आत्मनिर्भर महिला रोज्दै छन् डिभोर्स

writer

सृजना खड्का

बुधबार, १२ मङि्सर २०७५


नेपाली समाजमा सम्बन्ध विच्छेद दिन प्रतिदिन बढ्दो छ। परिवारहरू विखण्डित भइरहेका छन्। दाम्पत्य जीवन खलबल्याउन जटिल मात्र होइन, सामान्य कारण पनि पर्याप्त हुन थालेका छन्।

वरिष्ठ अधिवक्ता तथा मेलमिलापकर्ता सुनीता रेग्मी पोखरेल भन्छिन्, ‘दालमा नुन नलागेको निहुँदेखि कुटपिट, यौनजन्य हिंसा, एकअर्काप्रति आरोप र प्रत्यारोपसम्मका कारणले धेरै जोडीले दाम्पत्य जीवन अन्त्य गरेका छन्।’ उनले विवाह गरेको २० दिनमै दाम्पत्य टुटाउनेदेखि बिहे भएको २० वर्षपछि सम्बन्ध टुंग्याउने जोडी देखेकी छिन्। 

यौनः प्रमुख कारण 

अधिवक्ता पुन्देवी ‘सुजना’ महर्जनले सम्बन्ध विच्छेदका धेरै घटना हेरेकी छिन्। तीमध्ये एउटा केस उनी जीवनभर भुल्न सक्दिनन्। केही वर्षअघि उनीकहाँ एक जना महिला आइन्। ३५ वर्षकी ती महिला सम्बन्ध विच्छेद गराउन आएकी थिइन्। कारण थियो– ‘ओभर सेक्सुअल एक्सप्लोइटेसन’ अर्थात् अत्यधिक यौन शोषण। ‘उनका श्रीमान् सेक्सुअल रिलेसनमा एकदमै ओभर एक्टिभ थिए,’ महर्जन भन्छिन्, ‘पोर्न फिल्म हेरेर त्यहीअनुसार यौन सम्बन्ध राख्न खोज्थे।’

श्रीमान्बाट यौनहिंसा सहन नसकेर उनी महर्जनकहाँ आएकी थिइन्। उनको सम्बन्ध विच्छेदको कारण त्यति मात्रै थिएन। ‘श्रीमतीको अनुहार हेरेर यौन सम्बन्ध राख्न नरुचाउने ती पुरुषले विभिन्न हिरोइनहरूको मखुण्डो लगाइदिएर यौन सम्बन्ध राख्ने गरेको ती महिलाले बताइन्,’ उनी भन्छिन्, ‘यौन सम्बन्ध राख्न अस्वीकार गर्दा कुटपिट गर्ने गरेको उनले बताएकी थिइन्।’

केही समयको अदालती प्रक्रियापछि उनीहरू दुवै अलग भएका थिए। ‘आश्चर्यलाग्दो कुरा त के छ भने यस्तै केस लिएर मकहाँ एक जना ६० वर्षकी महिला पनि आउनुभएको थियो,’ उनी भन्छिन्, ‘चार जना छोराछोरीकी आमा ती महिला श्रीमान्को यौनजन्य अत्याचार सहन नसकेको भन्दै डिभोर्सका लागि आएकी थिइन्।’ अन्ततः उनको पनि डिभोर्स भएको थियो।

त्यस्तै, २४ वर्षकी एक जना महिला यौन असन्तुष्टिका कारण डिभोर्सका लागि अधिवक्ता महर्जनकहाँ आएकी थिइन्। बिहे भएको १५ दिनमै उनीहरूको सम्बन्ध चिसिएको उनी बताउँछिन्। ‘महिलाले आफ्नो असन्तुष्टि व्यक्त गरेपछि ती पुरुष बाठो भएर विदेश गए,’ महर्जन भन्छिन्, ‘यता उनी भने घरेलु हिंसा र अंश मुद्दा लगाएर बसेकी छिन्।’ 

अधिवक्ता इरादा पहाडी यौनका विषयलाई लिएर टुट्ने सम्बन्धहरू खुलेर बाहिर नआउने बताउँछिन्। ‘यौनका कारण चिसिएको सम्बन्धमा पनि ‘श्रीमान्ले प्रताडित गर्‍यो, खानलाउन दिएन, मानसिक तनाव दियो’ भनेर मुद्दा दर्ता गर्छन्,’ उनी भन्छिन्, ‘यौनको विषयमा हाम्रो समाज अझै उदार छैन।’ अधिवक्ता पहाडीले यस्ता धेरै केस ह्यान्डल गरेकी छिन्।

बाहिरबाट हेर्दा आदर्श लाग्ने जोडीको डिभोर्स भएको उनले नजिकबाट देखेकी छिन्। बिहे भएको छ वर्ष वर्षपछि एक दम्पती उनकोमा आयो। उनीहरूले डिभोर्सको कारण खुलाउन चाहेनन्। काउन्सिलिङका क्रममा यौन असन्तुष्टिको कारण उनीहरू सम्बन्ध टुंग्याउने निर्णयमा पुगेको प्रष्ट भएको पहाडी बताउँछिन्। 

वरिष्ठ अधिवक्ता सुनीता रेग्मी पोखरेललाई हप्तादिनमै सम्बन्ध अन्त्य भएको एक जोडीको केसको अनुभव छ। ‘उनीहरूको मागी विवाह भएको थियो,’ उनी भन्छिन्, ‘बिहेपछि पुरुष समलिंगी भएको थाहा भयो। धेरै चरणको काउन्सिलिङपछि मात्रै उनले आफू समलिंगी भएको स्विकारेका थिए। यसपछि दुवैको सहमतिमा सम्बन्ध टुंगिएको थियो। यस्तो अवस्थामा क्षतिपूर्ति लिएर बिहे बदर गर्नेहरू पनि उत्तिकै छन्।’ 

राष्ट्रिय महिला आयोगकी मनोसामाजिक परामर्शदाता पार्वती सुवेदी यौनको विषयलाई लिएर धेरै महिला र पुरुष डिभोर्सका लागि आउने गरेको बताउँछिन्। ‘धेरै महिलाको समस्या आङ नै सिरिङ्ङ पार्ने खालको हुन्छ,’ उनी भन्छिन्, ‘सुत्केरी भएको हप्ता दिनमै यौन सम्पर्क राख्न कर गरेको श्रीमान्विरुद्ध केस फाइल गर्ने आउने महिला पनि छन्। त्यस्तै, श्रीमती गर्भवती भएको बेलामा श्रीमान्ले अन्यत्र सम्बन्ध राखेका कारण पनि घरबार टुटेका उदाहरण प्रशस्त छन्।’

कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की अध्यक्ष तथा अधिवक्ता अनीता थपलिया वैवाहिक बलात्कारका केसहरू बाहिर आए पनि यौनमा असन्तुष्टिका केस भने बिरलै खुल्ने बताउँछिन्। केही महिनाअघि उनीकहाँ वैवाहिक बलात्कार र सम्बन्ध विच्छेदको केस लिएर एक जना महिला आइन्। ५१ वर्षकी ती महिला श्रीमान्लाई जति बेला मन लाग्यो, त्यति बेला शारीरिक सम्पर्कका लागि तयार हुनुपथ्र्याे।

श्रीमान्ले भनेको नमानेमा ‘कोसँग सल्किस् ?’ भनेर रडाको निकाल्ने गर्थे। ‘तीन जना छोराछोरीको घरजम नहुञ्जेल उनी सहेर बसिन्,’ ल्याक अध्यक्ष थपलिया भन्छिन्, ‘छोराछोरीको बिहेवारी गरेर उनीहरूको थिति बसाइदिइन्। र, आफ्नो बिहे भएको २२ वर्षपछि स्वतन्त्र भएर बाँच्छु भन्दै डिभोर्स गरिन्।’ थपलियाको अनुभव छ– ‘श्रीमान्–श्रीमतीबीच किचेनमा सुरु भएको झगडा बेडरुममा गएर मिल्ला, तर बेडरुमबाट सुरु भएको झगडा कहिलेकाहीँ अदालतले समेत मिलाउन सक्दैन।’

‘ओम शान्ति’ले घरमा अशान्ति

काठमाडौँ, कपनका सन्तोष (नाम परिवर्तन) को दाम्पत्य रथ राम्रैसँग गुड्दै थियो। दुई सन्तान भइसकेका थिए। श्रीमती गृहिणी थिइन् भने उनी व्यापार गर्थे। बाहिरबाट हेर्दा उनीहरूबीच खटपट हुनुपर्ने खासै कारण थिएन।

जब उनकी श्रीमती ‘ओम शान्ति’ आध्यात्मिक अभियानमा लागिन्, उनीहरूबीच खटपट सुरु हुन थाल्यो। सन्तोषका ससुराली पनि ब्रह्मकुमारीका अनुयायी हुन्। ‘श्रीमतीसँगै सासू–ससुरा पनि ओम शान्तिमा लागे,’ सन्तोष भन्छन्, ‘ओम शान्तिले मेरोे घरमा अशान्ति ल्यायो।’ 

‘दाम्पत्य जीवनमा रहेर सन्न्यास अभ्यास गर्न सकिन्छ’ भन्ने मान्यता राख्ने ओम शान्ति अभियानले सन्तोषको घर भने अशान्त भएको छ। उनीहरूबीच औपचारिक रूपमा सम्बन्ध विच्छेद नभए पनि श्रीमान्/श्रीमती एउटै कोठामा नसुतेको सात वर्ष नाघिसक्यो।

‘घरमा हुँदा सामान्य बोलीचाली हुनेबाहेक हाम्रो अरू कुनै सम्बन्ध छैन,’ सन्तोष भन्छन्, ‘बच्चाकै लागि मात्र हामी एउटै घरमा बसिरहेका छौँ। खानपिनदेखि लवाइसम्म केही नमिल्ने भएपछि कानुनी रूपमा मात्र श्रीमान्÷श्रीमती हुनुको के अर्थ रह्यो र ?’ दुवै बच्चा हुर्किएपछि सम्बन्ध विच्छेद गर्ने योजनामा रहेको सन्तोष बताउँछन्। ‘अध्यात्मका नाममा घरबार भाँडिने अवस्था आउनु राम्रो होइन,’ उनी भन्छन्। 

अधिवक्ता पुन्देवी महर्जन दाम्पत्य जीवनमा खलल ल्याउने अर्को प्रमुुख तत्व अध्यात्मलाई मान्छिन्। ओम शान्ति, भक्ति, साधना, राधेराधेजस्ता अभियानले बुढेसकालमा धेरैको दाम्पत्य जीवन टुंगिएको उनी बताउँछिन्। उनको सम्पर्कमा एक जोडी छ, जो अध्यात्मका कारण दाम्पय जीवनमा पूर्णविराम लगाउँदै छ। मागी बिहे गरेका उनीहरूको उमेर ५० वर्षको हाराहारीमा छ। दुई जना छोराछोरी हुर्किसकेका छन्।

पुरुषले महिलालाई पूजाआजामा मात्र लिप्त भएको आरोप लगाउदै डिभोर्सको फाइल दर्ता गरेका छन्। घण्टौँघण्टा घन्टी बजाएर बस्ने र गुरु भनेर ध्यानमा गइरहने भएकाले सम्बन्ध चिसिएको महर्जन बताउँछिन्।

‘श्रीमान्लाई चित्त बुझाउन श्रीमती एक पटक ध्यानमा लगिछिन्,’ उनले भनिन्, ‘गुरु भनेर परपुरुषको खुट्टा ढोगेको भन्दै श्रीमान्ले ‘कि धर्मगुरु छाड् कि मलाई छाड्’ भन्दै श्रीमतीलाई चेतावनी दिए।’ अहिले उनीहरू सम्बन्धमा पूर्णविराम लगाउने अन्तिम तयारीमा छन्।  

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता बद्री पाठक पनि अध्यात्ममा लागेर धेरैको घरबार डामाडोल भएको बताउँछन्। ‘आफू त लाग्छन्, आफूसँगै सम्पत्ति पनि अध्यात्ममै लगाउन खोज्छन्,’ पाठक भन्छन्, ‘५० कटेका दम्पती यसमा धेरै देखिन्छन्। जवानीमा भएको भए उनीहरूलाई दाम्पत्य जीवनमा फर्काउन सकिन्थ्यो। बुढेसकालमा त्यसको सम्भावना न्यून हुन्छ।’  

वरिष्ठ अधिवक्ता तथा मेलमिलापकर्ता सुनीता रेग्मी पोखरेल भन्छिन्, ‘ओम शान्ति र अध्यात्म भन्ने शब्दबाटै म आजित भइसकेँ। ‘म धर्ममा लागिसकेँ, मलाई श्रीमान् चाहिँदैन, ऊ मेरा लागि अब दाजुभाइबराबर हो’ भनेर धेरै महिला डिभोर्सका लागि आउँछन्। अध्यात्ममा लागेर श्रीमान् छाड्न खोजेको हो कि छाड्नुपर्ने अवस्था आएर वैराग्य धारण गरी अध्यात्ममा लागेको हो, बुझिनसक्नु छ।’ 

पैसाले बिगारेको घरबार 

अधिवक्ता लोकमणि पोखरेल आर्थिक कारणले पनि धेरैको घर टुटेको बताउँछन्। ‘धेरै दम्पतीको मनमुटाव पैसा र घरजग्गाबाट सुरु हुन्छ,’ पोखरेल भन्छन्, ‘डिभोर्स गर्न आउनेको कथा कुनै फिल्मको कथाजस्तो लाग्छ।’

 आर्थिक विषयमा चर्किएको विवादलाई लिएर पोखरेलले केही समयअगाडि एउटा केस डिल गरे। पुरुष विदेशमा गएर पैसा पठाउने, श्रीमती ढुकुटी खेलेर सक्ने। पुरुष विदेशबाट फर्किएपछि हिसाबकिताब नमिलेर अदालतमा मुुद्दा चल्यो र उनीहरूले डिभोर्स गरे। 

आर्थिक कारणले दाम्पत्य जीवन टुट्ने गरेकोमा सहमत छिन्, अधिवक्ता इरादा पहाडी। ‘विदेश जानका लागि भनेर धेरैले पेपर म्यारिज गर्छन्,’ उनी भन्छिन्, ‘दुई जनाबीच कुरा नमिलेपछि अंश र पैसाको बार्गेनिङ हुँदै कुुरा अदालतसम्म पुगेर डिभोर्स हुन्छ।’ 

ल्याककी अध्यक्ष अनीता थपलियाको भने यस विषयमा फरक अनुभव छ। ‘महिलाहरू आफू आत्मनिर्भर हुँदाहुँदै पनि घरमा खर्च गर्न हिचकिचाउँछन्,’ उनी भन्छिन्, ‘‘कमाइ नभएको भए पनि श्रीमान्ले मलाई पाल्नैपथ्र्यो’ चन्ने सोच धेरै महिलामा छ। ‘उसको पैसा घरमा एक रुपैयाँ पनि खर्च गर्दिन’ भन्दै डिभोर्स गर्न आउने पुरुषहरू पनि छन्।’ श्रीमान्–श्रीमतीबीच आर्थिक विषयमा खटपट भएपछि यस्ता समस्या आउने उनी बताउँछिन्। ‘एक महिला ‘मैले किनेको टीभी फुटायो’ भनेर समेत डिभोर्स फाइल दर्ता गर्न आएकी थिइन्,’ उनी भन्छिन्। 

राष्ट्रिय महिला आयोगकी मुद्दा व्यवस्थापक तथा अधिवक्ता विमला खड्का पनि अकस्मात् आम्दानीको स्रोत बढ्नेबित्तिकै सम्बन्धमा विचलन आउने बताउँछिन्। ‘आर्थिक स्रोत बढ्नेबित्तिकै मानिसहरू विलासितातिर लाग्छन्,’ उनी भन्छिन्, ‘विलासी जीवन बिताउन थालेपछि घरपरिवारलाई दिने समय हुँदैन। बेवास्ता गर्न थाल्छन् र सम्बन्ध टुंगिन्छ।’ 

वैदेशिक रोजगारीले टुटाएको परिवार 

अधिवक्ता मनोहरलाल श्रेष्ठ वैदेशिक रोजगारीका कारण धेरैको घरबार टुटेको बताउँछन्। ‘श्रीमान् विदेशमा हुँदा श्रीमतीको यता अर्कैसँग सम्बन्ध भएपछि धेरैले डिभोर्स गरेका छन्,’ उनी भन्छन्, ‘पुरुषहरू पनि घरमा श्रीमती हुँदाहुँदै विदेशमा अर्कोसँग अफेयरमा रहने कारणले पनि डिभोर्स हुन्छ।’ 

अधिवक्ता पहाडी पनि वैदेशिक रोजगारीले सम्बन्धमा फाटो ल्याएको कुरालाई स्विकार्छिन्। उनी आफूले त्यस्ता धेरै केस हेरेको बताउँछिन्। हालै मात्र एउटा जोडी ‘लङ डिस्ट्यान्स रिलेसनसिप’को कारण छुट्ने तयारीमा भएको उनी बताउँछिन्। ‘श्रीमान् अमेरिकामा छन्, श्रीमती नेपालमा छिन्,’ उनी भन्छिन्, ‘श्रीमती बच्चासँगै नेपालमै बस्न चाहन्छिन्।

श्रीमान् बारम्बार विदेशमा बोलाउँछन्।’ दुवैको विचार नमिलेपछि उनीहरू डिभोर्सको निर्णयमा पुगेको पहाडी बताउँछिन्। ‘यस्तो केसमा वैदेशिक रोजगारीसँगै यौनका कुराहरू पनि जोडिएर आउँछन्,’ उनी भन्छिन्, ‘टाढा भएर यौन चाहना पूरा गर्न नसक्दा पनि धेरैले सम्बन्धमा पूर्णविराम लगाउँछन्।’ 

कुलतको करामत  

अधिवक्ता मनोहरलाल श्रेष्ठ कुलतले पनि धेरैको घरबार टुटेको बताउँछन्। ‘जाँड, रक्सी र जुवातासका कारण सम्बन्ध विच्छेदको केस लिएर आउने थुप्रै छन्,’ उनी भन्छन्, ‘कतिलाई मिलापत्र गरेर पठाइन्छ। कोही भने डिभोर्स नगरी जानै मान्दैनन्।’ झापाकी एक जना महिला आफूकहाँ केही महिनाअगाडि आएको उनी बताउँछन्। उनको केस डेढ वर्षसम्म चल्यो।

मिलापत्र गर्ने कोसिस पनि भयो। एक जना छोराकी आमा उनी रक्सीबाज श्रीमान्को पिटाइबाट अस्पतालमै भर्ना हुने स्थितिमा आएपछि डिभोर्सको निर्णयमा पुगेको अधिवक्ता श्रेष्ठ बताउँछन्। डिभोर्सी उनी हाल आफ्नै माइतीमा बस्दै आएको उनी बताउँछन्। 

वरिष्ठ अधिवक्ता सुनीता रेग्मी पोखरेलकहाँ एक दिन आमाबुबा आफैँ छोरीको डिभोर्सका लागि आए। ‘बिहे गरेको तीन दिनमै उनीहरूले डिभोर्सको फाइल दर्ता गरेका थिए,’ उनी भन्छिन्, ‘बिहेपछि ज्वाइँ ड्रग एडिक्ट भएको थाहा पाएपछि उनीहरूले छोरीको सम्बन्ध टुटाउने निर्णय गरेका थिए।’ 

आशंकाको आगो  

अधिवक्ता राजेश कुमार बटाला सम्बन्ध टुट्नुको कारणमध्ये आशंकालाई एक मान्छन्। ‘आफ्नै घरपरिवार र सामाजिक सञ्जालले दम्पतीबीचमा शंका पैदा गरिदिन्छ,’ उनी भन्छन्, ‘त्यही शंकाले विवाहेतर सम्बन्ध दिन प्रतिदिन बढ्दै गएको छ।’ शंकाले सम्बन्ध टुट्नुमा श्रीमान्–श्रीमतीबीच तेस्रो व्यक्तिले भूमिका खेल्ने उनी बताउँछन्। ‘कसैसँग सम्बन्धमा नभए पनि तेस्रो व्यक्तिले कुरा लगाउनेबित्तिकै शंका उत्पन्न हुन्छ,’ उनी भन्छन्, ‘जहाँ शंका हुन्छ, त्यहाँ हिंसा हुन्छ। हिंसा हुनेबित्तिकै सम्बन्ध टिक्न गाह्रो पर्छ।’

यसमा वरिष्ठ अधिवक्ता पोखरेल पनि सहमति जनाउँछिन्। ‘छोराछोरीको बिहे गरिसकेका धेरै दम्पतीले त्यही शंकाकै कारण सम्बन्ध तोडेका छन्,’ उनी भन्छिन्, ‘धैरैले आधुनिकतालाई स्विकार्न नसक्दा पनि सम्बन्धमा शंका पैदा हुने गरेको छ।’

अधिवक्ता पहाडीले यस्तै एउटा केस हेरिरहेकी छिन्। मास्टर्स पढेकी युवती र १२ कक्षा पढेको युवकबीच मागी बिहे हुन्छ। कोरियामा रोजगारी गरेर राम्रो आम्दानी गरेका युवकले काठमाडौँमा घर बनाएका छन्। त्यो जोडीलाई पहाडीले केही समयअघि जिल्ला अदालतमा भेटिन्। ‘बिहे भएको १६ दिनदेखि नै उनीहरूबीच खटपट भएछ,’ उनी भन्छिन्, ‘‘मास्टर्स पढेकी केटीले म १२ पढेकोसँग किन बिहे गरी, यसमा केही न केही गडबडी हुनुपर्छ’ भन्ने शंकाले उनीहरूबीच झगडा सुरु भएको थियो।’

उनीहरूले विवाह दर्तासमेत गरेका थिएनन्। ‘बिहेका फोटा र भिडियोका भरमा महिला अदालत आएकी थिइन्,’ पहाडी भन्छिन्, ‘युवक विदेश फर्किसकेकाले युवती यता अलपत्र परेकी छिन्।’ 

त्यस्तै अर्को एउटा केस पनि उनले हेरेकी थिइन्। ‘श्रीमती राम्री भई, अरूसँग बोली भनेर शंका गर्ने खालका पुरुष थिए,’ पहाडी भन्छिन्, ‘श्रीमान्ले ‘तेरो अनुहारमा एसिड खनाइदिन्छु’ भन्न थालेपछि ती महिला सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी थिइन्। 

आत्मनिर्भरता पनि एउटा कारण

अधिवक्ता महर्जन महिलाहरूमा आत्मनिर्भरता बढ्दै गएको कारण पनि सम्बन्ध विच्छेद बढेको बताउँछिन्। भन्छिन्, ‘महिलाहरू आफ्नो अधिकारमा सचेत भएका छन्। सहेर नबस्ने प्रवृत्ति बढेकोले पनि डिभोर्स बढ्दै गइरहेको छ।’ समाज व्यक्तिवादी हुँदै गएकाले डिभोर्स बढिरहेको उनको मत छ।

‘समाज इन्डिभिजुअल हुँदै गइरहेको छ,’ उनी भन्छिन्, ‘पहिलाको पुस्ता परिवारबारे सोचेपछि मात्र आफ्नो बारेमा सोच्थ्यो, अहिले आफ्नो बारेमा सोचेर मात्र अरूका बारेमा सोच्ने भएको छ।’ आत्मनिर्भर भएपछि कोही पनि एकअर्कासँग दबिएर नबस्ने उनको भनाइ छ। उनले त्यस्तै एउटा दम्पतीको सम्बन्ध विच्छेद गराएको बताउँछिन्।

२२ वर्षकी पढेलेखेकी युवतीको लभ म्यारिज वर्षदिन नटिक्दै टुटेको उनी बताउँछिन्। ‘युवती पढेलेखेकी र आत्मनिर्भर थिइन्,’ उनी भन्छिन्, ‘बिहे गरेपछि ‘काम छाडेर परिवारको सेवा गरेर बुहारी बनेर बस्नुपर्छ’ भन्ने कुरा आएपछि उनले डिभोर्सको कदम चालेकी थिइन्।’ पुरुषवादी सोच र महिलाको आत्मविश्वासमाथि तालमेल नमिलेपछि उनीहरूको सम्बन्ध अन्त्य भएको उनी बताउँछिन्। 

झेली डिभोर्स 

अधिवक्ता पुन्यशिला दवाडीकहाँ भने विवाहेतर सम्बन्धका कारण डिभोर्सका धेरै केस फाइल हुने गरेका छन्। केही समयअघि उनीकहाँ एक जना महिला आइन्। उनका श्रीमान्ले अर्को बिहे गरेर उनीमाथि डिभोर्सको केस फाइल गरेका थिए। ‘अंश दिनुपर्छ भनेर उनले श्रीमतीमाथि परपुरुषको बात लगाएका छन्,’ उनी भन्छिन्, ‘पुुरुषबाट ज्यादै पीडित भएपछि महिलाहरू अंशबिना नै छुट्टिएर बस्न बाध्य हुन्छन्।’

डिभोर्सका केसमा पुरुषभन्दा महिला नै बढी पिडित भएको दवाडीको ठहर छ। त्यस्तै अर्को एउटा झेली डिभोर्सको केस पनि उनले हेरेकी छिन्। ‘एक जना पुरुषले उनैको साथीसँग श्रीमतीले शारीरिक सम्बन्ध राखेको नक्कली प्रमाण ल्याएर डिभोर्सको केस फाइल गरेका थिए,’ उनी भन्छिन्, ‘श्रीमतीले अरूसँग शारीरिक सम्बन्ध राखेको प्रमाण भएमा अंश दिनुनपर्ने’ भन्ने नियम भएका कारण अहिले यसरी प्लान गरेर डिभोर्स गराउन चाहने धेरै छन्। यो अहिलेको जल्दोबल्दो समस्या हो।’

०००

ल्याककी अध्यक्ष थपलिया वैवाहिक सम्बन्धमा जोडिनुअघि धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने बताउँछिन्। ‘हामी एउटा देशबाट अर्को देशमा जाँदा त त्यहाँको मौसमदेखि मानिसको आनीबानीबारे जानेर जान्छौँ भने विवाह गर्दा पनि थुप्रै कुरामा ध्यान पुर्‍याउनुपर्छ,’ उनी भन्छिन्, ‘वैवाहिक जीवनमा आफूलाई ढाल्न नसक्दा पनि धेरैको दाम्पत्य जीवन खलबलिने गरेको छ। बिहेपछि महिला र पुरुष दुवै एकअर्काप्रति जिम्मेवार हुनुपर्छ।’ 

मनोसामाजिक परामर्शदाता सुवेदी एक पटक बिग्रिएको सम्बन्ध हत्तपत्त नजोडिने बताउँछिन्। ‘सानोतिनो समस्या हुनेबित्तिकै काउन्सिलिङमा आएका केसहरू सजिलै समाधान हुन्छन्,’ उनी भन्छिन्, ‘तर, हाम्रोमा धेरै जटिल अवस्थामा पुगेपछि मात्रै बाहिर खुलेर आउने गरेको पाइन्छ। सम्बन्धमा सानो समस्या देखिनेबित्तिकै बढाउनतिर होइन, घटाउनतिर लाग्नुपर्छ।’

‘महिला सहेर बस्ने पक्षमा छैनन्’ 

सुनीता रेग्मी पोखरेल, वरिष्ठ अधिवक्ता/मेलमिलापकर्ता 

आर्थिक रूपमा महिला पुरुषसरह आत्मनिर्भर हुन थालेका छन्। पहिलाका महिला ‘लात खाए पनि भात खान पाइन्छ’ भनेर सहेर बस्थे। डिभोर्सी महिलालाई समाजमा टिकिखानै गाह्रो थियो। कोठा भाडामा समेत पाउँदैनथे। अहिले सहेर बस्ने महिला कमै हुन्छन्। ‘एड्जस्ट’ र ‘कम्प्रोमाइज’ गर्ने दर घटेर गएको छ। 

महिला होस् वा पुरुष, ऊ आफैँमा स्वतन्त्र व्यक्ति हो। मानिस आफ्नै अनुकूल हुन रुचाउँछ। उसलाई अरूको अनुकूल बनाउन थालियो भने जटिलता उत्पन्न हुन्छ। आफूलाई सहज नभएको ठाँउमा जबर्जस्ती बस्नुपर्छ भन्ने छैन।

महिलाको हकमा एउटा वातावरणबाट एकैचोटि अर्को वातावरणमा ‘एड्जस्ट’ हुन चुनौतीपूर्ण छ। यसमा पुरुषको परिवारको मुख्य भूमिका हुन्छ। परिवारका सदस्यले उसलाई सपोर्ट गर्नुपर्छ। 

श्रीमान्–श्रीमतीको सम्बन्ध एक पटक टुटेपछि फेरि जोड्न निकै गाह्रोे हुन्छ। पुनः जोडिएको सम्बन्धमा विश्वासले काम गर्दैन। विश्वास नरहनेबित्तिकै फाटो आइहाल्छ। समझदारी र विश्वास नभएका श्रीमान्–श्रीमती सँगै बस्दा राम्रो पनि हुँदैन।

कतिपय जोडी ‘तिमीले यसो नगर्ने भए मिल्छु, तिमीले उसोे नगर्ने भए मिल्छु’ भन्छन्। त्यसको कुनै कानुनी मान्यता हुँदैन। तर, उनीहरूले आफ्नो आक्रोश त्यहाँ पोख्छन्। मेलमिलापकर्ताको भाषामा हामी त्यसलाई ‘भमिटिङ’ भन्छौं। यसले पनि सन्बन्ध जोड्न निकै मद्दत पुर्‍याएको देखिन्छ। 

‘कपल काउन्सिलिङ जरुरी छ’

विमला खड्का,अधिवक्ता तथा महिला आयोग मुद्दा व्यवस्थापक, राष्ट्रिय महिला आयोग 

दाम्पत्य जीवनमा परिवारले मुख्य भूमिका खेलेको हुन्छ। परिवारको सपोर्ट भए दाम्पत्य जीवन राम्रो र सफल हुन्छ। परिवारको सपोर्ट नभएमा त्यहाँ धेरै समस्या आउँछन्। परिवारको सहमतिबिना गरिएको लभ म्यारिजमा विशेष गरी धेरै समस्या आउँछन्। सानोतिनो समस्या आउनेबित्तिकै केटा पक्षले ‘बुहारी छोड्’ र केटी पक्षले ‘ज्वाइँ छोड्’ भन्ने खालका कुरा आउँछन्।

विशेष गरी, विचारको भिन्नताले गर्दा धेरै जोडी टुट्छन्। सहेर बस्नु हुँदैन भन्ने सचेतनाको कारणले पनि धेरै जोडी छुट्टिएर खुशीसाथ बसेका छन्। आफैँ पीडा दिएर, आफैँ डिभोर्स फाइल गर्नेहरू पनि अहिले बढेका छन्। माग्नेबित्तिकै डिभोर्स पाइन्छ भन्ने धारणा धेरैमा जरो गाडेर बसेको छ। यसको कारण धेरै महिला मारमा परेका छन्। 

सानोतिनो समस्याको कारण डिभोर्स गर्न आउनेलाई भने ‘कपल काउन्सिलिङ’ले काम गर्छ। कतिपय ‘डिभोर्स गर्छु’ भनेर तात्तिएर आएकाहरू पनि सेलाएर ‘उसैसँग जीवन अगाडि बढाउँछु’ भनेर जाने पनि छन्। दाम्पत्य जीवन टुुक्रिन नदिनका लागि मनोसामाजिक परामर्श तथा ‘कपल काउन्सिलिङ’ एकदमै जरुरी छ। 

तपाईको कमेन्ट