‘नौ कक्षादेखि जिम’

writer

कुबेर डंगोल

मङ्गलबार, ०५ कार्तिक २०७६


तस्बिर : कुबेर डंगोल ।

निराजन प्रधान म्युजिक भिडियो मोडलका रूपमा चर्चित छन्। पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका निराजनले गिनिज बुकमा नाम लेखाउन सफल फिल्म ‘जालो’ र ‘जालो रिटन्र्स’ मा पनि अभिनय गरेका छन्। यसबाहेक उनले थुप्रै विज्ञापनमा पनि काम गरेका छन्। शरीर र मन दुवै फिट राख्न जिम जाने निराजनले ‘अन्नपूर्ण सम्पूर्ण’लाई फिटनेस अनुभव सुनाएका छन्।


तनहुँको भिमादमा जन्मे पनि पाँच कक्षा पढेपछि काठमाडौँमा पढ्न थालेको थिएँ। बलिउड र हलिउडका स्टारको पोस्टर भित्ताभरि टाँसिएको हुन्थ्यो। यिनै पोस्टर हेर्दाहेर्दै उनीहरूको जस्तै ज्यान बनाउने रहर पलायो। उनीहरूको जस्तो छरितो ज्यान बनाउन जिम जानुपर्छ भन्ने थाहा पाएपछि ९ कक्षा पढ्दा सबैभन्दा पहिला जिम जान थालेको हुँ। यसमा टोलका दाइहरूको पनि योगदान छ। उहाँहरूकै लहैलहैमा जिम जान थालेँ। 
सुरुसुरुमा मेरो पनि जिम जाने उद्देश्य छाती चौडा बनाउने र पाखुरा बलियो बनाउने नै थियो, ताकि हेर्नेहरू शरीर हेरेर दंग परून्। तर, केही समयमै मेरो दिमाग ठेगानमा आयो। छाती चौडा बनाउन र पाखुरामा सुम्ला निकाल्नभन्दा जिमको काम शरीर स्वस्थ राख्न महत्त्वपूर्ण रहेछ भन्ने थाहा भयो। 

मेन्टेन गर्न जिम

मैले देखेकोमा जिम जाने मानिस कि ज्यान बढाउन जान्छ कि घटाउन जान्छ। तर, मेरो शरीर सुरुदेखि नै सही सेपमा रहेकाले दुवै कुरा मेरो उद्देश्यभित्र परेनन्। म दुब्लो पनि थिइनँ र मोटो पनि थिइनँ। ठिक्कको थिएँ। त्यसैले मैले जिम शरीर मेन्टेन गर्न मात्र गर्ने गरेको छु। हाम्रो प्रोफेसनको हिसाबले पनि मेन्टेन्ड हुनु मात्र राम्रो हो। कुनैमा दुब्लो ज्यान चाहिन सक्छ, कुनैमा मोटो। यति तपाईं मेन्टेन गरेर बस्नुभएको छ भने न मोटाउन समय लाग्छ, न दुब्लाउन। त्यसैले नर्मल अवस्थामा म दिनको एक घण्टा मात्र जिम गर्छु। जसमा ३० मिनेट कार्डियो गर्छु भने बाँकी समय फलाम उठाउने काम हुन्छ। 

एभोकाडो खान्छु

हामी नेपालीलाई स्वादिष्ट खाना खाने बानी हुन्छ। चिल्लो, पिरो खाना खान्छौँ। त्यसमा पनि दाल–भात–तरकारी छुट्दैन। तर, जिममा खानेकुराको ठूलो भूमिका हुन्छ। डाइटमा अलिकति मात्र तलमाथि भयो भने जिम गरेको सब खोलामा जान्छ। खानामा खास गरी  प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन हुन जरुरी छ। जिम गर्दा प्रोटिन चाहिन्छ तर म बजारिया प्रोटिनमा भरोसा गर्दिनँ। प्रोटिन अण्डाबाट पनि पाइन्छ, ब्रोकाउलीबाट पनि पाइन्छ। यी दुवै खान सकिन्छ। यीबाहेक मैले खाने भनेको एभोकाडो हो। खान खासै स्वादिलो हुन्न तर पनि एभोकाडो डाइटका लागि फाइदाजनक हुन्छ। त्यसैले मेरो डाइटमा एभोकाडो चाहिँ छुट्दैन। 

फिटनेस कन्सस भएपछि छाड्नुपरेको खाना भनेको दाल–भात–तरकारी नै हो। तर, महिनामा दुईतीन चोटि भने हात चाटी–चाटी खाने गरेको छु। 

नियमित जिम राम्रो

जे गरे पनि नियमित गर्नु राम्रो हो। जिम पनि नियमित गर्न राम्रो हो। तर, सुटिङका कारण सधैँ जिमखाना जाने अवसर पाइँदैन। त्यो बेलामा भने पुसअपले काम चलाउँछु। पोखरा, चितवनजस्ता शहरमा गयो भने त समस्या हुन्न, तर त्योभन्दा पर गाउँमा जानुपर्‍यो भने पुसअप गर्दा हुन्छ। मेरो जिम गर्ने समय राति हुन्छ। बिहान, दिउँसो भीड हुने भएकाले बेलुका गर्न ठीक लाग्छ। जिम गर्दा मलाई चेस्ट र बाइसेप्स गर्न रमाइलो लाग्छ तर थाई गर्न झ्याउ लाग्छ।  थाईका लागि स्क्वाड, डमबेल आदि उठाउनु पर्ने हुन्छ। यसो गर्न अलि गाह्रो लागे पनि रुटिनअनुसार गर्नैपर्ने हुन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार