‘ट्राफिक बन्न घरबाट भागेँ’

writer

सम्पूर्ण

मङ्गलबार, ०५ कार्तिक २०७६


नारायणी सापकोटा,  ट्राफिक प्रहरी, महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँ।

आरामै हुनुहुन्छ ?
आरामै छु। 

ट्राफिक प्रहरीमा आउनुभएको कति वर्ष भयो ?
नौ वर्ष भयो। 

यही जागिर रोज्नुको कारण के होला ? 
सानोमा ट्राफिक प्रहरी देखेर रहर लाग्थ्यो। स्कुलमा सरले ठूलो भएपछि के बन्ने ? सोध्दा ‘प्रहरी बन्छु’ भन्ने गर्थें। सानो छँदाको त्यही रहरले यतातिर डोर्‍यायो।

ट्राफिक प्रहरीमा आउनका लागि परिवारको साथ कत्तिको पाइयो ?
आमाले साथ दिनुभयो। बाबाले त गाली गर्नुभएको थियो। ‘जानै पर्दैन’ भन्नुभएको थियो। बाबालाई ढाँटेर, घरबाट भागेर ट्राफिक प्रहरी भइयो। 

परिवारमा को–को हुनुहुन्छ ?
श्रीमान्, छोरा र म काठमाडौँ बस्छौँ। परिवारका बाँकी सदस्य गाउँमा हुनुहुन्छ। 

घर कता हो ?
माइती पाल्पा, घर गुल्मी। 

यता कता बस्नुहुन्छ ?
पुतलीसडक। 

कस्तो विवाह गर्नुभयो, मागी कि प्रेम ?
मागी बिहे हो। 

श्रीमान् के गर्नुहुन्छ ?
उहाँ पनि ट्राफिक प्रहरीमै हुनुहुन्छ। 

काम र घरको जिम्मेवारी सँगै सम्हाल्न कत्तिको गाह्रो हुन्छ ?
छोरा नजन्मिँदासम्म खासै गाह्रो थिएन। बाबु भएपछि अलि अप्ठ्यारो भएको थियो। एकातिर बच्चाको हेरविचार, स्याहार गर्नुपर्‍यो, अर्कोतिर ड्युटी। दुवै जिम्मेवारी सँगसँगै उठाउन गाह्रो हुँदो रहेछ। 

अवस्था अहिले कस्तो छ त ?
अहिले बाबु ठूलो भयो। छ वर्षको भयो। स्कुल पठाउने गरेकी छु। उसलाई स्कुल पठाएर काममा आउँछु। सहज भएको छ। 

छोरालाई कत्तिको समय दिनुहुन्छ ?
ड्युटी सकिएपछिको पूरा समय छोरालाई हो। अरू आमाबुबाजस्तो घुमाउन, धेरै समय दिन नसकेपछि भरसक समय दिने प्रयास गर्छु।

सुत्केरी बिदा कति पाइयो ?
चार महिनाजति बसेँ। 

सुत्केरीपछि काम गर्न कत्तिको गाह्रो भयो ?
खासै गाह्रो भएन। अफिसले लामो ड्युटीमा हाल्दैनथ्यो। त्यसैले सजिलो भयो।

नौ वर्षमा कता–कता ड्युटी गर्नुभयो ?
भैरहवा र काठमाडौँमा।

ट्राफिक प्रहरीमा प्रवेश गर्दाको पहिलो दिन कस्तो रह्यो ?
सुरुको दिन अलिक गाह्रो भयो। पछि–पछि बानी पर्दै गयो।

अव्यवस्थित राखिएका सवारीसाधन दिनमा कति फेला पर्छन् ?
महाशाखामा नगरपालिकाको गाडीले ल्याउने गर्छ। दिनमा छसात टिप ल्याउँछ होला। एक टिपमा आठ वटा मोटरसाइकल ल्याउँछ। 

यसो हुँदा सवारीधनीले आफ्नो बचाउ कसरी गर्छन् ? 
‘पार्किङमा राखेको थिएँ, अरूले निकालेर आफ्नो राखेछन्’ भन्छन्। कसैले ‘एकैछिन राखेको गाडीले लगेछ’ पनि भन्ने गर्छन्। 

महिला ट्राफिक प्रहरीले बाटोमा खटिँदा के कस्ता चुनौती सामना गर्नुपर्छ ?
खासै चुनौती छैनजस्तो लाग्छ। सडकमा पुरुष ट्राफिक प्रहरीभन्दा महिला ट्राफिक प्रहरी देखेपछि चालकले कम गल्ती गर्छन्जस्तो लाग्छ। महिला ट्राफिकले गल्ती गरेपछि छोड्दै छोड्दैनन् भन्ने सोच्छन्। 

ड्युटीमा तपाईं कत्तिको कडा हुनुहुन्छ ?
परिस्थिति हेरेर कडा र नरम भइन्छ। यसै त किन कडा हुनु ? चालकले ट्राफिक नियम नमाने न कारबाही गर्ने हो। त्यसलाई नै हाम्रो कडा व्यवहार भनिन्छ। 

मापसे कारबाहीमा कति चालक पर्छन् ?
दिनमा २५–३० जना पर्छन्। 

सडकको बीचमा उभिएर काम गर्दा ट्राफिक प्रहरी कत्तिको सुरक्षित छन् ?
गाडीको चापमा पेलिएर ड्युटी गर्दा हरेक ट्राफिक प्रहरीले सचेत र सुरक्षित हुन जरुरी छ। गाडीको इन्जिनमा समस्या भयो भने भनेको समयमा र ठाउँमा ब्रेक नलाग्न सक्छ। दुर्घटना हुन सक्छ। जोगिनुपर्छ।

दुर्घटना नियन्त्रणका लागि के कस्ता काम भइरहेका छन् ?
चालकहरूलाई विभिन्न विषयमा बेलामौकामा जानकारी गराइरहेका हुन्छौँ। 

प्रस्तुतिः आशक्ति फुयाल 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि