दशैँ आयो... के गरौँला ?

writer

युवराज भट्टराई

आइतबार, १९ असोज २०७६


पहिले दशैँ भन्नेबित्तिकै खानपिन, नयाँ लुगा, टीका, दक्षिणा, पिङ, आशीर्वाद आदि बुझिन्थ्यो। अहिले दशैँ मनाउने शैली फेरिएको छ। नयाँ पुस्तामा टीका, आशीर्वादजस्ता कुरामा उति रुचि देखिँदैन। उनीहरू घुम्न, नयाँ काम सिक्न दशैँको समयलाई सदुपयोग गर्न चाहन्छन्। खास गरी, दशैँका बेला घुमघाममा युवाले बढी अभिरुचि देखाउन थालेका छन्।   

चितवनका प्रदीप ढुंगाना (२५) लाई दशैँदेखि विरक्त लाग्छ। वर्षभरि नभेटिएका आफन्त दशैँमा जमघट हुँदा रमाइलै मान्छन्। तर, यस पर्वमा देखिएको अनावश्यक तडकभडकदेखि उनलाई दिक्क लाग्छ। भन्छन्, ‘दशैँ परम्परागत पर्व रहेन। यसको रूप बदलिएको छ। टीका भने थाप्ने गरेको छु।’

यस पटकको दशैँमा प्रदीपको आफ्नो गाउँ जाने योजना छ। सबै परिवार चितवनमै भए पनि उनी आफ्नो पुख्र्यौली थलो बाग्लुङ जाने सोचमा छन्। भन्छन्, ‘परिवारसँग टीका थापेर बाग्लुङ गएर केही दिन घुम्ने सोच बनाएको छु। पुराना यादहरू ताजा गरेर आउने विचार गरेको छु।’

प्रदीपलाई दशैँ मितव्ययी भएर मनाउन मन पर्छ। त्यसमाथि आफन्तको जमघटसँगै पुराना कुरा सम्झिएर रमाउनुलाई उनी दशैँको मुख्य पाटो मान्छन्। भन्छन्, ‘पहिला–पहिला दशैँमा गाउँमा मानिसहरूको हूल हुन्थ्यो। तर, अहिले सबै विदेशिएका छन्, कोही आफन्तसँग भेटघाट गर्न आउन सक्दैनन्। त्यसैले पनि दशैँ खल्लो भएको छ।’ आफू शहरमा बस्ने भएकाले गाउँको मौलिक दशैँलाई निकै याद गर्छन् उनी। दशैँलाई जुवातास, मदिरासँग जोडेको उनलाई मन पर्दैन। भन्छन्, ‘शहरमा जुनसुकै चाडको पनि मौलिकता हराइसकेको छ। तास खेल्नु, पैसा गन्नु, मासु र मदिरामा डुब्नु, आडम्बर देखाउनु शहरिया दशैँको विशेषता भएको छ।’ 

दशैँलाई हिन्दूको मात्रै नभएर नेपालीको चाडका रूपमा मनाउनुपर्ने उनको तर्क छ। भन्छन्, ‘दशैँ सबै नेपालीको चाड हुनुपर्छ। यो हिन्दूको मात्र होइन, गैरहिन्दूको पनि चाड हो। दशैँसम्बन्धी विवाद निस्किँदा मलाई नराम्रो लाग्छ।’ 

दशैँमा घुमघाम 

पोखराका त्रुपक अधिकारी (२५) हार्डवेयर पसलमा काम गर्छन्। अन्य समयमा शनिबारबाहेक फुर्सद नमिल्ने भएकाले दशैँको समयलाई भने उनी घुम्नका लागि सदुपयोग गर्ने बताउँछन्। ‘हामीजस्ता कामकाजी मान्छेलाई फुर्सद भनेकै शनिबार मात्रै हुन्छ,’ उनी भन्छन्, ‘त्यो दिन सरसफाइ गर्ने कि घुम्न जाने ? त्यसैले दशैँको बिदामा आफूलाई मन परेको ठाउँमा घुम्न जाने गरेको छु। हाँस्न र रमाउनका लागि दशैँको बिदा राम्रो प्याकेज हो, मेरो लागि।’

अघिल्ला दशैँहरूमा पनि त्रुपक डुल्न निस्किएका थिए। यस पटक पनि उनको योजना पहाडी इलाका घुम्ने रहेको छ। भन्छन्, ‘पहिलाका वर्षहरूमा पनि म टीकाको दिन घरमा टीका थापेर भोलिपल्ट घुम्न निस्कन्थेँ। यस पटक पनि टीकाको दिनसम्म परिवारलाई समय दिन्छु। त्यसपछि भने आफैँलाई समय दिएर पहाडी इलाकामा घुम्न जान्छु।’

काठमाडौँ, कालिमाटीस्थित जुबिल्यान्ट कलेजमा शिक्षक रहेका स्याङ्जाका रोशन सिग्देल (३०) यस पटकको दशैँमा से फोक्सुन्डो ताल जाने तयारीमा छन्। अघिल्लो वर्ष नेपालको पूर्वी भेग घुमेका उनी यस पटक भने दशैँ बिदालाई फोक्सुन्डोवरपर बिताउने तयारी गरिरहेको बताउँछन्। ‘दशैँमा मात्रै हो, जागिरबाट अलिक लामो फुर्सद पाउने,’ उनी भन्छन्, ‘अरू बेला चाहेर पनि घुम्न पाइँदन। यो समयमा भने घुम्ने गरेको छु।’

त्यसो त दशैँमा उनी आफ्नो घरै नजाने होइनन्। स्याङ्जामा आफ्नो परिवारलाई भेट्न पनि जानेछन्। भन्छन्, ‘भेटघाट गर्‍यो, एकैछिनमा टीका थाप्यो, सकियो। यसरी मनाउँदा दशैँ केही बेरमै सकिन्छ। त्यसैले घुम्न निस्किन्छु। दशैँको बेला तलब र पेश्कीले गोजी पनि भरिएको हुन्छ। माहौल पनि रमाइलो हुन्छ।’ त्यस्तै, दशैँको समयमा मौसमले पनि साथ दिने उनी बताउँछन्। भन्छन्, ‘घुम्नका लागि दशैँको भन्दा राम्रो मौसम अरू बेला हुँदैन। फुसर्द पनि हुने, पैसा पनि हुने, अनि  मौसम र प्रकृतिले पनि साथ दिने। यसभन्दा बढी के चाहियो, घुम्न जानलाई ?’ 

रोशनलाई अहिले मनाइने दशैँ पहिलेभन्दा फरक भएजस्तो लाग्छ। ‘पहिलेको भन्दा फरक भएको छ दशैँ,’ उनी भन्छन्, ‘न गाउँमा पिङ हुन्छन्, न आकाशमा चंगा उड्छन्। रमाइलो नै कम हुँदै गएको छ। सबै विदेशिएकाले गाउँ नै शून्य हुन्छ। सबैतिरबाट रमाइलो हुने वातावरण नै खोसिएको छ दशैँमा।’ आफू भने घुमेर केही मात्रामा रमाइलो गर्ने काम गरिरहेको उनी बताउँछन्। भन्छन्, ‘चारपाँच वर्षदेखि दशैँमा घुम्न जाने गरेको छु।’ 

काठमाडौँ, वनस्थलीमा रेस्टुरेन्ट चलाएर बसेका सविन अधिकारी (२९) यस पटक मनासलु हिमाल वरपरको क्षेत्र घुम्न जाने सोचमा छन्। भन्छन्, ‘दशैँको रमझम पहिलाको जस्तो छैन। आफन्तहरूले पनि समय निकाल्न भ्याउँदैनन्। त्यसैले मेरो योजना मनासलु ट्रेकमा जाने छ।’

सविन विगत चार वर्षदेखि दशैँको समयमा घुम्न जाने गरेका छन्। भन्छन्, ‘अरू बेला रेस्टुरेन्ट बन्द गर्न मिल्दैन। तर, दशैँको बेला काठमाडौँ नै खाली हुन्छ। रेस्टुरेन्ट बन्द गरेर निस्फिक्री घुम्न पाइन्छ।’ दशैँको समयमा आफ घुम्न जाँदा अन्य थुप्रै देशका मानिस पनि घुम्न निस्किएको पाउने गरेको उनी बताउँछन्। भन्छन्, ‘यो समय टुरिष्ट पनि आउने समय हो। मौसम पनि घुम्नका लागि सहायक हुन्छ। त्यसैले दशैँको समयमा घुम्दा बेग्लै मज्जा हुन्छ।’ फेरि काममा फर्किनलाई दशैँको समयमा घुमेर आफूलाई ‘रिचार्ज’ गर्ने गरेको उनी बताउँछन्।

काठमाडौँ, सुकेधारा बस्ने दुर्गा गौतम (४८) ट्रेकिङ एजेन्सी चलाउँछन्। उनकी श्रीमती हिमालय बैंकमा कार्यरत छिन्। उनीहरूको योजना यस पटकको दशैँमा सपरिवार इन्डोनेसियाको बाली घुम्न जाने रहेको छ। दुर्गा भन्छन्, ‘अरू बेला एक जनाको छुट्टी मिले अर्काको मिल्दैन। दशैँकै समयमा हो, परिवार एकसाथ घुम्न पाउने।’ 

काभ्रेकी सुजिता तामाङ (१९) शाकाहारी हुन्। दशैँमा उनको घर अत्यधिक माछामासु पाक्छ। भन्छिन्, ‘दशैँमा घरपरिवारमा आफन्तसँग बस्दा आफूलाई असजिलो लाग्छ। जतिखेर पनि मासु पाकिरहेको हुन्छ। आफू शाकाहारी भएकाले असहज लाग्छ।’ 

सुजिताले यस पटक दशैँको समयमा मार्दी ट्रेकमा जाने योजना बनाएकी छिन्।  भन्छिन्, ‘केही साथीसँग मिलेर मार्दी ट्रेकमा जाने योजना छ। दशैँमा पहिलाको जस्तो रमाइलो नहुने भएकाले घुमफिर गरेर रमाइलो लिने विचार छ। घरमा यसै बस्नुभन्दा यो समयमा केही नयाँ कुरा जान्नका लागि पनि डुल्न जाने योजना बनाएकी छु।’

दशैँमा समाजसेवा

झापा, बितामोर्डकी प्रजिना रेग्मी (२१) यस पटक दशैँ अनाथालयहरूमा मनाउने विचारमा छिन्। भन्छिन्, ‘परिवारसँग भेटघाट गर्ने, टीका लगाउने चलन त उहिलेदेखिको हो। यस पटक भने अनाथालयहरूमा गएर दशैँ मनाउने सोचमा छु।’

प्रजिनाको योजना आफ्नो घरपरिवारमा टीका लगाएर अनाथालय जाने रहेको छ।  भन्छिन्, ‘साथीहरूसँग सल्लाह गरेकी छु। तीन वटा अनाथालयमा गएर किताब दिने, उनीहरूसँग टीका लगाउने, रमाइलो गर्ने सोच बनाएकी छु।’ सधैँको जस्तो दशैँ मनाउँदा आफूले मात्रै मनाएको जस्तो लाग्न थालेको उनी बताउँछिन्। भन्छिन्, ‘दशैँ पनि मान्छेअनुसार छुट्याइएको जस्तो लाग्छ। आफूले मात्रै रमाइलो गरेर मनाउँदा अघिल्ला वर्षहरूमा दशैँ खल्लो लाग्यो। यसपालि भने अनाथ बालबालिकासँग मनाउने सोचमा छु।’

काठमाडौँ, शंखमूलकी सुनीता गिरि (२०) को घरमा यसपालिको दशैँमा टीका छैन। आफन्तको निधन भएका कारण उनको परिवारमा टीका लगाउनु हुँदैन। तर, दशैँको समयमा उनले काठमाडौँका सडकमा बस्ने गरिबहरूलाई कपडा बाँड्ने सोच बनाएकी छिन्। उनी भन्छिन्, ‘मैले दशैँ नमनाउने भएपछि दशैँको खर्चले उनीहरूका लागि कपडा किनेर बाँड्ने सोचेकी छु। फेसबुक ग्रुपका अरू तीन जनासँग मिलेर कपडा बाँड्ने योजना छ।’ 

सुनीतालाई लाग्छ– दशैंमा सक्ने÷नसक्ने सबैले राम्रो लगाउनुपर्छ, मीठो खानुपर्छ। भन्छिन्, ‘हामी त सक्छौँ। तर, सडकमा बस्नेले दशैँमा पनि राम्रो लगाउन पाउँदैनन्। यस पटकको मेरो योजना केही मान्छेलाई भए पनि नयाँ कपडा दिने छ। उनीहरूलाई टीकाको दिनसम्ममा नयाँ कपडा वितरण गर्छौं। पाटन, भक्तपुर र पशुपतिवरपरका सडकमा बस्नेलाई हामीले तीन दिन लगाएर कपडा बाँड्ने सोचेका छौँ।’

बिरामीसँग दशैँ 

पोखरास्थित मणिपाल अस्पतालमा नर्सका रूपमा कार्यरत अमृता आचार्य (२४) यस पटक आफ्नो घर पर्वत एक दिनलाई मात्रै जाने योजना बनाएको बताउँछिन्। भन्छिन्, ‘मैले यस पटक दशैँमा अस्पतालमै बस्ने योजना बनाएकी छु। धेरै जनाले छुट्टी नपाएर घर जान पाउँदैनन्। त्यसैले म टीकाको दिन घर गएर फर्किहाल्छु।’

अमृतालाई हिजोआजको दशैँ उल्लासमय लाग्दैन। समयसँगै बदलिँदै जाँदा दशैँको मौलिकता हराएको उनी बताउँछिन्। भन्छिन्, ‘अहिले कहाँ दशैँ दशैँजस्तो छ र ? सबै कुरा देखासिकीकै लागि गरेको जस्तो लाग्छ।’ यस पटक अस्पतालमा बिरामीहरूसँगै बसेर दशैँको समय बिताउन मन लागेको उनी बताउँछिन्। भन्छिन्, ‘म अस्पतालमा बस्यो भने अरू कोही दशैँ मनाउन जान्छ। मलाई यसपालि बिरामीहरूसँगै बसेर दशैँ बिताउन मन छ।’ 

दाङकी शर्मिला रोकामगर (२७) भने यस पटकको दशैँ केही साहित्यिक कार्यक्रममा सरिक भएर मनाउने योजनामा छिन्। उनी भन्छिन्, ‘हामीले दाङमा यस पटकबाट साहित्यिक कार्यक्रम सुरु गरेका छौँ। त्यसैको तयारी गर्दै र कार्यक्रममा व्यस्त भएर दशैँ मनाउनेछु।’

टीका लगाउने मुस्लिम युवा 

भक्तपुर बस्ने युसुफ खान (२१) मुस्लिम हुन्। तर, उनले अघिल्लो वर्षदेखि टीका थाप्न थालेका छन्। भन्छन्, ‘मेरा साथीभाइ सबै जना हिन्दू छन्। उनीहरूसँग दशैँ मनाउँछु।’ 

अघिल्लो वर्ष पनि साथीको घरमा गएर टीका थापेको सम्झन्छन्, युसुफ। भन्छन्, ‘दशैँ नेपालीको चाड हो। म पनि नेपाली हुँ। अघिल्लो वर्ष मैले टीका थापेको थिएँ। घरबाट कुनै रोकतोक भएन। यस पटक पनि साथीहरूसँग उनीहरूको घरमा टीका लगाएर घुम्न जाने प्लान बनाएको छु। युसुफको यस पटकको गन्तव्य घान्द्रुक हो। भन्छन्, ‘हाम्रो ग्रुपमा म मात्रै मुस्लिम छु। टीकाको दिन साथीहरूको घरमा गएर टीका लगाउँछु। भोलिपल्ट हामी केही साथी बाइक लिएर घान्द्रुक जानेछौँ।’ 

काठमाडौँ, वसन्तपुरकी सायरा खड्का (१९) यस पटकको दशैँबाट शाकाहारी बन्ने सोचमा छिन्। सँगै, फरक शैलीमा दशैँ मनाउन चाहन्छिन्। भन्छिन्, ‘म यस पटकको दशैँमा मस्जिद र चर्च जानेछु। त्यहाँ भएकालाई पनि दशैँको शुभकामना दिने मेरो योजना छ।’

अघिल्ला वर्षहरूमा उनी दशैँको समयमा मन्दिर मात्रै जान्थिन्। ‘पहिला–पहिला म देवीथान मात्रै जाने गर्थें,’ उनी भन्छिन्, ‘तर, यसपालि फरक योजना छ। व्यक्तिगत रूपमा नयाँ चलन सुरु गर्नेछु। चर्च र मस्जिदमा गएर त्यहाँ भएकालाई दशैँको शुभकामना दिनेछु।’ 

रौनक हराएको दशैँ 

धादिङकी सुषमा दुवाडी (२३) यस पटकको दशैँमा फूलपातीको दिन घर जाँदै छिन्। अन्य वर्षजस्तै यस वर्ष पनि घरपरिवारसँगै दशैँ मनाउने उनको योजना छ। भन्छिन्, ‘अहिलेको दशैँ दशैँजस्तो नै छैन। पहिलाजस्तो चहलपहल पनि हुँदैन। घरमै किताब पढेर दशैँ मनाउनेछु।’ 

उनलाई विगतका दशैँ भने निकै याद आउँछ। भन्छिन्, ‘पहिला–पहिला त दशैँमा खूब रमाइलो हुन्थ्यो। एक महिनाअघिदेखि नै दशैँको चहलपहल सुरु हुन्थ्यो। तर, अहिले त्यस्तो छैन। मान्छेले समयसँगै चाडपर्वलाई दिने महत्त्व पनि घट्दै गएजस्तो लाग्छ।’ उनको गाउँमा विगतका दशैँमा सबै गाउँले मिलेर गाउँ सफा गर्ने, पिङ हाल्ने, नाचगान गर्ने चलन थियो। ‘तर, अहिले त्यस्तो चलन छैन,’ उनी भन्छिन्, ‘अहिले गाउँलेहरू भेला पनि हुँदैनन्। आधा गाउँ त विदेशिएकाहरूका कारण रित्तो छ। पिङ देख्न पाउनु पनि भाग्यजस्तो भएको छ। दशैँको रौनक हराएको छ।’ 

काठमाडौँ, कपनमा भाँडापसल चलाएर बसेका समिर मानन्धर (४२) अहिलेको दशैँमा कुनै रौनक नहुने बताउँछन्। भन्छन्, ‘पहिला–पहिला काठमाडौँको आकाश खाली हुँदैनथ्यो। सबैतिर चंगा नै चंगा देखिन्थे। मान्छेहरू सबै जना हर्षित देखिन्थे। अचेल त दशैँ आएको हो कि होइन भन्ने पनि पत्तो पाइँदैन।’ यस पटकको दशैँ पोखरामा मनाउने बताउँछन् समिर। भन्छन्, ‘सपरिवार पोखरा घुम्न जाने विचार छ। काठमाडौँको दशैं त खल्लो भएको छ।’ 

भक्तपुर, सूर्यविनायक बस्ने सम्राट श्रीमन श्रेष्ठ (२०) बाल्यकालमा आफूले दशैँको समयमा चंगा उडाउने गरेको सम्झन्छन्। भन्छन्, ‘पहिला दशैँ आउन लागेपछि दुईतीन हप्ता अगाडिबाट चंगा उडाइन्थ्यो। तर, अहिले त चंगा उडाउने ठाउँ पनि छैन।’ उनी दशैँमा निकै बदलाव आएको बताउँछन्। भन्छन्, ‘पहिले दशैँ आउन एक महिनाअघिदेखि मन्दिरहरूमा मालश्री धुन बजाइन्थ्यो। अहिले त्यो पनि छैन। चंगा उडाउन पनि घरको छतमा जानुपर्छ।’ यस पटकको दशैँमा गेमिङको कोर्स लिएर समय कटाउने योजना बनाएको उनी बताउँछन्। ‘खाने–लाउने रमझम एक दिनमै सक्किहाल्छ,’ सम्राट भन्छन्, ‘त्यसपछि भने मैले गेमिङको अनलाइन कोर्स लिने योजना बनाएको छु। दशैँलाई किन अनुत्पादक बनाउनु ?’  

पाल्पाका केशु मगर (२४) लाई दशैँ मनाउने चलनमै परिवर्तन आएको लाग्छ। भन्छन्, ‘पहिला तीज सकिनेबित्तिकै कालरात्रि मेलाको तयारी हुन्थ्यो। नाच र नाटकको तयारी गरिन्थ्यो। तर, अहिले त्यो छैन।’ दशैँको समयमा कमेरो माटो लिन जंगल गएको र घर लिपेको आफूले सम्झिने उनी बताउँछन्। भन्छन्, ‘अहिलेको समय त्यस्तो छैन। केटाकेटीहरूमा पनि दशैँको रौनक छाएको देखिँदैन। हामी दशैँ आउँदा खोपी, लंगुरबुर्जा र पिङ खेल्थ्यौँ। तर, अहिलेका केटाकेटी प्रविधिका दास बनेका छन्। दशैँको उत्साह गाउँघरमा त देखिँदैन भने शहरमा त के कुरा ? सबै जना पब्जी र क्यान्डीक्रसमा भुलेर मनाएको जस्तो गर्नलाई मात्रै दशैँ मनाइरहेका छन्।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि