‘घर सुन्दर हुनलाई बस्ने मान्छे खुशी हुनुपर्छ’

सम्पूर्ण
सोमबार, २७ असोज २०७६
‘स्टेज किङ’ नामले चिनिन्छन्, गायक धीरज राई। खोटाङमा जन्मिएका उनले भर्खरै ‘प्रबल जनसेवा पदक’ प्राप्त गरेका छन्। उनीसँग ‘सम्पूर्ण’का लागि अस्मिता खड्काले घर संवाद गरेकी छिन्।
कति वर्षसम्म डेरामा बस्नुभयो?
डेरामै जवानी गयो भन्दा हुन्छ। करिब १८ वर्ष डेरामा बसेँ। सुरुमा बसाइ बागबजारमा थियो।
कोठा कति सरियो?
धेरै सर्नु परेन। दुई पटक सरेँ। एउटा घरमा छ वर्ष बसियो, अर्कोमा १२ वर्षजति बसेँ।
त्यतिबेला कोठा भाडा कति थियो?
एक जना नेवारको घरमा डेरा बस्थेँ। ३५ वर्षअघि कोठा भाडा ७५ रुपैयाँ थियो। कोठा सर्दा भाडा नौ सय रुपैयाँ पुगिसकेको थियो। त्यतिखेर कोठा भाडा सस्तो भए पनि आर्थिक समस्या थियो। त्योबेला यति पैसा पनि धेरै लाग्थ्यो। महिना मर्ने बेला साह्रै तनाव हुन्थ्यो। कहाँबाट घरभाडा तिर्ने होला भन्ने हुन्थ्यो। तर, खाना कम खाएर पनि भाडाका लागि पैसा जम्मा गर्थें।
डेरामा बस्दा के कस्तो समस्या भोग्नुपर्यो?
ट्वाइलेट मुख्य समस्या थियो। घरभरिमा एउटा मात्र ट्वाइलेट थियो। सबैले त्यही प्रयोग गर्थे। बिहान छिटो उठ्न सक्यो भने लाइन बस्नु पर्दैनथ्यो, नत्र भने पालो कुर्दा–कुर्दा हैरान भइन्थ्यो। एकदमै फोहोर थियो।
काठमाडौँमा घर होस् भन्ने सपना थियो कि थिएन?
गाउँबाट शहर पस्ने अधिकांश मान्छले घर बनाउने सपना देख्छ नै। मेरो पनि सपना थियो, राम्रो जागिर होस्, बिरामी हुँदा राम्रो उपचार गर्न सकियोस् र बस्नलायक चिटिक्कको घर होस्।
त्यो सपना कहिले र कसरी पूरा भयो?
२०५२ सालमा घरको सपना साकार भयो। संगीत क्षेत्रबाट अलि–अलि आम्दानी हुन थालेको थियो। जग्गा र ज्याला पनि सस्तै थियो। आमाबुबाले पनि अलि–अलि सहयोग गर्नुभयो। घरका लागि चाहिने सामग्री जुटाएँ। घट्टेकुलोमा घर बनाएँ। जम्माजम्मी आठ लाख रुपैयाँ लगानीमा घर बन्यो।
तपाईं आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेको मान्छे। त्यस ज्ञानले घर बनाउँदा कत्तिको सहयोग गर्यो?
आफ्नो घरको नक्सा आफैं बनाएँ। त्यतिबेला संगीतबाहेक मेरो कामै घरको नक्सा बनाउने थियो। त्यसताका तीन सयभन्दा बढी घरका नक्सा बनाएको थिएँ।
घर बनाउँदा कत्तिको दौडधूप गर्नुपर्यो?
एकदमै गरेँ। गिट्टी, इँटा, बालुवालगायत सामान खोज्न आफैँ खट्थेँ। कामदार सजिलै पाइन्थ्यो। त्यसले केही राहत दिएको थियो। अहिलेको तुलनामा घरका लागि चाहिने कच्चा पदार्थ र कामदार सस्तोमा पाइन्थे। त्यसैले घर बनाउँदा त्यति गाह्रो भएन।
आफ्नो घरको नक्सा कोर्दा भूकम्प प्रतिरोधात्मक बनाउनुभयो कि भएन?
काठमाडौँमा जुनसुकै बेला पनि भूकम्प जान सक्छ भनेर सजग थिएँ। त्यसैले आफ्नो घरको नक्सा त्यहीअनुसार डिजाइन गरेँ। भूकम्प प्रतिरोधात्मक घर बनाएँ। २०७२ सालको भूकम्पले केही गरेको छैन मेरो घरलाई। एकदम पक्का छ।
बस्नका लागि घट्टेकुलो नै किन रोज्नुभयो?
सबै काम–कुराका लागि सेन्ट्रल एरिया भएकोले घट्टेकुलो रोजेँ। जता पुग्नु परे पनि आत्तिनु पर्दैन। घर सानै ठाउँमा बनेको भए पनि चारैतिरबाट खुला छ। जाडोमा घाम लाग्छ र गर्मीमा हावा मज्जाले खान पाइन्छ। घरको दायाँबायाँ बाटोको लागि खुला ठाउँ छोडिदिएको छु। धेरै भित्र पनि छैन। मलाई आफ्नो घर चिटिक्कको लाग्छ।
गाडीको सोखिन हुनुहुन्छ। कति वटा बाइक र कार जोड्नुभयो?
घर बनाएपछि गाडी जोडेँ। शहरमा बसेपछि गाडी चाहिँदो रहेछ। मसँग एउटा कार र बाइक छ। तर, कारभन्दा पनि बाइक बढी चलाउँछु। काठमाडौँको जाममा कार लिएर हिँड्यो भने जाममै फसिन्छ। त्यसैले कारभन्दा बाइकमै हिँड्छु। कार्यक्रम र घुम्न जाँदा कार लिन्छु, अरू बेला बाइक नै ठीक छ। कहिलेकाहीँ साइकल पनि चलाउँछु।
परिवारमा को–को हुनुहुन्छ?
आमाबुबा, श्रीमती, छोरी र म।
घरलाई कसरी सुन्दर बनाउन सकिन्छजस्तो लाग्छ?
घरमा बस्ने मान्छे खुशी हुनुपर्छ। यसको अर्थ खुशी हुन आफ्नै घर चाहिन्छ भन्ने होइन। बस्ने मान्छे खुशी भएपछि घर आफैँ सुन्दर हुन्छ।
घर कति तले हो?
चार तले।
भाडामा दिनुभएको छ?
दुई तला भाडामा दिएको छु।
ऊबेला आठ लाख रुपैयाँमा बनेको घरको हालको मूल्य कति होला?
अहिलेको मूल्यअनुसार चार करोड रुपैयाँसम्म पर्न सक्छ।
आफ्नै घर हुनुका फाइदा चाहिँ के–के रहेछन्?
आफ्नो घर भएपछि आनन्दसँग ढुक्कले बस्न पाइयो। न बहाल तिर्नुपर्ने चिन्ता, न राति ९ बजे नै घर पुग्नुपर्छ भन्ने टेन्सन। घरमा पाहुना आउँदा पनि समस्या हुँदैन। आफ्नै हिसाबले बस्न पाइन्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७