गोदावरी मेला सम्पन्न

writer

सम्पूर्ण

शुक्रबार, ०८ कार्तिक २०७६


सुमित 

फ्लोरिकल्चर एसोसिएसन नेपालले हरेक वर्ष पुष्प मेला आयोजना गर्छ। यस वर्षको ‘तेह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ सम्पन्न भएको छ। कात्तिक १ बाट ४ गतेसम्म भएको मेलामा ४४ वटा व्यावसायिक स्टल र चार वटा सूचनामूलक स्टल राखिएका थिए। ललितपुर, जाउलाखेल मैदानमा भएको मेलामा गोदावरी फूलको प्रतियोगिता पनि भएकाले एउटा स्टलमा गोदावरी फूल प्रदर्शनमा राखिएका थिए। व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जातका गोदावरी फूलका बिरुवासँगै अन्य जातका फूल पनि मेलामा राखिएका थिए। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ पुष्प मेलाको नारा रहेको थियो।

‘खड्का नर्सरी’ र ‘आई एम द गार्डेनर नर्सरी’की सञ्चालक राधिका खड्काले प्रदर्शनीमा आफ्ना दुई स्टल राखेकी थिइन्। ‘सोचेको भन्दा धेरै मान्छे मेलामा आए,’ उनले भनिन्, ‘पहिलो दिनमा नै ४० हजार रुपैयाँका फूलका बिरुवा बेचेँ।’ चार दिनसम्म चलेको मेलामा उनले दैनिक ४० देखि ८० हजार रुपैयाँसम्म फूलको व्यापार गरिन्। 

१८ वर्षयता व्यावसायिक फूलखेती गरिरहेका रामजी कुँवरले आफ्नो नर्सरी ‘अल ट्रपिकल प्लान्ट हाउस’को स्टल प्रदर्शनीमा राखेका थिए। चार दिनमा आफूले तीन लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको उनले बताए। ‘चार दिनसम्म स्टल राख्दा तीन लाख रुपैयाँभन्दा बढीको व्यापार भयो,’ उनले भने, ‘फूलका बिरुवा किन्नेहरूको घुइँचो लागेको थियो।’

तिहारको अवसरमा प्रत्येक वर्ष आयोजना हुने मेलाले पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरेको मेलाका संयोजक शिवबहादुर खड्काले बताए। ‘हाम्रो ध्येय विगतजस्तै यस वर्ष पनि पु्ष्प व्यवसायीलाई हौसला प्रदान गर्नु थियो,’ उनले भने, ‘स्वदेशमा उत्पादन हुने फूलको बिक्री–वितरण तथा फूल व्यवसायको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको थियो।’ 

आयोजकका अनुसार मेलामा ३५ हजार अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको थियो। संयोजक खड्काले भने, ‘३५ हजार अनुमान गरिएकोमा झण्डै ४० हजारजति अवलोकनकर्ताको उपस्थिति भयो।’ उनका अनुसार मेलामा झण्डै ७० लाख रुपैयाँको व्यापार भएको छ। ‘हामीले ५० लाख रुपैयाँको व्यापार हुने अनुमान गरेका थियौँ,’ उनले भने, ‘तर, अनुमानभन्दा धेरै व्यापार भएको छ।’ गोदावरी फूल प्रतियोगितामा ‘सम्झना नर्सरी’ प्रथम भएको छ। मेलामा गोदावरीसँगै सयपत्री, मखमली र अन्य फूल प्रदर्शनीका लागि राखिएका थिए।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि