छ महिनाको नानी बोकर अडिसनमा

writer

राधा खनाल

बिहिबार, ३० असोज २०७६


झापा : एपी वान टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी सो ‘नेपाल आइडल’ को तेस्रो सिजनको झापा अडिसन सकिएको छ। झापा, बिर्तामोडमा रहेको देवी माविमा अडिसन भएको थियो। विद्यालयको प्रांगणमा बिहान ७ बजेदेखि नै सहभागी जम्मा भइसकेका थिए।

तीन दिन लगातारको झरीपछि खुलेको मौसममा हजारौँको संख्यामा सहभागी अडिसन दिन आएका थिए। यसपटक अडिसन दिन झापा, उदयपुर, धरान, धनकुटा, ताप्लेजुङदेखि भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीसम्मका युवायुवती आएका थिए। 

इलामकी आकृति खतिवडा छ महिनाको नानी बोकेर अडिसन दिन आइपुगेकी थिइन्। बिहान ८ बजेदेखि उनी लाइनमा बसेकी थिइन्। ‘गाउन एकदमै मन लाग्छ,’ उनले भनिन्, ‘कहिल्यै गाउने मञ्च पाइनँ। आइडलको मञ्चमा आफ्नो प्रतिभा देखाउन पाउँदा खुशी लागेको छ।’ 

अडिसन दिन दिउँसो ३ बजेसम्म करिब दुई हजार जनाले नाम दर्ता गराइसकेका थिए। अझै आउने क्रम जारी नै थियो। नेपाल आइडलका निर्देशक एलन श्रेष्ठले अडिसन दिन आउनेको उपस्थिति बाक्लो रहेको बताएका थिए। ‘झापा अडिसनमा सहभागिता उत्साहजनक थियो,’ उनले भने।

३० वर्षीय जेठा मुर्मु पनि अडिसनका लागि आएका थिए। उनी दृष्टिविहीन हुन्। २०५५–५६ सालदेखि स्थानीय कार्यक्रमहरूमा गाउँदै आएका उनी पनि अडिसनमा गाउन पाउँदा खुशी थिए। ‘विभिन्न ठाउँ, सडक, सांगीतिक कार्यक्रममा गाउने गर्छु,’ उनले भने, ‘आइडलमा जजहरूको अगाडि गाउन पाउँदा आफू छनोटमा परे जत्तिकै महसुस भयो।’

अडिसन दिन आएका युवायुवतीलाई पहिलो चरणमा प्री–जज अर्थात् म्युजिक टिचरले छनोट गरेका थिए। त्यसमा छनोट भएपश्चात् मात्र दोस्रो चरणका लागि अडिसन लिइने र उनीहरूलाई काठमाडौँ लगिने निर्देशक श्रेष्ठले बताए।

झापाबाट यसअघिको नेपाल आइडलमा पनि धेरै प्रतिभा ’टप टेन’सम्म पुगेका थिए। आइडलको दोस्रो सिजनमा झापाबाटै अस्मिता अधिकारी चौथो र सुमित पाठक तेस्रो स्थानमा पुगेका थिए। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि