लोकस्टार फाइनलमा

writer

सम्पूर्ण

बिहिबार, ३० असोज २०७६


एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी सो ‘नेपाल लोकस्टार’ फाइनल चरणमा प्रवेश गरेको छ। प्रदेशस्तरीय अडिसनदेखि मेगा अडिसन हुँदै उत्कृष्ट पाँचसम्म प्रतियोगिता आइपुगेको थियो। पाँचमध्ये चार जना सहभागी फाइनलमा प्रवेश गरेका छन्। 

गत शुक्रबार प्रसारण भएको टप फाइभको प्रस्तुतिबाट अन्तिम प्रतिस्पर्धी छानिएका हुन्। ‘नेपाली लोकपप’ शैलीका गीत प्रस्तुत गरिएको सो एपिसोडबाट उनीहरू छानिएका हुन्। टप फाइभमा सनी विश्वकर्मा, चेतन गोतामे, विनोद दनुवार, रामकुमार नेपाली र पविन्द्र सुनार थिए। तीमध्ये पविन्द्र सुनार फाइलनमा पुग्न सकेनन्। अन्य चार जनाले फाइनलमा स्थान पाएका छन्।

स्याङ्जाका चेतन गोतामेले फाइनलिस्ट छानिने एपिसोडमा ‘द ग्लुमी गाइज’ को ‘आकाशैमा चिल उड्यो’ गीत गाएका थिए। लामो समयदेखि उनी गीत–संगीत क्षेत्रमा सक्रिय छन्। ‘२०६६ सालमा गाउँबाट काठमाडौँ आएँ,’ उनी भन्छन्, ‘त्यसयता लोकगीत–संगीतमा निरन्तर लागिरहेको छु।’ 

अर्का फाइनलिस्ट हुन्, रोल्पाका सनी विश्वकर्मा। उनले फाइनलमा स्थान बनाउन शिव परियारको आवाजमा रहेको ‘फेवातालमा साहिँली’ बोलको गीत गाएका थिए। भर्खरै प्लस टू सकेका उनी आफू ११ वर्षको हुँदा पहिलो पटक स्टेजमा गीत गाएको बताउँछन्। भन्छन्, ‘२०७२ सालमा जलजला तारामा टप टेनसम्म पुगेको थिएँ। २०७३ सालमा राप्ती आइडलमा दोस्रो भएको थिएँ।’ 

फाइनलमा प्रवेश गर्ने उदयपुरका विनोद दनुवारले लोकस्टारमा आउनुअगाडि नै आफ्नो एल्बम ‘निर्दोष’ सार्वनजिक गरिसकेका छन्। २०६९ सालमा उनले एल्बम निकालेका थिए। ‘बाल्यकालदेखि नै संगीतमा लाग्ने सोच बनाएको थिएँ,’ उनी भन्छन्, ‘एसएलसीपछि २०६५ सालमा काठमाडौँ आएँ। संगीत सिक्ने थालेँ।’ वैदेशिक रोजगारीका लागि विनोद मलेसिया पुगेका थिए। ‘त्यहाँ हुँदा पनि संगीतको माया मार्न सकिनँ,’ उनी भन्छन्, ‘फर्किएर नेपाल आएँ।’ फाइनलमा पुग्ने प्रतिस्पर्धीको सूचिमा आफ्नो नाम दर्ता गराउन उनले ‘नेपथ्य ब्यान्ड’को गीत ‘तालको पानी’ प्रस्तुत गरेका थिए।

इमेज लोक कलाकारसमेत भएका रामेछापका रामकुमार नेपालीले पनि लोकस्टारको फाइलनमा स्थान पाएका छन्। उनी २०६६ सालमा रामेछाप लोकतारा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा एकल गायन प्रतियोगितामा पनि प्रथम भएका थिए। आफूलाई बाल्यकालबाटै लोकभाका सुन्ने बानी भएको उनी बताउँछन्। भन्छन्, ‘बाल्यकालबाटै लोकगीतमा रुचि थियो। शास्त्रीय संगीत सिके पनि लोकगीतमा नै मन बस्यो। पूर्वको हाक्पारेदेखि पश्चिमको देउडासम्मले मन जिते।’ गत एपिसोडमा उनले दीपक वज्राचार्यको गीत ‘मन मगन’ गाएका थिए। 

लोकस्टारमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत शनिवार दिउँसो १२ बजेदेखि सुरु भएको फाइलनको भोटिङ आगामी कात्तिक ८ गते दिउँसो १२ बजेसम्म चल्नेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि