‘जेनीः तनावको ओखती’

writer

सम्पूर्ण

सोमबार, २७ असोज २०७६


सन्ध्या केसी, अभिनेत्री

मलाई घरपालुवा जनावर एकदमै मन पर्छन्। कुकुर मेरो फेभरेट पेट हो। मैले पनि कुकुर पालेकी छु। त्यसको नाम जेनी राखेकी छु। ऊ जनावर नभएर हाम्रो परिवारको सदस्यजस्तै हो। अहिले ऊ पाँच वर्षको भयो। सेतो रङको जेनीलाई म खूब माया गर्छु। उसको चुलबुले बानी साह्रै मन पर्छ। ऊ एकछिन पनि चुप लागेर बस्न सक्दैन। खेलेर थाकेपछि लामो–लामो सास फेर्दे निदाउँछ। त्यतिबेला उसको एकदमै माया लाग्छ।

हामी उसलाई एक्लै घरमा छोड्दैनौँ। उसका लागि भए पनि घरमा कोही न कोही हुन्छ नै। जेनीलाई तीन वर्षअघि घरमा ल्याएकी थिएँ। अहिले सबैको प्यारो भएको छ। मेरी आमाले उसलाई असाध्यै माया गर्नुहुन्छ। हाम्रोभन्दा बढी उसको स्याहारसुसार गर्नुहुन्छ। जेनी पनि आमासँगै बस्न मन पराउँछ। आमा भएपछि उसलाई कोही चाहिँदैन। 

फुर्सदमा जेनीसँग खेल्न रुचाउँछु। उसका लागि छुट्टै बस्ने घर बनाएका छौँ। सानोमा हामीसँगै बसे पनि ठूलो भएपछि छुट्टै बस्न थालेको छ। सपिङ गएपिच्छे उसका लागि केही न केही लिएर आउने गर्छु। उसका लागि लुगा किन्दिन मन पर्छ। जेनीका लागि रातो र हरियो रङको लुगा बढी किन्छु। सेतो भएकाले उसलाई रातो रङ असाध्यै सुहाउँछ। ऊ एकदमै नक्कले छ। उसका लागि नयाँ सामान ल्याइदियो भने खुशीले उफ्रिन थाल्छ। 

जेनीलाई घरबाहिर धेरै लग्दिनँ। बाहिर धुलोधुवाँ बढी हुन्छ। बाहिर जाँदा उसले इन्जोय गर्छजस्तो पनि लाग्दैन। तर, परिवारका सबै सदस्य घुम्न गयौँ भने उसलाई पनि लग्छौँ। कहिलेकाहीँ भने उसलाई आफ्नो गाडीमा राखेर घुमाउन लैजान्छु।

सुटिङमा हुँदा जेनीलाई धेरै मिस गर्छु। भेट नभएको लामो समय भयो भने आमाले ऊसँग भिडियो च्याट गराइदिनुहुन्छ। भिडियोबाट भए पनि उसलाई देख्न पाउँदा आनन्द लाग्छ। ऊ पनि उस्तै छ। लामो समयपछि घर फर्किएँ भने झ्याम्मिएर मलाई छोड्दै छोड्दैन। मलाई त ऊ कुकुर होइन, मान्छेजस्तै लाग्छ। आफूलाई गाली गरेको थाहा पाइहाल्छ। गाली गर्दा मान्छेजस्तै आँखाबाट आँशु झार्छ।

मेरा लागि त ऊ तनावको औषधिजस्तै हो। कुनै कुरा चित्त बुझेन, टेन्सन छ भने उसलाई अँगालो हालेर बस्छु। त्यसो गर्दा दुःख कम भएको महसुस हुन्छ। जेनी बिरामी हुँदा एकदमै चिन्ता लाग्छ। उसको हेरविचारमा कुनै कमी हुन दिएकी छैन। 

प्रस्तुतिः आशक्ति 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि