‘ओखलको आवाजले दशैँ आएको बताउँथ्यो’

writer

सम्पूर्ण

आइतबार, १९ असोज २०७६


सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश

मेरो बाल्यकाल विराटनगरको बरगाछीमा बित्यो। त्यसैले बाल्यावस्थाको दशैँ तराईतिर मनाएँ। त्यसबेलाको दशैँ सामान्य हुन्थ्यो। अहिलेको जस्तो धेरै खर्च हुँदैनथ्यो। धेरै मानिस खेतीपाती गर्थे। दशैँमा चाहिने आवश्यक सामान आफैँ उत्पादन गर्थे। त्यतिबेला दशैँमा खाने मुख्य खानेकुरा मासु–चिउरा नै थियो। तरकारीमा गेडागुडी खाइन्थ्यो। तराईतिर हरियो तरकारी पाइन्थ्यो। अहिलेजस्तो संसारभरका तरकारी हँुदैन थिए। मान्छेले हिउँदको लागि भनेर मस्यौरा÷तितौरा बनाएर राख्थे। दशैँमा खानेकुराको भेराइटी धेरै हुँदैन थियो। चिउरा, मासु, तरकारी, अचार नै थियो। उत्पादन घरमै हुने भएकाले धेरै कुरा किन्नुपर्दैन थियो। मजाले खाने पनि दशैँमा नै थियो। अहिलेजस्तो जता पनि मासु पसल हुँदैन थिए। खसीबोका कोही–कोहीले काट्थे, अहिलेजस्तो दिनैपिच्छे पाइन्नथ्यो। 

दशैँअघि नै तयारी

दशैं आउनुअघिदेखि नै तयारी सुरु हुन्थ्यो। पहिला अहिलेजस्तो काम हुन्थेन। त्यसैले सबै खानपिनको तयारीमा जुट्थे। त्यतिखेर हामी केटाकेटी थियौँ। दशैँका लागि स्कुलले लामो बिदा दिँदा त्यसै खुशी भइन्थ्यो। बाँधिएको जस्तो महसुस हुन्थ्यो, स्कुलमा। खेती गरिन्थ्यो। त्यतिबेला हाम्रोतिर भदै धान निस्किन्थ्यो। पाटा हुन्थ्यो। भदै धान र पाटा बेचेर दशैँमा सबैका लागि नयाँ लुगा किनिन्थे। 

अहिलेजस्तो महँगो समय थिएन। छोरीहरूलाई सामान्य फ्रक किनिदिन्थे आमाबुबाले। दशैँ भनेको खाने–लगाउने हो भन्नु बुझेका थियौँ। जिम्दार खालको परिवारमा काम गर्नेदेखि लिएर परिवारका सबै सदस्यका लागि एकैचोटि कपडा किनिन्थे। जति किन्ने हो दशैँमै किनिन्थ्यो, फेरि किनिँदैनथ्यो।

उहिलेको फेसन

त्यसबेला महिलाहरू सारी लगाउँथे। त्यो पनि एकदमै साधारण किसिमको। एक मन धान १० रुपैयाँमा बिक्री हुन्थ्यो त्यो बेला। एउटा सारी पनि १० रुपैयाँमै आउँथ्यो। चप्पल कमैले लगाउँथे। दुईतिर प्वाल भएको चप्पल हुन्थ्यो। काठमाडौँतिर अलिकति फेसनेबल दशैँ हुन्थ्यो। राणा, शाह, ठकुरी यहीँ बस्थे। उनीहरूसँग संगत भएका बस्नेत, कुँवर पनि यहीँ हुन्थे। यस्तो परिवारमा अलिकति फेसन थियो। तराईतिर कुनै फेसन थिएन। महिलाहरूले धेरै शृंगार गर्थेनन्। तेल लगाएर चपक्क दुइटा चुल्ठो बाट्थे। सारी लगाउँथे। गर्मी ठाउँमा महिलाले हाफ चोलो लगाउँथे।

तराईमा दशैँको अर्को रमाइलो पिङ हुन्थ्यो। त्यसबेला दशैँमा पिङ हाल्ने चलन थियो। बच्चा त रमाउँथे नै, पाका उमेरका महिला पनि पिङ खेल्न उत्साहित हुन्थे। हामी पनि खेल्थ्यौँ। दशैँमा एक पल्ट पिङ खेल्ने गरिन्थ्यो। अहिले त पिङ नै देख्न छाडिसकियो।

दशैँमा जसको घरमा पनि चिउरा ल्याउँथे। घरमै दही बनाउँथे। त्यति भएपछि घरमा जो आए पनि त्यही खुवाइन्थ्यो। हाम्रोमा पनि खेती गर्नेले टन्न कोसेली लिएर आउँथे। आउनेजतिलाई खुवाएर पठाउने गरिन्थ्यो।

दशैँ सुरु भएदेखि नसकिन्जेलसम्म आफन्तको घरमा जाने गरिन्थ्यो। टीका लगाउन पाउँदा हामी बच्चाहरू खूब खुशी हुन्थ्यौँ। टीका लगाएर दुईतीन रुपैयाँ पाइन्थ्यो। त्यही जम्मा गरिन्थ्यो। धरान, झुम्कातिर आफन्त हुनुहुन्थ्यो। त्यहाँ जान्थ्यौँ। मावली चाहिँ काठमाडौँ भएकोले कमै गइन्थ्यो। कहिलेकाहीँ मात्र मावली आएर दशैँ मनाइन्थ्यो।

सस्तो र सरल दशैँ

त्यसबेला दशैँ मनाउन सस्तो थियो। अहिलेजस्तो थिएन। अहिले त दशैँ पनि भव्य मनाइन्छ। सामान्य मान्छेले दशैँ धान्न सकिने अवस्था छैन। अहिले मान्छेसँग खेती छैन। पहिले जिरा र नुनबाहेक केही किन्नुपर्दैन थियो। गरिबले ऋण लिएर पनि मनाउँथे। अहिलेजस्तो महँगी थिएन। १०–१२ वर्षकी हुँदा तीन रुपैयाँको चप्पल किनेर लगाएको याद अझै ताजा छ। तीन रुपैयाँको फ्रक किनिन्थ्यो। अहिले त सानो लुगाको झन् बढी दाम पर्छ। 

२०२५ सालतिर काठमाडौँमा हुँदा पनि ओखलमा चिउरा कुटेको आवाज आउँथ्यो। चिउरा कुटेर बनाउँथे। दशैँ आएको ओखलको आवाजबाट थाहा हुन्थ्यो। तराईतिर ढिकी थिए, खल थिए। तर, अहिले त्यस्तो छैन। अहिले त्यो हरायो। राख्ने ठाउँ पनि हुँदैन अहिले त। 

२०३४ सालमा काठमाडौँको जनसंख्या पाँच लाखजति मात्र थियो। त्यसबेला म खाद्य संस्थानमा काम गर्थें। नेपालमै पनि धेरै उत्पादन हुन्थ्यो। बाहिरबाट आउने जनसंख्या पनि दशैँमा घर फर्किन्यो। कर्मचारी पनि हिँड्थे। यहाँको दशैँ एकदम सुनसान हुन्थ्यो। बाहिरको मान्छे यहाँ दशैँ मनाउन चाहँदैन थिए। किनकि, यहाँभन्दा बाहिरै रमाइलो हुन्थ्यो। आफ्ना आफन्तसँग भेटघाट हुन्थ्यो। गाउँटोलका मान्छेसँग भेट हुन्थ्यो। 

काठमाडौँको दशैँ

काठमाडौँ निरन्तर बसेको १० वर्षजति भयो। त्यसअघि बेला–बेलामा आएर बस्ने गरिन्थ्यो। यताको खानेकुरामा मासुको भेराइटी हुन्छ। काठमाडौँमा देखाउने प्रवृत्ति छ। जागिरे प्रवृत्ति छ। जागिरमा पछि डबल पैसा दिन थाल्यो। यसले अझ खर्च गर्ने भए। अहिले खर्च गर्ने प्रवृत्ति सबैतिर पुगिसक्यो। 

विराटनगरको बरगाछीमा दशैँ आउनुअघि मानिसहरूले घरहरू रंगाउने काम गर्थे। हाम्रो घर चाहिँ एकपट्टि पक्की खालको थियो। जसले गर्दा हामी घरमा चुना लगाउँथ्यौँ। हामी आफै चुना दल्थ्याँै। सबैले दशैँमा आफ्नो घर रंगाउँथे। माटोको घर छ भने लिप्थे। हैन भने चुना नै दल्थे। त्यसबेलाको धार्मिक आस्था व्याप्त भएकाले दशैँमा देउताले आएर घरमा बास गर्छन् भन्ने थियो। त्यसले गर्दा घरका कुना–कुना सफा गर्ने चलन थियो। भगवान् आउने कल्पना हुन्थ्यो। जमरा राख्दा अझ धेरै सफा गर्थे।

घटस्थापनाका दिन मन्दिर जान्थ्यौँ। विराटनगरमा कालीथान मन्दिर थियो। त्यहाँ सबै जाति र समुदायका मानिस जान्थे। बरु, अहिले जाँदैनन्। मन्दिरमा बिहान भीड हुन्थ्यो। तराईमा कतिपय आदिवासीले पनि दशैँ मान्थे। कतिले मान्दैन थिए। बहुदल आउनुअगाडि सबैले दशैँ मान्थे। तर, अहिले आफ्नो भाषा, संस्कृति भनेर सबैले छोडे। 

अहिले फरक तरिकाले दशैँ मनाइन्छ। ‘दशैँमा हुने खर्चमा विदेश घुमेर आइन्छ’ भन्नेहरू पनि छन्। हाम्रा चाडपर्व संस्कृतिसँग जोडिएका छन्। यिनलाई मर्न दिनु हुँदैन। हामीले हरेक पर्व मनाउनुपर्छ। यतिखेर देशविदेशमा बसेका पनि आउँछन्। ‘बसेर रमाइलो गरौँ’ भन्छन्। आफन्तसँग भेटेर आशीर्वाद लिन्छन्। यसो गर्दा अनौठो अनुभूति हुन्छ तर जुन किसिमको अहिलेको व्यवहार छ, महँगी छ, त्यसले गर्दा मान्छे डाइभर्ट भएका छन्। कतिपयलाई ‘यति खर्च गर्नुभन्दा घर नबस्दा हुन्छ’ भन्ने भएको छ। 

लुगालत्तादेखि खानेकुरा असाध्यै महँगा छन्। यस्तो महँगोमा कसरी मनाउँछ, सामान्य मानिसले दशैँ ? अहिले दशैँमा लुट्ने काम भएको छ। दशैँको रमाइलो बजारले खाइदियो। दशैँ रमाइलोभन्दा पनि कमाउने माध्यम बनेको छ। सरकारको नियन्त्रण छैन। अनि, कसरी खुशीले दशैँ मनाउँछन् मान्छेले ?

प्रस्तुतिः उपेन्द्र अर्याल

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि