शहरको सेवामा डेलिभरी ब्वाई

writer

सृजना खड्का

मङ्गलबार, ०५ कार्तिक २०७६


जमाना अनलाइनको छ। 
अनलाइन सपिङको छ। 

मानिसहरू सबैखालका सेवा, सुविधा र सामान घरसम्मै आइदिऊन् भन्ने चाहन्छन्। शारीरिक श्रम नपर्ने र समयको बचत हुने भएकाले धेरैको रोजाइमा अनलाइन सपिङ पर्छ। आजभोलि अनलाइनबाट सामान खरिद गर्ने ग्राहकको संख्या बढ्दो छ। ग्राहकसँगैडेलिभरी ब्वाईका रूपमा रोजगारी गर्ने युवाको संख्यापनि बढ्दो छ।काठमाडौँमा डेलिभरी ब्वाईको काम गरेर राम्रो कमाइ गर्ने धेरै छन्।

बेरोजगार युवालाई मौका 

ग्राहकको अनलाइन अर्डरअनुसार मोटरसाइकलमा केक डेलिभरी गर्न हिँड्छन्,भक्तपुर, गट्ठाघर बस्ने रजिन श्रेष्ठ (२२)। उनले ‘केक कोसेली’ नामक अनलाइन केक डेलिभरी सेवामा काम गर्न थालेको तीन वर्ष भयो। स्नातक तहमा अध्ययनरत रजिन बिहान कलेज जान्छन्। दिउँसो केक डेलिभरी सेवामा लाग्छन्।‘मैले पहिलो जागिर नै यहीँबाट सुरु गरेको हुँ,’ उनले भने, ‘सुरुका दिनमा आठ-दश हजार तलब थियो। अहिले महिनाको २५-३० हजार कतै जाँदैन। तलबसँगै कमिसन र ग्राहकको टिप्स पनि पाइन्छ।’ अफिसले तोकेको संख्याभन्दा बढी केक डेलिभरी गर्न सक्यो भने प्रतिकेक ४० रुपैयाँ कमिसन केक कोसेलीका डेलिभरी ब्वाईले पाउँछन्। 

आफूजस्ता युवा बाइक राइडिङमा सोखिन भएको रजिन बताउँछन्। ‘स्कुल पढ्दादेखि नै बाइक चलाउने सपना धेरैले पालेका हुन्छन्,’ उनले भने, ‘‘कलेज पढ्ने र पैसा कमाउने भएपछि बाइक चलाउँछु’ भन्ने सोच जसको पनि हुन्छ।’ युवाहरूलेराइडिङ मन पराउने भएकाले उनीहरूडेलिभरी सर्भिसतिर आकर्षित भएको उनी बताउँछन्। भन्छन्, ‘राइडिङ लभरका लागि दिनभरि बाइक चलाउनु कुनै ठूलो कुरो होइन। म पनि राइडिङ लभर भएकाले यो तीन वर्ष कसरी बित्यो, पत्तै पाइनँ।’

यस क्षेत्रमा अवसरसँगै चुनौती पनि भएको रजिन बताउँछन्। ‘सडकको अवस्था, जाम, समय–समयमा हुने सवारीका कारण भनेको समयमा सामान पुर्‍याउन सकिँदैन,’ उनी भन्छन्, ‘बाइक दुर्घटनामा परेर केही साथीले कामै छोडेका उदाहरण पनि छन्।’

डेलिभरी ढिलो हुँदा ग्राहकले गुनासो गर्छन्। यतिबेला ग्राहकसँग कसरी व्यवहार गर्नुपर्छ भन्नेकुरा सिकिने रजिन बताउँछन्। ‘ग्राहकसँग कसरी बोल्ने,बिजनेस कसरी गर्ने, कुन सामान कहाँबाट ल्याउने, सबैकुरा थाहा हुन्छ,’ उनी भन्छन्, ‘सबैकुरा थाहा पाइराखियो भनेपछि आफ्नै नयाँ बिजनेस सुरु गर्ने आँट पनि आउँछ।’

काठमाडौँ, बानेश्वर बस्ने सुजन गोर्खाली (२१)ले पनि केक कोसेलीमा काम गर्न थालेको डेढ वर्ष भयो।‘फेसबुक चलाउँदै जाँदा एकदिन एउटा अनलाइन पेजबाट केक कोसेलीका बारेमा थाहा पाएँ,’ उनी भन्छन्, ‘अरूभन्दा यो काम नयाँ लाग्यो। आफूसँग बाइक पनि भएकाले काम सुरु गरेँ। अहिलेसम्म राम्रै भइरहेको छ।’ग्राहकको दैलोमा केक पुर्‍याएपछि उनीहरू खुशी भएको देखेर दंग पर्छन्, सुजन।‘प्रायःलाई अरूले नै अर्डर गरेर सरप्राइज केक पठाइदिएका हुन्छन्,’ उनको अनुभव छ, ‘त्यो बेला ग्राहकएकदमै खुशी हुन्छन्। आफ्नो बर्थडे सेलब्रेसन गरेर मात्रैहामीलाई पठाउँछन्।’

बेरोजगार युवाका लागि अनलाइन डेलिभरी सेवा राम्रो अवसर भएको उनले बताए। ‘घरमा बेरोजगार भएर केही काम पाइएन भन्दै चिन्ता गर्नुपर्ने जमाना गयो,’ उनी भन्छन्, ‘आफूसँग समय र बाइक चलाउने सीप छ भने अनलाइन डेलिभरी सेवामा निकै मोटो कमाइ गर्न सकिन्छ।’ इन्टरनेटबाट घरमै वस्तु तथा सेवाको बिक्रीहुने भएकाले अहिलेसामान डेलिभिरी गरिदिने मान्छेको खाँचो भएको उनी बताउँछन्। ‘अहिले मानिसहरू पसल जान छाडेर अनलाइनमा सपिङ गर्न थालेका छन्,’ सुजन भन्छन्, ‘ग्राहकबाट होम डेलिभिरीका लागि धेरै अर्डर आउन थालेका छन्। हामीजस्ता युवाका लागि यो क्षेत्रमा ठूलै स्कोप छ।’

दिनमा कलेज ब्वाई, रातमा डेलिभरी ब्वाई

दाङका यादव भण्डारी स्नातक दोस्रो वर्षमा पढ्छन्। उनको दिनचर्या अरूको भन्दा भिन्न छ। धेरै मानिसकोकाम बिहानबाट सुरु हुन्छ।उनको कामभने राति नौ बजेबाट सुरु हुन्छ। अरू काम सकेर घर फर्किएर आराम गर्ने समयमा उनी अफिस निस्कन्छन्। राति १० बजेबाट उनको ड्युटी सुरु हुन्छ। यादव डेलिभरी ब्वाई हुन्। ‘रक सी नेपाल’ नामक नाइट अनलाइन डेलिभरी सेवामा दुई वर्षदेखि उनी काम गर्दै आइरहेका छन्। रक सी नेपालले रातमा रक्सी डेलिभरी गर्ने काम गर्छ। ‘राति १० बजेदेखि २ बजेसम्म धेरै अर्डर आउँछ,’ उनी भन्छन्, ‘एक रातमा कम्तीमा २० देखि २५ अर्डर भ्याइन्छ। १० वटाभन्दा बढी डेलिभरी गर्‍यो भने कमिसन पाइन्छ।’

बेलुका १० बजेदेखि बिहान ५ बजेसम्म उनी रक्सी डेलिभरी गर्छन्। ‘बिहान ६ बजेदेखि १० बजेसम्म सुत्छु,’ यादव भन्छन्, ‘दिउँसो ११ बजे कलेज जान्छु। राति काम गरेकै पैसाले कलेज फी र आफ्नो खर्च पुर्‍याउने गरेको छु।’ आफ्ना धेरै साथी अनलाइन डेलिभरी सेवामा लागेको उनी बताउँछन्। ‘मसँगै कलेज पढ्ने धेरै साथी विभिन्न कम्पनीमा अनलाइन डेलिभरीको काम गर्छन्,’ उनी भन्छन्, ‘अरूको निगरानी र अन्डरमा काम गर्नु नपर्ने भएकाले यो क्षेत्रमा काम गर्दा काम गरेको जस्तै लाग्दैन।’

‘गोप्रो’क्यामरा भिरेर हिँड्ने हुनाले रातमा सुरक्षाको हिसाबले कुनै चिन्ता नहुने यादव बताउँछन्। ‘सुरक्षाको हामीलाई केही चिन्ता हुँदैन,’ उनी भन्छन्, ‘दिउँसो जस्तो राति जाम नहुने भएकाले भनेको समयमा सामान डेलिभरी गर्न निकै सजिलो हुन्छ। राति काम गर्दा ग्राहकबाट दिउँसोको भन्दा राम्रो टिप्स पनि पाइन्छ।’ यो कामबाट बजारको अवस्था र ग्राहकलाई कसरी सन्तुष्ट बनाउने भन्नेबारे सिकिइने उनी बताउँछन्। ‘यो काम गर्नका लागि स्मार्ट हुनुपर्छ,’ उनी भन्छन्, ‘राम्रो कम्युनिकेसन स्किल हुनुपर्छ। मेहनतसाथ खट्यो भने महिनामा ३०-४० हजार रुपैयाँ सजिलै कमाइन्छ।’ 

धन्यवाद र आशीर्वाद 

काठमाडौँमा खानेकुरा, लत्ताकपडा, इलेक्ट्रोनिकतथा घरायसी सामानहरूको डेलिभरी सामान्य भइसक्यो।ललितपुर, पाटनका मदन महर्जन भने अनलाइनमार्फत औषधि डेलिभरी गर्छन्। बिरामीले दैनिक खानुपर्ने ब्लड प्रेसर, कोलेस्टेरोल र डायबिटिजका औषधि ‘नेपाल मेड’ नामक संस्थामार्फत उनी घर–घरमै पुर्‍याउँछन्। ‘म दिउँसो १ बजेदेखि राति ८ बजेसम्म औषधिको अनलाइन डेलिभरी सेवा दिन्छु,’ मदन भन्छन्, ‘मेरो आफ्नो छुट्टै व्यवसाय पनि छ। दिनमा १०–१५ वटा ठाउँमा पुर्‍याउँन भ्याउछु। कमाइ राम्रै भइरहेको छ।’ उनले नेपाल मेडमा काम गर्न थालेको छ महिना भयो। ‘काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा औषधि पुर्‍याउँछु,’ उनी भन्छन्, ‘फेसबुक पेजको सहायतामा मानिसहरू अफिसको सम्पर्कमा आउँछन्। म तिनै अफिसको सम्पर्कमा आएकालाई औषधि पुर्‍याउने काम गर्छु।’ बिरामीलाई औषधि खुवाउनुजस्तो समाजसेवा अरू कुनै लाग्दैन उनलाई। ‘औषधि सकिएर बाटो कुरेर बसेका बिरामीलाई औषधि पुर्‍याउन पाउँदा निकै खुशी लाग्छ,’ उनी भन्छन्, ‘उनीहरूको धन्यवाद र आशीर्वादले थप काम गर्ने ऊर्जा मिल्छ।

‘विदेश किन जानुपर्‍यो ?’

काठमाडौँ, मैतिदेवी बस्ने श्रीकृष्ण खड्गी (३२) ले फुडमान्डूमा फुडडेलिभरी ब्वाइकारूपमा काम गर्न थालेको पाँच वर्ष भयो। विभिन्न रेस्टुरेन्टबाट घर–घरमा खानेकुरा पुर्‍याएबापत उनी मासिक २५ देखि ३० हजार रुपैयाँ कमाउँछन्। ‘शहर सोखिन बन्दै गइरहेको छ,’ उनीभन्छन्, ‘रेस्टुरेन्टको खाना घरमै बसीबसी खान चाहने थुप्रै छन्। यसले हामीजस्ता डेलिभरी ब्वाईलाई भ्याइ–नभ्याइछ।’

फुडमान्डूमा काम गर्न प्रहरीको रिपोर्ट रलाइसेन्स भएको हुनुपर्ने उनी बताउँछन्। ‘हामी जसको घरमा पनि जानुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यहाँ चोरी, डकैती र नराम्रो केही होला भनेर प्रहरीको रिपोर्ट खोजिन्छ।’

पहिले उनी एक डिपार्टमेन्टल स्टोरमा काम गर्थे। ‘बाहिर कतै निस्किन पाइँदैनथ्यो, दिनभरि एकैठाउँमा बसेर काम गर्नुपथ्र्यो,’ उनी सम्झन्छन्, ‘एउटै थलोमा बसेर गर्ने काममा दिक्क लागेपछि घुमफिर गर्दै गर्ने काम खोज्दै जाँदा फुडमान्डूमा आइपुगेँ।’ पछिल्लो समय अनलाइन व्यापार बढेसँगै डेलिभरी ब्वाईको पनि निकै माग बढेको उनी बताउँछन्। ‘अनलाइन सप मात्र नभएर ठूलठूला कम्प्लेक्सदेखि स–साना पसललले समेत घरमै सामान पुर्‍याइदिने चलन भिœयाएका छन्,’ उनी भन्छन्, ‘ यति भएपछि हामीजस्ता युवालेकामको खोजीमा किन विदेश जानुपर्‍यो ?’ 

काठमाडाँै, बालाजुका अस्मित गौतम (२४) ले‘योर कोसेली’ अनलाइन डेलिभरी सेवामा काम गरेको डेढ वर्ष भयो। उनी इलेक्ट्रोनिक सामान, गिफ्ट, केक आदि डेलिभरी गर्छन्। अस्मित केही समयअघि विदेश जाने तयारीमा थिए। ‘सबैले ‘नेपालमा बसेर काम छैन, केही काम पाइँदैन’ भनेको सुन्दा–सुन्दा विदेश जाने मानसिकता बनाइसकेको थिएँ,’ उनी भन्छन्, ‘विदेश प्रोसेस गर्ने बेलासम्म फ्री बस्न मन नलागेर अनलाइन डेलिभरी सेवा सुरु गरेँ। कमाइ राम्रो हुन थालेपछि विदेश जाने सोचै त्यागिदिएँ।’ 

पहिला उनले राइडरको काम पनि गरेका थिए। मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा बाइकमा पुर्‍याउने काम गर्थे। ‘मानिसहरूले ‘मलाई ढिला भयो, छिटो जाऊँ’ भन्थे,’ उनी सम्झन्छन्, ‘कोही–कोहीले देख्दै नदेखेको कुनाकाप्चाबाट बाइक छिराउन लगाउँथे।’ अहिले उनलाई त्यस्तो अप्ठ्यारो केही छैन।‘खानेकुराले ‘मलाई ढिला भयो’ भन्दैन, न त ‘यो होइन, त्यो बाटोबाट जाऊँ’ नै भन्छ,’ अस्मित भन्छन्, ‘आफूलाई जुन बाटोबाट जान मन लाग्छ, त्यही बाटोबाट जान पाइयो। यसरी काम गर्दा ज्यानलाई कम खतरा हुन्छ।’ 

बाइकमा शहर घुमेजस्तो काम

दोलखाका विनोद खड्का (२४) पनि फुडमान्डूमै डेलिभरी सर्भिस दिन्छन्।  उनले डेलिभरी सेवा सुरु गरेको तीन महिना भयो। यसअघि एउटा चिकेन कोल्ड स्टोरमा काम गर्थे। ‘बिहान ४ बजेदेखि उठेर जानुपथ्र्यो,’ उनी भन्छन्, ‘‘१ सय २० किलो कुखुरा तयार पार्नुपथ्र्यो। कोल्ड स्टोरबाट डेग चल्न पाइँदैनथ्यो। कमाइ पनि खासै राम्रो थिएन।’

अहिले उनी आधा घण्टा अफिसमा बिताउँछन् भने बाँकी समय बाइकमा सामान डेलिभरी गर्न जान्छन्। ‘अहिले कसैको अन्डरमा बसेर काम गर्नुपरेको छैन,’ उनी भन्छन्, ‘डेलिभरीको काम गर्दा काम गरेको जस्तै हुँदैन। बाइकमा शहर घुमेजस्तो लाग्छ। दिन बितेको पत्तै हुँदैन।’

उनको तलब १८ हजारजति हुन्छ। छ वटा डेलिभरी अफिसका नाममा गर्नुपर्छ। प्रत्येक अर्डरमा सय रुपैयाँ कमिसन पाउँछन्। ‘एक दिनमा १५ देखि २० वटा अर्डर भ्याउँछु,’ विनोद भन्छन्, ‘मेरा धेरै साथीले विदेश गएर रातदिन नसुती–नसुती कमाउने पैसा म स्वदेशमै खानेकुरा डेलिभरी गरेर कमाउँछु।’

आफ्नो सवारीसाधन भएका र शहरको लोकेसन राम्रोसँग थाहा भएका मानिसहरू डेलिभरी ब्वाई बन्न सक्ने उनी बताउँछन्। ‘बाइक चलाउन जान्ने जो कोही यो क्षेत्रमा आउन सक्छन्,’ उनी भन्छन्, ‘ड्राइभिङ लाइसेन्स यो क्षेत्रमा आउन चाहनेको हतियार हो। लाइसेन्स हाम्रा लागि सर्टिफिकेटसरह हो।’ यसबाहेक आफूले काम गर्ने शहरको हरेक लोकेसनबारे पनि आफू जानकार हुनुपर्ने उनी बताउँछन्। ‘लोकेसन थाहा भएको मानिस अलमलिने चान्स हुँदैन,’ उनी भन्छन्, ‘अलमलमा नपरेपछि धेरै ठाउँमा सामान पुर्‍याएर धेरै पैसा कमाउन सकिन्छ।’

विदेशबाट फर्केर डेलिभरी ब्वाई 

काठमाडाँै, मित्रपार्क बस्ने निरोज मते (३१) ले डेलिभरी सेवा दिन थालेको दुई वर्ष भयो। उनी चार वर्षयूएई, दुबई र तीन वर्ष अफगानिस्तान बसेर फर्किए। विदेशबाट फर्किएकोएक वर्ष घरमा यत्तिकै बसे। विदेशबाट आउनेबित्तिकै काम पाउने अवस्था थिएन। ‘विदेशबाट आएपछि कहाँ जाने, के काम गर्ने अलमलमा थिएँ,’ उनी भन्छन्, ‘विदेशमा अनलाइन डेलिभरी सेवाबारे सुनेको थिएँ। नेपालमा पनि छ कि भनेर गुगल गरेर हेर्दा फुडमान्डूबारे थाहा पाएँ।’

यो काम सुरु गरेपछि धेरैले उनलाई ‘विदेशबाट आएको मानिसले नि यस्तो काम के गरेको होला?’ भने। ‘मानिसहरूले निकै होच्याएर बोल्थे,’ उनी भन्छन्, ‘डेरा वरिपरिबाट अर्डर आउँदा मुख छोपेर जानुपथ्र्यो। अहिले त्यस्तो लाग्दैन। कमाइ राम्रो हुन थालेपछि मुखै नछोपी काम गर्न थालेको छु।’

खानेकुरा डेलिभरी गरेर कमाएको पैसाले उनको चारजनाको परिवार चलेको छ। ‘आफ्नो परिवारसँग बसेर महिनाको ३०-३५ हजार कमाउनुचानचुने कुरा होइन,’ निरोज भन्छन्, ‘आफ्नै देशमायति कमाएपछि फेरि विदेश किन जानु?’

यो कामका लागि धेरै शैक्षिक योग्यता नचाहिने उनी बताउँछन्। ‘१० पास गरेकाले पनि यो काम गर्न सक्छन्,’ उनी भन्छन्, ‘मेरा मास्टर्स पढेका साथीहरूलाई‘तलब कति छ’ भनेर सोध्दा ‘१५ हजार’ भन्छन्। म बल्लतल्ल एसएलसी पास गर्नेले उनीहरूकै छेउमा३० हजार कमाउँछु।’

शुक्रबार, शनिवार र चाडपर्वको बेला उनलाई भ्याइ–नभ्याइ हुन्छ।‘कामको सिलसिलामा धेरै खालका मानिससँग भेट्न र कुरा गर्न पाइन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ विदेशीहरूको पनि अर्डर आउँछ। उनीहरूसँग कसरी डिल गर्ने भनेर पनि सिकिन्छ।भविष्यमा होटललाइनमा आफैँ केही गरौँ भन्दा पनि यो अनुभवले निकै सघाउला भन्ने लागेको छ।’

उनलाई अफिसले नै मोबाइलको सिम दिएको छ। त्यसमा महिनामा ३ सय ६० मिनेट टक टाइम र २६ सय एमबी डाटा हुन्छ। ‘यति भएपछि महिना मज्जाले मर्छ,’ निरोज भन्छन्, ‘पेट्रोलको पैसा पनि अफिसले दिन्छ।’ यो क्षेत्रमा काम गर्न समयको पक्का र ग्राहकसँग राम्रो व्यवहार गर्नसक्ने हुनुपर्ने उनी बताउँछन्। 

‘भोक लाग्यो’ नाइट अनलाइन फुड डेलिभरी सेवामा काठमाडौं, सामाखुशी बस्ने प्रमोद गुरुङले काम गर्न थालेको दुई वर्ष भयो। नेपालमा रोजगारीको अवसर नदेखेपछि पढाइ बीचैमा छाडेर उनी विदेशिएका थिए। कतारको एउटा होटलमा उनी वेटरको काम गर्थे। उता कामअनुसारको तलब नपाएपछि उनी नेपाल फर्किए। केही समय बेरोजगार रहे। ‘एकदिन भोक लाग्यो नाइट अनलाइन फुड डेलिभरी सेवाबारे थाहा पाएँ,’ उनी सम्झन्छन्, ‘त्यहाँ दिइएको नम्बरमा सम्पर्क गरेँ। केही दिनमै काम सुरु गरेँ।’

खाडी गएर कमाएको जति पैसा उनले नेपालमै कमाउन थाले। ‘महिनाको २५–३० हजार तलब थाप्न मलाई विदेशीको हप्कीदप्की खानु परेन,’ प्रमोद भन्छन्, ‘विदेश जानुभन्दा पहिले यस्तो काममा हात हालेको भए परिवार छाडेर म विदेशिने थिइनँ। रातको समयमा सेवा दिने भएकाले तलबबाहेक थुप्रै टिप्स पनि पाउने गरेको छु। ध्यान दिएर यो काम गर्‍यो भने परिवार पाल्न विदेश जानुपर्दैन।’

खानेकुरा हरेक दिन हरेक घरमा चाहिने भएकाले धेरै अर्डर आउने उनी बताउँछन्। ‘अहिले धेरैका घरमा बूढाबूढी मात्रै हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरू बाहिर गएर सामान किन्न सक्दैनन्। प्रविधि चलाउन जान्ने धेरै आमाबाबुले घरमै बसेर आफूले चाहेको कुरा मगाउँछन्।’

यो काममा गाली र ताली दुवै भएको प्रमोद बताउँछन्। ‘सामान पुर्‍याउन ढिला हुँदा गाली पनि सुन्नुपर्छ,’ उनी भन्छन्, ‘चाँडै भएको बेलामा ग्राहकको स्याबासी पनि खाइन्छ। कोसँग कसरी व्यवहार गर्ने भन्ने कुरा जानिन्छ।विभिन्न क्षेत्रका मानिसलाई सेवा दिन पाउँदा पैसा कमाएको भन्दा बढी खुशी लाग्छ।’सडकमा धुवाँधुलो नहुने हो भने आफूलाई काम गर्न निकै सहज हुने उनी बताउँछन्। भन्छन्, ‘रोडमा जाम, खाल्डाखुल्डी र धुवाँधुलो नहुने हो भने हामीलाई धेरै सजिलो हुन्थ्यो।’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि