सबैको प्यारो लालमोहन

writer

सम्पूर्ण

शुक्रबार, ०८ कार्तिक २०७६


सु्मित

फूलमाला, मसलासँगै तिहारमा मिठाईको पनि विशेष महत्त्व रहने गर्छ। भाइटीकामा दाजुभाइलाई मिष्ठान्न भोजन गराउने चलन रहिआएको छ। त्यसैले तिहारमा उपत्यकाका मिठाई पसलमा निकै भीड देखिन्छ। अन्य समयभन्दा चाडपर्वमा मिठाईको व्यापारमा वृद्धि हुने व्यवसायीहरू बताउँछन्। तिहार नजिकिँदै गर्दा मिठाई बिक्री बढ्न थालेको काठमाडौँ, नयाँ बानेश्वरमा रहेको केके मार्टका मिठाई पसलका कर्मचारी सन्दीप कट्टेल बताउँछन्। भन्छन् ‘अरू बेला दिनमा १५-१६ हजार रुपैयाँको व्यापार हुने गरेकोमा तिहारमा ४०-५० हजार रुपैयाँसम्मको मिठाई बिक्री हुन्छ।’ तिहारको दुईतीन दिनमा अझ धेरै व्यापार हुने गरेको उनी बताउँछन्। 

उनले काम गर्ने पसलमा प्रतिगोटा ३० देखि ६० रुपैयाँसम्म पर्ने मिठाई छन्। तिहारमा धेरैजसो ग्राहकले किलोको हिसाबले मिठाई खरिद गर्ने उनी बताउँछन्। ‘यसो गर्दा मिठाईको मूल्य कम पर्ने गर्छ,’ उनी भन्छन्, ‘लालमोहन र रसबरी सबैभन्दा बढी बिक्री हुने गरेको छ।’ भन्छन्, ‘पछिल्लो समय लालमोहन र रसबरी धेरै बिक्ने हुने गरेका छन्। यी मिठाई स्वादिला हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेका छन्।’ ग्राहकले बेसनको लड्डु पनि त्यति नै मन पराउने उनी बताउँछन्। ‘तिहारमा मात्र नभएर अन्य समय पनि लड्डुको व्यापार राम्रो हुने गरेको छ,’ उनी भन्छन्। उनको पसलमा एक किलो लड्डुको मूल्य नौ सय रुपैयाँ पर्छ। 

भक्तपुर, लोकन्थलीचोकमा रहेको मिठाई पसलमा पनि चाडपर्वमा निकै भीड लाग्छ। पसलका व्यवसायी किसुनदेव साहका अनुसार तिहारमा व्यापार वृद्धि हुने गर्छ। भन्छन्, ‘लक्ष्मीपूजाको दिनमा लड्डुको व्यापार धेरै हुन्छ।’ उनको पसलमा एक किलो लड्डुलाई ५ सय ५० रुपैयाँ पर्छ। अन्य पसलको तुलनामा यहाँ लड्डुको मूल्य निकै कम रहेको छ। सबै मिठाईका प्रकार आफ्नै पसलमा बनाउने भएकाले मूल्य कम पर्ने उनी बताउँछन्। ‘हामीलाई आवश्यक पर्ने मिठाईका प्रकार आफैँ बनाउँछौँ,’ उनी भन्छन्, ‘आपैmँ बनाउँदा लागत कम पर्छ। त्यसैले गर्दा हाम्रो पसलमा लड्डुको मूल्य कम छ।’ 

साहको पसलमा पनि तिहारका बेला अन्य मिठाईका तुलनामा रसबरीको माग बढी हुने गर्छ। उनको पसलमा सबैभन्दा महँगो मिठाई बर्फी रहेको छ। जसको मूल्य नौ सय रुपैयाँ प्रतिकिलो छ। त्यस्तै, एक किलो लालमोहनलाई पाँच सय रुपैयाँ पर्छ। ‘यो दिन यतिको व्यापार हुन्छ भनेर भन्न सकिँदैन,’ उनी भन्छन्, ‘तर, चाडपर्वमा अरू बेलाभन्दा बढी मिठाई बिक्ने गर्छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि