'निदाएको मानिस'

writer

सम्पूर्ण

बिहिबार, २३ असोज २०७६


क्याप्सनः इजरायली कलाकार इफात इलुकको कलाकृति

विष्णु सन्न्यास

घाम हजार पल्ट उदाएर
हजार पल्ट अस्ताइसक्यो
नदी लाख पल्ट आकाश पुगेर
ओर्लिसक्यो लाख पल्ट आफ्नै पृथ्वी 

तर, ऊ अझै निदाइरहेको छ  

युद्धको समय बारुदको कुहिरोमा 
सबै आफन्त हराएर बौलाएको कुनै एक्लो काग
हरेक दिन उसैको घरको छतमा कराउन आउँछ
तर पनि ऊ सुन्दैन 

हरेक बर्खा पल्लो बस्तीमा
बाढी पस्छ 
र, बगाएर लान्छ आधा गाउँ, आधा आफन्तहरू
तर पनि ऊ थाहै पाउँदैन 

ऊभन्दा पछि जन्मेको चरो
जसले बनाएर सपनाको गुँड
कोरलिसक्यो कति–कति प्रेमका बचेराहरू 

ऊभन्दा पछि उम्रेको रूख
जो फैलाएर जराहरू
कति पर–पर फिँजाइसक्यो हाँगाहरूको संसार 

उभन्दा पछि बग्न सुरु गरेको खोलो
जो काटेर सिमानाहरूको पर्खाल
पुुगिसक्यो भूगोलहरूको अर्कै देश 

तर, ऊ अझै निन्द्रामा छ  

निन्द्रामै पिउँछ ऊ मर्निङ टी 
निन्द्रामै सुन्छ राष्ट्रगान
र, निन्द्रामै पढ्छ 
अखबारमा आउने देशको उल्टो कथा

हिजो मात्रै
पश्चिमी दिशाबाट दगुर्दै आइपुगेको आँधीले 
बेस्सरी हल्लाएर गइसक्यो उसको घर 
भर्खरै मात्र
गाउँको आकाश नै भत्कने गरी 
बेस्सरी हल्ला गरेर फर्किसक्यो 
छिमेकी देशको एक लडाकु विमान

तर, थाहा छैन उसलाई यी सब कुरा 

थाहा छैन उसलाई
कि कति तन्नेरी उमेरमै 
शालिक भएर उभिएको छ बीच सडकमा 
आन्दोलनमा मरेको उसको साथीको अनुहार 

थाहा छैन उसलाई 
निधारमा मृत्युको हस्ताक्षर बोकेर 
कुन आक्रोशमा डौडिरहेछ 
उसको एउटा अर्को साथी
प्रदेशजस्तो आफ्नै देशभित्र देशकै जुलुस लिएर

र, थाहा छैन उसलाई 
कि संसारै बिर्सेर
शान्तसँग सुतिरहेको उसको शरीरमाथि 
कसले गरिरहेछ मृत्युको डरलाग्दो बार्गेनिङ
किनभने ऊ अझै निदाइरहेको छ 

यसरी नै निदाइरह्यो भने ऊ
निदाई नै रहनेछ ऊभित्रको विद्रोही ऊर्जा
निदाई नै रहनेछ ऊभित्रको असल नागरिक
र, निदाई नै रहनेछ देश बिउँझाउने ऊभित्रको आँधी


तर, अन्तिममा
विद्रोहीहरूको बन्दुकको आवाजले पनि
उठ्न नसकेको उ
पर्वत नागेर आएको आँधीको जुलुसले पनि
नबिउँझेको ऊ 
अब चाहिँ पक्कै बिउँझिनेवाला छ 
किनभने, अब म उसलाई कविता सुनाउनेवाला छु।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि