देशकै सयपत्री पर्याप्त

writer

सम्पूर्ण

शुक्रबार, ०८ कार्तिक २०७६


फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपालि तिहारमा  लगभग ९० प्रतिशत सयपत्री फूलको मालाको माग नेपालमा उत्पादन भएको फूलबाट पूरा हुनेछ। यस वर्ष १८ लाखको हाराहारीमा सयपत्री फूलका माला बन्ने भएका छन्।


निधारमा सप्तरंगी टीका र घाँटीमा सयपत्री फूलको माला लगाएर दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्छन्। तिहार नजिकिएसँगै बजारमा मानिसको चहलपहल बढ्न थालेको छ। फूल पसल, मिठाई पसल, मसला पसल, कपडा पसल आदिमा मान्छेको बाक्लै भीड देखिन्छ। 

घर सिँगार्न होस् वा भाइटीकाको दिन दाजुभाइलाई लगाइदिन, फूलमाला अनिवार्य हुन्छ। तिहारताका उच्च मात्रामा फूलको खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेल बताउँछन्। भन्छन्, ‘लक्ष्मीपूजा र भाइटीकाको दिन फूलमाला प्रयोग गरिन्छ। तिहारमा फूल र मालाको खपत धेरै हुन्छ।’ 

तिहारका लागि फूलको व्यवस्थापन गर्नु पनि एक चुनौती रहेको उनी सुनाउँछन्। नेपालको फूलले नपुगेर विदेशबाट पनि भित्त्याउनुपर्ने बाध्यता रहेको छ। यस वर्ष भने नेपालमा फूल उत्पादन बढेकाले विदेशबाट आयात गर्नुपर्ने फूलको संख्या कम हुने पोखरेल बताउँछन्। ‘यसपालि तिहारमा लगभग ९० प्रतिशत सयपत्री फूलको मालाको माग नेपालमा उत्पादन भएको फूलबाट पूरा हुनेछ,’ उनी भन्छन्, ‘यस वर्ष १८ लाखको हाराहारीमा सयपत्री फूलका माला बन्ने भएका छन्। जसमध्ये १५ लाख ७५ हजार माला नेपालमै उत्पादित फूलबाट बनाइएका छन्।’

सयपत्रीपछि धेरै खपत हुने माला मखमली र गोदावरी फूलका हुन्। पोखरेलका अनुसार मखमली फूलका करिब सात लाख माला खपत हुने अनुमान गरिएको छ। खपत हुने सबै माला नेपालमा नै उत्पादन भएको उनी बताउँछन्। यसरी बिक्री हुने अधिकांश माला काठमाडौँमा खपत हुने गरेका छन्। यस वर्ष पनि ६० प्रतिशत माला काठमाडौँमा खपत हुने उनी बताउँछन्। 

आठ वर्षयता काठमाडौँ, भेडासिंगचोकमा माला व्यापार गरिरहेकी शारदा पहाडी यस वर्ष मालाको व्यापारमा कमी आएको बताउँछिन्। ‘यस वर्ष ग्राहक खासै छैनन्,’ उनी भन्छिन्, ‘आजकल त दिनमा मुश्किलले १० हजार रुपैयाँको माला पनि बिक्री हुँदैन।’ अघिल्ला वर्षमा एकै दिनमा एक लाख रुपैयाँसम्मको व्यापार गरेको उनी सुनाउँछिन्।

बढी बिक्छ तारा फूल

सयपत्री फूलमा पनि विभिन्न जातिका फूल हुने गरेका छन्। सयपत्री, तारा फूल र एकान्त गरेर तीन किसिमका सयपत्री फूलका माला तिहारमा बिक्ने गरेका छन्। व्यापारी पहाडीका अनुसार सयपत्री फूल भारतको कोलकाताबाट ल्याइन्छ। त्यस्तै, तारा फूल र एकान्त भने नेपालमा नै उत्पादन हुने गरेका छन्। तिहारमा विशेष गरेर तारा फूलको माग उच्च हुने गरेको उनी बताउँछिन्। ‘ग्राहकले तारा फूल निकै मन पराउँछन्,’ उनी भन्छिन्, ‘साइजमा पनि सानो र आकर्षक भएकाले धेरै बिक्ने गरेको छ।’ 

अहिले बजारमा सयपत्री फूलको मालाको मूल्य ५० रुपैयाँ रहेको छ। त्यस्तै, मखमली फूलको मालालाई २५ देखि ३० रुपैयाँसम्म पर्ने गरेको छ। काठमाडौँ, असनचोकमा १८ वर्षदेखि माला व्यापार गर्दै आएका राजकुमार पाटामगर बिचौलियाहरूले फूलमा निकै घोटाला गर्ने गरेको बताउँछन्। भन्छन्, ‘पाँच रुपैयाँमा फूलको एक मुठो खरिद गर्छन्, यहाँ ल्याएर हामीलाई १५ रुपैयाँमा बेच्छन्। अनि, उपभोक्तालाई महँगो पर्न गइहाल्छ नि ! उत्पादनकर्ता र हामीजस्ता फूल बेच्नेको हातमा केही आँउदैन।’

पाटामगरका अनुसार फूल व्यापार दुई दिनको व्यापार हो। उनी भन्छन् ‘लक्ष्मीपूजा र भाइटीकाको अघिल्लो दिन मात्र फूलको राम्रो व्यापार हुन्छ।’ तिहारमा अन्य समयको भन्दा मालाको व्यापार निकै हुने उनी बताउँछन्। ‘दिनमा ५०-६० हजार देखि एक लाख रुपैयाँसम्मको व्यापार हुने गर्छ,’ उनी भन्छन्।

काठमाडौँ, स्वयम्भूमाथिको डाँडामा फूल उत्पादन गर्दै आएका गंगाबहादुर लामाले यस वर्ष मागअनुसार फूल नपुग्ने अनुमान गरेका छन्। तिहार छिट्टै भएको र फूल राम्रोसँग फक्री नसकेकाले यस्तो समस्या आउन सक्ने उनको आकलन छ।     

कृत्रिम माला जताततै

बजारमा कृत्रिम फूलमाला पनि छ्यापछ्याप्ती पाइन्छन्। घरको सजावट गर्न ग्राहकले माला खरिद गर्ने गरेको माला व्यवसायी भावना कोइराला बताउँछिन्। उनका अनुसार तिहारमा मालाको व्यापार उच्च हुने गरेको छ। ‘दिनमा ४० देखि ५० हजार रुपैयाँसम्म कृत्रिम मालाको व्यापार हुन्छ,’ उनी भन्छिन्, ‘यस्ता माला नकुहिने र देख्दा आकर्षक हुने भएकाले धेरै ग्राहकले कृत्रिम माला रुचाउने गरेका छन्।’ कृत्रिम मालाको व्यापार पनि बढ्न थालेको छ। यी माला कपडा, प्लास्टिकलगायत प्रयोग गरी बनाइन्छन्। 

 सुमित सुवेदी 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि