शाकाहारी सेलिब्रिटी

writer

सम्पूर्ण

आइतबार, १९ असोज २०७६


थुप्रै नेपाली कलाकार शाकाहारी छन्। कसैले बाल्यकालदेखि नै माछामासु खाने गरेका छैनन् भने कोही अध्यात्मतिर लागेपछि शाकाहारी बनेका छन्।


दशैँ लागेपछि नेपालीले जोहो गर्ने दुई कुरा विशेष छन्, नयाँ लुगा र मासु। अरू केही गरून्÷नगरून्, नेपालीले ऋण काढेरै भए पनि नयाँ लुगा र मासु जोहो गर्छन्। त्यसैले दशैँ भन्नेबित्तिकै मासु र यसका परिकारको सम्झनामा धेरैको मुख रसाउँछ। आम नेपालीझैँ अधिकांश सेलिब्रिटी पनि मासु भनेपछि हुरुक्कै हुन्छन्। तर, केहीले भने जिन्दगीमा मासुको स्वाद चाखेका छैनन्। केही भने हालसालै शाकाहारी बनेका छन्। 

कृष्णभक्त भएपछि शाकाहारी 

ताजा शाकाहारी बन्नेमा अनमोल केसीको नाम अगाडि आउँछ। केही वर्षअघि अनमोलले माछामासु खाने गरेका थिए तर कृष्णभक्त भएपछि उनले मांसाहार चटक्क छाडेका छन्। उनी शाकाहारी भएको तीन वर्षजति भयो। तर, आफूले धर्मका कारणभन्दा खान मन नलागेकाले मासु खान छाडेको उनी बताउँछन्। ‘खासमा मलाई पहिलादेखि नै माछामासु खाँदा दिगमिग लाग्थ्यो,’ उनी भन्छन्, ‘जति पाकेको भए पनि काँचै छ भनेजस्तो लागिरहन्थ्यो। कृष्णभक्तहरूको संस्था ‘इस्कोन’ गएपछि त झन् खानै मन लागेन।’ दुई वर्षअघि अनमोल ‘कृ’ फिल्मको तयारीमा जिम धाउने गर्थे। उनलाई जिम सिकाउने गुरु सुरज कृष्णभक्त थिए र बुढानीलकण्ठमा रहेको इस्कोन नेपालका अनुयायी थिए। उनकै पछि लागेर अनमोल पनि इस्कोन गए। ‘त्यहाँ जाँदा बेग्लै भाइब्स आयो,’ अनमोल भन्छन्। फिल्मको तयारीकै बीचमा उनले कृष्ण कन्ससनेसको एकहप्ते प्रशिक्षण लिए। त्यसपछि त उनलाई माछामासुप्रति कुनै रुचि रहेन। ‘‘कृ’को समयमा मैले हेभी डाइट लिनुपर्ने हुन्थ्यो तर यो समयमा पनि मैले माछामासु खाइनँ,’ उनी सुनाउँछन्, ‘मेडिटेसनबाट फर्केपछि त जनावरको पनि माया लाग्छ। सायद फेरि खान्छु जस्तो लाग्दैन।’ 

खाने, छोड्ने, फेरि खाने

अभिनेत्री निशा अधिकारीले भने माछामासु खाने÷छोड्ने गरिरहेकी छिन्। केही वर्ष माछामासु बारेकी उनले गर्भवती भएपछि डाक्टरको सल्लाहमा मांसाहारी भोजन खान थालेको बताइन्। तर, उनी फेरि शाकाहारी हुने तयारीमा छिन्। ‘मैले माछामासु छाडेको डेढ–दुई वर्ष हुन लागेको थियो,’ उनी भन्छिन्, ‘बाबु पेटमा आएपछि डाक्टरको सल्लाहमा हप्तामा एकचोटि खाने गरेकी छु। तर, बच्चा २० महिनाको भएपछि ब्रेस्ट फिडिङ छुटाउँछु, त्यसपछि फेरि भेजिटेरियन बन्छु।’ निशाले जनावरका माया लाग्न थालेपछि मासु खान छाडेकी थिइन्। अझ यही समयमा योग–ध्यान गर्न थालेपछि त उनलाई मासुको तिर्सना नै हुन छाडेको थियो। ‘आजभोलि त माछामासु मात्र होइन, दूध पनि छाडिदिऊँजस्तो लाग्न थालेको छ,’ उनी भन्छिन्, ‘डेरी फार्ममा गाईमाथि हुने दुव्र्यवहारका समाचार सुन्दा नरमाइलो लाग्छ। अहिले बाबुको लागि खानुपरेको छ, भोलि यो पनि छाड्न सक्छु।’

मुखमै परेको छैन 

अभिनेता दीलिप रायमाझीले भने आजसम्म मासुको एक चोक्टा पनि मुखमा हालेका छैनन्। कीर्तिपुरको नेवार बस्तीमा हुर्किएका उनले आमाको अनुसरण गर्दै मासु कहिल्यै खाएनन्। ‘आमा भेजिटरियन हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘यही कारण हामी सबै शाकाहारी भयौँ। सानोमा नखाएपछि ठूलोमा मतलब हुँदो रहेनछ। मावली, आफन्त, नातागोता कसैले पनि मासु खानुहुन्नथ्यो। त्यो भएर कहिल्यै पनि खाने मन भएन।’ दीलिपले जमघटमा यदाकदा साथीभाइलाई मासु पकाएर खुवाएको अनुभव भने समेटेका छन्। ‘पकाएर खुवाउन मलाई खूब मज्जा लाग्छ,’ उनी भन्छन्, ‘यसरी मुड चलेको बेलामा एकदुई पटक पकाएर खुवाएको छु। यसो गर्दा गन्ध लिएँ होला तर खाने कुरा दिमागमा आएन।’ दशैँमा मासुको साटो घीउ बढी खाने गरेको बताउँछन्।  

ध्यान गरेपछि शाकाहारी

मासु नखाने अर्की कलाकार हुन्, दीपाश्री निरौला। चटक्कै मासु छाड्नुअघि दीपा दुईतीन केजी मासु ढुक्कैसँग खान्थिन्। दुई दशकदेखि शाकाहारी खानपान अपनाइरहेकी उनले एउटा ध्यान केन्द्रमा पुगेपछि मासु छोडेकी थिइन्।  ध्यान केन्द्रका सबै शाकाहारीको प्रभावले मासु छाडेकी उनलाई एउटा घटनाले मासु नै नहेर्ने बनायो। ‘मासु छाडेको तीन महिनापछि मेरो जन्मदिन परेको थियो,’ उनी सम्झिन्छिन्, ‘जन्मदिनमा बाले खसी काटेर भोज खुवाउने रहर गर्नुभयो। मैले पनि केही टुक्रा मासु खाएँ। तर, केही बेरमा बान्ता भयो। त्यसपछि कहिल्यै मासु खान मन लागेन।’ दीपाश्रीकै सिको गरेर कलाकार दीपकराज गिरीले पनि मासु छाडेका छन्। उनले मासु छाडेको दुईतीन वर्ष मात्र भयो।

परिवार खुवाउने, निखिल नखाने 

अभिनेता निखिल उप्रेती माछामासु नखाने सेलिब्रिटी हुन्। दीपाश्रीझैँ उनले पनि खाँदै छाड्दै गरेर अहिले पूर्णतया शाकाहारी बनेका छन्। निखिललाई सानैदेखि मासु मन पर्दैनथ्यो। घरमा माछामासु पाकेको दिन भान्छामा छिर्दैनथे। तर, परिवारलाई उनको यही स्वभावले पिरोलेको थियो। किनकि, उनी सानोमा साह्रै दुब्ला–पातला थिए र गाउँघरमा माछामासु खाए मात्र ज्यान मोटाउने विश्वास थियो। परिवार खुवाउन खोज्ने, निखिल नखान खोज्ने। लगभग १४÷१५ वर्षको उमेरसम्म यो दोहोरी चलिरह्यो। अन्ततः निखिल हारे र वयस्क हुँदै गर्दा मासु खान थाले। यो क्रम हिरो भएको केही वर्षसम्म चल्यो। यही बीच निखिल अध्यात्मतिर लागे। जीवन जगत्का रहस्यमाथि चिन्तन गर्न थाले। ध्यान पनि गर्न थाले। यसपछि भने उनलाई फेरि मासु खान मन लाग्न छाड्यो। उनले चटक्क छाडे। ‘एक त खाँदा पनि मेरो मन रमाएको थिएन,’ उनी भन्छन्, ‘फेरि अध्यात्मको दुनियाँमा प्रवेश गरेपछि पशुपक्षीको वध पनि निरर्थक लाग्न थाल्यो। माछामासु छाडेको १०÷१५ वर्ष हुन लाग्यो।’ 

निखिललाई नेपालमा रहँदा भेजिटेरियन हुन गाह्रो नभए पनि एक समय भने बीचमा गाह्रो परेको थियो। कामको सिलसिलामा थाइल्यान्ड बस्दा एकदमै गाह्रो भएको उनी बताउँछन्। ‘स्कुबा डाइभिङको क्लास लिन एक महिना बैंकक बसेको थिएँ,’ उनी सुनाउँछन्, ‘त्यहाँ त भेजको कसैले नाम पनि लिँदो रहेनछ। मुश्किलले इन्डियन रेस्टुरेन्ट भेटेर माछामासु खानबाट बचेको थिएँ।’ 

दीलिपझैँ निखिल पनि नखाए पनि छोइछिटो गर्ने गरी टाढा चाहिँ रहँदैनन्। आफू नखाए पनि परिवारलाई रोकतोक गर्ने गरेका छैनन्। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि