लोकप्रियताको बाटोमा नेटबल

writer

विष्णु थापा

बुधबार, ०६ कार्तिक २०७६


ट्रफीसहित श्रीलंकन विजेता टोली। तस्बिर : सुनिता डंगोल

नेटबल नेपालमा खासै सुनिएको खेल होइन । हेर्दा बास्केटबलजस्तो लाग्ने यो खेलबारे खेककुदमै लाग्नेहरूसमेत अनभिज्ञ छन् । तर, नेपालले पहिलो पटक यू–१६ दक्षिण एसियाली नेटबल प्रतियोगिता आयोजना गरेर सबैलाई यस खेलप्रति आकर्षित गरेको छ । नेपाल नेटबल संघका महासचिव दीपक लामा भने नेटबलको यसअघि पनि थुप्रै राष्ट्रिय प्रतियोगिता आयोजना भएको बताउँछन् । ‘नेटबलको यसअघि पनि थुप्रै प्रतियोगिता आयोजना भइसकेका छन्,’ उनी भन्छन्, ‘हामीले विद्यालयस्तरीय र क्लब च्याम्पियनसिप सञ्चालन गरिसकेका छौँ । पहिलो पटक दक्षिण एसियाली च्याम्पियनसिप गरेकाले होला नेटबलले नेपाली खेलकुदमा एउटा तरंग भने ल्याउन सफल भएको छ । अब नेपालमा नेटबलको लोकप्रियता बढ्नेछ ।’

नेपालमा नेटबल सुरु भएको करिब १० वर्ष भयो । हङकङमा सञ्चालन भएको कोचिङ कोर्स पूरा गरेर नेपाल फर्किएपछि दीपक लामाले नेपालमा नेटबल भिœयाएका थिए । राष्ट्रिय खेलकुद परिषद्मा विधिवत् दर्ता भएलगत्तै संघले विद्यालयहरूलाई प्राथमिकतामा राखेर काम गर्‍यो । ‘हरेक खेलकुदको मेरुदण्ड विद्यालय भएकाले हामीले पनि विद्यालयबाटै नेटबलको विकास गर्ने अभियान सुरु गर्‍यौँ,’ महासचिव लामा, ‘अहिले १२ जिल्ला, ५० भन्दा बढी विद्यालय र क्लबमा नेटबल खेल सञ्चालन भइरहेको छ ।’ 

लामा नेपालमा नेटबलको भविष्य सुन्दर देख्छन् । ‘नेटबलको नेपालमा भविष्य सुन्दर छ,’ उनी भन्छन् ‘एक त महिलाले मात्र खेल्ने यो खेल महिला सशक्तीकरणका लागि सबैभन्दा उपयुक्त खेल  हो । अर्को, यो खेल पूर्ण रूपमा नन कन्ट्याक्ट र सेफ छ ।’

नेपालमा विस्तारकै क्रममा रहेको अवस्थामा नेटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । सन् २०११ मा श्रीलंकामा भएको एसियन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो । उक्त च्याम्पियनसिपमा अहिलेका चर्चित नायिका माला लिम्बू र पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि खेलेका थिए । लामो समय सिंगापुरमा बसेर उता नेटबल सिकेर आएकी मालाले नेपाली टोलीको नेतृत्व गरेकी थिइन् । नेपालमा धेरै जनालाई नेटबलबारे जानकारी नै नभएकाले अन्तर्राष्ट्रिय एरिनामा पुगेपछि केही सिकिन्छ कि भनेर एकै पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको लामाले बताए । नेपालले ब्रुनाईमा भएको यू–२१ युथ च्याम्पियनसिप, कोरियामा भएको स्कुल च्याम्पियनसिप, सिंगापुरमा भएको प्रतियोगितामा समेत सहभागिता जनाएको थियो । 

अन्तर्राष्ट्रिय एरिनामा नेटबलले लगातार सहभागिता जनाए पनि नेपालमा भने नेटबल बामे सर्न खोज्दै छ । छ महिनाअघि संघको नयाँ कार्यसमिति आएपछि यस खेलले विस्तारै लोकप्रियता पाउन थालेको छ । हालै नेपाल नेटबल संघले दक्षिण एसियाली च्याम्पियनसिपको आयोजना गर्‍यो । ललितपुरको लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रको कर्भडहलमा आयोजना भएको पाँचदिने च्याम्पियनसिपमा आयोजक नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रले सहभागिता जनाएका थिए । भारत, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाका टोली नेपालमा खेल्न आएका थिए । नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेत दक्षिण एसियाका दुई छिमेकी मुलुकबीच राजनीतिक तनाव उत्पन्न भइरहेको अवस्थामा पनि नेपालमा ल्याएर खेलाउन सक्नु ठूलो कुरा भएको बताउँछन् । ‘दक्षिण एसियाका भारत र पाकिस्तानबीच राजनीतिक तनाव बढिरहेको छ,’ बस्नेत भन्छन्, ‘यस्तो विषम परिस्थितिमा पनि हामी सबैलाई समेटेर च्याम्पियनसिप आयोजना गर्न सफल भयौँ ।’ यही च्याम्पियनसिपका क्रममा दक्षिण एसियाली नेटबल फेडरेसनको गत सोमबार बसेको कंग्रेसले बस्नेतलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो । दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षको जिम्मेवारी पाएलगत्तै बस्नेतले नेपालका साथै दक्षिण एसियामा यो खेललाई लोकप्रिय बनाउन आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका थिए । 

संघका महासचिव लामा भने च्याम्पियनसिपमा पाकिस्तान र माल्दिभ्सजस्ता मुस्लिम राष्ट्रका खेलाडीलाई सहभागी गराउन सक्नुलाई नै च्याम्पियनसिपको सफलता मान्छन् । भन्छन्, ‘मुस्लिम राष्ट्रमा महिलालाई हतपती घरबाट बाहिर निस्कन दिँदैनन् । त्यस्ता देशबाट खेलाडी आउँदा ज्यादै खुशी लागेको छ ।’ 

नेटबलको जन्म बास्केटबलसँगै हो । सन् १८९१ मा जेम्स नाइस्मिथले अमेरिकामा बास्केटबल खेलको विकास गरेका थिए । सुरुमा नौ जना खेलाडीबीच खेलिँदै आएको बास्केटबल मार्टिन बर्गम्यान ओस्टरवर्गले सन् १८९३ मा अहिलेको स्वरूपमा विकास गरेका थिए । बास्केटबल पुरुषले मात्रै खेल्ने, निकै छिटो खेल्नुपर्ने, एग्रेसिभ हुने र चोटपटक पनि लाग्ने भएपछि ओस्टरवर्गले महिलाका लागि मात्रै भनेर नेटबलको विकास गरेका हुन् । अमेरिकाबाट सुरु भएको यो खेल बिस्तारै अन्य मुलुकमा पनि फैलिएको थियो । अहिले यो खेल कमनवेल्थ मुलुकहरूमा निकै चर्चित छ ।  
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि