‘गरिबलाई दशैँ नआए नि हुन्थ्यो’

writer

उर्मिला स्याङ्तान

आइतबार, १९ असोज २०७६


रामेछापकी बबिता राई (३३) गत वर्ष दशैँ मनाउन घर गइनन्। काठमाडौँ, बौद्धमा बस्ने उनी ज्यामी हुन्। उनका श्रीमान् पनि यही काम गर्छन्। भन्छिन्, ‘पैसा नभएकाले अघिल्लो वर्ष घर जान सकिएन।’ यस पटक घर जान जसोतसो पैसा जोरजाम गरिरहेकी छिन्। ‘ज्यामी कामले अघिपछि त परिवार पालिएको छ,’ उनी भन्छिन्, ‘तर, चाडपर्वमा भने अप्ठ्यारो पर्ने गर्छ। दशैँमा झन् खर्च हुन्छ। त्यो सोच्दा त गरिबलाई दशैँ नआए नि हुन्थ्योजस्तो लाग्छ।’

बबिताजस्तै सर्लाहीकी फूलमाया तामाङ (३५) पनि पोहोर दशैँमा घर गइनन्। यसपालि पनि काठमाडौँमै दशैँ मनाउनेछिन्। भन्छिन्, ‘चाडपर्वमा खर्च अभाव हुन्छ। अरू बेलाजस्तो खर्चले पुग्दैन। खर्चकै कारण दशैँ नआए पनि हुन्थ्यो।’ दुई छोराछोरीकी आमा उनले ज्यामी काम गरेको पाँच वर्ष भयो। ‘बच्चाहरूको इच्छा पूरा गर्न गाह्रोे छ,’ उनी भन्छिन्, ‘चाडपर्वमा रहर गर्छन्। अरूले जे लायो त्यही खोज्छन्। कसरी पूरा गर्ने होला ?’

रामेछापका मणिराज तामाङ (३६) को अहिलेसम्म घर जाने योजना बनेको छैन। ‘घर जाँदा खर्च ज्यादै हुन्छ,’ उनी भन्छिन्, ‘यसपालि खासै काम थिएन। काम नभएपछि कमाइ हुने कुरै भएन।’ मणिराजलाई एकातिर कमाइले पिरोलेको छ भने अर्कोतिर चाडपर्वको खर्चले पिरोल्ने गरेको छ। दुई वर्षका लागि मलेसियामा वैदेशिक रोजगारीमा गएका उनले पछि नेपालमै ज्यामी काम सुरु गरे। ‘ज्यामी काम गर्न थालेको पाँच वर्ष भयो,’ उनी भन्छन्, ‘तर, जति मेहनत गरे पनि कहिल्यै नपुग्ने रहेछ। आफूले सक्ने मात्रै खर्च गर्छु भन्दा पनि निकै खर्च भइदिन्छ।’ खर्च बढी हुने भएकाले चाडपर्व मनाउन मन नलाग्ने उनी बताउँछन्। 

झापाकी सुशीला कोइराला पनि ज्यामी हुन्। यसअघि उनको फुटपाथ पसल थियो। उनका श्रीमान् ड्राइभर हुन्। दुवै जनाको कमाइले सामान्य खर्च मात्रै टर्ने उनी बताउँछिन्। भन्छिन्, ‘तीन जना छोराछोरी छन्। उनीहरूकै पढाइ खर्च, घरखर्च पुग्दैन। दैनिक खर्च जुटाउन त हम्मेहम्मे छ। चाडपर्व कहाँबाट मनाउनु ?’ पोहोर खर्च नपुगेर छोराछोरीलाई मात्र गाउँ पठाएको उनी बताउँछिन्। ‘अघिल्लो वर्ष खर्च नपुगेर छोराछोरीलाई मात्रै घर पठाएँ,’ उनी भन्छिन्, ‘यस पटक जोरजाम गरेर आफू पनि जाने सोच छ।’ 

ओखलढुंगाका १७ वर्षीय पेसम मगर प्लस टू पास गरेर काठमाडौं आए। आउनेबित्तिकै ज्यामी काम सुरु गरे। ‘अरू कामको तुलनामा यसमा कमाइ हुन्छ भनेर लागेको हुँ,’ उनी भन्छन्, ‘तर, यो कमाइले पढाइ खर्च पुर्‍याउनै मुश्किल भएको छ।’ बल्लतल्ल उनले दशैँमा घर जाने खर्च जुटाएका छन्। भन्छन्, ‘पहिलो पटक आफ्नोे कमाइले आमाबुबाका लागि कपडा किनेको छु।’

सोलुखुम्बुकी २८ वर्षीया जानकी राई दशैँमा घर नगएको चार वर्ष भयो। यसपालि पनि नजाने बताउँछिन्। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि  कतारमा छन्। उनका तीन  छोराछोरी छन्। जोरपाटी बस्ने उनी गलैँचा फ्याक्ट्रीमा काम गर्छिन्। ‘घर पुग्न पाँच दिन लाग्छ,’ उनी भन्छिन्, ‘घर जाने पैसाले खाना खर्च टारेको छु। घर कसरी जानु ?’ श्रीमान् विदेशबाट फर्केपछि घर जाने उनी बताउँछिन्। 

ताप्लेजुङका सुवास लिम्बूलाई घर नगएको कति भयो, याद छैन। आमाबुबा बितेपछि उनी घर गएनन्। भारी बोकेर एक्लो ज्यान पालिरहेका छन्। ‘अघिपछि दिनको एक हजार कमाइ हुन्छ,’ उनी भन्छन्, ‘चाडपर्वमा कमाइ नै हुँदैन। एक्लो ज्यान पनि पाल्न गाह्रो भएको छ। परिवार भए के गर्थें ?’ 

दोलखाका ३० वर्षीय जीतबहादुर खत्रीले वैदेशिक रोजगारीमा कतारमा दुई वर्ष बिताए। विदेश हँुदा दशैँ खल्लो भएको उनी बताउँछन्। दुई महिनायता उनी भारी बोक्ने काम गरिरहेका छन्। ‘दशैँपछि फेरि बाहिर जाने सोच छ,’ उनी भन्छन्। 

रमेश कार्की भारी बोकेर दशैंकै लागि पैसा जुटाउँदै छन्। उनले यो काम गरेको पाँच महिना भयो। धादिङका गुणबहादुर विसुंखे (४६) ले भारी बोक्ने काम गरेको चार वर्ष भयो। परिवारसँगै उनी चाबहिलमा बस्छन्। भन्छन्, ‘हामीजस्तालाई दशैँ त नआएकै राम्रो। ऋण काढेर भए पनि बालबच्चालाई खुशी दिनेछु।’ 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि