तिहारमा जताततै छुट

writer

अस्मिता खड्का

बिहिबार, ०७ कार्तिक २०७६


‘क्लियरेन्स सेल’, ‘इन्ड अफ द सिजन सेल’, ‘अप टू ७० पर्सेन्ट’, ‘बाई वान गेट वान फ्री’ का विज्ञापन उपत्यकाका विभिन्न ठाउँका पसलमा हरेक मौसममा देखिन्छन्। लुगालत्ता, जुत्ता, ब्याग, एक्सेसरिजलगायत सामानमा छुटका विज्ञापन पसलहरूले टाँसिरहेका हुन्छन्। चाडपर्वमा सेलको बाढी नै आउने गर्छ। दरबारमार्ग, कुपण्डोल, न्युरोड, पुतलीसडकलगायत काठमाडौँका विभिन्न ठाउँमा दशैँतिहारताका थुपै्र ‘सेल्स अफर’ र ‘एक्सचेन्ज अफर’ का विज्ञापन देख्न सकिन्छ। सपिङ मलदेखि अटो सोरुमसम्ममा छुटका विज्ञापन देखिन्छन्। काठमाडौँ मल, सिभिल मल, सिटी सेन्टर, शेर्पा मल, छाया सेन्टर, भाटभटेनी सुपरमार्केट आदिमा दशैँअघिदेखि नै यस्ता अफर राखिएका थिए। चाडपर्वमा व्यवसायीहरूले ग्राहक आकर्षित गर्न यस्ता अफर ल्याउने गरेका छन्। 

काठमाडौँ, दरबारमार्गस्थित ‘लाभान्याज’मा सपिङ गर्दै भेटिएकी थिइन्, ललितपुर, कुपण्डोलकी रिया अधिकारी। लाभान्याजले मुश्किलले सेल्स अफर दिने उनले बताइन्। ‘म लाभान्याजको रेगुलर कस्टुमर हो,’ उनले भनिन्, ‘डिस्काउन्ट र सेल्स अफर छ-छैन भनेर यसको इन्स्टाग्राम र फेसबुक पेजबाट जानकारी लिन्छु। अफर रहेछ भने सपिङ गर्न आइहाल्छु।’ यस्तो अफर हुँदा बार्गेनिङ गर्नु नपर्ने उनले बताइन्। ‘यस्ता पसलले प्रायः फिक्स्ड प्राइस राखेका हुन्छन्,’ उनले भनिन्, ‘सेल्स र डिस्काउन्ट अफरमा बार्गेनिङको लागि स्पेस नै रहँदैन।’ 

लाभान्याज बुटिक सामानका लागि लोकप्रिय छ। दिदीबहिनी र साथीहरूका लागि गिफ्ट लग्नु परेमा आफ्नो रोजाइमा यही पसल पर्ने उनले बताइन्। ‘हामी दुई  दिदीबहिनी छाँै,’ उनले सुनाइन्, ‘भाइको लागि तिहार सपिङ अरू पसलबाट गरेँ, दिदीका लागि यहाँबाट सपिङ गर्न आएकी छु।’ दशैँतिहार अफर भन्दै जुन पायो, त्यही ठाउँमा सपिङ गर्न नहुने उनको बुझाइ छ। ‘अफर छ भन्दैमा जहाँ पायो, त्यहीँ सपिङ गर्दा नराम्रो सामान पर्ने र ठगिने सम्भावना ज्यादा हुन्छ,’ उनले भनिन्, ‘त्यसैले सकेसम्म आफूले किनिरहने ठाउँबाट सामान किन्नु ठीक हुन्छ।’ 

आकर्षक सेल अफर

लक्ष्मी न्यौपाने विद्याथी हुन्। तिहारको सपिङका लागि उनी काठमाडौँ, सुन्धारास्थित ‘काठमाडौँ मल’ पुगेकी थिइन्। चाडपर्वअनुसार सपिङ गर्नुलाई उनी आफ्नो रुचि बताउँछिन्। ‘सपिङ गर्न एकदमै मन पर्छ,’ उनले भनिन्, ‘अरू बेला बढी खर्च हुने भएकाले सेल्स अफरको मौका छोप्छु।’ थोरै पैसामा धेरै सामान किन्न सकिने हुँदा यस्ता अफरले आफूलाई तान्ने उनले बताइन्। ‘किनमेल गर्दा पैसा जति भए पनि पुग्दैन,’ न्यौपानेले भनिन्, ‘अरू बेला थोरै सामान, धेरै पैसा लाग्छ। सेल र डिस्काउन्ट अफरमा थोरै पैसामा धेरै सामान किन्न पाइन्छ।’

सेलमा उनले आफ्ना लागि मात्र नभई परिवारका अन्य सदस्यका लागि पनि सपिङ गरिन्। भनिन्, ‘यस्तो अफर चलेको बेला अरूको लागि पनि सपिङ गरिदिन्छु।’ चाडपर्वताका चल्ने यस्ता अफर एकदमै उपयुक्त भएको उनले बताइन्। ‘चाडपर्वको बेला विभिन्न बहाना पार्दै फलफूल, तरकारी, अन्न र सुनचाँदी व्यापारीले बजारभाउ बढाइदिन्छन्,’ उनले भनिन्, ‘फलफूल तरकारी किन्न नसके पनि कमसे कम लगाउने सामान त छुटमा किन्न पाइन्छ।’ 

सामान बिक्छ, आम्दानी हुँदैन

काठमाडौँ, कमलपोखरीस्थित, सिटी सेन्टरमा रहेको पसल ‘जोली एन्ड जोन’ मा ग्राहकको घुइँचो थियो। पसलले फेस्टिभ अफरमा १५ देखि ५० प्रतिशतसम्म छुट दिएको छ। त्यसैले ग्राहकको घुइँचो लागेको बताइन्, पसलकी कर्मचारी सुस्मिता चौधरीले। ‘पसलले दशैँतिहार र कहिलेकाहीँ सिजनल रूपमा सेल र डिस्काउन्ट अफर दिन्छ,’ चौधरीले भनिन्, ‘यस्तो बेला दोब्बर ग्राहक आउँछन्। जसले गर्दा सामान त बिक्छ तर आम्दानी खासै हुँदैन।’ जोली एन्ड जोनीमा हरेक समूहका महिला र पुरुषका लागि चाहिने सबै सामान उपलब्ध छन्। पसलले स्टक सामानमा ५० प्रतिशतको छुट दिएको छ। ‘दशैँतिहारताका दैनिक दुई सयभन्दा बढी ग्राहकले भिजिट गर्छन्,’ उनले भनिन्, ‘तर, आम्दानी भने जस्ताको तस्तै हुन्छ। किनकि, सामानमा ५० प्रतिशतसम्म छुट हुन्छ। यसो गर्दा ग्राहक बढी आउँछन्। सामान पनि अत्यधिक बिक्छ तर आम्दानी हुँदैन।’ 

सेलका समस्या

काठमाडौँ, कमलपोखरीमा रहेको सिटी सेन्टरको अर्को पसल ‘स्फिंक्स’ले पनि जुत्ताचप्पल, कपडा, चस्मालगायत सामानमा चाडपर्वका बेला सेल अफर राखेको छ। २१ अगस्टमा पसलको वार्षिकोत्सव हुने सञ्चालक अञ्जु श्रेष्ठले बताइन्। ‘हामी ‘समर÷फेस्टिभ सेल्स अफर’ भनेर अगस्ट महिनादेखि दशैँतिहारसम्म एक पटक राख्छौँ,’ उनले भनिन्, ‘त्यसपछि जाडो याममा क्रिसमसका लागि यस्तो अफर दिन्छौँ।’ 

हिजोआज यस्ता अफरको जानकारी दिन पसलेहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छन्। ‘हामीले इन्स्टाग्राम र फेसबुक प्रयोग गर्छौं,’ श्रेष्ठले भनिन्, ‘हाम्रा रेगुलर ग्राहकले इन्स्टाग्राम फलो गर्छन् र त्यसैबाट थाहा पाउँछन्।’ यस्ता अफर दिँदा कहिलेकाहीँ चुनौती खेप्नुपर्ने उनले सुनाइन्। ‘अफर राखेको बेलामा धेरै ग्राहक हुन्छन्,’ उनले भनिन्, ‘रेगुलर ग्राहकले पनि एकै पटक धेरै सामान उठाएर लग्छन्। यसले ग्राहकको डिमान्ड र प्राइस ट्यागलगायत कुरामा समस्या हुन्छ।’

सिटी सेन्टरमा करिब तीन सयभन्दा बढी एक्सेसरिज, इलेक्ट्रोनिक्स पसल छन्। चाडपर्व र मौसमअनुसार ती पसलले ५० प्रतिशतसम्म छुट दिने गर्छन्। ब्रान्डअनुसार डिस्काउन्ट र सेल्स अफरको मूल्यमा भने फरक पर्ने गर्छ। सिटी सेन्टरभित्र जारा, यूएफओ, डट, माया, स्टाइल सुज, फिटराइट, प्यानासोनिक, नोकियालगायत विभिन्न ब्रान्ड छन्। राम्रो ब्रान्डमा गनिनेले १५ देखि ४० प्रतिशतसम्म छुट दिन्छन् भने अरूले २० देखि ७० प्रतिशतसम्मको छुट राख्छन्। ग्राहक तान्न ब्रान्डले कहिलेकाहीँ गिफ्ट ह्याम्पर पनि राख्ने गरेका छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार