भेगनका दशैँ खुराक

writer

अस्मिता खड्का

आइतबार, १९ असोज २०७६


नेवार समुदायमा हरेक चाडपर्वमा अण्डा र माछामासु अनिवार्य हुन्छ। यही समुदायका कुशल डंगोल माछामासु मात्र होइन, मह, दूधलगायतबाट बनेका परिकारसमेत खाँदैनन्। चार वर्षयता आफू ‘भेगन’ भएको उनी बताउँछन्। ‘भेगन’ अर्थात् ‘शाकाहारी’। स्वस्थ रहन शाकाहारी भोजन खानुपर्ने अवधारणा संसारभर प्रचलित छ। भेगनहरू मांसाहारी भोजन मात्र नभई दूध, मह, अण्डासमेत खाँदैनन्। वनस्पतिबाट बन्ने खानेकुरा मात्र खान्छन्।

सफ्टवेयर इन्जिनियर डंगोल पनि आफूलाई भेगन भन्न रुचाउँछन्। ‘एक पटक दशैँमा हाम्रोमा भोज आयोजना गरिएको थियो,’ आफू शाकाहारी बन्नुको कथा सुनाउँदै उनी भन्छन्, ‘अष्टमीको दिन राँगा, बोका, कुखुरा बलि चढाउने ठाउँमा म पनि गएको थिएँ। बलिका नाममा त्यहाँ निर्दयी पाराले राँगा काटेको देख्दा एकदमै नराम्रो लाग्यो।’ त्यो दिनदेखि आफूले मासु नखाने सोच बनाएको उनी बताउँछन्। भन्छन्, ‘हामी सबैको प्राण एउटै हो भन्ने कुरा त्यस दिन महसुस भयो। मासु खानु हुँदैन भन्ने लाग्यो। त्यो दिनदेखि मासु खान छोडेँ।’ 

चाडपर्वमा मासु अनिवार्य ठानिने समुदायका उनी दशैँ कसरी मनाउँछन् त ? ‘ध्यान गरेर दशैँ मनाउँछु,’ उनी भन्छन् ‘भेगन बनेदेखि हरेक दशैँ बिदामा १०  दिनका लागि विपासना जान्छु, ध्यान गर्छु।’

शाकाहारी परिकार खुवाउने योजना

‘भेगन्स डायरी नेपाल’की सञ्चालक हुन्, २४ वर्षीया काजोल सेठिया। यसपालिको दशैँमा शाकाहारी परिकार पकाएर बाँड्ने योजना उनले बनाएकी छिन्। ‘गत वर्ष ट्रेकिङमा थिएँ,’ उनी भन्छिन्, ‘घरबाहिर दशैँ मनाउँदा आनन्द लाग्छ। ट्रेकिङमा जाँदा टिफिनभरि खानेकुरा बोकेर लगेकी थिएँ। यसपालि भने क्याम्पिङमा जानेछौँ र शाकाहारी परिकार बनाएर बाँड्नेछौँ।’ उनका केही साथी र परिवारका सदस्य मांसाहारी छन्। उनीहरूलाई शाकाहारी भोजनको स्वाद चखाउने योजना उनले बनाएकी छिन्।

शाकाहारी बन्दा स्वस्थ रहन सकिने उनी बताउँछन्। ‘सानैदेखि माछामासु खानुपर्छ भनेर हाम्रो ब्रेनवास गरिएको हुन्छ,’ उनी भन्छिन्, ‘त्यो गलत हो। दुग्धपदार्थसमेत हाम्रो शरीरका लागि ठीक हुँदैन।’ त्यसले अप्रत्यक्ष रूपमा शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्ने उनी बताउँछिन्। ‘यसबारे अध्ययन–अनुसन्धान गरेपछि म पनि भेगन बनेँ,’ उनी भन्छिन्। 

‘एनिमल लभर’ नै भेगन बन्छन् भन्ने बुझाइ गलत रहेको उनी सुनाउँछिन्। ‘म एनिमल लभर हो,’ उनी भन्छिन्, ‘तर, यसै कारणले म शाकाहारी बनेको होइन। एनिमल फार्र्म सञ्चालन गर्दा पनि त बोटबिरुवालाई उत्तिकै नोक्सानी हुन्छ। इको–सिस्टम तलमाथि परिरहेको हुन्छ। यस्तो देख्दा पिर लाग्छ।’

मासुबिनाको जीवन

६० वर्षीय भीम न्यौपाने भेगन बनेको २० वर्ष भयो। यो अवधिमा उनले अलग तरिकाले चाडपर्व मनाए। दशैँतिहारमा रक्सी र मासुको सट्टा सपिङ र शाकाहारी परिकारमा जोड दिए। ‘अरूले मासु र रक्सी खान्थे,’ उनी भन्छन्, ‘साथीभाइले रमाइलोको नाममा अति गर्थे। म चाहिँ उनीहरूको गफ सुनेर बस्थेँ। मांसाहारी समूहमा अलग भएर बस्दा पनि रमाइलो लाग्थ्यो।’

न्यौपाने सानैदेखि शाकाहारी हुन्। भन्छन्, ‘म बच्चैदेखि भेजिटरियन हुँ। तर, आफू भेगन हुँ भन्ने थाहा थिएन।’ ‘भेगन सोसाइटी अफ नेपाल’ले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएपछि मात्र आफू भेगन समूहमा पर्ने उनले थाहा पाए। सुरु–सुरुमा साथीभाइले ‘दूध दही पनि खाँदैनस्’ भनेर आफूलाई होच्याउने गरेको उनी बताउँछन्। ‘खाना पकाउँदा परिवारकाले समेत झन्झट मान्थे,’ उनी सुनाउँछन्, ‘अहिले परिवारका सदस्य र मलाई होच्याउनेहरू पनि भेजिटरियन बनिसकेका छन्।’ 

अहिंसा र स्वस्थ जीवनशैली मन पर्ने भएकाले आफू भेगन बनेको उनी बताउँछन्। ‘मलाई अहिंसा मन पर्छ,’ उनी भन्छन्, ‘हिंसाबिना माछामासु पाइँदैन। सबैको प्राण एउटै हो। चाहे मानव होस् या जीवजन्तु। म हिंस्रक छैन। माछामासुबिनाको जीवन एकदमै फापेको छ।’ 

दशैँमा बधशालाको रिपोर्ट 

अनिश तुलाधर योगा टिचर हुन्। विगत छ वर्षदेखि भेगन बनेका तुलाधर सानैदेखि भेजिटरियन थिए। यसपालिको दशैँमा बधशालाको रिपोर्ट तयार पार्ने योजना बनाएका छन्, अनिशले। रिपोर्ट तयार पार्ने र योगाभ्यास गर्नेबाहेक दशैँतिहारको लागि आफूसँग कुनै विशेष योजना नभएको उनी बताउँछन्।  भन्छन्, ‘दशैँतिहारमा ज्यादा काटमार हुन्छ। मलगायत अन्य भेगन साथीहरू मिलेर उपत्यकाका हरेक बधशालामा हुने बलिबारे रिपोर्ट तयार गर्ने योजना बनाएका छौँ। यो रिपोर्ट जनचेतनाका लागि हुनेछ। अघिल्ला वर्षहरूमा पनि हामीले यस्तै कार्यक्रम आयोजना गरी दशैँ मनाएका थियौँ।’ 

भेगनबारे अनिशको बुझाइ यस्तो छ, ‘कोही व्यक्ति पर्यावरण र पशुपक्षीप्रेमी हुँदैमा भेगन बन्दैन। स्वस्थ जीवन जिउन चाहनेहरू भेगन बन्छन्।’ आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि भेगन हुनु एकदमै फाइदाजनक हुने उनको तर्क छ। ‘भेगन बन्नुअघि मलाई पनि म शुद्ध खाना खाइरहेको छुजस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘रिसर्च गर्दा वास्तविकता अर्कै रहेछ। हामीले खाने नन—भेज खाना एकदमै अस्वास्थ्यकर हुँदो रहेछ। यही कुराबाट प्रभावित भएर म भेगन बनेँ।’ भेगन बन्नु नै आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण निर्णय भएको तुलाधर बताउँछन्। 

दशैँमा धानको बास्ना 

सरस्वती शाक्य ‘सारा बेक फर भेगन’ की सञ्चालक हुन्। उनी सानैदेखि फलफूल, सागपात र दुग्धपदार्थ खान्थिन्। दशैँ मनाउने उनको आफ्नै शैली छ। दशैंताका काठमाडौँनजिकै गाउँ अथवा धानबारीमा उनले समय बिताउने गरेकी छिन्। ‘मेरा लागि दशैँतिहारको समय वसन्त ऋतुजस्तै हो,’ उनी भन्छिन्, ‘त्यो सिजनमा पालुवा र नयाँ फूलको सुगन्ध हुन्छ। त्यस्तै, दशैँतिहारको बेला नयाँ अन्न भिœयाइने भएकाले त्यसको बास्ना मलाई खूब मन पर्छ।’ धान र माटोको सुगन्धले आफूलाई आनन्द अनुभूति हुने उनी बताउँछिन्। उनी छ वर्षअघि शाकाहारी बनेकी हुन्। ‘पहिला कहिलेकाहीँ अण्डा खान्थें,’ उनी भन्छिन्, ‘डेरी प्रोडक्ट भनेपछि भुतुक्कै हुन्थेँ। नेवार परिवारमा हुर्केकाले शाकाहारी बन्नु सजिलो थिएन।’ एक दिन युट्युबमा ब्रोइलर कुखुरा र यसका चल्ला कसरी बनाइन्छ भनेर हेर्दै थिइन्, उनी। त्यो प्रक्रिया देखेपछि उनी झसंग भइन्। ‘एकदमै पीडादायी प्रक्रिया रहेछ,’ उनी भन्छिन्, ‘त्यसपछि मलाई मासु खानै मन लागेन।’ 

दशैंमा परिवारसँग जमघट

चार वर्षअघि भेगन बनेका हुन्, दीपेश श्रेष्ठ। उनी एनिमल एक्टिभिस्ट पनि हुन्। चाडपर्वमा मांसाहारीले आफ्नो मजाक उडाउने गरेको उनी बताउँछन्। ‘चाडपर्व होस् या पार्टी, साथीहरूले मजाक उडाउँछन्,’ उनी भन्छन्, ‘‘के घाँसपात खाइरहेको ?’ भन्छन्। तर, म वास्ता गर्दिनँ।’ दशैँमा परिवार र साथीभाइसँग जमघट गर्ने र शाकाहारी परिकार पकाएर सबैलाई खुवाउने योजना उनले बनाएका छन्। ‘हरेक वर्षझँै यो वर्ष पनि परिवार र साथीहरूसँग रमाइलो जमघट गर्नेछु,’ उनी सुनाउँछन्, ‘भेज आइटम बनाएर उनीहरूलाई खुवाउनेछु। दशैँतिहारमा रक्सी र मासु मात्रै खानुपर्छ भन्ने छैन।’

पशुपक्षी अधिकारका लागि उनी हरेक शनिबार विभिन्न कार्यक्रम गर्छन्। भेगन बन्नुअघि बजारमा पाइने जंकफुड, फास्टफुडलगायत खाने गर्थे। ‘राम्रो देखिन एनिमल प्रोडक्ट लुगा पनि लगाउँथें,’ उनी भन्छन्, ‘त्यो बेला स्वास्थ्यलाई भन्दा जिब्रोलाई प्राथमिकता दिन्थेँ। भेगन बनेपछि स्वास्थ्यप्रति आफसे आफ सचेत भइँदो रहेछ।’ तन्दुरुस्त रहन उनी सागसब्जी र फलफूल मात्र खान्छन्।

तपाईको कमेन्ट