उहिलेको काँठको पुरानो दशैँ

writer

सम्पूर्ण

आइतबार, १९ असोज २०७६


दशैँ कि दशा भन्ने वाक्य सबैका मुखमुखबाट सुनिन्थे। च्याउँ गर् कि म्याउँ गर्, दशैँ नमानी हुन्न भन्ने त उखानै चलेको थियो। यसको आशय, ऋण खोज् कि चोरी गर्, दशैँ त मान्नैपर्छ भन्ने हो।


स्मृति

भुवनहरि सिग्देल

त्यो बेला शहरभन्दा बाहिरका बस्तीलाई काँठ भनिन्थ्यो। शहर भनेको असन, इन्द्रचोक, वसन्तपुर र न्युरोड मात्र थियो। पाटन, भक्तपुरका नेवार जातिले येँ उह्नेँ अर्थात् शहर जाने भन्थे। त्यो बेलाको परिभाषामा डिल्लीबजार, कालिमाटी, सोह्रखुट्टे, लैनचौर, विशालनगरसमेत काँठ थिए। शहरनजिक र परका हिसाबले काँठका अलग्गै नाम चलेका थिए। सुनकाँठ, गुकाँठ, लौरीकाँठ, पोकेकाँठ र डोकेकाँठ। 

काँठ र काँठेलाई होच्याउने शब्द पनि सुनिन्थेः काँठेखाना, काँठेमिजास, काँठेलवाइ, काँठेव्यवहार, काँठेबोलाइ। अर्को विचित्र व्यवहार के थियो भने काँठका मानिसले शहरिया टुप्पिएका हुन्छन् भनेर शहरभित्र आफ्ना छोरीचेली दिँदैनथे। शहरियाले पनि व्यवहार मिल्दैन भनेर चेली लिने–दिने काम काँठमा गर्दैनथे। वल्लो काँठबाट पल्लो काँठमा सम्पर्क राखिन्थ्यो। सबैका नाता–सम्बन्ध पनि काँठमै हुन्थ्यो।

शहरले काँठका लागि यस्ता व्यवहार गरे पनि शहरको सभ्यता विकासमा काँठको महŒवपूर्ण योगदान छ। शहरमा ज्यामी गर्ने मानिस काँठकै हुन्थे। घर बनाउने डकर्मी, सिकर्मी काँठबाट नै बोलाइन्थ्यो। भक्तपुरे र कीर्तिपुरे डकर्मी, सिकर्मीका नामै चलेका थिए। आजजस्तो सिमेन्टबाट घर निर्माण गरिँदैनथ्यो। गारो लगाउने माटो हुन्थ्यो। अलि पैसावालले इँटाको सुर्की र चुनको मिश्रण गरेर त्यसैबाट गारो लगाउँथे। भक्तपुरे इँटालाई सबैले खोजीखोजी प्रयोग गर्थे। काठ, बाँस, ढुंगा काँठबाट नै मगाउँथे। शहरी क्षेत्रका जमिन घर निमार्णका वृद्धिबाट अतिक्रमण भएपछि खाद्यान्न, तरकारी, दूधदहीका लागि पनि शहरले काँठमै निर्भर पर्नुपथ्र्यो । 

कष्टकर थियो, काँठको जनजीवन। बाटा खुलेका थिएनन्। विद्यालय चलेका थिएनन्। चेतना बलेको थिएन। खानेपानी सुलभ थिएन। शौचालय बनाउनुपर्छ भन्ने ज्ञान थिएन। साबुनको अभाव थियो। कोराका कपडाजति खरानी पानीमा उमालेर काठका मुंग्राले पिटीपिटी धोइन्थ्यो। नैनासुत, कोगटीका कपडा धुनुपर्दा समस्या हुन्थ्यो। कसैकसैले रिट्ठाका दाना खोजेर त्यसैमा माडमुड पार्थे। त्यही रिट्ठो पनि भेटे पो ! नुहाउने साबुन पाइन्नथ्यो। महिलाहरूले कमेरो या लेस्याइलो माटो खोजेर घरघरमा राख्ने चलन थियो। त्यही माटोले आफू नुहाउँथे र केटाकेटीलाई नुहाइदिन्थे। पुरुषहरू त पानीमा त्यसै नुहाउँथे। आजभोलिका जस्ता भित्री र बाहिरी लुगा भन्ने चलनै थिएन। कट्टु लगाउने मानिस भेटिँदैनथे। सबैले ठाडो लँगौटी लगाउने हो। गर्दन र जीउमा जमेका मयल मिचमाच गरेपछि स्नान गरेर शुद्ध भएको मानिन्थ्यो।

आयआर्जनको सम्भावना नै थिएन। थोरै ब्राह्मण जातिले कर्मकाण्डका काम गर्थे। नगन्य क्षत्रीहरू सैनिकमा भर्ना हुन पुग्थे। अन्य जातिको पेशा किसानी या पुख्र्यौली धन्दा मात्र थियो। काँठका अधिकांश घरमा चाडपर्व समस्या बनेर खडा हुन्थ्यो। मुख्य पर्व दशैँ नै हो। सीमित मानिसका घरमा मात्र धान, अन्न, पैसा जगेडा हुन्थ्यो। अरू सबैलाई बिहान–बेलुकाको छाक टार्न मुस्किल थियो। 

दशैँ कि दशा भन्ने वाक्य सबैका मुखमुखबाट सुनिन्थे। च्याउँ गर् कि म्याउँ गर्, दशैँ नमानी हुन्न भन्ने त उखानै चलेको थियो। यसको आशय, ऋण खोज् कि चोरी गर्, दशैँ त मान्नैपर्छ भन्ने हो।  गाउँछिमेकका कथित धनीका घरमा महिनादिनअघिदेखि वल्लापल्ला गाउँका मानिस धुइरिन्थे। सबैका व्यथा र वेदना एकै हुन्थे। सबैको बिलौना एउटै हुन्थ्यो– ‘वर्ष दिनको चाड आयो। भुरालाई एकसरा कपडा किन्नैपर्छ। आफ्ना लागि त यही फाटेका लुगा टालेर पनि चलाउँला। ज्वाइँछोरी, दिदीबहिनी टीको थाप्न आउँछन्। सकेको दानदक्षिणा पनि गर्नैपर्‍यो। वल्लोपल्लो घरमा बाख्रो कराउँदा पनि भुराहरू, बा दशैँ कराइसक्यो भन्छन्। आफूलाई रुनु न हाँस्नु छ। घरमा चामलको दानु छैन। यसो दुई छाक भात भुरालाई खुवाउनै छ। बिजोग भयो बा ! दसैँमा पुगे पच्चीस नपुगे बीस रुपियाँ सापटी दिनैपर्‍यो। पाँच पाथी धान पनि दिनुपर्छ है, बा। म ज्यालाबोनी गरेर पनि तिर्छु।’

गाउँमा कथित धनीमानी व्यक्ति पनि दुई थरी थिए। पहिलो थरीमा यस्ता साहू थिए, जो दशैँका बेला ककसलाई ऋण दिएर उसका जग्गा हात पारूँ भन्ने ताकमा हुन्थे। त्यस्ता साहूले ढ्याके ब्याज लिएर ऋण दिन्थे। ढ्याके भनेको बीस रुपियाँ सापटीको महिनावारी ब्याज दुई रुपियाँ भयो। गरिबले दशैँ त जेनतेन मनाउँथ्यो। सामब्याज समयमा तिर्न सक्दैनथ्यो। भएको जग्गा साहूलाई दिएर आफू बसाइँ सरेका केही उदाहरण पनि काँठमा देखिन्थे। भोज चलाउन नसकेका नेवार र ऋण तिर्न नसकेका पर्वते गाउँबाट पलायन भएका घटना अब त स्मृतिका रूपमा भेटिन्छन्। 

पैसा नै धनीको पर्याय हो। धनी बन्न पैसा जोगिनुपथ्र्यो। आयबेगर पैसा कताबाट जम्मा हुनु ? अन्न सञ्चय गर्नु, त्यसलाई बेच्नु नै पैसा आर्जनको मुख्य बाटो थियो। परम्परागत खेतीको चलन हुनाले प्रशस्त उब्जनी पनि हुँदैनथ्यो। साहूको ध्येय निमुखा गरिबहरूको जग्गा हडप गर्नु हुन्थ्यो। त्यस्ता धनीले परिवारलाई भरपेट खान नदिएर अन्न जोगाएका घटना सुनिन्थे। 

अन्न बेच्ने पनि खास समय हुन्थ्यो । असारको खेती सकिएपछि मात्र तिनले अन्न बिक्री गर्थे। त्यो बेला अन्नको भाउ वृद्धि हुन्छ भन्थे। यसरी साहूले बेच्ने अन्न फौबन्जारले तीस पाथी धान अट्ने बोरामा भरेर सियोले सिउँथे। नाम्ला खकन लगाएर बोक्थे। काठमाडौँ पुर्‍याएर कुटाउँथे। त्यतै बेच्थे। गाउँमा आजभोलिका जस्ता पसल थिएनन्। अन्न, दहीदूध, तरकारीका किनबेच गर्ने चलन नै काँठमा थिएन। कसैले अन्न किन्न परे क्षेत्रपाटी जानुपर्छ भन्थे। आजभोलिका जस्ता बोराका चामल कता देख्नु ? ढलौटे पाथीले अन्न भर्दै गिन्ती गरेको सुनिन्थ्यो, ‘राम, दुन, तीन, चार, पाँच, छैय’ भट्याउँदै। 

निकै कम साहू गरिबले पनि दशैँ मान्नुपर्छ भन्ने भावना राख्थे। तिनले केही धान मान्द्रा, भकारीमा भरेर धुस्नो, गोबरमाटोले मुख बन्द गरेर भण्डार गरेका हुन्थे। मागेजति अन्न पैसा दिन पनि सक्दैनथे। तिनका भनाइ सुनिन्थे– ‘सबैको दशैँ हो। सबैलाई पुर्‍याउनुपर्छ। यही तीनचार पाथी धान कुटेर दशैँ मनाएस्, बाबै। सानोतिनो च्याप्सो किनेर भुरालाई दुई छाक मासुभात खुवाएस् है।’

सबैभन्दा रमाइलो र खुशी केटाकेटीका अनुहारमा देखिन्थे। काँठका खेतबारीमा दशैँ किरो भदौ महिनामा देखिन्थ्यो। ठूलो फट्याङ्ग्रोजत्रो दशैँ किरोको जीउ पहेँलो हुन्थ्यो। काला थोप्ला परेका पखेटा पनि पहेँलै। छवटा लामालामा काला खुट्टा हुन्थे। यो किरो रूखका पातमा देखिन्थ्यो। त्यति उड्न पनि सक्दैनथ्यो। केटाकेटीले त्यो किरोलाई पखेटामा च्याप्प समाउँथे र उत्तानो पार्थे। किरोले फुत्किने बल गरेर बिस्तारै खुट्टा चलाउँथ्यो। केटाकेटी किरोका खुट्टाका चालसँग बायाँ हातका औँला भाँच्दै दशैँ आगमनको गीत गाउँथे– 

दशैँ आयो 
खाउँला पिउँला 
कहाँ पाउँला ?
चोरी ल्याउँला
हुट् पापी, छुट्टै बसौँला। 

बिचरा किरोले हैरान पाउँथ्यो। बालकका दशैँगीत चलिरहन्थ्यो। दशैँमा लिङ्गे र रोटे पिङमा केटाकेटी रमाउँदै झुम्मिन्थे।  

दशैँका किनमेल गर्न काँठेलाई शहर नआई सुक्खै थिएन। त्यो बेलाको शहर भनेको काठमाडौँको असन, इन्द्रचोक मात्र हो। यी बजारले दशैँको आगमनसँगै आफ्ना रूप फेर्न सुरु गर्थे। गउन, छिट, टोपे्रलका लुगा पसलबाहिर झुन्डिएका देखिन्थे। काँठेले किनमेल गर्ने पनि तिनका निश्चित पसल हुन्थे। काठमाडौँमा नाम चलेका माडबारी लुगापसले थिए, हलखोरी राम, हनुमानदास, नागेश्वर अग्रवाल। यिनका पसलमा काँठेहरूको भीड लाग्थ्यो। अझ बिहेका लगन परेका बेला त घण्टौँ पालो कुरेर बस्थे। आपसमा कुरा गरेको सुनिन्थ्यो, ‘यो साहूको भीमसेन जागेको छ।’

दशैँअघि बजारमा काँठेहरूको चहलपहल बढ्न थालेपछि माडबारी गोकुलधूप बालेर आफ्ना इष्टदेवलाई गुहार्न थाल्थे। भगवान्ले सायद सबैका प्रार्थना सुन्दैनथे कि। किनभने, कुनै माडबारीका पसलमा घुइँचो र सँगैका पसले झिँगा मात्र धपाएर पसल कुर्थे। 

कपडाको व्यापार माडबारी साहूकै हातमा थियो। नुनतेल र अन्य मरमसला नेवार साहूले बेच्थे। असनमा धारो गाडेको पसल, मरुगणेश नजिक सिंहसत्तले साहू र सँगै ज्ञानदास साहूका नाम काँठका मानिसले निकै लिन्थे। काँठे ग्राहक देखेपछि कपडाका साहूले अलपक्का रङ भन्दै दुइचोटि धुँदा भसक्कै रङ जाने कपडा भिडाएर हैरान पार्थे। गाउँमा साहूको ऋण, यता शहरमा साहूका ठगाइबाट काँठेहरू सिकिस्तै हुन्थे।

आधुनिक सभ्यतादेखि निकै परको काँठ बत्तीमुनिको अन्धकार थियो। चेतनाले अँध्यारो, सभ्यताले अँध्यारो। सल्लाको दियालो बाल्नुपर्ने जमाना। त्रिभुवन राजपथ खुल्नुअघि भरियाले भैँसेदेखि बोकेर ल्याएको मट्टीतेल पनि सहजमा नपाइने। बल्लतल्ल एक टुकुनी मट्टीतेल घरमा आयो भने भन्थे, ‘जोगाएर टुकी बाल, है। सकभर छ महिना पुर्‍याउनुपर्छ।’ त्यो बेलाको नाप, टुकुनी भनेको एक मानाजति हुन्थ्यो। त्यो तेल छ महिना बाल्नुपर्ने कल्पना आज गर्न सकिन्न। 

अब त्यो काँठको नामनिसाना पनि छैन। त्यस्ता साहू छैनन्। त्यसरी दशैँ कसैले मनाउनुपर्दैन। गाउँगाउँमा बिजुली, टेलिफोन सुविधा छ। सरकारी र निजी विद्यालय यत्रतत्र छन्। काँठमा जग्गाजमिन प्रशस्त छ नै। अब शहर भरिएपछि काँठका जग्गाको मूल्य सोच्नै नसकिने गरी चुलिएको छ। शहरमा झैँ धुवाँधुलोको प्रकोप बढेको छैन। हावापानी सफा छ। खानेपानीको धेरै अभाव छैन। नयाँ आवास बनाउने मानिस धमाधम काँठ पसेका छन्। घर बनाई बसेका छन्। शहरका जस्ता पसल गाउँमै उपलब्ध छन्। अब काँठले धेरै युग कुर्नुपर्ने छैन। त्यहाँ पनि असन, इन्द्रचोक बन्नेछन्। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि