अब चाहिँ साँच्चै हुन्छ साग

writer

विष्णु थापा

शुक्रबार, ०१ कार्तिक २०७६


हरेक दुई-दुई वर्षमा हुँदै आएको सागको १३औँ संस्करणको जिम्मेवारी नेपालले पाएको थियो। अपर्याप्त तयारी र २०७२ सालको भूकम्पले महत्त्वपूर्ण भौतिक संरचनामा क्षति पुगेका कारण साग पटक–पटक सर्‍यो। अन्ततः आगामी मंसिर १५ देखि २४ गतेसम्म साग  आयोजना हुने भयो। 


आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमै आयोजना हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तिम तयारीमा नेपाल जुटेको छ। सागका लागि २७ खेलकै खेलाडी अन्तिम तयारीमा जुटेका छन् भने पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। मुख्य चुनौती बनेको काठमाडौँको दशरथ रंगशाला र पोखरा रंगशालाको भीआईपी प्यारापिट कात्तिक १५ सम्ममा सम्पन्न गर्ने अभियानमा राष्ट्रिय खेलकुद परिषद् लागेको छ। ‘कात्तिक १५ सम्ममा हाल निर्माणाधीन सम्पूर्ण पूर्वाधार सम्पन्न हुनेछन् र त्यसपछि सागका अरू तयारी थालिनेछ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले भने, ‘अब साग पूर्वघोषित समयमा हुँदैन कि भन्ने आशंका नगर्दा हुन्छ।’

हरेक दुई÷दुई वर्षमा हुँदै आएको सागको १३औँ संस्करण नेपालको यथेष्ट तयारी नहुनु र २०७२ सालको भूकम्पले महŒवपूर्ण भौतिक संरचनामा क्षति पुगेका कारण पटक–पटक सर्दै पछिल्लो मंसिर १५ को मितिमा आइपुगेको हो। यसअघि तीन पटक पर धकेलिसकेको साग अब कुनै पनि हालतमा पर नसर्ने सदस्यसचिव सिलवालले आश्वस्त पारे। उनले मुख्य चुनौतीका रूपमा रहेका भौतिक पूर्वाधारको निर्माण अन्तिम चरणमा पुगेकाले साग पर धकेलिनुपर्ने अन्य कारण नभएको बताए। सरकारले १३औँ सागको खेलस्थलको अन्तिम टुंगो लगाउनुका साथै विभिन्न उपसमिति पनि गठन गरिसकेको छ। साग तयारी तथा व्यवस्थापन समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा ३६ सदस्यीय समिति बनिसकेको छ। १३औँ सागको मूल समारोह समिति भने प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा गठन भएको छ।

सागमा २७ खेल

१३औँ सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराँते र गल्फ गरी २७ खेल राख्ने निर्णय भएको छ। आयोजकका हैसियतले नेपालले कराँते र गल्फ खेल थप्ने निर्णय गरेको हो।

खेल स्थलको अन्तिम टुंगो

१३औँ सागका लागि खेलस्थलको टुंगो पनि लगाइसकिएको छ। राष्ट्रिय खेलकुद परिषद्को १३औँ साग सचिवालयले प्रतियोगितामा सहभागी २७ वटै खेलको खेलस्थलको अन्तिम टुंगो लगाएको हो। १३औँ सागमा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, बिच भलिबल, ट्रायथोलन र भारोत्तोलन पोखरामा सञ्चालन हुनेछ। यसै गरी, एथलेटिक्स दशरथ रंगशाला, बास्केटबल त्रिपुरेश्वरको कभर्डहल, बक्सिङ सादोबाटो कराते हल,  साइक्लिङ र गल्फ गोकर्ण र फुटबल दशरथ रंगशालामा आयोजना गरिने भएको छ।

जुडो र उसु लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा आयोजना हुँदा  कराते, सुटिङ, स्क्वास, पौडी, टेनिस, तेक्वान्दो र कुस्ती सातदोबाटोमा आयोजना हुनेछन्। सातदोबाटोको तेक्वान्दो एकेडेमीमा कुस्ती र तेक्वान्दोका खेल सञ्चालन हुनेछन् भने कराते हलमा करातेसँगै बक्सिङका खेल सञ्चालन हुनेछन्। 

यसै गरी, कीर्तिपुरको नयाँबजारमा फेन्सिङ र खोखो खेल सञ्चालन हुँदा पुरुष क्रिकेट पनि कीर्तिपुरकै त्रिवि मैदानमा हुनेछ। यस्तै, त्रिभुवन विश्वविद्यालयकै स्मृति भवनमा कबड्डी प्रतियोगिता आयोजना हुने १३औँ साग सचिवालयले जनाएको छ। १३औँ सागको पुरुष र महिला भलिबल त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ भने थ्री बाई थ्री बास्केटबल त्रिपुरेश्वरकै मिनी कभर्डहलमा सञ्चालन हुनेछ। सागको लोगो उड्दै गरेको परेवा र मस्कटमा कृष्णसार राख्ने निर्णय गरिएको छ।

प्रतियोगिताका लागि राम्रो तयारी

छोटो तयारीका कारण १२औँ साग नेपालका लागि पदकका हिसाबले सोचेजस्तो बन्न सकेन। भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले कम्तीमा १० स्वर्ण जित्ने अपेक्षा गरेको थियो। तर, अपर्याप्त तयारीका कारण नेपालले जम्मा तीन स्वर्णमै चित्त बुझाउनुपरेको थियो। जुडो र उसु र पुरुष फुटबलमा नेपालले एक–एक स्वर्ण जितेको थियो। पदकको निकै आशा गरिएको तेक्वान्दो स्वर्णविहीन हुँदा नेपाल पदक तालिकामा समग्रमा छैटौँ स्थानमा रहेको थियो। नेपालले तीन स्वर्णसहित २३ रजत र ३४ कास्य पदक जितेको थियो। 

तर, यस पटक भने नेपालले राम्रो तयारी गरेको छ। सागमा सहभागी २७ वटै खेलका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको छ। थुप्रै खेलले विदेशी प्रशिक्षक झिकाएका छन् भने केही खेलको प्रशिक्षण विदेशमा हुँदै आएको छ। 

सुरुमा प्रदेश ५ मा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सागका लागि प्रशिक्षणमा राखिएको थियो। पछिल्लो समय उनीहरूमध्येबाट पनि छनोट गरी अन्तिम टोलीलाई विशेष प्रशिक्षण सञ्चालन हुँदै आएको छ। 

सन् १९९९ मा नेपालमै आयोजना भएको आठौँ दक्षिण एयिाली खेलकुदमा नेपाल उत्कृष्ट प्रदर्शनसहित पदक तालिकामा दोस्रो भएको थियो। यसपटक पुनः आफ्नै देशमा आयोजना हुन लागेको १३औँ सागमा त्यही उपलब्धि दोहोर्‍याउन नेपालले ठूलै कसरत गरिरहेको छ।

तीन वर्षअघि आयोजना अधिकार ग्रहण

भारतको गुवाहाटीमा सन् २०१६ फेब्रुअरी १६ मा सम्पन्न १२औँ सागको समापन समारोहमा नेपालले १३औँ साग आयोजनाको अधिकार प्राप्त गरेको थियो। इन्दिरा गान्धी स्टेडियममा तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले १३औँ साग आयोजनाको झण्डा ग्रहण गरेका थिए। नेपालले आयोजनाको अधिकार तीन वर्षअघि नै पाए पनि पटक–पटक मिति सर्दै आएको छ। निर्धारित मिति चौथो पटक सर्दैै पछिल्लो पटक आगामी डिसेम्बर १ देखि १० सम्म आयोजनाको मिति तय भएको हो। 

्सरकारले पछिल्लो समय देखाएको अग्रसरताले १३औँ सागका विषयमा हुँदै आएको टीका–टिप्पणी र आशंका बिस्तारै मत्थर हुन थालेका छन्। ‘मंसिरमा साँच्चै साग हुन्छ’ भने विश्वासको वातावरण बन्न थालेको छ। द्रुत गतिमा पूर्वाधार तयारी र अन्य व्यवस्थापकीय तयारीले शंका–आशंका हटेको छ। नेपालका लागि साग आयोजनाको अन्तिम मौका भएकाले निर्धारित मितिमा गर्नुको विकल्प छैन। यो कुरालाई सरोकारवाला निकायले पनि राम्रैसँग बुझेको हुनुपर्छ। सन् १९८४ बाट सुरु भएको साग तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो। यसअघि सन् १९८४ को पहिलो र सन् १९९९ को आठौँ संस्करण नेपालमै आयोजना भएको थियो।


अब पक्का हुन्छः सदस्यसचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) हुँदैन कि भनेर कसैले पनि शंका नगर्न आग्रह गरेका छन्। उनले तोकिएको समयमै १३औँ साग सुरु हुने बताउँछन्। सिलवाल भन्छन्, ‘१३औँ सागका विषयमा अब कसैले पनि शंका नगरे हुन्छ। मंसिर १५ मा कुनै पनि हालतमा १३औँ साग सुरु हुन्छ। १३औँ साग अहिले पनि चुनौतीपूर्ण नै छ। यो काम चुनौतीपूर्ण भएकैले मैले हिम्मत गरेर आएको हुँ। जहाँ चुनौती हुन्छ, त्यहाँ काम गर्न पनि मज्जा आउँछ। जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर हुन्छ। जसले चुनौतीमा पनि अवसरलाई सदुपयोग गर्न सक्छ, त्यो मान्छे नै सफल कहलाउँछ।’

उनले कात्तिक १५ सम्ममा सम्पूर्ण पूर्वाधार सम्पन्न गर्ने अभियानमा रहेको बताउँछन्। ‘हामी कात्तिक १५ सम्ममा सम्पूर्ण पूर्वाधार सम्पन्न गर्ने अभियानमा छौँ,’ उनी भन्छन्, ‘कात्तिक १५ किन भनेको भने नेपालीले भनेकै समयमा बिरलै मात्र सक्काउँछ। ११औँ घण्टामा काम सिध्याउने परम्परा हामीकहाँ बस्दै आएको छ। कात्तिक १५ को समयावधि राख्दा अलि पर धकेलियो भने पनि कात्तिक मसान्तभित्र सबै काम सकिन्छ।’ 

उनी आफूलाई काम गर्न बजेट पर्याप्त रहेकाले सबै काम समयसीमाभित्रै सम्पन्न हुने विश्वास व्यक्त गर्छन्। ‘मलाई काम गर्न बजेटको कुनै समस्या छैन,’ सदस्यसचिव सिलवाल भन्छन्, ‘सरकारले सागका लागि ३ अर्ब ६५ करोड रुपैयाँ स्वीकृत गरिदिएको छ। एक अर्ब रुपैयाँ निकासा पनि भइसकेको छ।’ 

सदस्यसचिव सिलवाल सातदोबाटोको हिटिङ पौडी पोखरी, दशरथ रंगशालाको भीआईपी प्यारापिटको छानो र साधारण प्यारापिटमा सिट राख्ने काम मात्र बाँकी रहेको बताउँछन्। उनका अनुसार ती काम तिहारअघि नै सम्पन्न हुनेछन् र रङरोगन, बगैँचा र फर्निर्सिङका काम मात्रै बाँकी रहनेछन्। यस्तै, पोखरा रंगशालाको ग्राउन्ड र ट्र्याक एन्ड फिल्ड निर्माण भइसकेको र १० हजार क्षमताको प्यारापिट जडानको काम बाँकी रहेको सदस्यसचिव सिलवाल बताउँछन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि