‘बरु झुर फिल्म बनाऊँ, चोरेर नबनाऊँ’

writer

सामीप्यराज तिमल्सेना

सोमबार, ०४ कार्तिक २०७६


फिल्म समीक्षा, लेखन हुँदै निर्देशनमा उत्रिएका दीपेन्द्र लामा निर्देशित नयाँ फिल्म ‘छ माया छपक्कै’ गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ। लेखनमा कलात्मक फिल्मको पक्षपोषण गर्ने र यसअघि यथार्थवादी फिल्म बनाएका लामाले नयाँ फिल्ममा भने हल्काफुल्का कमेडी फिल्म बनाउने ‘छक्का पञ्जा’ समूहका निर्माता तथा कलाकारसँग सहकार्य गरेका छन्। ‘अन्नपूर्ण सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेनाले निर्देशक लामासँग सोही फिल्ममा केन्द्रित भएर संवाद गरेका छन्। 


‘मेरो पैसा फिर्ता नआए पनि हुन्छ, फिल्म चाहिँ राम्रो बनाउनुस्’ भन्ने लगानीकर्ता भेटिँदैन। त्यसैले थोर–बहुत नाफा कमाउन सक्ने गरी नै फिल्म बनाउनुपर्ने बाध्यता छ।

दीपक– दीपाको समूह र तपाईं विचारका हिसाबले दुई किनाराजस्तै हुनुहुन्थ्यो, संगम कसरी भयो ?
दुई किनारा होइन, दुई फरक नदी चाहिँ हो। ‘छ माया छपक्कै’ एउटा विन्दु रहेछ, जहाँ आइपुगेर हाम्रो संगम भयो। उहाँहरूलाई केही फरक कथामा फिल्म बनाऊँ भन्ने भएको रहेछ। त्यसैले अरूका थुप्रै कथा सुन्नुभएछ। तर, मेरो कथा उत्कृष्ट लागेपछि उहाँहरू मसँग काम गर्न राजी हुनुभएको हो। मलाई पनि ‘छक्का पञ्जा’ समूहको फिल्म ठूलै प्लेटफर्म हुन्छ भन्ने लाग्यो। काम नगर्ने भन्ने कुरै भएन।

काम गर्दाको अनुभव कस्तो रह्यो ?
मैले बनाएका अघिल्ला दुई फिल्म ‘घामपानी’ र ‘गोपी’भन्दा यो लगानीका हिसाबले ठूलो फिल्म थियो। क्यानभास ठूलो थियो। छायांकन पनि ५४ दिन भयो। जबकि अघिल्ला दुवै फिल्मको छायांकन २७–२७ दिनमा सकिएको थियो। टिम पनि ठूलो थियो। फेरि यसपालि जेठको पहिलो हप्तादेखि असोजको पहिलो हप्तासम्म पाँच सेड्युलमा फिल्म खिचियो। यी सब कारणले यसपालिको काम निकै गाह्रो लाग्यो। फिल्म बनाउन कतिसम्म दुःख र धैर्य गर्नुपर्छ भन्ने यसपटक बल्ल महसुस भयो।

दीपाश्री निरौलाको नाम निर्देशन सल्लाहकारमा आउँदा धेरैले तपाईंले पाउने निर्देशकीय स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए। सल्लाहकारको भूमिका के हुँदो रहेछ ?
फिल्म निर्देशन गर्नु भनेको उपन्यास लेख्नुजस्तो होइन। उपन्यास विशुद्ध लेखकको एकलौटी माध्यम हो। लेखक एक्लैको नियन्त्रण हुन्छ उपन्यासमा। फिल्मलाई निर्देशकको माध्यम भनिन्छ। तर, व्यवहारमा त्यस्तो हुँदैन। फिल्म टिमवर्क हो। यसमा धेरैको नियन्त्रण रहन्छ। रहनुपर्छ। दीपाश्री टेक्निकल पार्टमा निकै परिपक्व हुनुहुँदो रहेछ। त्यस्तै, भीड र मान्छेलाई गाइडेन्स दिन सक्ने व्यक्तित्व उहाँको छ। मलाई मात्र होइन, निर्देशन टिमका सबैलाई धेरै सजिलो भयो काम गर्न। मलाई ‘डोमिनेट’¬गर्ने भन्दा पनि फिल्म राम्रो बनाउनका लागि निःस्वार्थ भावनाले खट्ने व्यक्तिका रूपमा मैले पाएँ। फिल्म मेकिङमा मभन्दा सिनियर हुनुहुन्छ उहाँ। त्यसैले निर्देशन सल्लाहकार भन्ने पद उहाँले डिजर्भ गर्नुहुन्छ।

तपाईंले फिल्म रिलिजअघि ‘छ माया छपक्कै’ दुई विचारधाराको फ्युजन हो भन्नुभएको थियो तर फिल्म ‘छक्का पञ्जा’ ह्याङओभरबाट खासै मुक्त नभएको धेरैको टिप्पणी छ।
‘छक्का पञ्जा’भन्दा फरक गर्न खोजिएको हो। दीपकराज गिरी पनि परिवर्तनकै पक्षधर हुनुहुन्छ। तर, परिवर्तन एकैचोटि सम्भव छैन। ‘छक्का पञ्जा’को फ्लेभरलाई तुरुन्तै बाइपास पनि गर्न सकेनौँ। जोखिम मोलेका छौँ। तर, सेफ ल्यान्डिङ हुने गरी मात्र। 

फिल्मको कथा तपाईंहरूले कञ्चनपुरको गोदावरीमा भएको घटनाबाट लिइएको हो भन्नुभएको छ। के भएको थियो त्यो गाउँमा ?
आजभन्दा छ वर्षअघिको घटना हो। बिहेको सबै तयारी भइसकेको थियो। रहने विक नाम गरेका व्यक्तिले सरस्वतीपूजाको दिन बेहुली लिन जाने तयारी गरेका थिए। तर, केटी पक्षबाट अचानक फोन आएपछि बिहे रद्द भयो। पानी लिन पाँच किलोमिटर हिँड्नुपर्ने रहेछ, गोदावरी गाउँमा। त्यही भएर बेहुली पक्षले ‘छोरी दिन्नौँ’ भनेछन्। यो त एउटा प्रतिनिधि घटना मात्र हो। यस्ता घटना अरू जिल्लामा पनि हुँदा रहेछन्। हाम्रो कथाको स्रोत यही घटना हो। 

तर, फिल्म हेर्ने केहीले  फिल्मको कथा हिन्दी फिल्म ‘कौन कितने पानी में’ बाट प्रभावित भएको आशंका गरिरहेका छन्, नि ?
विदेशी फिल्मको कथा चोरेर फिल्म बनाउने प्रवृत्तिको म पहिलेदेखि नै विरोधी हुँ। बरु झुर फिल्म बनाऊँ, चोरेर नबनाऊँ भन्छु म। त्यो हिन्दी फिल्म सन् २०१५ मा रिलिज भएको हो। तर, मैले ‘छ माया छपक्कै’को कथा सन् २०१३ मै रंगकर्मी अनुप बराललाई सुनाएको थिएँ। यसको प्रमाण मसँग छ। त्यो हिन्दी फिल्मसँग ‘छ माया छपक्कै’ को कथा कतैबाट पनि मिल्दैन। नेपालमा पानीको अभाव छ, तर कथाको छैन। पानीको समस्यामाथि फिल्म बनाउन हिन्दी फिल्मको कथा चोर्न आवश्यक छैन।

समीक्षकका रूपमा लामो समय अरू निर्देशकको काममा औंला उठाउनुभयो। निर्देशन गर्न कत्तिको गाह्रो हुँदो रहेछ ?
निर्देशन सोचेभन्दा गाह्रो काम रहेछ। अघिल्ला दुई फिल्ममा काम गर्दा नै मलाई यो महसुस भएको हो। फिल्म निर्देशन गर्न मानसिक, भावनात्मक, बौद्धिक, शारीरिक, व्यावहारिक र सिर्जनात्मक सबै रूपमा मजबुत हुनुपर्दो रहेछ। निर्देशनमा आउनलाई लामो तयारी चाहिँदो रहेछ। हो, फिल्डमा गएर पनि धेरै सिकिन्छ। तर, पहिला पानीमा हाम्फाल्ने अनि पौडी सिक्दै जाने भनेजस्तो होइन यो। बरु हवाईजहाज उडाएजस्तो रहेछ। पहिला सिक्ने अनि मात्र पाइलटको सिटमा बस्ने।

समीक्षा गर्दा कलात्मक फिल्मको पक्षपोषण गर्नुहुन्थ्यो, तर अहिले आफैँले काम गर्दा बजारको प्रेसरमा हुनुहुन्छ। निर्देशकले बजारको चिन्ता नगर्ने दिन कहिले आउला ?
वास्तवमा फिल्म कला नै हो। म अहिले पनि कलात्मक फिल्मको पक्षपोषण गर्छु। तर, हामीले यसको व्यापारिक पाटोलाई बिर्सन मिल्दैन। ‘मेरो पैसा फिर्ता नआए पनि हुन्छ, फिल्म चाहिँ राम्रो बनाउनुस्’ भन्ने लगानीकर्ता भेटिँदैन। त्यसैले थोर–बहुत नाफा कमाउन सक्ने गरी नै फिल्म बनाउनुपर्ने बाध्यता छ। नाफा कमाउने फिल्म बनाउने, त्यसमा बिस्तारै कलात्मकताको परिमाण बढाउँदै लैजाने भन्ने मान्यता मेरो हो। संसारका सबै निर्देशकले बजारको चिन्ता गर्छन्। कस्तो बजार भन्ने चाहिँ फरक होला।

तपाईंको विचारमा निर्देशकमा नभई नहुने क्वालिटी के हो ?
असल मान्छे नभई कोही राम्रो निर्देशक हुन सक्दैन। समाजका पात्र र घटनाहरूको सही अवलोकन र विश्लेषण गर्ने सामथ्र्य पनि निर्देशकमा हुनुपर्छ। निर्देशक समाज, संस्कृति, इतिहास, विज्ञान, राजनीति र अर्थतन्त्रदेखि टाढा होइन, नजिक रहनुपर्छ। टेक्निकल पार्ट चाहिँ सेकेन्डरी कुरा हो।

फिल्म पत्रकारिता संसारभर नै फिल्ममा आउने घुमाउरो बाटो हो। तपाईं सुरुदेखि नै फिल्ममा आउन चाहनुहुन्थ्यो कि पत्रकारिता गर्दै जाँदा यताको बाटो समात्नुभएको हो ?
बाल्यकालदेखि नै फिल्मप्रति आसक्ति थियो। पाएसम्मका फिल्म हेर्थें। हलमा होस् वा भिडियो देखाउने गौँडाहरू, सबैतिर पुगिन्थ्यो फिल्म हेर्न। भविष्यमा एक दिन फिल्मसँगै जोडिनुपर्छ भन्ने इच्छा कता–कता थियो। फिल्म पत्रकारिता त्यसको तयारीजस्तो भइदियो। फिल्म पत्रकारिता मात्र गरेर निर्देशक चाहिँ हुन सकिँदैन। त्यही भएर म बेला–बेला वर्कसप र छोटो अवधिका तालिममा सहभागी भएको थिएँ।

‘छ माया छपक्कै’को सफलतापछि अब यस्तै फिल्म बनाउने कि तपाईंले भन्ने गरेजस्तो कलात्मक फिल्म बनाउने ?
मनोरञ्जनले भरिपूर्ण तर गम्भीर विषय समेटिएको कथामा फिल्म बनाउने मेरो योजना छ। त्यसो त, जस्तो फिल्म बनाउन पनि कलात्मक चेत चाहिँ चाहिन्छ। मेरो अहिलेको ध्याउन्न, त्यही कलात्मक चेतको वृद्धि कसरी गराउने भन्नेमा छ। दर्शक र फिल्मकर्मी दुवैको कलात्मक चेत बढ्दै जानुपर्छ। त्यसका लागि निर्देशकले नै आफ्नो कामलाई नयाँ–नयाँ भर्सनमा अपडेट गर्दै लग्नुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि