विप्लव ढकालका पाँच कविता

सम्पूर्ण
शनिबार, ०२ कार्तिक २०७६
हल्ला
कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरू ?
म इतिहास पढाउन खोज्छु,
उनीहरू
जङ्गली चरा जस्तै हल्ला गर्छन् !
म गणित पढाउन खोज्छु,
उनीहरू
पहाडी खोला जस्तै हल्ला गर्छन् !
म भाषा पढाउन खोज्छु,
उनीहरू
भाषा नै लाटो हुने गरी हल्ला गर्छन् !
म ‘हल्ला नगर’ भन्छु
उनीहरू फेरि हल्ला गर्छन् !
सायद
म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ !
नत्र यो हल्ला
कसरी ‘हल्ला’ हो र ?
यो हल्ला–
आफैमा एउटा विचार हो !
यो हल्ला–
आफैमा एउटा जीवन हो !
र यो हल्ला–
आफैमा एउटा सपना हो !
नानीहरू !
म पनि अब
तिमीहरूसँगै बसेर हल्ला गर्छु !
खर्पनमा लसुन बोकेर
ईश्वरलाई लसुन मन पर्दैन
म खर्पनमा लसुन बोकेर
स्वर्ग हिँडिरहेको छु !
यो जङ्गलको आत्मा
मेरो दुःखको
अन्तिम कविता होइन !
यो आवाजको रङ्ग
मेरो युद्धको
अन्तिम तरङ्ग होइन !
हरेक बिहान म ब्यूँझदा
शववाहनमा सुतिरहेको हुन्छु,
शब्दहरू
सडकमा रोइरहेका हुन्छन् !
यो दुःखान्त निर्झरी
मेरो आस्थाको
अन्तिम बाँसुरी होइन !
ईश्वर मेरो भाषा बुझ्दैन !
म अन्धकारको भाषा बुझ्दिनँ !
त्यसैले सुदूर अतीतको आकाशमा
म मेरो आदिम आवाज
खोजिरहेको छु !
जङ्गलको बीचमा रात पर्छ
अँध्यारोमा एउटा
श्रापित काकाकुलले
मलाई देख्छ !
उसको विक्षिप्त रुवाइ म बुझ्दिनँ
मेरो मौन आवाज ऊ बुझ्दैन !
र यो निर्जन मुच्र्छनाभित्र
म पनि उसँगै रून्छु !
रोइरहन्छु !
मलाई पृथ्वीमा फर्किन मन छैन
म खर्पनमा लसुन बोकेर
स्वर्ग हिँडिरहेको छु !
राज्यसँग एकालाप
तिम्रो तिर्खा मेटाउन
मैले आफ्नो रगत दिएँ !
तिम्रो नग्नता ढाक्न
मैले आफ्नो छाला दिएँ !
तिमी भोकाएको बेला
मैले शरीरको मासु दिएँ !
तिमीलाई अमर राख्न
मैले मेरो इतिहास दिएँ !
.
मेरो रगत, छाला, मासु र इतिहास
कहाँ फाल्यौ तिमीले ?
ए कहाँ फाल्यौ ?
र आज फेरि किन तिमी
मेरा नाबालक सन्तानहरूको अगाडि
यसरी नाड्गै
र खाली हात उभिएका छौ ?
मलाई अज्ञात सहिद बनाउने राज्य !
म यो प्रश्न तिमीलाई सोधिरहेछु ।
सान्नानी फगत गलैँचा हो
सिस्नुका हाँगाहरूमा
काउछाको लहराले घाँटी बाँधेर
घाँस काट्ने जङ्गलभित्र
चौँरी चराउने जङ्गलभित्र
घाम अहिले तुर्लुङ्ग झुन्डिएको छ !
र भुइँकुहिरो जस्तै
एउटा निर्मोही माकुरो
पहाडबाट बिस्तारै बिस्तारै
निर्जन बस्तीमा ओर्लिरहेको छ !
यही हाँगामा सत्र पटक
फुलेको थियो गिनेरी फूल !
हराएको आकाश खोजी खोजी
रोएको थियो सुभिया चरो !
कपालको रातो रिबनसँगै
झरेका थिए बालुवाभरि
आकाशका नौलाखे ताराहरू !
यही माकुरो बसोस् गाउँमा
र बुनिरहोस् नयाँ जाल !
यही गिनेरी फुलोस् वनमा
र ओइलिरहोस् हरेक साल !
आकाशका जूनताराहरूलाई
अब यतै छोडिदिन्छे सान्नानी !
चिसो बतासमा हल्लिरहेको इन्द्रेणीलाई
अब यतै छोडिदिन्छे सान्नानी !
नौ डाँडा काटी, नौ खोला तरी
सपना जस्तै गलैँचा बुन्न
अब सहरमा जान्छे सान्नानी !
हिजोसम्म रुमाल बुन्दाबुन्दै
ऊ आफै रुमाल बनेकी थिई
र च्याङ्वाले पुछेको थियो
बादलको आँसु !
हिजोसम्म सुइटर बुन्दाबुन्दै
ऊ आफै सुइटर बनेकी थिई
र निमाले छेकेको थियो
हिमालको मुटु !
अब त सान्नानी स्वर्गमा पुगी !
कारखानाभित्र गलैँचा बुन्दाबुन्दै
ऊ आफै गलैँचा बनेकी छे !
त्यसैले सान्नानी गलैँचा हो
ऊ गलैँचा बुन्छे र घाममा सुकाउँछे !
सान्नानी फगत गलैँचा हो
ऊ घाम बुन्छे र गलैँचामा सुताउँछे !
जिन्दगीका थकित हिउँदहरूमा
जब ताराहरू झर्छन् भुइँमा
र तुषारोका जङ्गलहरू उम्रिन्छन्,
सान्नानी आफ्नै सपनाहरूमा
बेगमबेली फूलको झाङबाट
हाहाकार टिपेर फर्किन्छे !
शिशिरकी चन्द्रमा माइत हिँडेपछि
मनका उदास फाँटहरूमा
बुकी फूल फुल्न नपाउँदै
हतार हतार
भागिजान्छन् वसन्तहरू !
सान्नानी रोदीघरबाट
जलेको आकाश लिएर फर्किन्छे !
र साकेवाका प्रत्येक सिलीहरूमा
च्याङ्वाका प्रेमपत्रहरू च्यातेर
सान्नानी सुभिया चरी जस्तै
सपना खोज्दै रोइरहन्छे !
उता जङ्गलतिर पनि
कोपिलामै झरे होलान्
सपना हराएका गिनेरीहरू !
काफलको उदास हाँगामा बसेर
रोइरह्यो होला रानीचरी !
यता सान्नानी
आफ्नै सपनाको हिमालमुनि
रातरातभर रोइरहन्छे !
रोइरहन्छे
किनभने सान्नानी गलैँचा हो !
ऊ फगत गलैँचा हो !
र एउटा बूढो फेदाङ्वा
त्यही गलैँचामा सुतीसुती
हरेक रात
न्यानो घाम तापिरहन्छ !
मृत्युहरू
पार्कमा बसेर
घाम तप्दै
रुँदै
बदाम खाँदै
मरिरहेको छ
तिम्रो कायर बाबु !
सोध उसलाई–
ऊ किन जुलुसमा जाँदैन ?
जङ्गलमा
घाँस र दाउराको भारी
उठाउन नसकी
गोबरमा मुख जोतेर
मरिरहेकी छ
तिम्री वृद्ध र रोगी आमा !
सोध उसलाई–
ऊ किन सडकमा आउँदिन ?
साँढेजस्तो
तिम्रो भुसतिघ्रे भाइ
जाँघभित्र जिब्रो राखेर
थुतुनाले
भुत्लाहरू पन्छाउँदै
मरिरहेको छ !
सोध उसलाई–
ऊ किन ब्युँझन चाहँदैन ?
पुतलीजस्ती
तिम्री तरुनी बहिनी
रातदिन
आफ्नो छाती, चाक,
नाइटो र तिघ्राहरू
सुमसुम्याउँदै मरिरहेकी छ !
सोध उसलाई–
ऊ किन बाँच्न चाहँदिन ?
परिवारका
सबै सदस्यहरू
आआफ्नै शैलीमा
मरिरहेछन् !
अझै तिमीलाई के पुगेन ?
र सडकमा
बन्दुकको अगाडि उभिएर
राज्यसँग निहुँ खोज्दै छौ ?
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७