तिहार तयारी

writer

अस्मिता खड्का

शुक्रबार, ०८ कार्तिक २०७६


तिहार नजिकिएसँगै त्यसको रौनकले उपत्यका झिलिमिली हुन थालेको छ। तिहारका लागि किनमेल गर्नेको घुइँचो बजारमा देखिन थालेको छ।न्युरोड, असन, इन्द्रचोक, ललितपुरको पाटनलगायत मुख्य बजार र चोकहरूमा तिहारका लागि चाहिने सामान किन्नेको भीड देख्न सकिन्छ। कसैले घर झलमल्ल पार्न मैनबत्ती, माटोको दियो, विद्युतीय बत्तीलगायत किनिरहेका छन् भने कोही घरको आँगनमा रंगोली बनाउन रातो, पहेँलो, हरियो, गुलाबी, बैजनीलगायत रङ किनिरहेका छन्। घर सिँगार्न कोही नक्कली फूलका माला बोकेर हिँडिरहेका छन्।

तामाको साटो माटोकोदियो

यमपञ्चकको दिनदेखि सुरु हुने तिहारमा पूजा गर्न दियो अनिवार्य हुन्छ। त्यसकै लागि माटोका दियो बेच्न ग्राहक खोज्दै डुल्छन्, सिरहाका संग्रेज आलम। उनी माटोका दियो भारतबाट ल्याउँछन् र तिहारमा नेपालमा बेच्छन्। अरू बेला अदुवा बेचेर हिँड्ने आलम तिहार सुरु हुनुअघि नैदियो व्यापारमा लाग्छन्। ‘वर्षभरि साइकलमा अदुवा, लसुन बेच्ने गर्छु,’ आलम सुनाउँछन्, ‘तिहारको एक साता चाहिँ माटोका दियो बेच्छु। यसबाट तिहार खर्च जुटाउँछु।’ आलमले तिहारमा प्रतिदिन सय केजीभन्दा बढी दियो बेच्छन्। उनीसँग दियो बेच्ने एक समूह नै छ। त्यो समूहले पनि आलमजस्तै दिनभर साइकलमा डुल्दै दियो बेच्छ। ‘हाम्रो एक समूह छ,’ आलम भन्छन्,‘हामी सबै ठेक्कामा काम गर्छौं। सबैजना मिलेर दैनिक दुई क्विन्टलसम्म दियो बेच्ने हाम्रो लक्ष्य हुन्छ।’

परम्परागत रूपमा बालिने तामाका दियोको ठाउँ माटोका दियोले ओगटेको गुनासो पोख्छन्, काठमाडौँ, असनका राम ताम्राकार। ‘पहिले–पहिले माटाका दियो खासै प्रचलनमा थिएनन्,’ उनी भन्छन्,‘त्योबेला लक्ष्मीपूजाको दिन घरउज्यालो पार्न तामाका दियो किन्ने गरिन्थ्यो। माटोका दियो प्रचलनमा आएपछि तामाका दियो किन्ने मान्छे नै घटे।’अहिलेका मान्छेले तामाका दियो खासै नकिन्ने उनी बताउँछन्। ‘सबैले तामाका दियो किन्दैनन्,’ उनी भन्छन्,‘पैसा खर्च गर्न सक्ने ग्राहकले मात्र तामाको दियो किन्छन्। कतिपयले त नेपालबाट दियो किनेर विदेशसमेत पठाउँछन्।’

मैनबत्तीको सट्टा विद्युतीय बत्ती

पछिल्लो समय मैनबत्तीको माग घटेको बताउँछिन्, ललितपुर मंगलबजारकी मैनबत्ती व्यापारी दीपा महर्जन।‘मैनबत्ती हामी आफैँ उत्पादन गर्छौं,’ उनी भन्छिन्,‘तर, अहिले पहिलाजस्तो तिहारमा मैनबत्ती बिक्री हुँदैन।’ झिलिमिली देखिने विद्युतीयबत्तीले मैनबत्तीको माग घटाएको उनको अनुमान छ।‘मान्छेहरूले आकाश छुने घर बनाएका छन्,’ उनी भन्छन्,‘त्यसमा मैनबत्ती कसले बाल्छ? त्यसमाथि अचेल त लोडसेडिङ पनि हँुदैन।मैनबत्ती बाल्न झन्झट लागेर हुन सक्छ, धेरैले विद्युतीय बत्ती जति महँगो भए पनि किन्न थालेका छन्।’ 

ललितपुर, कुसुन्तीकी ललिता जोशी तिहारमा विद्युतीय बत्तीले घर झिलिमिली पार्ने बताउँछिन्।‘आँगनतिर मैनबत्ती र दियोराख्यो कि हावाले निभिहाल्छ,’ उनी भन्छिन्, ‘छतमा पनि त्यस्तै हुन्छ। पटक–पटक मैनबत्ती, दियो बालिरहने झन्झटमा को लागिरहोस् ? विद्युतीय बत्ती लगाएपछि टन्टै साफ।’

रंगिन रंगोली

तिहारमा हिजोआज हरेक घर, पसलअगाडि रंगोली देख्न सकिन्छ। कसैले रातो माटोले लिपपोत गरी चामलका पिठो अथवा मैदाले रंगोली बनाउँछन् भने धेरैले विभिन्न रङ प्रयोग गरी डिजाइन–डिजाइनका रंगोली बनाउँछन्।आशा त्रिपाठी नर्स हुन्। उनलाई आर्ट र डिजाइन एकदमै मनपर्छ।काठमाडौँ, इन्द्रचोकमा  रंगोलीका लागि विभिन्न रङ किन्दै गरेकी थिइन् उनी। ‘तिहारमा रंगोली बनाउन खूब मन पर्छ,’ उनी भन्छिन्, ‘रंगोलीबिना तिहार अधुरो लाग्छ।विभिन्न डिजाइनका रंगोली बनाएर त्यसमा दियो बालेपछि मात्र दीपावली पूर्ण हुन्छजस्तो लाग्छ।’ आफूले परम्परागत रंगोली डिजाइनलाई आधुनिकमा ढाल्ने उनी बताउँछिन्।‘कतिपयले रंगोलीको सांकेतिक अर्थ नै बुझेका हुँदैनन्,’ उनी भन्छिन्,‘रंगोली एक परम्परा हो, त्यसैले यो बनाउनुपर्छ भनेर मात्र सोच्छन्। रंगोलीबाट विभिन्न सन्देश दिन सकिन्छ।’रंगोलीले सकारात्मक ऊर्जादिने उनको विश्वास छ। ‘रंगोलीबनाउन फूल र विभिन्न रङ प्रयोग गर्नुपर्छ,’ उनी भन्छिन्,‘यसका लागिक्रिएटिभ हुनुपर्छ।’

नक्कली फूलमालाको जगजगी

तिहारमा सयपत्री फूलको मालाले घर सिँगारिन्छ। तर, अहिले धेरैले सयपत्री फूलको साटो नक्कली फूलका माला प्रयोग गर्न थालेका छन्। काठमाडौँ, क्षेत्रपाटीका धनिश सुनुवार व्यापारी हुन्। तिहारमा घर र पसल सजाउन उनलेप्राकृतिक फूलमाला होइन, नक्कली फूलमाला प्रयोग गर्छन्। ‘पहिला तिहारमा सयपत्री फूलको माला किन्थेँ,’ उनी भन्छन्,‘त्यसको बास्नाले घर नै मगमग हुन्थ्यो।सयपत्री फूलको मालाले सजाउँदा घरको चमक नै बेग्लै हुन्थ्यो। तर, के गर्ने ? अहिले प्राकृतिक फूलमालाको मूल्य बढेर छोइसक्नु छैन। त्यसैले तिहारमा आर्टिफिसियल मालाले घर सजाउँछु।’नक्कली फूलका माला लामो समयसम्म टिक्ने उनी बताउँछन्।‘प्राकृतिक फूलको माला एक-दुई दिनसम्म मात्र टिक्छ,’ उनी भन्छन्,‘त्यसपछि ओइलिहाल्छ।नक्कली फूलमाला न कुहिन्छ, न बिग्रिन्छ। अर्को वर्ष फेरि प्रयोग गर्न मिल्छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि