भट्टराई

शुक्रबार, ०८ कार्तिक २०७६


‘सबैभन्दा सुरुमा आफ्नै भाषाको ज्ञान नभएपछि संस्कृति र परम्पराबारे पनि युवालाई बुझ्न कठिन हुन्छ।’      –अभय श्रेष्ठ, लेखक  

ब्रेकर २ः ‘नेपाल संवत्सम्बन्धी कार्यक्रममा युवा पुस्ताको उपस्थिति बाक्लो हुँदै गएको छ तर यो पर्याप्त छैन।’          –सुरेश किरण, कवि  

काठमाडौँ, जडीबुटीकी सुस्मिता श्रेष्ठ (२१) लाई अहिले कति औँ नेपाल संवत् चलिरहेको छ, थाहा छैन। आफू नेवार भए पनि नेपाल संवत्बारे जानकारी नभएको बताउँछिन्। भन्छिन्, ‘घरमा पनि ममी–बाबाले यी कुराबारे भन्नु हुँदैन। मलाई केही पनि थाहा छैन।’ भक्तपुर, सूर्यविनायकका सम्राट श्रीमन श्रेष्ठ (२०) लाई भने अहिले नेपाल संवत् ११४० हो भन्ने जानकारी छ। ‘नेपाल संवत् कति हो भन्ने त थाहा छ,’ उनी भन्छन्, ‘तर, यसलाई किन मनाइन्छ भन्नेबारे मलाई थाहा छैन।’ त्यसै गरी, भक्तपुर, सरस्वतीखेलका अमृत खड्की (२२) आफूलाई नेपाल संवत्बारे त्यति जानकारी नभएको बताउँछन्। भन्छन्, ‘नेपाल संवत् मनाउन त मनाउने गरेको छु। साथीभाइसँग रमाइलो गरेर मनाइन्छ। तर, यसलाई किन मनाइन्छ, यसको इतिहास के हो भन्नेबारे चाहिँ थाहा छैन।’

नेवार युवा पुस्तालाई नेपाल संवत्को जानकारी कम भएको देखिन्छ। भक्तपुर, च्याम्हसिंहकी अञ्जु महर्जन (२४) आफूलाई नेपाल संवत्बारे केही पनि थाहा नभएको बताउँछिन्। भन्छिन्, ‘तिहारको समयमा नेपाल संवत् सुरु हुन्छ भन्ने थाहा छ। त्यसबाहेक केही पनि थाहा छैन।’ युवाहरू अभिभावकले नबताएकाले आफूलाई थाहा नभएको तर्क गर्छन्। 

भक्तपुर, बोडेका अभिषेक श्रेष्ठ (२३) नेपाल संवत् शंखधर साख्वाःको पालाबाट चलेको चलन भन्ने थाहा भएको बताउँछन्। भन्छन्, ‘उनले जनतामाथि लागेको ऋण तिरिदिएपछि यो संवत् प्रचलनमा आएको भन्ने थाहा छ।’ 

ललितपुर, पुल्चोकका प्रतीक प्रधान (२६) आफूले केही वर्षयता नेपाल संवत्को नयाँ वर्षमा साथीभाइ मिलेर कार्यक्रम गरी मनाउँदै आएको बताउँछन्। ‘कहिलेबाट र किन मनाइयो त त्यति धेरै जानकारी छैन,’ उनी भन्छन्, ‘तर, नेवारको संस्कृति हो भन्ने थाहा छ। क्लबहरूले कार्यक्रम आयोजना गर्छन्। मोटरसाइकल र्‍याली गर्छन्। यस्ता कार्यक्रममा सहभागी भएर नेपाल संवत् मनाइन्छ।’ 

पछिल्लो पुस्तालाई नेपाल संवत् र यससँग जोडिएको संस्कृतिबारे ज्ञान नभएको कुरा सत्य भएको साहित्यकार तथा पत्रकार अभय श्रेष्ठ स्विकार्छन्। आफ्नो बाल्यकालमा पनि नेपाल संवत् र यसको संस्कृति लोप हुने क्रममा भएको सम्झन्छन् उनी। भन्छन्, ‘म हुर्किंदा नै नेपाल संवत्को संस्कृति लोप हुने स्थितिमा थियो। अहिले आएर केही मात्रामा भए पनि आफ्नो संस्कृतिमाथि मानिसको ध्यान गएको देखिन्छ। तर, पनि अझै पर्याप्त काम भएको छैन।’ 

नेपाल संवत्को संस्कृतिलाई लिएर अभियन्ताका रूपमा काम गरिरहेका कवि तथा पत्रकार सुरेश किरण पनि पछिल्लो पुस्ताले नेपाल संवत्मा ध्यान दिए पनि पर्याप्त उपस्थिति भने नदेखिएको बताउँछन्। भन्छन्, ‘नेपाल संवत्सम्बन्धी कार्यक्रममा युवा पुस्ताको उपस्थिति बाक्लो हुँदै गएको छ तर यो संख्या पर्याप्त छैन। उनीहरूलाई अझै पनि यसतर्फ आकर्षण गर्न सकिएको छैन।’

नेपाल संवत्लाई नेवार समुदायमा ‘स्वतन्त्रता दिवस’का रूपमा हेरिन्छ। पत्रकार किरणका अनुसार आजभन्दा ११४० वर्षअघि शंखधर साख्वाःले जनताको ऋृण तिरेपछि नेपाल संवत् सुरु भएको बताउँछन्। भन्छन्, ‘त्यो बेला भक्तपुरका जनतालाई साहू–महाजनको निकै ऋण लागेको थियो। शंखधर साख्वाः नामका व्यापारीले उनीहरूको ऋण तिरेपछि नयाँ युग सुरु भएको भन्दै नेपाल संवत् मनाउन सुरु गरिएको हो।’ 

किंवदन्तीअनुसार शंखधर साख्वाःले खोलाको बालुवा बोरामा भरेर ल्याएका थिए। पछि त्यही बालुवा सुन भएपछि सुन बेचेर उनले जनताको ऋण तिरेर उनीहरूलाई ऋणमुक्त बनाएका थिए। सोही दिनलाई नेवार समुदायले नयाँ युगको प्रारम्भका रूपमा लिएर नेपाल संवत् सुरु गरेको थियो। 

युवा पुस्तालाई भने यो किंवदन्तीबारे पर्याप्त जानकारी नभएको देखिन्छ। केहीलाई नेपाल संवत्कै बारे थाहा छैन भने थाहा हुनेलाई पनि पर्याप्त जानकारी नभएको पाइन्छ। यस्तो हुनुमा लेखक अभय श्रेष्ठ राज्यलाई जिम्मेवार ठहराउँछन्। ‘राज्यले नै पनि अन्य संस्कृतिलाई खसआर्यकरण गर्न खोज्यो,’ श्रेष्ठ भन्छन्, ‘अर्कातिर, नेवार समुदायमै पनि संस्कृतिलाइ लिएर कामहरू भएनन्। नयाँ पुस्तालाई यसतर्फ आकर्षण गर्र्न कसैको पनि ध्यान गएन।’ आफू बस्ने नेवार बस्तीमा युवा पुस्ताका कमैले मात्र नेपाल भाषा बोल्ने उनी बताउँछन्। भन्छन्, ‘सबैभन्दा सुरुमा आफ्नै भाषाको ज्ञान नभएपछि संस्कृति र परम्पराबारे पनि युवाहरूलाई बुझ्न कठिन हुन्छ।’ 

पत्रकार किरण भने युवा पुस्ता हिजोभन्दा आज केही मात्रामा नेपाल संवत्सँग जोडिएको परम्परातर्फ आकर्षित भएको बताउँछन्। ‘परम्परागत रूपमा चलिआएको चलनतर्फ युवा पुस्तालाई उनीहरूकै शैलीमा आकर्षण गरिएको छ,’ उनी भन्छन्, ‘मोटरसाइक र्‍याली, सांगीतिक कार्यक्रमजस्ता युवाकेन्द्रित कार्यक्रम गरेर उनीहरूलाई यसतर्फ आकर्षित गर्न खोजिएको छ।’ 

स्वन्ती नखः

अहिले नेवार समुदायमा पनि तिहार अर्थात् पाँचै दिन गरेर यमपञ्चक मनाउने चलन चलेको देखिन्छ। तर, नेपाल संवत्का अनुसार भने नेवार समुदायमा तिहार रहेको भेटिँदैन। लेखक श्रेष्ठ भन्छन्, ‘खसआर्य जातिले तिहार मनाएजस्तै नेवार समुदायले स्वन्ती नखः मनाउनुपर्ने हो। तर, त्यो चलन बिरलै भेटिन्छ ।’

तिहार पाँच दिन मनाइन्छ भने स्वन्ती नखः तीन दिन मात्रै मनाइन्छ। हिन्दू संस्कृतिअनुसार तिहार मनाइँदा काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोरु पूजा र भाइटीका गरी पाँच दिन यमपञ्चक मनाइन्छ। तर, नेपाल संवत्अनुसार मनाउँदा भने स्वन्ती नखःमा काग तिहार र कुकुर तिहार हुँदैनन्। श्रेष्ठ भन्छन्, ‘अहिले नेवार समुदायमा पनि यी दुई दिन मनाइँदै आएको भेटिन्छ।’ लक्ष्मी पूजाबाट भाइटीकासम्मको दिनलाई मात्रै मनाउँदा नेपाल संवत्अनुसार म्हपूजा गरिन्छ। म्हपूजाको अर्थ आफ्नै आत्माको पुजा हो। ‘बीचमा कतै लोप भएजस्तो देखिए पनि पछिल्लो समयमा म्हपूजा मनाउने चलन चल्दै आएको छ,’ श्रेष्ठ भन्छन्। 

नेपाली संस्कृतिमा रहेका चाडहरू नेपाल संवत्अनुसार रहेको बताउँछन्, पत्रकार सुरेश किरण। कानुनी रूपमा नभए पनि सांस्कृतिक रूपमा भने चाडबाडको समय नेपाल संवत्अनुसार हुने गरेको उनी बताउँछन्। भन्छन्, ‘नेपालीले मनाउने सबैजसो चाड नेपाल संवत्अनुसार रहेका छन्। नेवार सभ्यताअनुसार खेतीपाती भेला पारिसकेपछि नयाँ समय सुरु भएको रूपमा नेपाल संवत्लाई मनाइन थालिएको हो।’ नेपाल संवत्ले चाडबाडसँगै नेवार समुदायमा नयाँ वर्षको सुरुवात भएको संकेत पनि गर्ने उनी बताउँछन्। भन्छन्, ‘शंखधर साख्वाःको समयबाट नेपाल संवत् सुरु भएपछि यसै समयमा नयाँ वर्ष पनि मनाउन थालियो। तर, त्योभन्दा अगाडि पनि यो समयलाई नयाँ समयको सुरुवातका रूपमा मनाउने चलन थियो।’

प्रवद्र्धन आवश्यक 

नेपाल संवत्लाई कानुनी रूपमा तिथिमिति राख्ने संवत्का रूपमा प्रयोग गर्ने-नगर्ने भन्ने पाटो एकातिर विवादका रूपमा रहेको छ। तर, सांस्कृतिक रूपमा भने नेपाल नेपाली संस्कृति, नेवार संस्कृतिका लागि निकै महत्त्वपूर्ण रहेको किरण बताउँछन्। भन्छन्, ‘यसले नेपालीको चाडबाड कहिले पर्छ भन्ने देखाउँछ। नेवार समुदायमा त झन् यसको छुट्टै महत्त्व रहेको छ।’ नेपाल संवत्लाई प्रवद्र्धन गर्न जरुरी रहेको किरण ठान्छन्। ‘नेवार समुदायमा रहेका पुराना पुस्ताका मान्छेमा भएको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक छ,’ उनी भन्छन्, ‘उनीहरूलाई आफ्नो संस्कृतितर्फ आकर्षित गरेर मात्रै नेपाल संवत् र योसँग जोडिएको संस्कृतिको जगेर्ना गर्न सकिन्छ। स्कुल–कलेजका पाठ्यक्रममा योसँग जोडिएका कुरालाई राखेर पनि यसको प्रवद्र्धन गर्न आवश्यक छ।’ 

लेखक श्रेष्ठ भने नेपाल संवत्को संस्कृतिलाई पुस्तान्तरण गरिनु आवश्यक रहेको ठान्छन्। भन्छन्, ‘अघिल्लो पुस्ताले नयाँ पुस्तालाई आफ्नो संस्कृतिको पूर्ण ज्ञान दिन आवश्यक छ। नयाँ पुस्ता केन्द्रित भएर आफ्नो संस्कृतिको रक्षा हुनुपर्ने देखिन्छ।’ शंखधर साख्वाः र उनको दानवीर परम्परालाई सम्झनका लागि पनि नेपाल संवत् निकै आवश्यक रहेको उनी बताउँछन्। भन्छन्, ‘ऐतिहासिक तथा सांस्कृतिक रूपमा नै नेपाल संवत् महत्त्वपूर्ण छ। लोप हुँदै गइरहेको नेवार परम्परालाई जोगाउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। युवा पुस्तामा आफ्नो भाषा र संस्कृतिको ज्ञान बढाएर मात्रै यसलाई प्रवद्र्धन गर्न सकिन्छ।’ 

श्रेष्ठ राज्यले हरेक संस्कृतिको सम्मान गर्नुपर्ने र कुनै पनि संस्कृतिमाथि खसआर्य संस्कृतिलाई हाबी गराउन नहुने बताउँछन्। भन्छन्, ‘नेपाल संवत् र नेवार समुदायले मनाउने स्वन्ती नखःलाई खसआर्यकरण गरिँदा अहिलेको पुस्तालाई त्यसको जानकारी नै छैन। त्यसैले राज्यले कुनै पनि संस्कृति, समुदायलाई माथि र अर्कोलाई तल गर्नु हुँदैन। यसले विभिन्न सांस्कृतिक तथा परम्परागत कुरालाई लोप गराउने जोखिम रहन्छ।’ 

नेवार समुदायमा नेपाल भाषाको ज्ञान मात्रै भएमा पनि नेपाल संवत् र यसको संस्कृति जोगिने उनी ठान्छन्। भन्छन्, ‘अहिलेका युवा आफ्नो मातृभाषा बोल्दैनन्। उनीहरूलाई आफ्नो भाषाको मात्रै ज्ञान हुने हो भने पनि आफ्नो संस्कृति, परम्परा लगायतको महत्त्व ज्ञात हुन्छ। यसलाई बचाउनुपर्छ भन्ने चेतको विकास हुन्छ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि